सडक मानवको राष्ट्रिय उद्धार यात्राः वषौँदेखि सडकमा बस्नेहरुले ओत र भोजन पाउँदै

मेचीकाली संवाददाता

२२ पुष २०७८, बिहीबार
746 shares

रमेश पराजुली
बुटवल । पुस र माघ महिनाको कठ्गाङ्ग्रिदो जाडोमा अघिल्ला वर्षहरूमा सडकपेटी र सार्वजनिक स्थलहरुमा बस्न बाध्य भएका अभिभावकविहीन, सहयोगपेक्षी सडकमानवहरुले ओत र भोजन पाउन थालेका छन् । पुस र माघ महिनाको जाडोमा कसैले पनि जीवनको अन्तिम क्षण बिताउन नपरोस्, कम्तीमा सबैजनालाई खाना, नाना र छानाको व्यवस्थापन गर्न सकियोस् भन्ने उद्देश्यले सडकमानवको राष्ट्रिय उद्धारका लागि मानव सेवा आश्रमले मेचीमहाकाली यात्रा–२०७८ सञ्चालन गरेको छ । सडकमा बेवारिसे अवस्थामा भेटिएकामध्ये केही दिनभर काम गरेर रात सडकमा बिताउने पनि छन् ।

यही पुस १८ गते महाकाली पुलबाट यात्रा सुरु गरेको उद्धार टोलीले लुम्बिनी प्रदेशसम्म आइपुग्दा १५ जनाको उद्धार गरिसकेको उद्धार टोलीका संयोजक आदर्श ढकालले जानकारी दिए । अघिल्लो वर्षको पुस र माघ महिनामा समेत मानवसेवा आश्रमले मेची महाकाली उद्धार यात्रा सञ्चालन गरेको थियो । जसमा ७५८ जनाको उद्धार गरिएको ढकालले बताए ।

‘अघिल्लो वर्ष हामीले हामीले सञ्चालन गरेको मेचीमहाकाली उद्धार यात्रामा उद्धार गरेका व्यक्तिहरुको संख्या अत्याधिक धेरै रहेको थियो । यो पटक भने हामीले उद्धार संख्या धेरै बनाउने भन्दा पनि हामीले प्रत्यक्ष देखेका व्यक्तिहरुको उद्धार गर्ने र हामीले नदेखेका नभेटेका व्यक्तिहरुको उद्धारका लागि प्रहरी र स्थानीय पालिकासँग समन्वय गर्ने गरेका छौँ ।’ ढकालले भने ।

उद्धारको क्रममा सडकपेटी र सार्वजनिक स्थलहरुमा वर्षौँदेखि कष्टपूर्ण जीवनयापन गरिरहेका नागरिकहरुले खाना, नाना र छाना पाउन थालेका छन् । उद्धार गरिएका अधिकांश व्यक्तिहरु मानसिक रुपमा अस्वस्थ छन् । त्यस्तै केही व्यक्तिहरुका शरीरमा घाउ लागेका हुन्छन् सरसफाई र औषधी उपचार नगर्दा चल्न र हिँडडुलसमेत गर्न नसक्ने अवस्थामा उद्धार गर्नुपर्छ ।’ मानवसेवा आश्रमका अभियन्ता मनोज घिमिरेले बताए ।

‘आश्रमको संरक्षणमा रहेका बालबालिका विविध कारणबाट मनोरोगी महिलाहरु सडकको कठिन परिस्थिति झेल्दाझेल्दै गर्भ रहन गई जन्मिएका छन् । परिवारबाट अपहेलित भएका र परिवारले स्वीकार नगरेका बालबालिकाहरु पनि रहेका छन् ।’ उनले भने ।
सडकमानवको राष्ट्रिय उद्धार यात्रा आगामी माघ १ गतेसम्म सञ्चालन हुनेछ । तर, उद्धार कार्य भने निरन्तर जारी रहनेछ । मानवसेवा आश्रम नितान्त परोपकारी मनहरुको सहयोगमा सञ्चालन भइरहेको छ । हाल देशभर सातै प्रदेशका १७ जिल्लाका २४ स्थानहरुबाट सेवा प्रवाह गरिरहेको आश्रमको संरक्षणमा १ हजार ६ सय बढी सहयोगापेक्षी सडकआश्रित व्यक्तिहरु आश्रित रहेका छन् ।

विसं २०६९ सालमा स्थापित आश्रमले हालसम्म आश्रमले ६ हजार ७८५ सहाराविहीन अनाथ, अपाङ्गता भएका, अशक्त, असहाय एवं मनोरोगीहरुलाई सेवा प्रदान गरेको छ । २ हजार ४६९ जनालाई उद्धारपछि पारिवारिक पुनर्मिलन गरिएको छ । भने, हालसम्म उद्धार गरेका ६५५ जनाको मृत्यु भएको छ । १ हजार ७२६ जना आश्रमको संरक्षणमा रही उपचारपश्चात बाहिरिएका छन् ।

खुला आकाशमुनि सडकमा कष्टपूर्ण जीवनयापन गर्न विवश असहायको उद्धार, उपचार, पालनपोषण, संरक्षण एवं पारिवारिक पुनर्मिलनको माध्यमबाट नेपाललाई नै सडकमुक्त नेपाल निर्माण गर्ने उद्देश्यले स्थापित आश्रमले विभिन्न जिल्लामा शाखा बिस्तार गरिरहेको छ । हालसम्म हेटौंडामा (मुख्य कार्यालय) भवनको निर्माण सम्पन्न भएको छ । बुटवल र चितवन, भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । भने, विराटनगर, सर्लाही, ललितपुर, पोखरा, लमजुङ, बागलुङ र गोरखामा भवन निर्माणको काम भइरहेको छ । त्यस्तै वीरगञ्ज, धनगढी, झापा र काठमाडौंमा भवन निर्माण सुरु गर्ने तयारी गरिएको छ ।

मानवीयताको राष्ट्र नेपाल निर्माणको सपनालाई साकार पार्न विसं २०८२ सम्ममा कम्तीमा एक हजार जना जुझारु, सिर्जनशील, मानवताप्रेमी पूर्णकालीन अभियानकर्मी तथा एक लाख स्वयंसेवी तयार गर्ने आश्रमको भावी योजना रहेको छ ।