भाइ म्यासेन्जर बन्द नगर्नु ल !

मेचीकाली संवाददाता

२५ माघ २०७८, मंगलवार
807 shares

दिलप्रसाद पौडेल
जिन्दगीले मान्छेलाई कहाँकहाँ लैजादो रहेछ, यो त समयले बताउने रहेछ । सायद लेखेको अनि देखेकोमा फरक हुने भनेकै त्यही होला अचेल समय मसँग निक्कै रोइलो गर्छ र त बेलाबेलामा आफ्नो भाइको महत्व झल्काउँछ । भित्रभित्रै गुम्सिरहेको थिएँ । मानिसको जीवनमा एक्लोपनजस्तो ठूलो सजाय केही रहेनछ ! यस्ता अनेकन् कुरा सोच्दासोच्दै कुनै बेला तरंगित मन बोकेर मायाको रसास्वादन मा चुर्लुम्म डुबेको जस्तो आभाष भैरहने गर्छ मलाई । तिमी सायद आतिएका थियौ, मनमा अनेक थरी कुराहरु खेल्यो होला। भन्न त केहि पनि भनेनौ तर पनि मैले बुझिसकेको थिएँ तिम्रो कुराहरु तिम्रो अनुहार अनि कुराबाट । तिमी स्थिर कुरा गर्दा मलाई कति रुन मन लागेको थियो । थाहा छ मलाई, तिम्रो क्यानडाको पढाईको लागि अन्तिम तयारी गर्दै थियौ । त्यही भएर नै मैले त्यो बेला एक्लै तिमीलाई केही नभनी बिदेश पस्ने निधो गरेको थिए ।

दिनभरी पल्टिँरहदा मेरो मनमा कति धेरै थरि कुराहरु खेलीरहन्थे । तिम्रो जीवन, पढाई, जागिर, अनि गर्नुपर्ने कामहरु ! कति पीँडा थियो! त्यो त मलाई मात्र थाहा छ। घरमा फोन गर्दा नि म अहिले कलेजमा छु, पछि कुरा गरौला भनेर फोन राख्दा मेरो मन कति छियाछिया हुने गर्थ्यो । रातभरी निदाउन सकेकोथिइनँ । मनमा अनेक थरि कुराहरुले मन कति भारी भएको थियो। मलाई यही बेला महसुस भयो कि समय अनि परिस्थितिसँगै म कति भाग्यमानी महशुस गर्थे अब त मेरो भाइ पनि आफ्नो जीवनको निर्णय एक्लै गर्न सक्ने भैसकेछ ।

चुपचाप नै बितिरहेको थियो दिनहरु र पनि कति व्यस्त थियौ तिमी । वास्तबमा मौनता सबैभन्दा ठूलो आवाज रहेछ । मन सारै भारी र पनि केहि शब्द बोल्न नपाउनु जतिको हतास नि केहि नहुने रैछ । त्यही बेला मलाई एक जना लेखकले भनेका कुरा याद आयो । कुनैबेला जब मैले केहि रमाइलो किताब पढ्न सोधेको थिएँ, तब बदलामा मलाई एक जोर आँखा पढ्न आग्रह गरेका थिए। त्यतिबेला मलाई त्यसको सही अर्थ थाहा थिएन । अहिले आएर भान भयो र पठाई दिएँ एक जोर अनिदकक आँखा मात्र पठाई दिनेछु भाइ केवल तिमिलाई पढ्नलाई । अचम्म त के भयो भन्दा, मान्छेले कसरी पढ्न सक्छ जस्तो लागेको थियो, बिना कुनै शब्द, बिना कुनै लेखाई ! पढ्ने मान्छेले सायद सबथोक पढ्न सक्ने रैछ, लेखेका अनि नलेखेका पनि। कसरी पढ्छन होला अदृश्य ती आँखाका भाकाहरु! जब मैले आफ्नै आँखाका भावहरू अरुका शब्द अनि हेराईबाट पढेँ, तब आश्चर्यचकित बनेको छु भाइ तिमी क्यानडा मा रहदा मलाई सम्झिईरहनु मेरो याद बल्झिदा ।

समाजमा कति धेरै कुराहरु भनेका मान्छे आफैलाई थाहा नहुने रै’छ। त्यसको लागी त पढ्नुपर्ने रैछ आफैलाई पनि। लाग्यो, पढ्नु भनेको त कहाँ त्यो कोरा कागज किताब मात्र हो र ? पढ्नु त सबै सकिने रैछ, मान्छेका आचरण, नियत, प्रकृती, संसार अनि सबै ! आफ्नै आँखाभरिका कति धेरै सपनाहरु त अझै पर्खिरहेका हुन्छन पूर्ण हुने आशामा।यसरी बिना कुनै शब्द, बिना कुनै बोलिबाट नि सबै कुरा पोख्न पाउनु नि आनन्दमय हुने रैछ भाइ आज त्रिभुवन बिमानस्थलको डिपार्चर कक्षबाट एक क्लिक फोटो र गहभरी आंशु अनि मनभरी जिन्दगीका सपना बोकेर हातमा दुईवटा लगेज घिसार्दै बाहिरिएपछी म झन भक्कानिएको छु ।

भाइ यहाँ रहुन्जेल त बिहान चाडै उठ्नु तिम्रो लागि सजाँयजस्तै थियो । काठमाडौ पढ्दै गर्दा बरु रातभरी जागा बसेर पढेको याद छ तर बिहान चाडै उठेको कुनै रेकर्ड थिएन । संसारमा सबैभन्दा आनन्दको क्षण बिहानीपखको निद्रा जस्तै लाग्थ्यो जब आफूलाई नै ती कुराहरु लागू हुन्छ, तब धेरै गाह्रो हुनेरहेछ भनेर सम्झिने छौ । यतिबेला म आफैंलाई कति एक्लो आभास भैरहेको छ अनि लाग्छ । संसारमा मलाई मात्र माया गर्ने त कोही रहेनछ। न त साथीभाई न त कोही। मान्छेहरु प्रकृतिले नै अलिकति स्वार्थी हुन्छ, त्यसै दिनमिल्ने मुस्कान र सल्लाहसुझाव दिन त मान्छे आनाकानि गर्छ भने एथार्थमै सहयोगको अपेक्षा गर्नु अकल्पनिय कुरो हो भाइ अन्यथा नलिनु म सङग तिमीलाई दिने शब्द बाहेक केही छैन आज धेरै माया गर्ने बाबाआमा टाढा हुनु नि सारै नरमाइलो लाग्छहोला । जब मान्छेहरुलाई साथ चाहिन्छ तब कोहि नहुने रहेछ। त्यतिबेला त आफु मात्र हुने रहेछ आफ्नो लागी। तिमी जसरी भएपनी आफुलाई बलियो बनाउदै जानू । मेरो धैर्यको बाँध कति चोटी टुट्न खोजे नि मैले जसरी कन्ट्रोल गरेको छु त्यसरी तिमी आफुलाई सम्हालेर राखे । कति पिडा थियो, त्यो त भनेर साध्य नै छैन। आफ्नो मनोबललाई तिमीले कति स्थिर नराख्नु । धैर्यता सबैभन्दा ठूलो बल हो केही दिनमै आज्ञाकारी बालकजस्तो खुरुखुरु अरुको मन जित्न सफल हुने छौ ।

सायद जीवन भनेको जस्तो सोच्यो, जस्तो कल्पना ग¥यो त्यो भन्दा धेरै फरक हुदै जानेरहेछ । जीवन समयसँगै भोग्दै जानेरहेछ । जीवन यात्रामा विविध तीतामिठा अनुभवहरु संगाल्दै जानेरहेछ । कति त्यस्ता नि पल हुन्छन् जसलाई हामीले सपनामा नि कल्पना गरेका हुदैनौं । अनि त के गर्नुनगर्नुजस्तो हुनेरहेछ । कति अधेरी नि छाउँछ, निस्पट अधेरी ! जुन बेला केही हुन्न दिमागमा, बस शून्य हुन्छ सबै अनि जीवनका सबै ढोकाहरु नि बन्द भएको आभाष हुन्छ कहिलेकाही अप्सोच कत्ती पनि न आत्तिनु । आँसुलाई आँखैबाट पिउनु जति पीडा अरु केही हुँदैन, मान्छेका एक मिठो शब्दले कति आड मिल्दो रैछ । बन्द आँखाहरु पुलुक्क उघारेर हेर्नू अनि केहि मनका झ्यालहरु खुल्ला रहेछन जस्तै लागेछ भने यो दाईलाई सम्झिनु । हो भाइ आखिर शुषुप्त रहेका ती सारा रहरहरु नि बाटो खोज्दैछन्। हो अब तिमी जीवनमा भविश्यको उडान भर्न चाहान्छौ अनि धेरै धेरै टाढा अनि धेरै माथि, त्यो निलकक बादलजस्तै शान्त भएर। तिम्रो एक मिलनसारिताले पुनजीवित भए जस्तो! तिमी आफ्नो वास्तविकजीवन पनि सुन्दर बनाएर फर्किनु छ ।

म पनि तिम्रा तिनै रंगिन सपनाका रंगहरुमा रंगीन चाहन्छु । जीवनका अनगिन्ती खुशीहरु महसुस गर्न चाहन्छु। मभित्र यतिखेर धेरै आत्मबल दिनानुदिन बढ्दै जानु अनि यति धेरै साहस हुनु सायद तिम्रै उत्प्रेरणाले हुनुपर्छ । तिमीले कति कुरामा दाईले गाली गर्न लागेको हो भनेर थाहा पाउँथ्यौं अनि मेरो मौनता बुझ्ने गरेको थियौ । तिम्रो दाईले भोगेका अबिरल संघर्षका नदिहरु पनि तिमीले छामेका छौ । तिमीलाई रंग हालेर कुरा गर्न आउँदैन, तर झुट नि बोल्न आउँदैन। जे गरे पनि निस्वार्थ मनले गर्छौ र त तिमीले गालि गरे नि, रुखो बोले नि, मलाई चित्त दुख्दैन। मेरो लागि त तिमी उतिखेरै उतिर्ण भैसकेका छौ एउटा असल, आत्मीय साथीको रूपमा । मान्छेहरुले जति नै प्रगति गरेर सफल भए पनि के नै अर्थ रहन्छ र ! अर्थ त तब हुन्छ जब ती ससाना खुशी बाढ्ने कोही प्यारो मान्छे होस्, कोही आत्मीय साथीहरु होस् अनि त्यही खुशी धूमधामले मनाउँन सकियोस् । मलाई यति नै बेला हो, सबैभन्दा धेरै हौसला अनि मायाको खाँचो परेको थियो, जति नै बलियो छु भनेर केही नहुने रहेछ, अब त शारीरिक रुपमा पनि कमजोर बन्दै गएको छु अनि मानसिक रुपमा नि कमजोर भैदोरहेछ ।

भाइ आखिर जति बखान गरेपनी कमी हुन्छ तिमी क्यानडा पुगेपछी यो दाईलाई म्यासेन्जरमा आईपुगें भनेर म्यासेज गर्नु । फेरि समय मिल्छ मिल्दैन त्यहा उज्यालो हुदा यो मरुभुमीमा अँध्यारो हुन्छ भन्छन समय मिल्यो भने हाई भन्नू कोरोनाको यस्तो महामारी छ सचेत रहदै पुर्ण रुपमा आफ्नो ख्याल राख्नु । पैसा नै सर्वेसर्वा होइन भाइ मर्दा बेरिने कात्रोमा अहिलेसम्म कसैले गोजि बनाएको मैले जानेको छैन त्यसैले पहिले आफ्नो अध्ययन लाई निरन्तरता दिनु अनि पैसा कमाउनु । फेरि क्यानडाको बातावरणसँग घुलमिल भैसकेपछी कोहि कसैलाई नबिर्सिनु । बा आमा, दाजभाइ, दिदीबहिनी, शुभचिन्तक, शुभेच्छुक , इस्टमित्र सबैलाई सम्झना छोड्दै गर्नु तिम्रा इच्छा चाहाना सबै पूरा हुन यहि कामना सहित शुभयात्रा भाइ । मलाई तिम्रो याद आयो भने भिडियो कल गर्छु म्यासेन्जर बन्द नगर्नु ल ।
जैमिनी–१०, बागलुङ
हाल कुवेतबाट