गुल्मी अस्पताल निर्माणको काम तीव्र, भारतीय प्राविधिक टोलीद्धारा अनुगमन

मेचीकाली संवाददाता

७ पुष २०७८, बुधबार
443 shares

गुल्मी । निर्माणाधीन अत्याधुनिक गुल्मी अस्पताल तम्घासको भारतीय प्राविधिक टोलीले अनुगमन गरेको छ । भारतीय सरकारको पूर्ण अनुदानमार्फत राष्ट्रिय पुनः निर्माण प्राधिकरण केन्द्रिय आयोजना कार्यान्वयन इकाई पाल्पामार्फत आयोजना कार्यान्वय भइरहेको छ । सोमबार भारतीय सरकारको आधारिकारिक कन्सलटेण्ट (CSIR–CBRI, ROORKEE) का अजयकुमार हजारीका, हिमान्सु शर्मा र घनश्याम मित्तलसहितको टोलीद्वारा आयोजनाको अनुगमन गरेका छन् ।

टोलीले कामको प्रगति र गुणस्तरको विषयमा प्रसंसा गरे । अस्पताल निर्माणको लागि स्वच्छन्द–बानियाँ जेभी मकवानपुर हेटौडाले निर्माणको सम्झौता गरेको छ । अस्पताल दुई वर्षभित्र काम सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ । निर्माण सुरु भएको साढे ५ महिनामा अहिलेसम्म २०.२ प्रतिशत काम सकिएको अस्पताल निर्माणको काम सुपरिवेक्षण गरिरहेका भारतीय सरकारको आधारिकारिक कन्सलटेण्ट (कन्ट्रक्सन सुपरभिजन एक्सपर्ट) इन्जिनियर अजयकुमार गुप्ताले जानकारी दिए ।

अहिले अस्पतालको राफ्ट फाउण्डेशनको डलानको काम सकिएको छ भने सियर वाल र पिल्लर निर्माणको काम भइरहेको छ । अस्पताल निर्माणको काम अत्यन्तै तिव्र गतिमा भएको छ । जसका लागि आफू नै फिल्डमा खटिएर अस्पतालको Design, drawings, BOQ, Specification अनुसारको गुणस्तरीयता, प्राविधिक सल्लाह, वातावरणीय मूल्यांकन र सुरक्षाको मापदण्ड अपनाएर काम गरिरहेको गुप्ताले बताए । लिफ्ट, अण्डर ग्राउण्डसहित आधुनिक र सबै सुविधा भएको प्रदेशस्तरको साढे ५ तल्लाको अस्पताल भवन निर्माण भइरहेको गुप्ताको भनाइ छ ।

स्वच्छन्द–बानियाँ जेभीले २५ करोड ४१ लाख १४ हजार ९ सय ६४ रुपैयाँको लागतमा अस्पताल निर्माणको सम्झौता गरेको छ । सम्झौताअगाबै अस्पताल निर्माणको काम सम्पन्न गर्ने विश्वास निर्माण कम्पनीले लिएको छ । कम्पनीका साइड इन्चार्ज कृष्ण घिमिरेले सम्झौताको समयअगाबै काम सक्ने गरेर काम गरिएको प्रतिक्रिया दिए । उनले जिल्लाको सबैभन्दा ठूलो अस्पतालसँग जनताको आशा र विश्वास भएकाले रातदिन गरेर काम भइरहेको घिमिरेले बताए । ‘हामीले अरु योजनाको काम पनि सयमै गरिरहेका छाँै । गुल्मी अस्पताल सम्झौता नसकिँदै निर्माण गरेर देखाउँछौँ,’उनले भने,‘काममा तिव्रता र गुणस्तरीयतालाई पनि ध्यान दिएका छौँ ।’

गुल्मी अस्पताल ०७१ सालमा ५० शैयामा स्तरवृद्धि भएको हो । तर, भौतिक संरचनाको अभावमा पूर्ण कार्यान्वयन भएको थिएन । गुल्मी अस्पतालमा सेवाको हिसाबले गुल्मीसहित अर्घाखाँची र बाग्लुङका नागरिकहरुको समेत स्वास्थ्य परीक्षण र उपचार भइरहेको छ । भौतिक संरचना नहुँदा एकै कोठामा दुई÷तीन जना डाक्टरहरु बसेर सेवा प्रबाह गर्नुपर्ने बाध्यता रहेको छ । अस्पतामा प्राप्त औषधी र उपकरण व्यावस्थापन गर्न मुस्किल परेको छ भने विशेषज्ञसहितको सेवा प्रवाहमा अप्ठ्यारो स्थिति देखा परिरहेको छ । तर, आधुनिक गुल्मी अस्पतालको भवन निर्माणले नयाँ सेवा प्रबाहसँगै सञ्चालनमा रहेका सेवाहरुको पनि व्यावस्थापन हुने गुल्मी अस्पतालका प्रमुख डा. उत्तम पच्याले बताए ।

लामो समयपछि जिल्लामा सुविधा सम्पन्न आधुनिक गुल्मी अस्पताल निर्माणको कामले सार्थकता पाएको छ । नयाँ भवनमा आइसियु, सर्जिकल, मेडिकल, चिल्डे«न उपचार कक्षको छुट्टाछुट्टै व्यावस्था हुनेछ । त्यस्तै भवन निर्माणपश्चात् प्रसुति, नाक, कान, घाँटी र हाडजोर्नीलगायतका रोगको विशेषज्ञसहितको सेवा बिस्तार हुने पच्याले बताए । काम सुरु गरेर समयमै सम्पन्न नहुने प्रवृत्तिबाट गुल्मेलीहरु तर्सिएका छन् । त्यसैले पनि ठुलो र अत्याधुनिक अस्पताल भवन भएकाले नागरिक स्तरबाट शंकाउपसंका हुनु स्वभाविक हो । तर, निर्माण कम्पनीले अहिले गरिरहेको कामको तिव्रता र गुणस्तरीयताको विषयमा सरोकारवाला, उद्योगी व्यावसायी तथा स्थानीय खुसी छन् ।

गुल्मी अस्पतालमा अहिले अत्याधुनिक भवन मात्रै निर्माण भइरहेको छैन । आइसियु, एचडियु र अक्सिजन प्लाण्टलगायतका महत्वपूर्ण सेवा बिस्तारको काम पनि भइरहेकाले नागरिकमा स्वास्थ्यप्रतिको आशा बढेको युवा नेता ओम कार्कीले बताए । अस्पतालको नयाँ संरचना र सेवा बिस्तारले उपचारकै कारण बसाइ सर्ने र केही जटिल समस्या आउनेबित्तिकै पाल्पा, बुटबल र काठमाण्डौ दौडनुपर्ने बाध्यता केही हदसम्म समाधान हुने आशामा गुल्मेली नागरिक छन् । त्यसैले संवेदनशील महत्वपूर्ण संरचनाको निर्माण बेलैमा सम्पन्न गर्न सबैको सकरात्मक ऊर्जा र निगरानी आवश्यक छ ।