मिर्गौला बचाउन खानपान र रहनसहन बदलौं

मेचीकाली संवाददाता

२६ फाल्गुन २०७८, बिहीबार
622 shares

बुटवल । विश्वमा मानिसको मृत्युको एउटा कारक मिर्गौलाको समस्या पनि मानिएको छ । यो समस्य अझ बढ्दै विशेषज्ञहरुको चिन्ता छ । हरेकजसो गाउँ, टोलमा मिर्गौलाको समस्या भयो, उपचारका लागि चन्दा चाहियो भन्दै अनुनय गर्नेहरुको संख्या बढिरहेको छ ।
यसैलाई आधार मानेर होला विशेषज्ञहरुले एउटा अनुमान के गरिरहेका छन् भने सन् २०४० सम्ममा मिर्गौला रोग मृत्युको पाँचौँ कारण बन्नसक्छ । यसैले मिर्गौला रोग लाग्नै नदिन खानपान र रहनसहन बदलौं ।

‘मिर्गौला स्वास्थ्य सबैका लागि’ भन्ने नाराका साथ आज विश्व मिर्गौला रोग दिवस मनाइँदैछ । नेपालमा मिर्गौला बारेको न्यून चेतना तथा आर्थिक विपन्नताका कारणले मिर्गौला रोगीको संख्या दिनप्रतिदिन बढ्दै गएको र रोग लागेकाहरुको उपचारसमेत प्रभावकारी हुन नसकेको विशेषज्ञहरूको भनाइ छ । विश्वमा करिब ८५ करोड मानिस मिर्गौलाको कुनै न कुनै रोगबाट पीडित रहेको तथ्यांक छ । विश्व स्वास्थ्य संगठनको हालैको एक अध्ययनअनुसार हरेक १० जना बयस्कमध्ये एकजनालाई मिर्गौलाको समस्या छ ।

नेपालमा प्रत्येक वर्ष मिर्गौला रोगको उपचारमा तीन हजारभन्दा धेरै नयाँ बिरामी थपिने गरेको तथ्यांक छ । यो संख्या उपचारका लागि अस्पताल आउनेको मात्र हो । कतिपय बिरामी स्वास्थ्योपचारमा पहुँच, अभाव र रोगसम्बन्धी चेतना अभावमा रोग पालेर बस्न र अस्पताल नै नदेखी मृत्युवरण गर्नसमेत बाध्य रहेकाको यकीन तथ्यांक भने राज्यका कुनै निकायमा पनि छैन । विश्वमा १५ लाख, नेपालमा साढे ४ हजार जनाको वर्षेनी डायलाइसिस हुने गरेको तथ्यांक छ ।

वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा.ऋषिकुमार काफ्लेका अनुसार नेपालको कुल जनसंख्याको करिब १० प्रतिशत अर्थात् झन्डै ३० लाख मानिसमा कुनै न कुनै रूपले मिर्गौलाको समस्या रहेको अनुमान गरिएको छ । त्यसमध्ये करिब ३ लाख नेपाली मिर्गौला फेल भएर घरमै बस्न बाध्य छन् ।
वर्षमा एकपटक अनिवार्य मिर्गौला जाँच गर्नुपर्ने चिकित्सकहरुको सुझाव छ । यसरी नियमित जाँच गर्दा मिर्गौलामा कुनै समस्या भए बेलैमा उपचार गर्न सकिन्छ । मिर्गौलाले प्रोटिन फाल्न थाल्छ । कतिपय मानिसले मिर्गौलाको बायोप्सी गर्नु हुँदैन भनिरहेका हुन्छन् । चिकित्सकको सुझावअनुसार अगाडि बढ्नुपर्छ । ‘जेनेटिक’ लाई हामीले रोक्न नसके पनि पछि हुने समस्याबाट जोगिन दैनिकीलाई व्यवस्थित बनाउन जरुरी छ ।

मस्या, नगन्यले प्रत्यारोपण
मिर्गौलाको समस्या जुन अनुपातमा देखिएको छ, सोही अनुपातमा प्रत्यारोपण गर्नेको संख्या भने विश्वमै नगन्य छ । नेपालको तुलनामा त झण्डै १५ सय जनामा मात्रै हालसम्म प्रत्यारोपण भएको तथ्यांक छ । मिर्गौलादाताको अभाव, कानुनी अड्चन, महँगो सेवा, प्रत्यारोपणपछिको महँगो औषधी खर्चलगायत कारणले गर्दा नै विश्वमै प्रत्यारोपणको गति सुस्त रहेको विशेषज्ञहरू बताउँछन् । विशेषज्ञका अनुसार परिवार वा नजिकको नातेदारले मिर्गौला दिन पाउने कानुन संसारभर बिरलै बनेका छन्, जुन नेपालले बनाएको छ ।

दान गर्ने नातेदार नै हुनुपर्ने कानुन
नेपालमा मिर्गौला प्रत्यारोपणका लागि नातेदारले निःशुल्क मिर्गौला दान गर्दा सामान्यतया पाँच लाख रूपैयाँसम्म खर्च लाग्ने गर्छ । प्रत्यारोपणको यो आधारभूत खर्च भने नेपाल सरकारले नै बेहोर्ने गरेको छ । प्रत्यारोपणका लागि मिर्गौलादाता बिरामीको नजिकको नातेदार नै हुनुपर्ने कानुनी प्रावधान छ । यस प्रावधानका कारण पनि प्रत्यारोपण सहज हुन सकिरहेको छैन ।

मिर्गौला कसरी जोगाउने ?
राज्यले बर्सेनी अर्बौं रूपैयाँ मिर्गौलारोगीका लागि खर्च गर्दै आएको छ । तर, त्यो प्रभावकारी हुन सकेको छैन । अब मिर्गौला जोगाउने अभियानका लागि सबै लाग्नुपर्ने भएको छ । मधुमेह र उच्च रक्तचापबाटै मिर्गौलालाई खतरा रहेको चिकित्सकहरुको भनाइ छ । यसलाई नियन्त्रण गर्न सकियो भने मिर्गौलाको समस्या आउँदैन । विलासीपूर्ण जीवन जिउने र सुविधाभोगी जीवनशैलीका कारण मोटोपनसँगै मिर्गौलामा समस्या बढ्दै जाने भएकाले सन्तुलित खाना, सरल जीवनशैली र पर्याप्त मात्रामा व्यायाम गर्नुपर्ने विशेषज्ञहरु बताउँछन् । बिहान वा बेलुका दैनिक कम्तीमा ३० देखि ४५ मिनेट हिँडडुल गर्न जरुरी मानिन्छ ।

यसका साथै, मिर्गौला स्वस्थ राख्न दैनिक २ लिटर पानी पिउने, व्यायामलाई दैनिकीको अभिन्न पाटो बनाउने, अस्वस्थकर खानेकुरा नखाने, चुरोट, सुर्ती तथा मासु धेरै नखानेजस्ता कुरामा सावधानी अपनाउन विशेषज्ञहरु सुझाउँछन् । त्यसैगरी, प्रेसर, डाइबिटिज सधैँ सन्तुलनमा राख्न विशेषज्ञ काफ्लेको सुझाब छ ।

मिर्गौलामा पर्ने पत्थरीको समस्या
युरोलोजिस्ट डाक्टर कुसल कार्कीका अनुसार हामीकहाँ मुख्य तया ओक्जालेट पत्थरी, इस्त्रुभाइत पत्थरी र युरिक एसिड पत्थरी गरी तीन किसिमका मिर्गौलाका पत्थरीहरु देखिने गरेका छन् । ती पत्थरीको विशेषता र लाग्नुसँग खानपान र जीवनशैली जोडिएर आउने गरेको डाक्टर कार्कीको भनाइ छ ।

डाक्टर कार्कीका अनुसार ओक्जालेट पत्थरी धेरै जस्तो बिरामीहरुलाई हुने पत्थरी हो । रातो मासु, बदाम, चकलेट, रुबर्ब, चुकदर, गेडागुडी, पालक आदिको अधिक सेवनले यो समस्या देखिन सक्ने उनको भनाइ छ ।

यसैगरी महिलाहरुमा प्रायः देखिने पत्थरी भनेको इस्त्रुभाइत पत्थरी हो । पिसाबको संक्रमणसँग यसको सम्बन्ध हुन्छ । यस्तो पत्थरी एकपटक फालेर फेरि पनि हुन सक्छ । त्यसैले उपचार गर्दा यो ढुङ्गा पूरै निकाल्नुपर्छ र पिसाबको संक्रमण हुनबाट बच्नुपर्ने चिकित्सकको सल्लाह छ ।
युरिक एसिड पत्थरी जातको पत्थर भएमा शरीरमा युरिक एसिड बढाउने खालका खाना कम भएको हुनुपर्छ । यी खानेकुरामा रातोमासु (राँगाको, खसीको, बङ्गुर, सुँगुर आदि) पर्दछन् । यस्तै गेडागुडी मदिरा, गुलियो र चिल्लोका मात्रापनि कमगर्नु पर्छ । कहिलेकाहीँ युरिक एसिड कम गर्ने औषधी पनि खानुपर्ने चिकित्सकको सल्लाह छ ।

आत्मविश्वास नै पहिलो र प्रभावकारी उपचार
वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा.पवनराज चालिसेका अनुसार आत्मविश्वास नै पहिलो र प्रभावकारी औषधी हो भन्ने कुराको दुनियाँमा ताजा दृष्टान्त भनेको दुई पटक मिर्गौला प्रत्यारोपण गरेका पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली नै हुन् ।

नेता ओलीको सक्रिय जीवनशैली र क्षमता देख्दा उहाँमा कुनै यसप्रकारको समस्या रहेको भेऊ नै नपाइने स्वयम चिकित्सकहरु नै बताउँछन् । ‘उहाँमा रहेको उच्च आत्मविश्वास नै प्रभावकारी औषधि बनिरहेको छ । यसैले कुनै पनि रोगको पहिलो र प्रभावकारी उपचार भनेकै उच्च आत्मबल हो’ डा.चालिसेको भन्छन्,‘मिर्गौला रोग लाग्दैमा सबै सकियो भन्ने सोच्न हुँदैन ।’ (विशेषज्ञहरुको सहयोगमा)