नेपालमै हेपिँदै गएको नेपाली भाषा

मेचीकाली संवाददाता

१६ श्रावण २०७९, सोमबार
476 shares

नवीन पौडेल
भाषा भनेको विचार साट्ने साधन हो । भाषा केवल जिब्रोको विभिन्न स्थानमा ठोकिएर निस्किने एउटा ध्वनि मात्र होइन । भाषा त सदियौँदेखिको इतिहास बोक्दै आएको एउटा मूर्त प्रामाणिक रुप पनि हो । भिन्न देश, भिन्न जाति, भिन्न धर्म– संस्कृतिमा हुर्किएका विभिन्न जनसमुदायका भिन्नाभिन्नै भाषा रहन्छन् । जसले तत्तत् समुदाय, देश, धर्म–संस्कृति आदि विभिन्न क्षेत्रका इतिहासलाई झल्काउँदै आइराखेको हुन्छ । जुन देश, धर्म वा जातिको भाषा जति लोकप्रिय बन्दै जान्छ, त्यो देश, धर्म वा जातिको महत्व पनि उतिनै बढ्ने गर्दछ । त्यसैले आफ्नो भाषालाई बचाइराख्दा भाषाले आफ्नो अस्तित्व, महत्वलाई पनि बचाइराख्ने गर्दछ । भाषा समयानुरुप परिवर्तन हुने गर्दछ । भाषाले पनि पानीले जस्तै सरलता, सहजतातर्फ आफ्नो गति तय गर्दछ । जुन भाषा जति सहज र सुबोध्य हुन्छ, उति नै त्यो भाषा लोकप्रिय पनि बन्दै जान्छ ।

नेपाली भाषालाई संस्कृत भाषाको एउटा सन्तानको रुपमा चिनिन्छ । नेपाली भाषा संस्कृत–प्राकृत र अपभ्रंश (खस) हुँदै लामो इतिहास पार गरी अहिलेको आधुनिक रुप धारण गर्न पुगेको हो । त्यस उत्पत्ति कालमा बोलिने प्राचीन नेपाली भाषा र वर्तमानको परिष्कृत नेपाली भाषा जुधाउने होभने सायदै प्राचीन नेपाली भाषा र आधुनिक नेपाली भाषा फरक–फरक भाषा हुन् कि भन्ने भान हुन्छ । त्यसैले सरलता तर्फ वहने भाषाको विशेषतालाई पछ्याउँदै नेपाली भाषाले पनि यो परिष्कृत रुप लिन पुगेको हो ।
देवकोटा भन्छन्,‘नेपाली भाषा ञनीला पहाडहरूको प्राकृतिक भाषा, झर्नाहरु घुसेका मीठा लबज, हिमालयको झल्का पसेका शब्द, अमरवल्लरीहरु ढल्केका बाइमात्रा , चराचुरुङ्गीसँग उड्ने र बोल्ने अक्षरहरु । मेरो भाषा ज्यादा नफैलेको होस्, तर मेरो इन्द्राणीको झर्ना यही हो ।

हुनपनि नेपाली भाषा यथार्थमा नै सरस र प्राकृतिक भाषा छ । नेपाली भाषामा प्रयोग हुने (कलकल–पानी, झर्झर–झर्ना, चिबिर्रचिर्बिर–चराचुरुङ्गी, हरिया पहाड, कुहुकुहु–कोइली, गड्याङ्गुडुङ्–बादल, टहटह–जुन, लह–लह धान, टङ्टलापुर–घाम) आदि वस्तु तथा व्यवहारका अनुकरणात्मक शब्दहरु सुन्दा मन–मस्तिष्कमा उनै वस्तुहरूको क्रियाकलाप साक्षात्कार भइराखेको झैं अनुभूति हुन्छ ।

यसरी नेपाली भाषाको गुणगान गाइरहँदा पछिल्लो समयमा ह्रास हुँदै गएको नेपाली भाषाको प्रयोगले भने मन साँच्चै नै खिन्न तुल्याउँछ । नेपाली भाषाको महत्वलाई कोट्याउने हो भने यसले नेपाल र नेपालीको इतिहास र अस्तित्वलाई जोगाई राखेको छ । तर दिनप्रतिदिन नेपाली भाषा नेपालमा नै अपहेलित हुँदैगएको हामी प्रस्ट देख्न सक्छौं । भर्खरैको एउटा ताजा घटना ‘इम्बोस्ट नम्बरप्लेट’ को विषय पनि नेपाली भाषा लाई अपहेलना गरेको ज्वलन्त उदाहरण हो । पछिल्लो समयमा नेपालका महत्वपूर्ण क्षेत्रहरू शिक्षा, स्वास्थ्य, बैंकिङ प्रणाली, यातायात, निजी कार्यालयहरु आदि विविध क्षेत्रहरुमा अंग्रेजी भाषाले आफ्नो प्रभुत्व कायम गरिसकेको छ ।

सरकारी कार्यालयहरुमा पनि अंग्रेजी भाषाले प्रभुत्व जमाइसकेको छ । तर नेपालसरकारले नेपाली भाषाको संरक्षण संवद्र्धनमा त्यति चासो दिएको देखिँदैन । बरु उल्टै विदेशी हस्तक्षप नै लाचारी रुपले स्वीकारीराखेको देखिन्छ । कुनै समय नेपाल सरकारले निजि तथा सरकारी विद्यालयको ११–१२ मा पढाइ हुने एउटा अनिवार्य नेपाली विषयलाई पनि हटाउने जमर्को गर्दैगर्दा चर्को आलोचनाका बाबजुद सरकार पछि हटेको थियो । निजी विद्यालयमा एउटा नेपाली विषयबाहेक अन्य सबै विषय अंग्रेजी भाषामै पठनपाठन हुने गर्दछन् र विद्यालयमा नेपाली भाषा प्रयोग गरे दण्डित हुनुपर्ने नियम रहन्छ । जसले आजभोलिका बच्चालाई राम्रोसँग नेपाली बोल्नलेख्न पनि आउदैन ! अझै भनौं नेपालका सहरी उच्चवर्गका सन्ततिले नेपाली लवज नै बिर्सिसकेका छन् ! जसका मुखले उच्चारण गरेका नेपाली शब्द कुनै टुटेफुटे नेपाली जानेको विदेशीले उच्चारण गरेकोझैं सुनिन्छ । जस्को प्रत्यक्ष असर युवा पिँढीमा पुग्दा देखिन्छ । जुन वर्ग नेपाली भाषा–संस्कृति ,नेपाली संगीत, चलचित्र आदि मौलिक गतिविधिबाट टाढिँदै र विदेशी संगीत, भाषा–संस्कृति, विदेशी रहनसहनमा रुचि बढाउँदै जान्छ; र बिस्तारै उनीहरुको लक्ष्य नै देश बाहिर जाने रहन्छ ! जुन कार्य नेपालमा पछिल्लो समय ट्रेन्डिङ नै बनेको छ ।

नेपाल सरकारले आधुनिक शिक्षालाई महत्व दिँदैगर्दा आफ्नो मौलिक भाषालाई भने पछाडि नै बिर्सिदिएको छ । के आधुनिक शिक्षा नेपाली भाषामा पढाउन नमिल्ने हो ? कि शिक्षा, सभ्यताको बिकास अङ्ग्रेजी भाषाबाट मात्रै सम्भव छ ? विदेशी भाषाको दबिदबावका बाबजुद पनि विश्वका कैयन् भाषा प्रति सचेत शक्तिशाली राष्ट्रहरुले आफ्नै भाषालाई बढावा दिइराखेका हुन्छन् ! जुन राष्ट्रहरुमा बाहिरी भाषाहरु शून्यमात्रामा प्रयोगमा रहन्छन् ! जस्ले गर्दा ती देशका भाषा र भाषिकहरुको महत्व पनि उतिनै बढ्ने गर्दछ ! आवश्यकता सँगै भाषाका प्रयोगकर्ता पनि बढ्दै जान्छन् ! जसले त्यो देश र देशको भाषाको महत्वलाई अझ उचाइ सम्म पु¥याउँदछ ।

बिडम्बना त यो छ कि देशमा आफ्नै मातृभाषा बिर्सिएर अङ्ग्रेजी फरर बोल्न जाने, ऊ उदाहरणीय बन्न पुग्दछ ! देशका विद्यालयहरूमा भर्ना प्रचारमा ञ अंग्रेजी माध्यमद्वारा पढाइ हुने झ वाक्य हेडलाइनमा आउँदछ ! निजी विद्यालयको बढ्दो यस्तो क्रियाकलापले अङ्ग्रेजी भाषा त अमृत भाषा नै हो कि, जुन भाषाको अभाव मात्रले साक्षर नै भइँदैन कि, भन्ने जस्तो मानसिकताले ग्रस्त बनाएको झैं देखिन्छ हाम्रो समाजलाई ।जसले प्रतिदिन आफ्नो मौलिक भाषा–संस्कृति साथै आफ्नो अस्तित्वलाई नै क्रमिक रुपले लोप गराइराखेको प्रष्ट देखिन्छ । आजभोलि शुद्ध नेपाली भाषा मात्रै बोल्ने व्यक्ति कमै मात्रामा वा शून्य मात्रामा भेटिन्छन् । अंग्रेजी शब्दहरु नघुसाइ शुद्ध नेपाली मात्र बोल्ने व्यक्तिलाई अशिक्षित जस्तै तुल्याइन्छ ।

पछिल्लो समयमा सरकारी विद्यालयहरुमा पनि अंग्रेजी माध्यमद्वारा पठनपाठन हुने हुन्डरी चलेको छ । नेपाली मिडियम को पढाइले विद्यार्थी र विद्यालयको गुणस्तर उक्सिन नसकेका तर्क गर्दछन् ! जुन कुरा हास्यास्पद र खेद जनक छन् । के अंग्रेजी शिक्षाले विद्यालयको व्यवस्थापन, शिक्षकहरूको लापरवाही र विद्यार्थीका समस्यालाई छुमन्तर गरिदिन्छ र ? कि सरकारले विद्यालयमा अंग्रेजी माध्यमद्वारा पढाइ भएमात्र चासो राख्ने हो ? के उही ज्ञान नेपाली भाषाबाट दिए गलत, अङ्ग्रेजी भाषाबाट दिए सही हुने हो ? ज्ञानले भाषा हेर्छ कि विषयवस्तु भित्रको तत्व ? अझ नेपालका उच्च विश्वविद्यालयहरु, जसले नेपाली भाषा–संस्कृतिलाई विश्वसामु चिनाउन महत्वपूर्ण भूमिका खेल्नु पर्ने हो ! विश्वविद्यालयमा पढ्न आउने विदेशी विद्यार्थीहरुलाई नेपालीभाषा चिनाउने; नेपाली भाषातर्फ मोह उत्पन्न गराउने वातावरण सिर्जना गर्नुपर्ने हो तर यिनै नेपालका विश्वविद्यालयले परीक्षाका प्रश्नपत्रहरु केवल अङ्ग्रेजी भाषामा मात्रै छापी, नेपाली भाषालाई महत्वहीन तुल्याइदिन्छन् ।

म त भन्छु– अंग्रेजी मिडियमको हुण्डरीले विद्यार्थीको स्तरलाई अझ तल खस्काई राखेको छ । आफ्नो मातृभाषामा हुर्किएको एउटा बच्चालाई विद्यालयमा अंग्रेजी अनिवार्य गराउँदा अंग्रेजीमा पूर्ण दख्खल नभएका विद्यार्थीले न त पुस्तकका कुरा सबै बुझ्दछन् ! न त दोहोरो प्रश्न गर्ने आँट नै राख्दछन् ! जसले विद्यार्थीमा हुने मौलिकता शक्ति हराएको छ । नेपालका सबै विद्यालयमा न त योग्य अंग्रेजी शिक्षक छन् ! न त पाठ्यसामग्री नै ! यहाँ त केबल पुस्तकीय विषयवस्तु कण्ठ गर्ने र उही हुबहु सार्नेबाहेक अरु केही व्यवहारिक पाढ्यशैली देखिँदैन ।

नेपाली भाषा नेपालमा मात्रै सीमित छैन ! यो छिमेकी देश भारतका विभिन्न प्रान्तहरुमा साथै नेपाली आप्रवासका कारण पछिल्लो समयमा विश्वका प्रायजसो मुलुकहरुमा नेपाली भाषाले स्थान पाएको छ । यसरी जरो नेपालमा रहेर विश्वभर फैलिदै गएको नेपाली भाषाले आज नेपालबाटै धोका पाइराखेको देखिन्छ । राष्ट्रियगानमा त हामी झवीरहरुका रगतले स्वतन्त्र र अटलझ भन्छौं तर वर्तमान समयमा हामी पूर्ण परतन्त्री भएका छौं । न त हामीसँग गौरव गर्न स्वच्छ नेपाली भाषा छ ,न त संस्कार संस्कृति, न त भूभागहरू नै ! बहुजाति र बहुभाषीहरुको साझा फुलबारीको संज्ञाले चिनिने नेपालमा आज न गौरवका लागि देशभित्रका मौलिक भाषा मौलाए न त संस्कार–संस्कृति नै ! देशमा भाषा धर्मका नाममा प्रायः द्वन्द्व मच्चिरहन्छन् । देशमा केही दशक अगाडिसम्म भाषा, धर्म–संस्कृति ,जातिका नाममा त्यति टकराव भएको देखिँदैन । तर जति देशमा आधुनिकताको नाममा बाहिरी भाषा, बाहिरी धर्म–संस्कृति मौलाउदै गए उति नै देश–अशान्ति र टकरावको खाडलमा भासिँदै गयो । सँगै नेपाल र नेपालीको अस्तित्व पनि खोक्रिँदै गइरह्यो र नेपाल र नेपालीको महत्व र गौरवका विषयलाई इतिहासका पानामा मात्रै सीमित पार्ने दृश्य अहिलेको अवस्थाले प्रष्ट संकेत गरिरहेको पनि छ ।

भाषा भनेको सहजताका लागि हो । आवश्यक पर्दा बोल्न, लेख्न, जवाफ फर्काउन सहज रहोस् भन्ने ढंगले विविध भाषाहरू सिक्ने÷सिकाइने गरिन्छ । व्यवहारिक सहजताका लागि प्रयोग गरिने भाषालाई राष्ट्रियकरण गर्नु र आफ्नो अस्तित्व बोकेको मौलिक भाषालाई बिर्सिदै जानु पूर्णतः मुर्खता हो । एक दृष्टिले नेपालजस्तो बहुभाषिक देशमा कुनै एउटा विदेशी भाषालाई मात्र प्रधान्यता दिनु अन्य भाषामाथि अपराध गर्नु पनि हो । त्यसैले देशमा बाहिरी भाषालाई होइन मातृभाषालाई प्रधान्यता दिनु पर्दछ । यसको मतलब अङ्ग्रेजी भाषालाई पठनपाठनबाटै हटाउनुपर्छ भन्ने होइन ! यो एउटा अन्तर्राष्ट्रियस्तरमा बढी प्रयोग हुने भाषा हो यसलाई ज्ञान गर्ने गरौं, मातृभाषा जस्तो धारण गर्ने होइन ।