छाडा चौपाया व्यवस्थापनको लागि समन्वय गरिने

मेचीकाली संवाददाता

१९ पुष २०७८, सोमबार
653 shares

पार्वती आचार्य
कपिलवस्तु । जिल्ला समन्वय समिती कपिलवस्तुको चौथो जिल्ला सभा कपिलवस्तुको तौलिहवामा सम्पन्न भएको छ । सभामा समन्वय समितिका प्रमुख नारायण प्रसाद खनालले समन्व समितीद्वारा नितिहरु प्रस्तुत गरेका थिए । कपिलवस्तु जिल्लाको सम्पुर्ण पालिकाहरुको साझा समस्याको रुपमा रहेको छाडा चौपायाहरुको स्थायीरुपले दिगो व्यबस्थापन गर्न सम्भावित स्थानको पहिचान, बिस्तृत कार्ययोजनाका लागि स्थानिय तहहरुसँग समन्वय गरिने छ ।

यस्तै बालबिवाह तथा लैंगिक हिंसा अन्त्य र युवा बिकास सम्बन्धी निती तथा कार्यक्रम संचालन गर्ने सम्बन्धमा, बालबिवाह अन्त्यका लागि रणनैतिक कार्ययोजना २०७४ कार्यान्वयन गर्न जिल्लाका सबै नगरपालिका तथा गाउँपालिकाहरुले पालिका स्तरिय बालबिवाह अन्त्यको रणनैतिक कार्ययोजना बनाई बालबिवाह तथा लैंगिक हिंसा अन्त्यको लागि बिशेष अभियान संचालन गर्न गराउन अनुरोध गरिने प्रस्तुत नितीमा उल्लेख गरिएको छ ।
प्रमुख खनालले जिल्लाको सन्तुलित विकास गर्न जिल्ला भित्रका सबै स्थानीय तहहरुको विकास निर्माणका बिषय पहिचान गर्ने र सो को ब्यबस्थापन गर्न आवश्यक समन्वयलाई प्रभावकारी बनाईने । जिल्ला भित्र गैरसरकारी संघ संस्थाहरुबाट संचालन भईरहेका र संचालन हुने योजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने तथा जिल्लामा रहेका संघिय तथा प्रदेश सरकारी कार्यालय र स्थानीय तहहरुको बिचको समन्वयलाई प्रभावकारी बनाउने जस्ता नितिहरु प्रस्तुत गरेका थिए ।

त्यस्तै जिल्लाका पालिकाले खुल्ला दिसामुक्त, पुर्ण खोप तथा बालविवाह मुक्त घोषणा गरे अनुसार त्यसको प्रभावकारी कार्यान्वयन तर्फ पालिका प्रमुख तथा उप प्रमुखले ध्यान दिन आवश्यक रहेको बताए । प्रमुख खनालले सबै पालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुलाई क्षमता विकासका तालिम सञ्चालन गर्ने, बिकास निर्माणका कामलाई तिब्रता दिने सम्बन्धमा तथा बहुक्षेत्रीय पोषण अन्तर्गतका सबै सुचकहरु पुरा भए नभएको अनुगमन गर्ने लगाएतका २१ बुँदे नितिहरु प्रस्तुत गरेका थिए ।
यसैगरी जिल्ला समन्वय अधिकारी भुमिराम पोख्रेलले आर्थिक बर्ष २०७७÷०७८ को यथार्थ तथा चालु आर्थिक बर्ष २०७८÷०७९ को अनुमानित बजेट प्रस्तुत गरेका थिए । अधिकारी पोख्रेलले समितिका अयस्रोत, बार्षिक आयव्यय प्रस्तुत गर्दै स्थानीय तहले बेरुजु शुन्यमा झार्न आवश्यक रहेको बताए ।

कार्यक्रममा सहभागी सरोकारवालाहरुले छाडा पशुचौपाया ब्यबस्थापन हुन नसकेको, फोहोरमैला ब्यबस्थापन गर्न नसकेको हिंसा पीडीतहरुको लागि सेभ हाउसको व्यवस्था हुनु पर्ने र जिल्लामा शव वहानको व्यवस्था गरिनुनु पर्ने लगायतका बिषयमा जिज्ञासा राखेका थिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले जिल्ला समन्वय समितिले ल्याएका २१ बुदे नितिले साझा धारणा समावेश गरेको बताए । कपिलवस्तु जिल्लाका मुद्धा हेर्ने निकायलाई ऐन नियम तथा नितिबारे प्रशिक्षण दिन आवश्यक रहेको बताए । प्रजिअ पाण्डेले स्थानीय तहले फोहोरमैला तथा छाडा पशु चौपाया ब्यबस्थापन गर्न नसक्नु दुःखको कुरा भएको बताए । हरेक पालिकाले केहि निति निर्माण गर्न बाँकी रहेकाले विभिन्न योजना अलपत्र परेको समेत बताए ।
राष्ट्रिय परिचय पत्र तथा मतदाता नामावली तथा मतदान सम्बन्धी नागरिकलाई शिक्षा दिन आबश्यक देखिएको बताए । नदी जन्य पदार्थ उत्खनन्, सीमा नाकाको विवादमा पालिका पालिका बिचमा समन्वय गरेर अगाडि बढ्दा राम्रो हुने बताउदै आ आफ्ना पालिकाको राजश्व बृद्धि गर्नमा ध्यान दिन आवश्यक रहेको बताए । सरकारले लागु गरेको निःशुल्क शिक्षा कार्यान्वयनको प्रक्रिया प्रति ध्यान दिन स्थानिय तहका प्रमुखहरुलाई प्रजिअ पाण्डेले अनुरोध गरे ।

कार्यक्रममा जिल्ला समन्वय समितिका उप प्रमुख तारावती चौधरी , महाराजगंज नगरपालिकाका प्रमुख अब्दुल कलाम खाँ, यशोधरा गाउँपालिकाका उपाध्यक्ष कन्यावती उपाध्याय, लगायतले सरोकारवालका जिज्ञासहरुको जवाफ दिंदै आ आफ्नो धारणा राखेका थिए ।
कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख नारायण प्रसाद खनालको अध्यक्षत, समन्वय समिति उप प्रमुख तारावती चौधरीको स्वागत मन्तव्य , समन्वय समितीका सदस्य तेज बहादुर रायमाझिको धन्यवाद ज्ञापन तथा खरिदार सुरेन्द्र प्रसाद बेल्बासेको सञ्चालनमा सम्पन्न कार्यक्रममा गाउँपालिका र नगरपालिकाका प्रमुख तथा उप प्रमुखहरु, समन्वय समितीका सदस्यहरु , समन्वय समितीका कर्मचारीहरु र पत्रकार लगायतको उपस्थिती रहेको थियो ।