टोपलाल अर्याल
गुल्मी । कैयौँ हातखुट्टा ठिक भएका सपाङ्गहरु जीवनमा केही गर्न नसकेको निहुँमा गाँजा र रक्सीलाई जीन्दगी जिउने साहारा बनाएका छन् । गल्ली, चोक, चौतारा र सामाजिक सञ्जालमा निराशा र बेरोजगारीका कुण्ठाहरु छताछुल्ल छन् । तर, गुल्मीको छत्रकोट गाउँपालिका–४ का १८ बर्षीय ऋषिराम कँडेल जो जन्मजात अपाङ्ग हुन् । दाहिने खुट्टाको दुई आँैलाबाहेक अरु चल्दैनन् । तर, त्यही दुई औँलाले आफ्नो भविष्य कोर्दैछन् । त्यो पनि अरुलेभन्दा उत्कृष्ट । उनले दुई औँलाले लेख्छन्, तस्विर कोर्छन्, मोबाइल तथा ल्यापटप चलाउँछन् ।
गुल्मीमै कैयौँ अपाङ्ग छन् । उनीहरुले कोठा र बिस्ताराबाट आफुलाई बाहिर ल्याउन सकिरहेका छैनन् । ऋषिरामका हातखुट्टा कम्जोर छन् । तर, बौद्धिक क्षमता सबैकोभन्दा अब्बल छ । उनी श्रृङ्गा जनता माविका उत्कृष्ट विद्यार्थी हुन् । वर्षेनी कक्षामा प्रथम र विद्यालयमै द्वितीय हुन्छन् । ऋषिरामले अहिले कक्षा नौ मा अध्ययन गर्छन् । ऋषिराम अपाङ्गको मात्र उदाहरणीय पात्र होइनन् । सपाङ्ग व्यक्तिका मार्गदर्शक पनि हुन् । किनकि शारिरीक, मानसिक र धनदौलतले भरिएका ठुला साहुका छोराछोरी ड्रक्सको नशामा भौतारिएका छन् । तर, गाउँको बिपन्न कृषकको पूर्ण अपाङ्ग छोरो दुई खुट्टाका औंलाले कक्षामा अरुलाई उछिन्न । सबै विद्या र क्रियाकलापमा उत्कृष्ट छन् । उनले कक्षा ४ सम्म घर नजिकैको शारदा माविमा पढे । त्यसपछि श्रृङ्गा जनता माविमा पढ्दै आएका छन् ।
क्रृषिराम ‘क’ वर्गको अपाङ्ग हुन् । उनी अरुको शाहाराबिना केहि गर्न सक्दैनन् । तर, घरपरिवार, समुदाय र विद्यालयसम्म आफूलाई कहिल्यै फरक र कमजोर अनुभूति भएन् । बुबा लक्ष्मण कँडेलले ऋषिरामलाई बिहान ठीक १० बजे स्कुल पु¥याउँछन् । गेटमै आएका साथीहरुले उचालेर कक्षा कोठामा पु¥याउँछन् । उनलाई कक्षामा कोठा र शौचालयको सहज व्यावस्थापन गरिएको छ । उनलाई लिन साँझ ठिक ४ बजे बुबा स्कुलको गेटमा पुग्छन् । सवैको माया, सद््भाव र सहयोग पाएकाले कहिल्यै कम्जोर महसुस नगरिएको कँडेलले बताए । ‘जन्मलाई पछुतो मानेर होइन । भविष्य हेरेर कर्म गरिरहेको छु,’उनले भने,‘सबै ठाउँबाट सहयोग पाएपछि पढाइमा राम्रो गरिरहेको छु ।’ खुट्टाले कलम छोप्न थालेको ऋषिरामलाई सम्झना छैन् । बच्चामा हात उठ्दैन्थे । खुट्टाका औंलाले पहिले समाउन खोज्थे । परिवारले सिसाकलम र पेन दिन थाले । बिस्तारै अभ्यास हुँदै गएपछि ऋषिरामले सबै काम खुट्टाले गर्न थाले ।
कँडेल परिवार उदाहरणीय छ । ऋषिराम परिवारको एक्लो सन्तान हुन् । पहिलो सन्ताननै पूर्ण अपाङ्ग जन्मिएपछि कँडेल दम्पती पाँच वर्षसम्म छोराको उपचारमै दौडधुप गरे । तर, अवस्थामा सुधार आएन । त्यसपछि निरन्तर स्याहार–सुसार र अध्ययननै परिवारको ध्यान गयो । छोराको अपाङ्गतासँग परिवारलाई कुनै पछुतो छैन भने छोराले पनि अहिलेसम्म कुनै कुरामा ग्लानी गर्नु परेको छैन ।
शिक्षादिक्षासँगै पूर्ण अपाङ्ग छोरालाई १८ वर्षको बनाउन परिवारले कम चुनौति झेलेको छैन । तर, कहिल्यै छोराको चित्त दुखाउने र स्कुल छुटाउने काम नगरेको बुबा लक्ष्मण कँडेलले बताए । उनले आफ्नो लक्ष्य र सपनानै छोराले पढ्न सकेको पढाउने रहेको बताए । ‘मैले न अरु सन्तान सोचेँ न फरक दृष्टिकोण राखेँ । श्रीमान–श्रीमतीनै उसको सेवामा रातदिन लागेका छौँ,’बुबाले भने,‘यो बाबु मेरो कोखमा नजन्मिएको भए बन्द कोठाभित्रै हुन्थ्यो ।’ लक्ष्मण दम्पतीले गाउँमा कृषि कर्म गर्दै आएका छन् । उनले अहिलेसम्म राज्यका सबै निकायबाट सहयोग पाएकाले कुनै गुनासो र आशा नभएको प्रतिक्रिया दिए ।
क्रृषिराम कँडेल सबै विधामा विद्यालयमै सबैभन्दा उत्कृष्ट प्रतिभा भएको श्रृङ्गा जनता माविका प्रध्यानाध्यापक विकासचन्द्र खरेलले बताए । पढाइ, लेखाइ, चित्रकला, गीत, अभिनयलगायतका विधामा ऋषिरामले सवैलाई उछिन्दै आएको खरेलको भनाइ छ । कँडेल परिवार र क्रृषिराम उदाहरणीय पात्र भएको सबै अपाङ्गता भएका परिवारले सिक्नुपर्ने बताए ।
‘चेतना र घरपरिवारको सहयोग बिना अपाङ्ग बालबालिकाको आत्मविश्वास राम्रो हुँदैन । ऋषिराम अपाङ्गसँगै सग्ला हातखुट्टा भएका व्यक्तिहरुको पनि उदाहरण हुन,’उनले भने,‘घर, परिवार, समुदाय र परिवारबाट राम्रो सहयोग भएको छ ।’ विद्यालयमा अपाङ्ग विद्यार्थीहरुको लागि आवासीय अध्ययनको सुविधा छ । तर, ऋषिराम सहयोगी चाहिने भएकाले घरमै जान्छन् । विद्यालयमा बहिरा विद्यार्थीहरुले अध्ययन गर्छन् । जसका लागि बिषय शिक्षक र सामग्रीहरु छन् ।