बुटवल । अनेक बाधा अड्चन र तगारो छिचोल्दै गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएको छ । राष्ट्रिय गौरवको आयोजना झण्डै ९ वर्ष लगाएर निर्माण पूरा हुँदा विमानस्थल आकर्षक र चिटिक्क देखिएको छ । विमानस्थलको १ माघ २०७१ मा तत्कालीन प्रधानमन्त्री स्व. सुशील कोइरालाले शिलान्यास गरेका थिए ।
विमानस्थल आयोजना प्रमुख इञ्जिनीयर प्रवेश अधिकारीले विमानस्थलको सबै काम सकिएको बताए । रूपन्देहीको भैरहवास्थित विमानस्थल निर्माण गर्न आयोजनाको म्याद आठपटकसम्म थप गरिएको थियो । निर्माणको काम सकिएसँगै विमानस्थलमा परीक्षण उडानका लागि थाइल्यान्ड र अष्ट्रेलियाको टोली रूपन्देही आइसकेको छ । टोलीले विमानस्थलमा जडित विभिन्न उपकरण एयरपोर्टको जाँच गरी परीक्षण उडान सुनिश्चित गर्नेछ ।
आयोजनाको आईसीबी ‘टू’ का व्यवस्थापक तथा राष्ट्रिय गौरव आयोजनाका उपनिर्देशक प्रवीन न्यौपानेका अनुसार उडान परीक्षणका लागि थाई टोली आएको हो । ‘क्यालिब्रेसन फ्लाइट’ को काम सकेर मात्र टोली स्वदेश फर्किने छ । कोरोनाका कारण थाइल्यान्डले आफ्ना नागरिकलाई बाहिरी देश जाने अनुमति नदिँदा एक वर्षदेखि यो काम अल्मलिँदै आएको थियो । ‘चारजना विज्ञ इञ्जिनीयरहरू आउनुभएको छ,’ न्यौपानेले भने, ‘विमानस्थलमा जडान गरिएका ‘इक्युपमेन्ट’हरूमा केही ‘फल्ट’ छ कि छैन भनेर ‘टेस्ट’ गर्नुहुन्छ । फेब्रुअरी १२ गतेसम्म ‘एक्स्पट इन्जिनियर’हरू इक्युपमेन्ट टेस्टको काम सम्पन्न गरी थाइल्यान्डबाट जहाज ल्याएर परीक्षण गरिएपछि मात्र टोली फर्किन्छ ।’
उनीहरू आयोजनाको मौसम, सञ्चार र विमानको दिशा पत्ता लगाउने संयन्त्र निर्माण कार्य ‘आईसीबी टू’ को ठेक्का लिएको थाइल्यान्डको एरो थाई कम्पनीका विज्ञ प्राविधिक हुन् । न्यौपानेले थपे, ‘परीक्षण उडानका लागि थाइल्याण्डबाट ‘सुपर किङ ‘क्राफ्स्ट’ जहाज आउँदो फागुन ३ (फेब्रअरी १५) आउने मा तयारी भइरहेको छ । अहिले यस क्षेत्रमा मौसम खराब पनि छ । फागुनमा मौसम सफा होला ।’ आउँदो बुद्ध जयन्तीबाट विमानस्थल सञ्चालनमा ल्याउने तयारी रहेको छ । आउँदो वैशाखको बुद्ध जयन्तीबाट विमानस्थल सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।
विमानस्थललाई स्थायीरूपमा सञ्चालन गर्न नेपाली इञ्जिनीयरसहितको प्राविधिक टोलीलाई यही माघ २ देखि भैरहवामा दुई महिने तालिम दिन शुरू गरिसकिएको छ । विमानस्थलमा नेपाल नागरिक उड्डयन प्राधिकरणबाट ३४ कर्मचारी परिचालन भएका छन् । अब थप १५१ जनाको दरबन्दी पूर्ति गर्नुपर्ने अवस्था छ । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साँघुरो भएको, कुनै पनि समस्या आउँदा भारत र नजिकका विभिन्न विमानस्थलमा जहाज ‘डाइभर्ट’ गर्नुपर्ने बाध्यतालाई अन्त्य गर्न गौतमबुद्ध विमानस्थल बनेको हो ।
काठमाडौंबाट गौतमबुद्ध विमानस्थल २९० किलोमिटर टाढा छ । विमानस्थल आईसीपी ‘वान’ र आईसीपी ‘टु’ गरी दुई चरणमा निर्माण भएको हो । आईसीपी वानअन्तर्गत धावनमार्ग, ट्याक्सी वे, टर्मिनल बिल्डिङलगायत संरचना निर्माण भएका हुन् । आईसीपी ‘टु’ अन्तर्गत हवाइजहाज पाइलट र विमानस्थलबीचको समन्वयका लागि प्राविधिक काम भएको छ । ‘भिजिबिलिटी’ कम हुँदा पनि उडान–अवतरण गर्न सक्ने आधारका केही भागहरू थप गरेका कारण विमानस्थल निर्माण बजेटमा केही वृद्धि भएको परियोजनाले जनाएको छ । विमानस्थल सञ्चालनमा आएपछि पश्चिम नेपालमा विकासको ढोका खुल्नेछ । भौतिक पूर्वाधारको विकासमा ठूलो छलाङ मारेको रूपन्देहीले विमानस्थल सञ्चालनमा आएपछि लुम्बिनी प्रदेशमा आर्थिक र पर्यटकीय रूपमा ठूलो फड्को मार्ने पर्यटन व्यवसायी गोपाल रानाले बताए ।
एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा निर्माण भएको विमानस्थल निर्माण कार्य चिनिया“ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एअरपोर्ट कन्स्ट्रक्सन कम्पनीले ६ अर्ब २२ करोड ५१ लाख २० हजार २२७ रुपैया“मा ठेक्का लिएको थियो । एसियाली विकास बैंक (एडीबी) ले ४०.५ प्रतिशत ऋण र १८ प्रतिशत अनुदान उपलब्ध गराएको थियो । त्यस्तै ओपेक फन्ड फर इन्टरनेसनल डेभलपमेन्ट्सको ३०.५ प्रतिशत ऋण र नेपाल नागरिक उड्ययन प्राधिकरणको ११ प्रतिशत लगानी रहेको छ । विमानस्थल पूर्णरूपमा सञ्चालनमा आएपछि वार्षिक ६० लाख यात्रु विश्व शान्तिको मुहान लुम्बिनीमा झर्नेछन् ।
त्यस्तै विमानस्थल सञ्चालनपछि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समस्या आउँदा अन्य देशका विमानस्थलमा डाइभर्ट गर्नुपर्ने बाध्यता हट्ने छ । कूल ७८७ बिघा क्षेत्रफलमा बनेको विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभन्दा ठूलो छ । जहाँ तीन किलोमिटर लामो धावनमार्ग बनेको छ । विमानस्थलमा बोइङ ७७७÷२००, एयरबस ३३०÷३०० र सोही क्षमताका विमान उडान तथा अवतरण गर्न सक्नेछन् । अन्तर्राष्ट्रिय यात्रु कक्षलाई १५ हजार स्क्वायरको छ । १६० वटा ट्याक्सी तथा सवारी साधन अटाउने कार पार्किङस्थल बनेको छ । ट्याक्सी वे को लम्बाइ एक हजार १०० मिटर लामो र २३ मिटर चौडाइको छ । आन्तरिक ‘एप्रोन’मा थप ४ वटा आन्तरिक हवाई सेवा प्रदायक कम्पनीका जहाज पार्किङ गर्न मिल्ने छ । अन्तर्राष्ट्रिय एप्रोन ५७ हजार ‘स्क्वायर’ मिटरको छ । विमानस्थल सञ्चालनमा आएपछि वार्षिक करीब ३० लाखभन्दा बढी बौद्ध धर्मावलम्बीलाई लुम्बिनी भित्रिने सरकारी अपेक्षा छ ।
विमानस्थलमा उडानका लागि अहिलेसम्म ‘रुट’ परमिट पाइसकेको छैन । विमानस्थल भारतसँगको सीमानाभन्दा झण्डै ३ किलोमिटर भित्र छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले विमान अवतरण गर्ने क्रममा केही भाग भारतलाई छुने भएकाले भारतसँग कुरा भइरहेको केही दिनअगाडि भैरहवा आउँदा बताएका थिए । साढे २२ सयभन्दा बढी घरधुरीलाई मुआब्जा दिई जग्गा अधिग्रहण गरेर विमानस्थल परियोजना शुरू भएको थियो । विमानस्थल निर्माणका लागि करीब २३ अर्ब रकम मुआब्जा वितरण गरिएको थियो । दैनिक आन्तरिक उडानबाट एक लाख २० हजार र अन्तर्राष्ट्रिय उडानबाट २० हजार नागरिकले सो विमानस्थल प्रयोग अपेक्षा छ ।
एयरपोर्टबाट सन् २०३३ सम्ममा दैनिक ६० अन्तर्राष्ट्रिय उडान भर्ने लक्ष्य छ । लुम्बिनी शान्तिका अग्रदूत गौतमबुद्धको जन्मस्थल तथा बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र भएकाले अन्तर्राष्ट्रिय चासोको क्षेत्रका रूपमा रहेको छ । धार्मिक पर्यटनलाई बढावा दिने र आर्थिक समृद्धिलाई केन्द्रमा राखेर यस क्षेत्रका पर्यटन व्यवसायीले ठूलो लगानी पर्यटन क्षेत्रमा भित्र्याएको रानाले बताए । लुम्बिनीको प्रचार–प्रसार गर्ने र गौमतबुद्धको शान्तिको सन्देशलाई अन्तर्राष्ट्रियस्तरमा पु¥याउने सरकारीको पनि लक्ष्य छ । भारतले लुम्बिनीबाट १३३ किलोमिटर दूरी कुशीनगरमा अन्तर्राष्ट्रिय विमानस्थल एक वर्ष अगाडिदेखि सञ्चालनमा ल्याएको छ । लुम्बिनी आउने तेस्रो मुलुकका धेरैजसो पर्यटक भारतीय बाटो हुँदै नेपाल आउने गरेका छन् । भैरहवामा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल समयमै बनेको भए उनीहरू सिधै लुम्बिनी आउने अपेक्षा गर्न सकिन्थ्यो ।
विमानस्थलमा केही महिनाअगाडि साढे दुई अर्ब रुपैयाँको मूर्ति स्थापना गरिएको छ । बुद्धको उक्त मूर्ति बहुमूल्य धातु ह्वाइट जेडबाट बनाइएको हो । म्यानमारमा बनाइएको मूर्ति स्पेनको लुम्बिनी गार्डेन फाउन्डेसनले विमानस्थललाई निःशुल्क उपलब्ध गराएको हो ।
एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले विमानस्थलको दोस्रो चरणको निर्माणको काम शीघ्र अगाडि बढाउन सरकारसँग आग्रह गरेका छन् ।
पौडेलले चालु आर्थिक वर्षमा विमानस्थलको दोस्रो टर्मिनल भवन निर्माणका लागि तीन अर्व ५४ करोड रुपियाँ बिनियोजन गरेका थिए । विमानस्थलमा दोस्रो टर्मिनल भवन (टि २), एप्रोन लगायतका पूर्वाधार निर्माणका कामलाई दोस्रो चरण भन्ने गरिन्छ । ‘विमानस्थल छिट्टो सञ्चालन र दोस्रो चरणको काम सुरू गर्न म सरकारसँग आग्रह गर्दछु’ पौडेलले भने, ‘दोस्रो चरणको काम अगाडि नबनाएर जुन प्रतिफल दिने गरी विमानस्थल निर्माण गरिएको हो त्यो दिन सक्दैन ।’