‘गरिब भएकै कारण आफ्नो चिहान आफैँ खन्न खाडीको मरुभूमिमा जाँदै छु’

मेचीकाली संवाददाता

८ माघ २०७८, शनिबार
429 shares

दिलप्रसाद पौडेल
लाग्छ यो समाजमा यदि गरिब भए म एक्लै छु होला । गरिबकोे समाजमा कुनै स्थान हुँदैन । सबैले अपहेलित व्यवहार मात्र गर्छन् । सबैले हेप्छन् । धेरैले जर्जर यातना र दुःख भोगिरहेका छन् । गरिबलाई अनेक यातना, उपमा र विशेषण दिने गरिन्छ । कसैले वास्ता व्यस्ता नै गर्दैनन् । सम्मानित ढंगबाट व्यवहार गरिँदैन । गरिब भएकै कारण सामाजिक उत्पिडन र भेदभावको शिकार भई अपमानित जीवन बिताउन परिरहेको यही समाजमा मैले देखिरहेको छु ।

गरिब जीवनमा सास भएर पनि धेरैपटक मर्ने गर्छ । छोराछोरीलाई स्कूल पढाउँदा पैसा तिर्न नसकेर एकपटक मर्छ । बिरामी भएर उपचारका लागि अस्पताल जाँदा अस्पतालको खर्च तिर्न नसकेर अर्कोपल्ट मर्छ । सास अड्काउनका लागि जसरी भए नि खानु प¥यो । बजारमा चामल, दाल, तेल, तरकारी आदि किन्न जाँदा फेरि मर्छ । लाज गाल ढाक्न मात्रै भए पनि लुगा त लाउनै प¥यो र बजारमा लुगाफाटो किन्न जाँदा फेरि मर्छ । यसरी गरिब जीवनमा पाइलै पिच्छे मर्दै बाँच्दै गर्दोरहेछ ।

गरिब बाँचेर पनि मरेतुल्य छ । देशमा महँगीले आकाश छोएको छ । कुनै पनि वस्तु र सेवा खरिद गर्न सक्ने अवस्था र स्थिति छैन । गरिबले बजारमा गएर केवल आँखाले मात्र सपिङ गर्न सक्ने अहिलेको स्थिति छ । साँच्चै भन्ने हो भने आम नेपाली यही श्रेणीमा जीवन बिताइरहेका छन् । जीवन चलाउन र धान्न धेरै नेपालीलाई कठिन छ । जस्ले जति सुकै गफ गरे पनि खान र लाउन नेपालीलाई पुगेकै छैनभन्दा पनि हुन्छ । आफूले भोगिरहेको जीवनलाई हेरे थाहा हुन्छ कि म कति गरिब छु ? खान र लाउन नपुगेको कुरा आम नेपालीको अनुहारबाट पनि प्रष्टसँग झल्किरहेको देखेको छु र पनि मान्छे पैसाकै घमण्ड किन गर्छ ?

गरिबको यो दुनियाँमा कोही भरपर्दो सहारा हँुदैन । सबै मुखले मात्र ठिक्क पार्छन् परेका दिन सबैले बहाना मात्र गर्छन् । अहिले हेर्दा लाग्छ मानिस त के दुःखमा गरिवलाई साथ दिने भगवान् पनि हुँदैन । भगवान्ले पनि बढी दुःख दिएको जस्तो लाग्छ । तमाम दुःख, पिर, मर्का, चोट, बेदना सहनुभन्दा अर्को विकल्प गरिबसँग छैन । खानेलाउने, हिँड्ने, डुल्ने चाहना सबै आफू मरेर जाँदा सँगै मरेर जान्छ । गरिब भएर बाँच्नु पर्दाको पिडा केवल गरिबलाई मात्र थाहा हुन्छ । ठूलाठूला महलमा बस्ने र महँगा गाडी चढ्नेलाई के थाहा ?

गरिबले हरेक रात खाने नभएर भोकै सुत्नुपरिरहेको छ । लाउने नभएर जाडोले मर्नुपरिरहेको छ । औषधी उपचार गर्ने पैसा नभएर रोग पालेरै कुहिएर बस्नु परिरहेको छ । छोराछोरी पढाउने पैसा नभएर भविष्यका कर्णधार त्यसै खेर गइरहेका छन् । अनेकौँ इच्छा, आंकाक्षा र चाहनालाई तिलाञ्जली दिनुपरेको छ ।

सपनाहरु त्यसै हराउँदै गएका छन् । मनभित्रका भावना र संवेदनालाई दवाउनुपर्ने अवस्था छ । यस्ता गरिबको पिडा र बेदना कस्ले बुझ्ने ? अहिले त तीन तहका सरकार छन् । कुनै न कुनै सरकारले पनि सम्बोधन गर्न सकेका छैनन गरिबका मुद्दा । गरिबहरु केवल नेताका भोट मात्र त रैछन् नि ? के चुनाव जितेर राज्य सत्तामा पुगेपछि गरिबका आँसु पुछ्नु पर्दैन ? आखिर गरिबको भोटले राज्य सत्तामा पुग्ने र पूँजीपति वर्गको हितमा काम गर्ने देशका शासकहरु अलिकति पनि जिम्मेवार देखिँदैनन् र उनीहरुको रवैयाको साक्षी बन्दैे गरिब प्रत्येक पाँच वर्षमा फेरि मर्छ ।

गरिबले निचोरिएको जस्तो अनुहार लिएर हिँडिरहनुपरेको छ । संयोगले बाँचे बाँचिहाल्छ नत्र आफ्नो जीवन समाप्त पार्न बाध्य छ । गरिबको अभिभावक सरकार बन्नु पर्ने हो । तर सरकार त माफियाको चंगुलमा छ । सरकार नै माफियाको नोकर र दास भएको छ । माफियालाई मलजल गर्दै गरिबका मुद्दा ओझेलमा परेका छन् । सरकारका वरपरका आसेपासे, लौरेघजेहरु लुटेर खान पल्केका छन् । सरकार त्यसैको वरपर घुमिरहेको छ । गरिबको बजारमा सहज पहुच हुने पर्ने तर बजारको नियन्त्रणमा सरकार चलिरहेको छ । जसले गर्दा गरिबीले दुई पत्र छाला गएका गरिबहरु फेरि अर्को पल्ट मर्नु परिरहेको छ ।

गरिवलाई खान, लाउन, बस्न, शिक्षा, स्वास्थ्यको कुरा त परै जाओस्, सास फेर्न पनि गाह्रो छ । मरी हाल्न पनि सक्दैन, इच्जतदार र गुणस्तरीय जीवन बिताउन पनि सक्दैन । मर्नुभन्दा बहुलाउनु बेस् भने जस्तो कयौँ गरिब गरिबीकै कारण पागल भएर रोडमा ढुंगा हान्दै हिँडिरहेका पनि छन् । नेपाली समाजको गलत आचरण र व्यवहारका कारण गरिब अझ गरिब बन्दै गइरहेको छ र यो हेर्दै अर्को पल्ट मरिरहेको छ ।

यहाँ गरिबले काम गर्छु भनेर काम गर्न पनि पाउँदैन । त्यसैले आफ्नो चिहान खन्न मरुभूमिमा जानुपर्ने विवशता छ । कोरोनाको कहरका बिचबाट जिन्दगीको पिसिआर आखिर पैसाले गर्दो रहेछ नेगेटिभ कि पोजेटिभ ? मजस्ता गरिबहरु संसारमा धेरै छन् । अप्सोच पीडा बेग्लै हुन सक्छ । करुणाको क्रन्धित आवाज र एकमुट्ठी प्राण बोकेर सपना सजाउँदै गरिब भएकै कारण आफ्नो चिहान आफैँ खन्न जाँदै छु । जदौ ।।।
जैमिनी, बागलुङ