बुटवल–नारायणगढ सडकमा दुई वर्ष म्याद थप्न माग

मेचीकाली संवाददाता

१६ मंसिर २०७८, बिहीबार
1235 shares

बुटवल । बुटवल–नारायणगढ सडक खण्ड तोकिएको समयमै नसकिने निश्चित छ । अनेकौं व्यवधान झेल्नुपरेको भन्दै निर्माण कम्पनीले म्याद थप गर्न माग गरेको छ । आवश्यक प्रक्रिया पूरा गरेर म्याद थपका लागि निवेदन दिएको छ । कोरोना कहर तथा लकडाउन, लगातारको वर्षात् सँगै साइट क्लिरियरमा ढिलाई हुँदा निर्माण कार्य प्रभावित भएको र कामको लोड पनि थपिएको भन्दै निर्माण कम्पनीले दुई वर्ष म्याद थप्न माग गरेको छ ।

दाउन्ने–पश्चिमको सडक विस्तारको काम हेर्दै आएका इन्जिनियर प्रदीपराज शाक्यले यो खण्डमा हालसम्म करिब ११ प्रतिशत मात्रै काम भएको र अहिले केही दिनदेखि नियमित विस्तारको काम चलिरहेको बताए । यहाँ दैनिक पाँच सय जना कामदारले काम गरिरहेको, साइट क्लिरियर गर्ने काम भइरहेको छ ।

यद्यपि तोकिएको समयमा यो पूरा हुने अवस्था नरहेको उनको भनाइ छ । तर, म्याद कति थप्ने, कसरी थप्ने भन्ने विषयमा भने अवस्थाको अध्ययन भइरहेको इन्जिनियर शाक्यको भनाइ छ । निर्माण कम्पनीसँग २०२२ अगष्टसम्म काम सक्नेगरी ठेक्का सम्झौता भएको थियो । अहिले दुई वर्ष थप गरेर आगामी २०२४ अगष्ट २४ तारिखसम्मको म्याद थप गर्न माग गर्दै निवेदन आएको आयोजनाले जनाएको छ ।

निर्माण कम्पनीले मागेको ‘२०२४ अगस्टसम्मको म्याद थप गर्न माग भएको छ । यो जायज हो कि होइन भनेर मूल्यांकन भइरहेको छ । कन्सलटेन्टले यसका बारेमा अवस्था के हो त्यो बुझ्न विज्ञहरुको टोली र कन्सलटेन्टले अध्ययन गरिरहेको छ ।’ इन्जिनियर शाक्यले बताए ।
लकडाउनका कारणले काम प्रभावित भएको र त्यसअघि रुख कटानको स्वीकृति र विद्युत्का पोल सार्ने काम नभएकाले काम प्रभावित भएको थियो । यी सबै काम अहिले विस्तारै चलिरहेका छन् । विद्युत् प्राधिकरणले पोल नसारिदिएपछि अहिले निर्माण व्यवसायीले नै पोल सारिरहेको छ । दाउन्नेलगायतका केही ठाउँमा रुख कटान चलिरहेको छ ।

निर्माण कम्पनीले ठाउँठाउँमा सडक भाँसिएको, घोडाहा र तुरिया खोलाको पुल भाँचिएका कारणले पनि ढिलाई भएको बताउँदै आएको छ । सम्झौता भएकोभन्दा अतिरिक्त भार परेको भन्दै म्याद थपको माग गरेको निर्माण कम्पनीले जनाएको छ । नारायणगढ–बुटवल सडक आयोजनाअन्तर्गत खण्ड ‘क’ का योजना प्रमुख रमेश दृष्टिले निर्माण कार्य जारी नै रहेपनि सन्तोषजनक प्रगति भने नदेखिएको बताए । नवलपुर खण्डमा करिब तीन प्रतिशत मात्रै भौतिक प्रगति भएको उनले जानकारी दिए । यो खण्डमा पनि रूख कटानमा स्वीकृति नपाउँदा र विद्युत् पोल सार्न ढिलाई भएका कारणले सडक विस्तारको काम प्रभावित भएको हो ।

उत्तरतर्फको रूख कटानमा अनुमति पाएर धेरै रूख काटिएको भए पनि दक्षिणतर्फ चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र पर्ने भएकाले रूख कटानमा समस्या आएको थियो । मन्त्रिपरिषद्ले रूख कटानको स्वीकृति दिएसँगै दक्षिणतर्फको रूखसमेत काट्न भएको छ । आर्थिक केन्द्र बुटवल र पर्यटकीय केन्द्र नारायणगढलाई फास्टट्रयाक सडकले जोड्नेगरी यो सडक विस्तार आयोजना सुरु भएको हो । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री तथा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल अर्थमन्त्री भएका बेलामा २०७५ चैत ८ गते बुटवलको राजमार्ग चौराहामा सडक विस्तारको कामको शिलान्यास भएको थियो ।

यो सडक आयोजनालाई दुई खण्डमा विभाजन गरेर ठेक्का सम्झौता गरिएको थियो । कुल ११३ किलोमिटर सडकमध्ये नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैंडाकोटदेखि दाउन्नेसम्म ६४ दशमलव ४२ किलोमिटर सडकलाई खण्ड ‘क’ र दाउन्नेदेखि बुटवलसम्मको बाँकी सडकलाई खण्ड ‘ख’ अर्थात् दाउन्ने पश्चिम मानेर दुवै खण्ड निर्माणको जिम्मा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले पाएको छ ।

सो सडक चार लेनमा विस्तार हुनेछ भने शहरी क्षेत्रमा अतिरिक्त सर्भिस लेनसमेत निर्माण हुने बताइएको छ । यस सडकको अधिकांश भाग वन क्षेत्रमा पर्ने भएकाले मध्यवर्ती क्षेत्रमा वन्यजन्तुमैत्री पुलसमेत निर्माण हुने गरी ठेक्का सम्झौता भएको थियो । साइड क्लिरियर भएपछि विस्तारको काम तीव्र हुने निर्माण कम्पनीको प्रतिबद्धता छ ।