बुटवलको शैक्षिक पूर्वाधार विकासमा फड्को

नहरपुर मावि भवनका लागि भारत सरकारको सहयोग

मेचीकाली संवाददाता

१ मंसिर २०७८, बुधबार
880 shares

बुटवल । बुटवल उपमहानगरको नहरपुर माविमा बालमैत्री र भूकम्पप्रतिरोधी अर्को नयाँ भवन निर्माण सुरु भएको छ । भारत सरकार र बुटवल उपमहानगरको संयुक्त लगानीमा नयाँ भवन निर्माण हुन लागेको हो ।

तीन तलाको २० कोठाको अत्याधुनिक भवनको निर्माणकार्यको बुधबार एक समारोहबीच उपमहानगरका प्रमुख शिवराज सुवेदी र भारतीय दुतावासका प्रमुख सचिव करुण बंसलले संयुक्त रुपमा गर्नुभयो । विद्यालयको भवन निर्माण सहयोगार्थ भारत सरकारले करिब साढे चार करोड रुपैयाँ प्रदान गरेको छ । भवनको अनुमानित लागत झण्डै पाँच करोड रहेको छ ।

विद्यालय भवन निर्माणका लागि आवश्यक पर्ने रकम उपलव्ध गराएर सहकार्य गरेको भन्दै बुटवल उपमहानगरपालिका प्रमुख सुवेदीले भारत सरकार, राजदूतावास र शिलान्यासमा आएका भारतीय अधिकारीहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो । उक्त विद्यालयका लागि नयाँ भवन बनाउन भारत सरकारले दूतावासमार्फत चार करोड ४१ लाख ६६ हजार ९ सय ३४ रुपैयाँ उपलव्ध गराउने विषयमा गत वर्ष नै सम्झौता भई हस्ताक्षर भएको थियो ।

भवन शिलान्यासमा आउनुभएका भारतीय दुतावासका प्रमुख सचिव बंसलले नेपाल–भारत बीचको मित्रतालाई अझ दरिलो र प्रगाढ बनाउन आफुहरु सहकार्य गर्न तयार रहेको बताउनुभयो । शैक्षिक पूर्वाधार विकासमा भएको सहकार्यलाई निरन्तरता दिदैं दुबै देशका बीचको आत्मीय सम्बन्धलाई अझ बलियो बनाउन केन्द्रित रहने प्रतिवद्धता जनाउनुभयो ।

नहरपुर माविका प्राचार्य धनेश्वर गौतमले दीर्घकालीन महत्व राख्ने खालको नयाँ भवन निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाएर व्यवस्थित काम गरिएको बताउनुभयो । विद्यालय भवन निर्माणका लागि सीएम सगुन जेभी बुटवलले तीन करोड २९ लाख २५ हजारमा ठेक्का लिएको छ ।

२०२७ साल मंसिर २७ गते स्थापना भएको उक्त विद्यालय तीन बिगाहा चार कट्ठा बराबरको क्षेत्रफलमा छ । यहाँ करिब १५ सय विद्यार्थी अध्ययनरत छन् । यही विद्यालयमा अध्ययन गर्ने मजदुरका सन्तानलाई लुम्बिनी प्रदेश सरकारका पूर्वमन्त्री लीला गिरी र उपमहानगरका प्रमुख शिवराज सुवेदीले अभिभावकत्व समेत लिएर नियमित चासो राख्दै आउनुभएको छ ।

भवन शिलान्यास समारोहमा उपमहानगरका उपप्रमुख गुमादेवी आचार्य, जनप्रतिनिधिहरु, उपमहानगरका महाशाखा प्रमुखहरु, इन्जिनियरहरु, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डोरप्रसाद पोखरेल, भारतीय दुतावासका इन्जिनियर सुयोग प्रधान, नागरिक अगुवा, अभिभावकहरुको सहभागिता थियो । कार्यक्रममा विद्यालयका योजनाका बारेमा प्रधानाध्यापक धनिश्वर गौतम र सञ्चालन शिक्षक बलराम न्यौपानेले गर्नुभएको थियो ।

डेढ दर्जन विद्यालयमा नयाँ भवन निर्माण
बुटवलमा जनप्रतिनिधि निर्वाचित भएयता करिब १७ वटा विद्यालयका नयाँ र व्यवस्थित भवन निर्माण भएका छन् । तीनै तहका सरकार, दातृ निकायको सहकार्यमा बुटवलको शैक्षिक पूर्वाधारमा महत्वपूर्ण काम भएका छन् । बुधबार शिलान्यास भएको नहरपुर माविको भवन नयाँ हो । नहरपुरमै यसअघि नयाँ भवन निर्माण भइ सञ्चालनमा आइसकेको छ ।

यसअवधिमा उजिरसिंह माविमा दुईवटा ‘ए’ र ‘बी’ ब्लक भवन निर्माण भएका छन् । यस्तै लक्ष्मी मावि, जनता मावि, नहरपुर मावि, कालिका मानवज्ञान मावि शैक्षिक तथा छात्राबास भवन निर्माण भएका छन् । यसैगरी नयांगांउ मावि, प्रगति मावि, जनशक्ति नमूना भिमप्रसाद प्रावि, ज्ञानोदय मावि तथा नविन औद्योगिक कदरबहादुर रीता मावि भवन तला थप साथै सभाहल भवन निर्माण भएको छ ।

बुटवलकै सरस्वती मावि भवन तला थप, भवानी मावि, मायादेवी जनजागृती आधारभूत विद्यालय भवन निर्माण भएका छन् । कालिका क्याम्पस भवन निर्माण, मोतिपुर मावि भवन निर्माण, सिद्धेश्वर लालकुमारी मावि भवन निर्माण सम्पन्न भएका छन् । यसैगरी नवरत्न मावि, नहरपुर मावि, सहिद स्मृती आधारभूत विद्यालय, कालिका मानवज्ञान मावि तथा सिद्धेश्वर लालकुमारी मावि र मोतीपुर माविका भवनमा ट्रस निर्माण गरिएको छ ।

बुटवलका सामुदायिक विद्यालय देशकै उत्कृष्ट
बुटवल उपमहानगरमा रहेका सामुदायिक विद्यालय मुलुकमै उत्कृष्ट मानिन्छन् । देशभरीका सामुदायिक विद्यालयको शैक्षिक मूल्यांकनमा बुटवलका विद्यालय उत्कृष्ट भएका छन् । शैक्षिक गुणस्तर परीक्षण केन्द्रले देशभरबाट छनौट गरेका ९९६ सामुदायिक विद्यालयमा गरेको हालैको मूल्यांकनबाट यो उत्कृष्ट नतिजा हासिल भएको हो । त्यसमा नहरपुर मावि पनि उत्कृष्ट भएको छ ।

उपमहानगरका शिक्षा तथा जनस्वास्थ्य महाशाखा प्रमुख मित्रमणी खनालले नयाँ शैक्षिक सत्रलाई अझ उपलब्धिमूलक बनाउन र हौसला कायम राख्नेगरी उपमहानगरले विशेष शिक्षा योजना बनाइरहेको बताउनुभयो । बुटवलमा ३८ वटा सामुदायिक विद्यालय रहेका छन् । संस्थागत र सामुदायिक गरी करिब ६० हजार विद्यार्थी अध्यय्नरत रहेका छन् ।

शैक्षिक गुणस्तर उकास्ने नयाँ कार्यक्रम
बुटवलको पाँच वर्षे नगर शिक्षा योजना २०७६÷०७७–२०८०÷०८१ निर्माण भई कार्यान्वयनमा रहेको छ । आधारभूत तह कक्षा (१–८) को स्थानीय पाठ्यक्रम निर्माण र पाठ्यपुस्तक लेखन कार्य सम्पन्न गरी कार्यान्वयनमा ल्याइएको छ । ‘समृद्ध बुटवल, खुशी बुटवल बासी’ को उद्देश्य अनुरुप साकार बनाउन उद्यमशिल युवा जनशक्ति उत्पादनका लागि रोजगारमूलक शिक्षाको व्यवस्थापन गर्न सीप संग सम्बन्धित शैक्षिक संगोष्ठि सम्पन्न गरी अवधारणा पत्र तयार भएको छ ।

‘बुटवल उपमहानगर, गुणस्तरीय शिक्षामा समतामूलक अवसर’ भन्ने आदर्श वाक्य अनुरुप सबै विद्यालयमा समान गुणस्तरको शिक्षाको व्यवस्थापनका लागि ‘सिङ्गो बुटवल, एक विद्यालय’को अवधारणा पत्र तयार गरी कायान्वयनको प्रक्रियामा रहेको छ । बुटवल उपमहानगरपालिकामा ललितकला विषयको शिक्षाको व्यवस्थापनका लागि अध्ययन गरी अवधारणा पत्र तयारीका लागि अध्ययन कार्यदल गठन गरी कार्य भैरहेको छ ।