

नेत्र गैरे
पाल्पा जिल्लाका धार्मिक तथा सांस्कृतिक पर्यटकीय स्थलका साथै पर्यटन विकासलाई टेवा दिने प्रचुर सम्भावना बोकेको ठाउँहरू मध्ये दर्लमडाँडा पनि एक हो । यो ठाउँ जिल्लाको सदरमुकाम तानसेन देखि करिब १२ किलोमिटर उत्तरपूर्वमा अवस्थित छ । दर्लमडाँडा पहिले गाउँ बिकास समितिको रूपमा परिचित थियो भने संघिय संरचना पश्चात् अहिले बगनासकाली गाउँपालिकाको वडा नम्बर ५ मा रूपान्तरित भएको छ । धार्मिक सांस्कृतिक पहिचान बोकेका यो वडा उत्तरमा काली गण्डकी, दक्षिणमा चापपानी र नायर नम्तलेस, पुर्वमा खानिछाप र पश्चिममा यम्घा वडाहरू रहेका छन् । तिनवटा डाँडामा तेर्सिएर रहेका यस वडामा पहिलो लहरमा दर्लमडाँडा, दरूङ्गा र गेझा रहेका छन् भने दोश्रो तथा बिचमा वडा कार्यालय गरनडाँडा र भरेकटुङ गाउँ अवस्थित छन् । त्यस्तै तेश्रो लहरमा माथिल्लो कोलडाँडा तल्लो कोलडाँडा र सुनादी गाउँ रहेका छन् भने यस वडाकै गहनाको रूपमा रहेको राम्दी बजार काली गण्डकी किनारमा रहेको छ ।
यस वडाको कूल जनसंख्या ३ हजार ३ सय ५१ रहेको वडागत तथ्याङ्कले देखाएको छ भने जसमा १ हजार ७ सय १३ जना महिला र १ हजार ६ सय ३८ जना पुरूष रहेका छन् ।
शिक्षा
शिक्षाको क्षेत्रमा हेर्दा यस वडामा दर्लमडाँडा माध्यमिक बिद्यालय, सरस्वती आधारभुत बिद्यालय र एक निजिस्रोतमा संचालित नर्थ प्वाइन्ट इङलिस बोर्डिङ स्कुल यस क्षेत्रका बालबालिकालाई शिक्षा प्रदान गर्ने शैक्षिक धरोहरका रूपमा रहेका पाइन्छन् ।

स्वास्थ्य
यस वडाको केन्द्र भाग गरनडाँडामा रहेको स्वास्थ्य केन्द्रले यस क्षेत्रका जनतालाई आधारभूत स्वास्थ्य सेवा दिदै आएको छ । जसले स्थानिय जनतालाइ सहज बनाएको पाइन्छ ।
कृषी
यस वडाका वडाबासीहरू आत्म निर्भर र भरपर्दो कृषी पेशामा आश्रीत नरहे पनि खेतबारी कमै बाझो रहेको पाइन्छ । वडामा अन्नबाली साथै गेडागुडी, बेसार खेती उत्पादन गरिएको छ । यहाँ तरकारीको पकेट क्षेत्रको रूपमा सुनादी परिचित छ ।

यहाँका ३० घरका भट्टराई दाजुभाईहरू मिली करिब ६० रोपनी जमिनमा तरकारी खेती गर्दै आएका छन् । गाउँको सिरानमा रहेको परापूर्वदेखि चलन गर्दै आएको धाराको पानीलाई संकलन गरी सिंचाइको व्यवस्था गरिएको छ । यहाँ उत्पादित अन्नबाली बाहेक काउली, टमाटर, बन्दा, लहरेबालीबाट उत्पादित तरकारीहरू उत्पादन गरी विक्री गरेको र सोही तरकारी खेतीमा आत्मनिर्भर रहेका स्थानियले बताउछन् ।
यातायात
बगनासकाली गाउँपालिका वडा नम्बर ५ साबिक दर्लमडाँडा गाउँ बिकास समितिका सबै वडाहरूमा साना ठुला सवारी साधनहरू गुडिरहेका छन भने दर्लमडाँडा र गरनडाँडाबाट लुम्बिनी प्रदेशको मुटुको रूपमा रहेको बुटवल दैनिक बस सेवा संचालनमा रहदै आएको छन् भने अरु स्थानबाट जिप सेवा संचालनमा रहेको पाइन्छ ।
खानेपानी
यस वडाभित्र ग्राभिटी र लिफ्टिङ गरि ५५१ घरधुरीले स्वच्छ खानेपानीको उपभोग गर्दै आएका छन् । वडाका दर्लमडाँडा, दरुङ्गा, गेझा राईडाँडा, कोलडाँडाक्षेत्रमा लिफ्टिङ खानेपानी संचालित छन् भने अरु गाउँमा मुहानबाट बगेको पानीको उपभोग गरेको पाइन्छ ।
पर्यटन
आन्तरिक र बाह्य पर्यटनको क्षेत्रमा यस वडाले बलियो पहिचान बनाएको छ । यस वडालाई उत्तरी पाल्पाकै धार्मिक सांस्कृतिक धरोहरको रूपमा पनि लिन सकिन्छ । यस वडाका साविक दर्लमडाँडा गा.वि.स भित्र रहेका गाउँहरूमध्ये दर्लमडाँडामा दर्लम महाकाली मन्दिर, शिव मन्दिर, नौ देवी मन्दिर, झाँक्री थान, भयरथान रहेका छन् । यस्तै साविक वडा नं. २ मा सुन शिद्धगुफा, रामजानकी मन्दिर, भगवती मन्दिर, जगन्नाथ मन्दिर, बालखराम गुफा, रामानुज आश्रम, वेङ्कटेश्वर मन्दिर छन् । साविक वडा नं ३, ४ र ५ मा बराजु मन्दिरहरूका साथै शहिद पार्क रहेको छ । यस्तै वडा नं. ६ को कालिका मन्दिर, वडा नं ७ गरनडाँडाको चेचीकोट, शिवालय र चण्डी मन्दिरका साथै वडा नं. ९ को गेझाठाँटी र भयरझाँक्री मन्दिरले यस वडालाई ऐतिहासिक, धार्मिक र सांस्कृतिक रूपमा परिचित गराएको छ ।
दर्लम महाकाली भगवती माताको दर्शन गर्न आन्तरिक तथा बाह्य धार्मिक पर्यटकको घुइचो नै लाग्ने गर्दछ । यस्तै गरी सिद्धगुफा राम्दीले पनि धार्मिक पर्यटकहरूलाई लोभ्याएको छ । पर्यटकिय आर्कषणको केन्द्रको रूपमा संम्भाव्यता बोकेको तल्लो कोलडाँडा शहिद केवल गाहा पार्क र भ्यू टावरको योजनाले आन्तरिक तथा बाह्य पर्यटनको आर्कषण बढाउन सहयोग पुग्ने देखिन्छ ।
धार्मिक पर्यटनमा दर्लम महाकाली
दर्लमडाँडामा दर्लम महाकाली भगवती मन्दिर अवस्थित छ । दर्लमडाँडा निवासी स्व. पदमपाणी गैरेका पूर्वज कुलानन्द तारापतिहरूले बि.सं.१९३० देखि सोही ठाउँमा महाकाली भगवतीको नित्य पूजा गर्दै आएका थिए । स्र्विर्गय पदम्पाणी गैरेले बि.सं. १९९० देखि श्री दर्लममहाकाली भगवतीको सानो मन्दिर निर्माण गरि माटोको मुर्ति बनाई पूजा आज सुरू गरेका थिए । हाल यो मन्दिर मनकामना मन्दिरको शैलीमा निर्माण गरिएको छ । हाल यो मन्दिर तामाको छानो र गजुर सहित प्यागोडा शैलीमा रहेको छ । मन्दिरकोे दक्षिण तर्फ सुन झाँक्री र चण्डी माईको थान साथै पूर्वतर्फ महाकालीको उत्पति स्थल रहेका छन् ।
दर्लममहाकालीको किंवदन्ती
यहाँको ऐतिहासिक किवंदन्तीका कारण पनि यहाँ धार्मिक पर्यटकहरू बढी आकर्षषित हुने गरेका छन् । किवंदन्ती अनुसार वि.सं. २०१० साल कार्तिक शुक्ल त्रयोदशीको दिन राति सपनामा दर्लमका पदम्पाणी गैरे र छिमेकी गाउँ मलेङका ज्यो. हुमकान्त बस्याललाई महाकालीले आकाशवाणीको रूपमा मैले यस ठाउँमा, यस समयमा (बिहान ब्रम्ह मुहुर्तको समयमा) शिलाको रूपमा दर्शन दिनेछु र म सोही शिलामा विराजमान हुनेछु । अब उप्रान्त माटोको मुर्तिमा पूजा नगरी सोही शिला ल्याई नित्य पूजा अर्चना गर्नु भनि आकाशवाणीको रूपमा दिक्ष दिइन् । सोही दिनलाई प्रत्येक बर्ष उत्सवको रुपमा रथयात्रा गर्ने गरिन्छ ।
मन्दिरमा गरिने नित्य वार्षिक कार्यक्रमहरू
यस दर्लम महाकाली भगवती मन्दिरमा दैनिक पूजा, पाठ परायणका साथै बार्षिकरूपमा मन्दिरमा थप धार्मिक कार्यहरू हुँदै आएको छ । जस अनुसार प्रत्येक बर्ष माता महाकालीको उत्पत्ति भएको दिन हरेक वर्ष कार्तिक शुक्ल त्रयोदशीका दिन बाजा गाजा, भजन र्कितन सहित माता महाकालीको रथ यात्रा गराउने प्रचलन रही आएको छ ।
शिवरात्रीमा रूद्राभिषेक सहित भजन किर्तन, चैते दशैमा नित्य नवदुर्गा पूजा, परम्परागत सप्तशती चण्डीको विधान अनुसार र माता महाकालीको सत्तप्रमोधको विधान अनुसारको पूजा गर्ने गरिन्छ । यस्तै गरी श्री कृष्ण जन्माष्टमीमा श्री कृष्ण जन्मोत्सव, श्रावण महीनामा बोलबमको जल चढाउने कार्यक्रमका साथै नव दुर्गामा बडादशै पूजा गर्ने गरिन्छ । यी समयमा अरू बेला भन्दा यहाँ दशनार्थीहरूको भिड लाग्ने गर्दछ । कुनै शुभकार्यका लागि महाकालीसँग भाकल गर्ने र भाकल पूरा भएपछि रोट, बली वा पञ्चवली लैजाने प्रचलन समेत रहेको छ ।
महाकाली मन्दिरको गुरू योजना अनुसार हाल मुल मन्दिरको निर्माण कार्य सम्पन्न भइसकेको छ भने भुवनेश्वरी मन्दिर, होम कुण्ड, मूल गेटको निर्माणधिन चरणमै रहेको छ । भगवती माताको आर्शिवादले आफ्ना मनोकांक्षा पुरा भएको भक्तजनहरूको अनुभव रहेको पाइन्छ ।
धार्मिक आस्थाको केन्द्र राम्दी सिद्ध गुफा
धार्मिक तथा पर्यटकिय स्थलको रूपमा परिचित राम नदीधामको बेग्लै महत्व रहेको पाइन्छ । कृष्ण गण्डकी नदि हिन्दु धर्मावलम्बीहरूको धरोहर पवित्र स्थल हो । जसको केन्द्रमा रहेको रामनदिधाम तथा यहाँ अवस्थित सिद्धगुफाको छुट्ट्रै महत्व रहेको छ । पौराणिक कथनअनुसार यस गुफाभित्र सत्य युगमा कपिलमुनीले, त्रेता युगमा हनुमान, रामचन्द्र र सिता भगवानहरूले र द्वापर युगमा बलरामले तपस्या गर्नुभएको धामिक विद्वानहरूको भनाइ छ । कलीयुगमा पाल्पा राज्यका राजा मणिमुकुन्द सेनको पालामा सुनवीर माझीले तपस्या गरेको र तपस्या गर्दागर्दै गुफाभित्रबाट बाहिर नआइ अलप भएको भन्ने कुरा बगनासकाली–५ सुनादीका तत्कालीन व्यक्तिहरूको भनाइ छ । किम्वन्ती अनुसार वि.सं १८६५ सालमा स्थायी घर छेर्लुङ रहेका उनी बाबु आमाको मृत्यपछि तानसेन नजिकैको गोर्खेकोट भन्ने गाउँमा मावली बस्दै आएका केशव भट्टराईले पाल्पाका राजा मणिमुकुन्द सेनलाई घोडाको बच्चो दिए वापत राजाले राम्दी क्षेत्रको सुनादी भन्ने ठाउँको जग्गा उनलाई दिएछन् । सुनादी गाउँमै भट्टराईले पशुपालन गर्ने योजना बनाएपछि राजाले गोठ बनाउन समेत सघाई सुनवीर माझी नामक गोठालो राखिदिएको र सोही अनुसार सुनगुफा नामाकरण भएको पाइन्छ ।
यसै किम्बदन्तीका आधारमा आसपासका गाउँ दर्लमडाँडा, खानीछाप, पिपलडाँडा, यम्घा, चापपानी लगायत स्याङजा जिल्लाका मालुङ्का, कृष्ण गण्डकी गाउँपालिका क्षेत्रका साथै गुल्मी अर्घाखाची जिल्लाका किसानहरुले गाई भैसीको दुध ल्याएर चढाउने गर्दछन् । यसरी दुध चढाउँदा गाई भैसी निरन्तर ब्याउछ भन्ने जन बिश्वास रहदै आएको पाइन्छ ।
२०१० सालमा खण्डेश्वर बाबा भन्ने साधु यहाँ आए, उनको देहान्तपछि तारा पुरी, टिकाराम अधिकारी, नरभुपाललगायतका महात्माहरूले मन्दिरको पुजापाठलाई निरन्तरता दिए । त्यसपछिका क्रममा हाल मोहनीलाल बाबा र विष्णु प्रसाद बस्यालबाट पुजाआजा चलिरहेको छ ।
यस मन्दिरभित्र प्रवेश गर्दा करिब ५ मिटर लम्बाइ र ४ मिटर चौडाइ रहेको गोमनसाँपको आकृतीजस्तै गुफाको बनोट देखिन्छ । त्यसका बीचबीचमा सर्पका बच्चाहरूको आकृति, गणेश भगवान, शिव पार्वती र सिद्धको प्राकृतिक स्वरूपका साथै पानीको सानो तलाउ, तलाउमा माछा देख्न सकिन्छ । यसै मन्दिर भागमा अखण्ड दीप जलिरहेको छ भने सिद्धबाबाको वायाँ भागबाट पश्चिम उत्तरको भागमा करिब २ मिटरको गोलाईको सुरूङ्ग देखिन्छ । यस गुफामा झण्डै १०० वर्षभन्दा अघिदेखि निरन्तर अखण्ड धुनी बल्दै आएको मन्दिरका व्यवस्थापन समितिले जनाएको छ ।
मन्दिरलाई संस्थागत बनाई दिगो विकासका लागि वि.सं. २०६८ सालमा जिल्ला प्रशासन कार्यालय पाल्पामा श्री सिद्धगुफा धार्मिक पर्यटकीय क्षेत्र विकासको नाममा दर्ता भई विभिन्न किसिमका भौतिक र्कायहरू गर्दै आएको छ । विगतको तुलनामा भौतिक रूपमा सुधार भएको मन्दिरमा भक्तहरूको आस्था बढ्दै गएको पाइन्छ । दैनिक रूपमा हुने पुजा पाठ, रूद्री, अखण्ड दीपजस्ता कार्यहरूले भक्तजनहरूलाई थप आकर्षित बनाएको छ । यस मन्दिरमा हरिबोधनी एकादशी, शिवरात्री, माघे सक्रान्ति, साउन महिनाको सोमबार, बैशाखे सक्रान्ति साथै अन्य विशेष दिनहरूमा दर्शनार्थीहरू घुइचो लाग्ने गर्दछ ।
मनै लोभ्याउने राम्दी पुल

पाल्पा र स्याङ्जालाई जोड्ने नेपालकै सुन्दर सर्वपरिचित पुल यहीँ रहेको छ । यो पुल ९३ मिटर लामो रहेको छ भने उक्त पुलले सबैको मनलाई लोभ्याउने अहिले सेल्फी पूलको रूपमा सबैको आकर्षणको केन्द्र बनेको छ । यो पुलको बीच भागमा उभिएर उत्तरदक्षिण हेर्दा कालीगण्डकीको निलो हरियो दृष्य, सुमधुर वेग, त्यसको वरपर व्यवस्थित तटहरू, अग्ला होचा पहाडहरूले बनेको दृष्यले सबैको मन लोभ्याउने गर्दछ । कालीगंगा स्नान गरी सिद्धबाबाको दर्शन गर्न आउने भक्तजनका कारण राम्दी क्षेत्र धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक हिसाबले महत्वपूर्ण रहेको छ ।
लुम्बिनी प्रदेशको पाल्पा जिल्लाको बगनाकाली गाउँपालिका वडा न. ५ तथा गण्डकी प्रदेश स्याङ्जा जिल्लाको गल्याङ्ग न.पा. १ को संगम स्थल रामनदीधाम राम्दी हो । यस क्षेत्रमा युगौयुग देखि ऋषिमुनी योगी, सन्त, महात्माहरूले तपस्या गर्दै आउनु भएको पवित्र धार्मिकस्थलको रूपमा परिचित रहेको छ ।
रामनदीधाम क्षेत्रमा हरिवोधनी एकादशी, माघेसक्रान्ती, बैशाखे सक्रान्तीको अवसरमा मेला लागनुका सार्थ अन्तिम दाहा संस्कार, श्राद्ध, लाखबत्ती बाल्ने, तोरण तार्ने, रूद्री, भागवत, गायत्री जप, अनुष्ठान, सत्यनारायण पुजा जस्ता कार्यहरू हुने गर्दछ ।
संस्कृति संरक्षणमा भरेक्टुङ र सुनादीको भुमिका
यस वडामा विविध संस्कार, संस्कृति, रीतिरिवाज अनुसार मानिसका दैनिकीहरू चल्दै आएका छन् । विशेषतः मगर र ब्राहमण समुदायको करिब बराबरी बाहुल्यता रहेको यस समुदायमा आ–आफ्नो धर्म संस्कृति अनुसार कृयाकलापहरू गरेको पाइन्छ । खासगरी मगर समुदायका मानिसहरूले मनाउने चाडहरूमध्ये दशैं, तिहार, तीजका साथै माघेसंक्रान्ति, चन्डी पूर्णिमा, मगर दिवश विशेष हुन् । समुदायमा माघेसंक्रान्तिको बेला यहाँका मानिसहरू आफन्तजन पाहुनाहरूलाई बोलाई मिठामिठा परिकार जस्तै सेलरोटी, विशेषतः बारा(बटुक), तरूल लगायतका परिकार बनाई खुवाउने र नाचगान गर्ने गर्दछन् ।

यस्तैगरी ब्राहमण समुदायका मानिसहरू पनि संस्कार र संकृतिको संरक्षणमा आफ्नै खालको भुमिका निर्वाह गरेको पाइन्छ । समय समयमा धर्म संस्कृतिको संरक्षणमा गरिने कार्यहरूलाई बचाइ राख्न साविक वडा नं. २ अग्रस्थानमा रहेको छ । यस ठाउँमा एक जना भट्टराई बाजेका सन्तानहरू बसोबास गर्दै आएका छन् ।

उनीहरू सुनादीको पहिचान बचाउन र उक्त ठाउँलाई व्यवस्थित गर्न, संस्कार र संस्कृतिको संरक्षण गर्न नयाँ पुस्तालाई संस्कृति संरक्षणमा अगाडी बढाउनका साथै सुनादीको विकास र पहिचानका लागि धार्मिक पर्यटकहरू भित्रयाउने उद्देश्यले ब्राहमण होमस्टे खोल्न सकिने देखीन्छ ।
शहिद केवल गाहा स्मारक

साविक दर्लमडाँडा गा.वि.स वडा नं. ४ हाल बगनाकाली गाउँपालिका ५ निवासी स्वर्गीय शहिद केवल गाहा मगर (कुवेर) नेपालको माओवादी जनयुद्धकालिन राजनीतिक इतिहासमा वि.सं. २०५८ सालमा पाल्पा जिल्लाको प्रथम जनसरकार प्रमुख हुनुहुन्थ्यो । उनकै संझनामा स्मारक तयार गरिएको छ । यो ठाउँबाट पाल्पा जिल्लाका विभिन्न स्थानहरूको साथै स्याङ्जालगायत कालीगण्डकीको दृश्यावलोकन गर्न सकिने हुँदा यस वडाले पर्यटकीय स्थलको रूपमा विकास गर्न भ्यूटावर निर्माणको अवधारणा ल्याइएको छ ।