आज तिम्रो जन्मदिन मनाउन नसकेपनी मलाई अन्तिम पटक शुभयात्रा भन्देऊ !

मेचीकाली संवाददाता

१३ माघ २०७८, बिहीबार
516 shares

दिलप्रसाद पौडेल
समय र परिस्थितिको दास भएको म अनि मेरो वशमा के नै हुन्छ र ? अवरोधका विभिन्न तगारोले मलाई घेरिरहेकै हुन्छन् । त्यसैले एक बर्षको अन्तरालपछी फेरि सम्झेको छु आज तिम्रो जन्मदिन । तिमी मेरो श्रीमती अनि म तिम्रो श्रीमान। तिम्रो जन्मदिनमा केही नलेखु त मनले मानेन त्यसैले औँलाहरू नचाउँदैछु, यो ह्याङ भैरहने सस्तो मोबाईलको किबोर्ड्मा । कसलाई थाहा, अर्को वर्ष तिम्रो जन्मदिनमा यसरी नै केही भन्न पाउछु कि पाउदिन मौका मिल्ला या नमिल्ला ।

आज तिम्रो जन्मदिन, फूलका गुच्छा नदिए पनि शब्दका गुच्छाहरू अवस्य पनि दिएकै छु । पक्कै पनि आजको दिनमा तिमीले ’ह्याप्पी बर्थ डे’ को आवाजसंगै औपचारिकताको बतासमा बहकिएर मैनबत्ती निभाएकि छैनौ भन्नेमा आशा गर्छु । बिहानै दियो भने बालेको हुनुपर्छ, अँध्यारो बाटोलाई उज्यालो पार्न । तिमीलाई थाहा छ,। मान्छेको जम्मा आयु ७० बर्षनै मानेपनी अब तिम्रो आयु केवल ३०वर्ष मात्र बाँकी छ । तिम्रो जन्मदिनको दिनमा पनि म तिमीप्रति कोमल हुन सकिरहेको छैन । हुन त मैले तिमीलाई सुरुको दिनबाट नै माफी मागिसकेँ– म कोमल हृदयको छैन भनेर ।

हरेक वर्ष रुखमा पालुवा पलाउँछन्, तर हरेक वर्ष पातको प्रकृति फरक–फरक हुन्छन् । पात पनि पलाउँछन्, पहेंलिन्छन् र झरेर तिनको ठाउँमा अर्को पात फेरिन्छन् । एउटै बोटमा पलाएका पातहरूमा पनि अनेक भिन्नता पाइन्छन् । हामी त मानिस, विवेक अनि आफ्नो छुट्टै धारणा भएका, हामी सबैबीचमा एकरुपता आउन सक्छ भनेर कसरी भन्न सकिएला र ? पातमा भएका रेशाजस्तै हामीबीचमा विचारको भिन्नता छ । त्यसैले त भिन्नभिन्न अस्तित्वको विविध सुरमा हामी बाँचिरहेका छौँ, नत्र बाँच्नुको अर्थ नै के ? सबैको जीवनमा एउटा लक्ष्य हुन्छ । तर जाने बाटो र पुग्ने ठाँउ फरक–फरक । नत्र लक्ष्य बनाउनुको अर्थ नै देख्दिन म त ।

यसअघिका वर्षमा जस्तै यो वर्ष पनि माघ १३ गते आजको दिन परेको छ । अर्थात् तिम्रो जन्मदिनको घडी । तर यो माघ १३ पोहोरको माघ १३ होइन । त्यो १३ लाई तिमी ल्याउन सक्दिनौ । पोहोरका वर्षले ल्याएका धेरै कुरा तिमीलाई छाडेर गइसकेका छन् । कतिलाई तिमी आफैँले पनि छाडिरहेकि छौँ । हेर त, आफ्नो वरपरको वातावरण धेरै परिवर्तन भएको छ । अर्को वर्ष आजको यो वातावरणमा घटबढ अवस्य हुनेछ ।उमेरसँगै बढेको परिपक्वताले मान्छेका इच्छा, रहर, सोचाइ, जीवनप्रतिको दृष्टिकोण परिर्वतन पारिदिन्छ । तर नजाने पनि आत्मीयतावश केही भनिहालूँ भन्ने मानवीय स्वाभावबाट टाढा जान नसकेर यति भन्दै छु ।

बितेका वर्षलाई अवलोकन गर्दा धेरै दुःख, सुखका उकाली–ओरालीहरू आए होलान् । आफन्तका न्यानो स्पर्शले निधारका पसिना पुछिए होलान् । अनि तिनै आफन्तका पराई बोलीले आँखाका डिलबाट तपतप अनमोल आँसुका धारा पनि बगे होला । आँसु पुछिदिने हातका पर्खाइमा बसेका आँसु आँखाकै डिलमा सुके पनि होलान् । अनुभवका सम्पत्तिले भकारी निकै भरियो होला । तर चुनौतीसँग जुध्नु नै जीवनको रमाइलो पक्ष हो । सार्थक जीवनको उपमा हो । अनुभवलाई पैसामा किन्न सकिँदैन । आफूले सिकेका कुरा अरुलाई सिकाउन सकिँदैन । मेरी आमाले बताएका कुरा आज यसरी तिमीलाई भन्दैछु । यसलाई जीवनको मूल मन्त्रको रुपमा त लिन नसकौली तर पनि जीवनमा उकाली–ओराली गर्ने क्रममा परिआउँदा लौरीको काम भने पक्कै गर्नेछ । मैले पनि त मेरी आमाले सिकाएका यिनै सूत्रमय लौरीले धेरै जँघार तरिसकेको छु । आगामी दिनमा पनि यिनै लौरीको सहायताले धेरै काम गर्ने सोच बनाएको छु ।

लामो समयसम्म भन्न नसकेर होला, सोचेजति केही भन्न सकिन । मनको उकुसमुकुसलाई तिम्रो मनले पढ्नै सकेन जस्तो छ । त्यसैले आजका लागि यति भन्नु नै बुद्धिमानी ठान्दैछु । तिम्रो जन्मदिनमा अरु केही दिनलाई नसके पनि शब्दका केही थुङ्गा दिनेछु भन्ने सोच बनाएको थिएँ त्यो पनि तिमीले अपेक्षा गरेको रूपमा दिन असमर्थ भएको छु ।

हेर त आज तिम्रो जन्मदिन म तिमीलाई शुभकामना दिदैगर्दा तिमी मलाई शुभयात्रा भन्न बिवश छौ र भनिरहेकी छौ । त्रिभुवन बिमानस्थलको कक्षबाट बिदाईका अन्तिम शब्द प्रष्फुटन गराईरहेको छु । अर्को बर्ष तिम्रो जन्मदिन धुमधामले केक काटेर मनाउने सपना बोकेर प्रवास छिर्दै गरेको म अर्को बर्ष तिम्रो अगाडी ‘हेप्पी बर्थडे’ लेखेको केक काट्न पाउँछु कि पाउदिन जे होस आज तिमीलाई शुभकामनाको ओइरो लागेकै दिन मलाई फेरि एकपटक शुभयात्रा भन्देउ फर्केर आए अर्को बर्षसम्मको लागि तिमीलाई जन्मदिनको लाखौँ लाख शुभकामना यदि फर्कन सकिन भने जन्मदिनको अन्तिम शुभकामना । जदौ ।।।
जैमिनी, बागलुङ