वेद–पुराणमा जाति उत्कर्षको प्रावधान

मेचीकाली संवाददाता

१५ श्रावण २०७८, शुक्रबार
1376 shares

घनश्याम कोइराला
संस्कृत साहित्यमा पढिएको थियो, ‘कर्णमृतं सूक्तिरसं विमुच्य दोषे प्रयत्नः सुमहान्खलानाम् । निरीक्षते केलिवनं प्रविश्य क्रमेलकः कण्टक—जालमेव अर्थात् मूर्खहरू कानका लागि अमृतसमान सूक्ति सुन्न छोडेर अरुका दोष खोज्न ठूलै प्रयत्न गर्दछन्, जसरी मनोरम खेल मैदानमा पसेर पनि उँट काँडाघारी नै खोज्दछ ।’

यो साहित्य हो । यो अलि पुरानो विषय हो । तर, हामी आपूmलाई सचेत, अगुवा र विद्वान् ठान्नेहरू पनि यस्तै दुश्चक्रमा परिरहेका हुन्छौँ । जे जे चाहिँदैन, जुनजुन कुराले मनमा पीडा दिन्छ, जुन कुराले पुराना घाउ बल्झाएर रगताम्य पार्न सक्दछ, जुन विषयले समाजमा शान्ति र सहिष्णुता खल्बल्याउँछ, जस्ता कुराले शिष्टता र सभ्यता, मेलमिलाप र समन्वय बिथोल्न सक्दछ त्यस्ता विषय खोज्दछौँ; त्यहीँ थोरै तल या माथि रहेका हितकारी, गुणकारी विषय खोज्दैनौँ, भेटाउँदैनौँ । हामी कहिलेकाहीँ यस्तै गर्दछौँ ।

प्रकृतिमा पूmल छ, काँडा छ । दिनमा उज्यालो र रातमा अँध्यारो छ । जीवनमा कहिले ज्यादै आनन्द छ, कहिले दुःख छ । लामो जीवन छ र शाश्वत अपरिहार्य मृत्यु छ । सफलताको शिखर यहीँ भेटिन्छ । असफलताका पहाडले यहीँ थिचेको हुन्छ । मिलनको खुसी यहीँ छ । विछोडको पीडा पनि यहीँ छ । तर, हामीलाई चाहिएको के हो ? के खोज्दा, के पाइन्छ र कस्तो प्राप्तिले सुखद परिणाम दिन्छ ? यी विषय आफैँले खोज्दा मात्र पाइने हो ।

वेद, शास्त्रका विषय पनि त्यस्तै हो । जीवन भोगाइका अथाह अनुभव तिनीहरूमा समेटिएको छ । मानव समाज आज हामीले जस्तो देखि–भोगिरहेका छौँ, सुनिश्चितै हो कि विगतमा यस्तो थिएन । यो समाज यहाँसम्म आइपुग्न अनेकौँ संघर्ष भएका छन् । स्वाभाविक छ कि ती संघर्षहरूमा जितहार दुवै भएको छ । जित्ने माथि पर्ने र हार्ने तलपर्ने कुरा हामी सबैले सुन्दै, देख्दै, बुझ्दै र भोग्दै आएका छौँ । यिनै विषय वेद, शास्त्र, इतिहास हुन् । हामीले गरेका कर्म संस्कार हुन् । हामीले प्राप्त गरेका परिणाम संस्कृति हो ।

हाम्रो इतिहास र संस्कृतिमा जितहारका प्रसंग छन् । यसमा समानताको अभ्यासका विषय छन् र चरम शोषणका विषय पनि छन् । यस्ता जितहारका प्रसंग फरक—फरक ढंगले दोहोरिएका पनि छन् । अझ दोहोरिने छन् । इतिहासको पुनरावृत्ति भनेको सुनिन्छ । तर, हरेक इतिहास जस्ताको तस्तै दोहोरिएको हुँदैन र दोहोरिन दिनु हुँदैन । त्यसका केही विषय दोहोरिएलान् । केही विषय फेरिएलान् । केही त अवश्य पनि नयाँ हुने छन् । दोहोरिएकालाई अवशेषका रूपमा लिनुपर्दछ । असल भए जोगाउन र कमसल भए मिल्काउने काम हामीले नै गर्नुपर्दछ ।

यी विषय केही भूमिका हुन् । हाम्रो सामाजिक यथार्थमा विभिन्न प्रकारका विभेद, शोषण र असमानता छन् । यिनमा पनि केही निरन्तरता र केही परिवर्तित छन् । फरक फरक किसिमका विभेद र असमानता विद्यमान छ । तीमध्ये अहिले हाम्रो नेपाली समाजमा एउटा साह्रै बलियो गरी जरा गाडेको विषय हो–जातीय छुवाछूतको विषय । आपूmजस्तै एउटा मानिसले आपूmजस्तै अर्को मानिसलाई छुनसम्म नहुने विषय सोच्दा मात्र पनि मन झसलङ्ग हुन्छ । तर, हामी यसमा यति अभ्यस्त छौँ कि हामीले यसरी सोच्न पनि भ्याइरहेका हुँदैनौँ ।

जातीय छुवाछूतका विषयमा कुरा उठनासाथ हाम्रो सनातन संस्कृति र यसका आधार वेद, शास्त्रतिर नकारात्मक ढंगले औँला ठड्याइने गर्दछ । हाम्रो संस्कृतिको आधार, पुर्खाको विरासतको रूपमा रहेको वेदमा छुवाछूतको व्यवहार भेटिँदैन । संघर्षका क्रममा जित्नेले र हार्नेप्रति गर्ने व्यवहारका रूपमा कलि कडा र असहिष्णुताका प्रसंग भेटिन्छन् । तर, निरपेक्ष रूपमा कुनै जातलाई, कुनै पेसा कर्मीलाई छुनै नहुने प्रावधान भेटिँदैन ।

पूर्वीय भनेर बुझिने सनातन संस्कृतिका स्रोतहरू (शास्त्र) मा ब्रह्मालाई संसारको सृष्टिकर्ता मानिएको छ । शब्दको अर्थको दृष्टिले हेर्ने हो भने ब्रह्माका सन्तान ब्राह्मण भए । उसो भए अरुको सृष्टि कसले गरे त ? यही तर्कलाई पछ्याउने हो भने ब्रह्मालाई संसारको सृष्टिकर्ता नभई ब्राह्मणका मात्र सृष्टिकर्ता भनेर मान्नुप¥यो । अरुको सृष्टिकर्ता खोज्नुप¥यो । यसो मान्न सकिँदैन भने ब्रह्माको सृष्टिका अपरिवर्तनीय विषय खोज्नुप¥यो । यसरी खोज्दा ब्राह्मण, क्षत्री, वैश्य, शूद्र, म्लेच्छ भनेका जात नभई सामाजिक वर्ण हो भन्ने स्पष्ट हुन्छ । जात भनेका, अपरिवर्तनीय सृष्टि अण्डज, उद्भिज, स्वेदज र जरायुज हुन् भनेर स्वीकार गर्नुपर्दछ । यिनमा प्राकृतिक रूपमा नै कुनै प्रकारको परिवर्तन होला, प्रजातिहरूको विस्तार होला । तर, छुतअछूतको सामाजिक गणित यिनमा लागू हुँदैन ।

मानव समाज अहिलेको अवस्थासम्म आइपुग्न अनेकौँ संघर्ष भएका छन् । यस्तै संघर्षहरूको परिणामस्वरूप उँचनीच आदि भएको हो । शक्ति संघर्षबाट भएका यस्ता विभेदहरूलाई फरक ढंगले बुझ्न र व्यवहार गर्न आवश्यक छ । वेदादिमा शूद्र, अनार्य, असुर, निशाचर, दस्यू, दास आदिका प्रसंगमा भ्रम राख्न आवश्यक छैन । गणका बीचमा भएका युद्ध र त्यसको परिणामले निर्धारण गरेको वर्ग निर्धारणलाई धर्म र संस्कृतिसँग जोडिरहनु सही होइन । त्यस्ता प्रसंगमा प्रयोग भएका शब्दहरूले अहिलेका निश्चित जातविशेषलाई नै भनिएको प्रमाण पनि केही छैन । अहिलेको समाजमा दलित भनेर सूचीकृत जातिहरू शूद्र हुन् भन्ने आधार र प्रमाण कहाँ छ ? अनि, शूद्र नै भनिँदा पनि छुनै नहुने भन्ने कुरा वेदमा छैन । कुनै प्रसंगमा ‘छुन नपरोस्, मुख देख्न नपरोस्, लखेट्दछौँ, मारिदिन्छौँ’ आदि भनिएका विषयलाई अमूक जातिसँग जोड्नु शोषणको दायरा निरन्तरतालाई बढाउनु हो ।

नीतिशास्त्रमा ‘नजात्या ब्राह्मणाश्चात्र क्षत्रियो वैश्य एव न । न शूद्रो न च वै म्लेच्छो भेदिताः गुणकर्मभिः अर्थात् जातिले न ब्राह्मण हुन्छ, न क्षत्रिय न, न वैश्य नै हुन्छ । शूद्र र म्लेच्छ पनि गुण र कर्मको आधारमा विभाजन गरिएको हो’ भनिएको छ । यसबाट सहजै बुझ्न सकिन्छ कि हामीले आफ्ना गुण र कर्म जस्तो बनाउँछौँ, हामी त्यस्तै हुन्छौँ वा बन्दछौँ । हामीले दलित भनेर जुन समुदायलाई परिभाषित गरेका छौँ, त्यो समुदाय सबै उस्तै वा एकै प्रकारको काममा छ त ? छैन । जसले जे काम गर्दछ, उसले सोहीअनुसारको पद, दर्जा वा पहिचान प्राप्त गर्दछ भन्ने कुरा यसै श्लोकबाट स्पष्ट छ ।

यस्ता अनेकौँ प्रमाणहरूले जन्मका आधारमा मानिसको स्थायी जात हुँदैन भन्ने प्रमाणित गरेका छन् । उसो त ब्राह्मण, क्षत्रि, वैश्य, शूद्र, म्लेच्छ भन्ने जात होइन, सामाजिक वर्ण विभाजन हो । ‘सर्वोपनिषदो गावो दोग्धा गोपालनन्दन…. अर्थात् सबै उपनिषद् रूपी गाई गीता हो र यसका दुहुने गोपालनन्दन (कृष्ण) हुन्’ भनिएको छ र सोही उपनिषद्को सारको रूपमा ग्रहण गरिएको श्रीमद्भगवद्गीतामा श्रीकृष्णले भनेको ‘चातुर्वण्यं मया सृष्टं गुणकर्मविभागशः अर्थात् मैले गुण र कर्मको विभाजनको आधारमा चार वर्ण बनाएको छु’ भनिएबाट पनि जन्मजात कुनै वर्ण हुँदैन भन्ने पुष्टि हुन्छ ।

त्यस्तै, नीतिनियम र दण्डका लागि अत्यन्तै कठोर र भयानक रूपमा प्रस्तुत भएको मानिने गरुणपुराणमा ‘जात्युत्कर्षात् द्विजो ज्ञेयोः सप्तमे पञ्चमे–पिवा अर्थात् जातिउत्कर्ष भएमा सात या पाँच पुस्तापछि द्विज नै हुन्छ’ भनिएको छ । ती उत्कर्षका क्षेत्र के हुन् ? ती विषय शिक्षा, ज्ञान, अनुभव, आर्थिक हैसियत आदि हुन् भन्ने अनुमान गर्न सकिन्छ । स्थान, पेसा, पराक्रमका आधारमा नाम÷पद प्रदान गरी चलनमा ल्याइएका उदाहरण वेदमा पाइन्छ । वंशजको आधारमा सन्तानको पहिचान दिँदा पनि कुशिकका सन्तान कौशिक, कुरुका सन्तान कौरव, गर्गका सन्तान गार्गी आदि देखिन्छ । यी त केही उदाहरण मात्र हुन् ।

‘विश्वामित्रश्च वशिष्ठो मतंगो नारदादयः । तपोविशेषैः सम्प्राप्ता उत्तमत्वं न जातितः अर्थात् विश्वामित्र, वशिष्ठ, मतंग, नारद आदि महान् ऋषिहरूले कुनै जात कुलमा जन्मेको कारणले नभई तप (साधना) को कारणले उत्तम दर्जा प्राप्त गरेका हुन् ।’ यसरी जुनसुकै कुल वंशमा जन्मेको भए पनि कर्मले मानिसलाई माथि (उत्कर्षमा) पु¥याउन सक्दछ ।

ऋग्वेदमा ‘तिस्रो यदग्ने शरदस्त्वामिच्छुचिं घृतेन शुचयः सपर्यान् । नामानि चिद्दधिरे यज्ञियान्नसूदयन्त तन्वः सुजाताः अर्थात्, हे पवित्र अग्निदेव ! तेजस्वी मनुष्यले तीन वर्षदेखि घिउले तिम्रो पूजन गरे । त्यसपछि उनीहरूले यज्ञ भन्ने उपयुक्त नाम पाए । आफ्नो शरीर शोधन गरेर उनीहरू देवता भए ।’ यहाँ मनुष्यबाट उत्कर्ष प्राप्त गरेर देवता भएको देखिन्छ । ऋग्वेदमा यस्ता अन्य प्रसंग पनि छन्, ‘उतदेवा अवहितं देवा उन्नयथा पुनः अर्थात्, हे देवताहरू हो ! हामी तल खसालिएकाहरूलाई पुनः माथि उकास ।’

हेर्दै–खोज्दै जाँदा वेदमा यस्ता अनेकौँ प्रसंगहरू छन् । तर, हामीले त्यसमा भएका राम्रा, आवश्यक, सान्दर्भिक, औचित्यपूर्ण प्रसंगतिर ध्यान नदिएर कमजोर, अनावश्यक, असान्दर्भिक, यतिबेला औचित्य नभएका प्रसंगहरू टिपेर दन्तबझान गर्न थाल्दछौँ । समाजका सचेत व्यक्तित्वहरू र राज्यका जिम्मेवार निकायले यसको व्यवस्थापनमा ध्यान दिन आवश्यक छ ।

जातीय पेसा भनेर चिनिने सम्मानित पेसा पुरोहित्याईं हो । पुरोहित्याइँ गर्ने गाउँका सबै पुरोहितहरूलाई वेदबारे पर्याप्त जानकारी छैन । नियमित कर्मकाण्डका रूपमा परम्परादेखि सिको गर्दै आएको हुनाले वहाँहरूबाट गरिने छुवाछूतको व्यवहार अन्धविश्वासको अवशेष हो । यस्तो अवशेष पीडितहरूमा पनि उत्तिकै छ । यति मात्र होइन, जातिय छुवाछूतका विषयमा देशको संविधान तथा ऐनकानुनमा के छ भन्नेबारे पनि मानिसहरू जानकार छैनन् ।

एक्काइसाँै शताब्दीमा पनि हामीले जन्मेका कुलको, वंशको आधारमा सामाजिक दर्जा विभाजन गरेर, उँचनीच व्यवहार गर्न सुहाउँदो विषय हो र ? गुण, कर्म, स्वभाव, रूचीका आधारमा मानिसको पहिचान हुने वैज्ञानिक विषय हाम्रो सनातन धर्म र संस्कृतिको विशेषता हो । यस्तो विशेषता भएको धर्म र संस्कृतिको नाममा जन्मका आधारमा भेदभाव गर्नु धर्म विरोधी कर्म हो । ती विषयमा रहेका कमजोर पक्ष आफैले बटुलबाटुल गरी विभेदका आधार स्मरण गराउनु बौद्धिक कर्म होइन । वेद, पुराण आदि शास्त्रमा रहेका जातिउत्कर्षबारे बुझेर वहस, पैरवी र सचेतना बढाउनु आजको आवश्यकता हो । वैदिक संस्कृति विभेद तथा उत्पीडनको पक्षपाती नभई जाति उत्कर्षको स्रोत हो । (लेखक संस्कृति अध्येता तथा अभियन्ता हुनुहुन्छ ।)