बजारमा आफूखुसी मासु बिक्री, मारमा उपभोक्ता

माग बढेपछि मूल्य बढ्यो

मेचीकाली संवाददाता

१५ श्रावण २०७८, शुक्रबार
811 shares

रमेश पराजुली
बुटवल । मासु व्यवसायी संघ, रूपन्देहीले अहिले बजारमा बोइलर कुखुराको मासुको मूल्य प्रतिकिलो ४ सय रुपैयाँ तोकेको छ । तर, बजारमा ४ सय ४० रूपैयाँसम्ममा कुखुराको मासु बिक्री भइरहेको छ । संघले तोकेको मूल्यभन्दा व्यापारीले बढी मूल्यमा आफूखुसी मासु बिक्री गर्दा उपभोक्ता मारमा परेका छन् ।

साउन महिनामा अण्डा, मासुको खपत कम हुने भनिए पनि माग बढेपछि मूल्यसमेत बढेको छ । एक महिनाअघि बजारमा कुखुराको मासु प्रतिकिलो ३ सय २० रुपैयाँ थियो । एक महिनाको अवधिमा २५ प्रतिशत मूल्यवृद्धि भएको छ । कोरोना कहरले सबै होटल रेष्टुरेन्ट सञ्चालनमा आउन सकेका छैनन् । तरपनि मासुको मूल्य भने बढ्दो क्रममा रहेको छ ।

मासु व्यवसायी संघ, रुपन्देहीका अध्यक्ष कृष्ण पौडेलले उत्पादन नै कम भएकाले अहिले मूल्य बढेको बताउँछन् । ‘निषेधाज्ञा खुकुलो भएसँगै बजारमा कुखुराको मासुको माग बढेपछि मूल्य बढेको हो । अहिले बजारमा जिउँदो कुखुरा नै अभाव छ’ पौडेलले भने । कोरोना महामारीले लागत पनि नउठ्ने अवस्था भएपछि धेरै कुखुरा उत्पादक किसानहरु यो पेशाबाट विस्थापित हुने अवस्थामा पुगेका छन् ।

‘यो समयमा धेरै फर्महरु खाली छन् उत्पादन कम भएकाले मूल्य केही बढेको हो । उत्पादन बढेपछि मूल्य आफैँ घट्छ’, अध्यक्ष पौडेलले थपे । ‘सरकारले कोरोना महामारीकोे बेला कुखुरा उत्पादक किसानलाई केही राहत दिएर नोक्सान कम गर्न पहल गरेको भए अहिले यस्तो स्थिति आउने थिएन ।’ उनले भने ।

पछिल्लो समय कुखुरा पालक किसानले उत्पादन लागतअनुसार मूल्य नपाएपछि निरास बनेर कुखुराको उत्पादनलाई घटाएका छन् । बजारमा जिउँदो कुखुरा अभाव हुँदा मुल्य वृद्धि हुनु स्वभाविक हो । अहिलेको मूल्य वृद्धिलाई यसैसँग जोडिएको छ । तर, अहिलेको मुल्य वृद्धिको कारण त्यो मात्र होइन ।

अहिले कुखुराको मुल्य बढ्नुमा अर्को कारण मौसम, कोरोना महामारी र साउन महिना पनि हो । बर्खाको समयमा कुखुरा बचाउन गाह्रो हुने, गर्मीले तौल कम हुने र साउन महिनामा मासुको खपत पनि कम हुने भएकोले धेरै जसो किसानले आफ्नो फर्ममा यो समयका लागि चल्ला हाल्दैनन् ।

कुखुराको धेरै हेरचाह गर्नुपर्ने र लागत बढ्ने हुँदा किसानले गर्मी र बर्खा छलेर मात्रै चल्ला हाल्ने गर्दछन् जसको कारण उत्पादनमा नै कमी आएको छ । कुखुरा उत्पादक किसानहरुले अबको करिब दुई हप्तापछि क्रमशः उत्पादन बढ्ने दावी गर्छन् । कुखुराको उत्पादन कम भएका कारण मूल्य बढाउनुपरेको उनीहरुको भनाइ छ ।

बुटवलको देवीनगरमा मासु पसल सञ्चालन गर्दै आएका गोपाल क्षेत्रीले कोरोना महामारीले धेरै समस्यामा परेको बताए । ‘पहिलेको तुलनामा ३० देखि ४० प्रतिशत व्यापार घटेको छ । बजारमा जिउँदो कुखुराको मूल्य पनि बढेको छ, अहिले बढेको मूल्यमा मासु बिक्री गर्दापनि नाफा हुँदैन ।’ उनले भने । त्यस्तै बुटवलको तामनगरमा मासु पसल सञ्चालन गर्दै आएका नारायण घर्तीको पनि कोरोना महामारी आउनुभन्दा अघि व्यापार राम्रो थियो ।

उनको पसलमा टाढा–टाढाबाट ग्राहकहरु आउँथे तर, अहिले उनको पसल पनि सुनसान छ । सरकारले जारी गरेको निषेधाज्ञा अहिले विस्तारै खुकुलो हुँदै गएपनि पहिलेको तुलनामा ६० प्रतिशत मात्रै व्यापार भएको घर्ती बताउँछन् । त्यस्तै राज्यले जिउँदो कुखुराको मूल्य नतोक्दा आफूहरु समस्यामा परेको उनको भनाइ छ । ‘अहिले कुखुरा अभाव भएको समयमा बजारमा मनपरी मूल्यमा जिउँदो कुखुरा बिक्री भइरहेको छ । यो समयमा कुखुरा खरिद गरेर संघले तोकेको मूल्यमा बिक्री गर्दा लागतसमेत उठ्दैन ।’ उनले भने ।

रुपन्देहीमा सामान्य अवस्थामा दैनिक बोइलर कुखुरा ८ देखि १० क्वीटलसम्म खपत हुने गर्छन् । त्यस्तै राँगाभैँसी २६ क्वीटल, खसीबोका ४० क्वीटल, बंगुर १६ क्वीटल र माछा १५ क्वीटल खपत हुने गरेको मासु व्यवसायीको तथ्याङ्कले देखाउँछ । रुपन्देहीमा दाङ, गुल्मी, अर्घाखाँची, पाल्पा, कपिलवस्तु, नवलपरासी स्याङ्जा, कास्कीलगायतका जिल्लाहरुबाट मासुका लागि खसीबोका, कुखुरा, राँगाभैँसी र बंगुर भित्रिने गर्दछन् ।

त्यस्तै अहिले अण्डाको फार्म रेट प्रतिक्रेट (३० वटाको) ३ सय ८५ रुपैयाँ र मिडियम प्रतिक्रेट ३ सय ५५ रुपैयाँ कायम गरिएको छ । नेपाल अण्डा उत्पादक संघले लागू गरेको यो दर रेट हालसम्मकै उच्च हो । संघका केन्द्रीय अध्यक्ष शिवराम केसीले मागअनुसार अण्डा पु¥याउन कठिन भएको बताए । हाल दैनिक ३३ लाख हाराहारी अण्डा उत्पादन भएको अनुमान छ । अन्य समयमा यो संख्या ४७ लाखसम्म पुग्ने गरेको उनले जानकारी दिए । निषेधाज्ञाको समयमा अण्डाको रेट प्रतिक्रेट ३ सय ३० रुपैयाँसम्म झरेको थियो । हाल अण्डाको लागत मूल्य प्रतिक्रेट ३ सय ६० रुपैयाँ हाराहारी पर्ने उनको भनाइ छ ।