ढुङ्गा खोपेर भविष्य कोर्दै राजेन्द्र ! सिलौटो बनाएर परिवार धान्नै मुस्किल

मेचीकाली संवाददाता

२२ मंसिर २०७८, बुधबार
868 shares

रमेश पराजुली
बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डको छेउमै भेटिन्छन् ‘राजेन्द्र पत्थरकट्टा’ । पाल्पाको तिनाउ गाउँपालिका–३ दोभानस्थित सडक छेउमा ‘राजेन्द्र सिलौटा सेन्टर’ लेखिएको एउटा पुरानो बोर्ड झुन्डाइएको छ । उमेरले साढे ४ दशक नाघेका उनी दैनिकजसो यही ठाउँमा आफ्नै सुरमा ढुङ्गा कुँदिरहेका हुन्छन् ।

बुट्टेदार सिलौटोमा अल्झिएको छ उनको परिवारका ६ जना (श्रीमती, ३ छोरा, १ छोरी) को जिन्दगी । धुलाम्मे सडकको छेउमा बसेर यसैगरी एकोहोरो घन र छिनो चलाउँदै राजेन्द्रले आफ्नो जिन्दगीको दुई दशक कटाइसकेका छन् । उनी भन्छन्, ‘घन र छिनो मेरो सानैदेखिको साथी हो ।’ सिलौटो बनाएर बेच्ने उनीहरुको पुख्र्यौली पेशा नै हो । राजेन्द्रका बुबा, हजुरबुबाहरुले पनि यही पेशा व्यवसाय गर्थे ।

रुपन्देहीको पूर्वी क्षेत्र धगधईमा जन्मिएका उनी काम खोज्दै पाल्पामा बसाइ सरेर आएका हुन् । राजेन्द्रका ३ भाइ छोरामध्ये जेठो १२, माइलो ११ र कान्छो ८ कक्षामा पढ्दैछन् । छोरीको भने बिवाह भइसकेको छ । अहिले उनलाई काममा श्रीमतीले सघाउँदै आइरहेकी छिन् । ‘छोराहरुले पढ्दै छन्, श्रीमान्–श्रीमती मिलेर काम गछौँ, बिदाको समयमा छोराहरुले पनि सघाउँछन् ।’ उनले भने । सिलौटो बनाउन त्यति सजिलो भने छैन । सिलौटो बनाउन योग्य ढुङ्गा खोज्दै टाढा टाढासम्मका खोला र जंगलमा पुग्नुपर्छ, राम्रो ढुङ्गा भेटाउन मुस्कील पर्छ । केही ढुङ्गा बाटोमै फुट्छन्, बँचेका ढुङ्गालाई धेरै मिहेनत गरेपछि मात्र सिलौटो तयार हुन्छ ।

ढुङ्गालाई विभिन्न आकार दिएर मसला पिस्ने सिलौटो, लोहोरा, मकै, कोदो, गहुँ, जौँ, चामल पिस्ने जाँतो, ओखललगायत घरायसी प्रयोगका सामग्री बनाउन निकै सिपालु छन् राजेन्द्र । तर, यी सामग्रीले बजार नपाएपछि सिलौटो बनाउने पेशा निल्नु न ओकल्नु जस्तै भएको उनी बताउँछन् । ‘पहिले दिनमा ७÷८ वटासम्म सिलौटा बनाउँथे तर, अहिले ३÷४ वटा मात्रै सिलौटा बनाउँछु । कहिले बिक्री हुन्छ, कहिले हुँदैन । व्यापार घटेपछि बनाएर मात्र किन थुपार्नु ?’ उनले भने । ‘केही वर्ष पहिलासम्म सिलौटाको व्यापार राम्रो हुन्थ्यो । एउटा सिलौटोलाई एक हजार ५ सय रुपैयाँसम्म बिक्री गरेको उनी सम्झन्छन् तर, अहिले ३ सयदेखि मुस्किलले एक हजार रुपैयाँसम्ममा बिक्री हुन्छ ।’

पहिला सिलौटा, जाँतो, ओखलहरु विक्रीका लागि पाल्पाका विभिन्न ठाउँहरुसँगै बुटवल, गुल्मी, स्याङ्जा, पोखरातिर पुग्ने गरेको उनले बताए । लगेको सबै बिक्री गरेर फर्किँदा राम्रै आम्दानी हुन्थ्यो । सिद्धार्थ राजमार्गको छेउमै भएकाले उनले बनाएका धेरैजसो सिलौटो, लोहोरा देशका विभिन्न ठाउँमा पुग्थे । उनको सिप मन पराउने धेरै थिए । गन्तव्यमा जान हिँडेका यात्रुहरुले पनि बस रोकाएरै सिलौटा लिएर जान्थे । ‘पछिल्लो समय मिहेनत गरेर बनाएको सिलौटा ग्राहकहरुले एकदमै कम मूल्यमा माग्ने गर्नुहुन्छ । आफ्नो लागत पनि उठ्दैन, ढिकी र जाँतोमा पिस्नेको संख्या पनि एकदमै न्यून छ । जाँतो र सिलौटाको काम छैन भनेर किन्न कोही मान्दैनन् ।’ राजेन्द्रले भने ।

केही वर्ष अघिसम्म यही पेशाबाटै राम्रो आम्दानी गर्दै आएका पत्थरकट्टा जातीको पुख्र्याैली पेशा छोटो समयको अन्तरालमा संकटमा पर्दै गएको राजेन्द्रले बताए । ‘नयाँनयाँ प्रविधिको विकास र यसको सहज उपलब्धताकै कारण पत्थरकट्टा जातीको पुख्र्याैली पेशा संकटमा परेको हो । केही वर्षअघिसम्म जो कोहीको घरमा प्रविधिमा आधारित मिक्स्चर तथा मिललगायत अन्य उपकरणको सहज उपलब्धता थिएन । परम्परागत रुपमा प्रयोग हुँदै आएका सिलौटो, लोहोरो, जाँतोको प्रयोग अनिवार्य जस्तै थियो । तर, पछिल्ला दिनहरुमा बजारमा उपलब्ध हुने आधुनिक उपकरणको सहज उपलब्धताले यस्ता परम्परागत उपकरणको प्रयोग धेरै घटेको छ ।’ राजेन्द्रले भने ।

‘सिलौटो बनाएरै बुढो भइयो अब अर्को पेशा पनि के गर्ने, मनले पनि मान्दैन अनि उमेर छँदा अरु सिप पनि सिकिएन, पछिल्ला दिनहरुमा यो पेशाले त परिवार धान्नै मुस्किल हुन थाल्यो ।’ उनले भने । आयस्रोतको लागि अन्य पेशा व्यवसाय नभएपछि बाबुआमाले गर्दै आएको पुख्र्याैली पेशा अँगालेका उनले स्मरण गर्दै अहिले भने आधुनिकताले पेशालाई विस्थापित गरेको बताए ।

केही वर्ष पहिलेसम्म गाउँमा मात्र नभई शहरी क्षेत्रका घरमा समेत सिलौटो, लोहोरो र कहीँकतै एकाध संख्यामा जाँतोको प्रयोग हुँदै आएको थियो । शहरी क्षेत्रको आसपासका साथै ग्रामीण क्षेत्रमा जाँतो, ढिकी, ओखलको प्रयोग धेरै मात्रामा हुँदै आएकोमा अहिले आधुनिक प्रविधिको विकाससँगै बिजुलीबाट चल्ने मिल र अन्य मेसिनहरु भित्रिएपछि यसको प्रयोग शून्य अवस्थामा पुगिसकेको छ । जसका कारण यस्ता परम्परागत उपकरणहरु छोटो समयको अन्तरालमा नै लोप हुने अवस्थामा पुगेकोमा राजेन्द्रले चिन्ता व्यक्त गरे ।

पुर्खादेखि चल्दै आएको आफ्नो व्यवसाय पुस्तान्तरण हुँदै आएको भए पनि अब पुस्तान्तरण नहोला कि भन्ने चिन्ता पत्थरकट्टाहरुमा छ । प्रविधिमा आधारित उपकरणको प्रयोग राम्रो भएपनि आफ्नो पेशा नै गुम्ने र आफूहरु विस्थापित हुनु पर्ने हो कि भन्ने चिन्ता बढ्दै गएको राजेन्द्र बताउँछन् ।

‘समस्याबाट भागेर कहाँ जानु ? पुर्खाले यही पेसा अपनाए । अर्काको देशमा नोकरी गर्नुभन्दा आफ्नै देशमा सुख–दुःख गर्नु धेरै राम्रो हुन्छ,’ उनले भने । सीपमा बाँच्नेहरूलाई राज्यले सहयोग गर्नुपर्ने उनको माग छ । राज्यले सीपको सम्मान गर्नुपर्छ । विदेश पलायन हुनबाट युवाहरूलाई रोक्न उनीहरूको जीवनशैली उकास्नुपर्छ । उनले भने, ‘सीपमूलक कार्यमा राज्यको लगानी हुनुपर्छ । यसले मुलुकलाई माथि पु¥याउनेछ ।’
पाल्पाको तिनाउ गाउँपालिकाका प्रमुख ओमबहादुर घर्ती मगरले लोपोन्मुख तथा सिमान्तकृत समुदायहरुको पेशाको संरक्षणका लागि अहिलेसम्म कुनै पनि पहल नभएको बताए । ‘वडा ३ दोभानमा पहिलेदेखि नै केही पत्थरकट्टाहरुले जीविकोपार्जनका रुपमा सिलौटा, लोहोरो, जाँतोहरु बनाउँदै आएको र उनीहरुको आवश्यक मागलाई छिट्टै नै स्थानीय सरकारले सम्बोधन गर्ने बताए । उहाँहरु पनि समस्यामा परेको भनेर आउनुभएको छैन, आउनुभयो भने संरक्षणका लागि विशेष योजना बनाएर अगाडि बढ्नेछौँ ।’ उनले भने ।

सरकारले लोपोन्मुख सूचीमा रहेको ‘पत्थरकट्टा’ जातिलाई सामाजिक सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, ‘२०७५’ अनुसार सामाजिक सुरक्षा भत्ता प्रदान गर्दै आएको छ । तर, सामाजिक सुरक्षा भत्ता प्रदान गरेको सरकारले उनीहरुको पेशा संरक्षणका लागि योजना भने बनाउन सकेको छैन । यसैगरी एक पछि अर्को गर्दै परम्परागत पेशाहरु लोप हुने, युवाहरु विदेश पलायन हुँदै जाने हो भने हाम्रो आफ्नो भन्ने परम्परा र औजारहरु हेर्न भोलिका हाम्रा सन्ततिहरु संग्रहालयमा पुग्नुपर्ने अवस्था नआउला भन्न सकिन्न ।