‘जिउँदा जीवराज’ को इतिवृत्त !

मेचीकाली संवाददाता

१८ श्रावण २०७८, सोमबार
687 shares

देवेन्द्र घिमिरे
२०७३ को अन्त्यको कुरा हो । जिज्ञासु र युवा पुस्तामाझ जीवराज आश्रितलाई चिनाउन श्रव्यदृश्यको माध्यम पनि प्रयोग गर्दा परपरसम्म उहाँको जीवनी र कामको जानकारी प्रभावकारी रुपमा हुनसक्ने आवश्यकता बोध भयो । साथीहरूका छलफल र बैठकमा अनौपचारिक रूपले विभिन्न व्यक्तिको राय बुझ्दा धरैले समर्थन गरे । कतिपयबाट कसरी जीवन्त बनाउन सकिएला र भन्ने चिन्ता व्यक्त भए । चिन्ता नाजायज थिएन । सुदूर गुल्मीमा जन्मेका, २०२० सालतिरै जन्मथलोबाट बसाइँ सरेका, घरमा नबसी बाहिरै बाहिर पढ्न बसेका, पछि भूमिगत कालमा आश्रय स्थल सर्दै नयाँनयाँ ठाउँ पुगेकाले एकै ठाँउमा जानकारी भेटाउने समस्या थियो ।

२०२८ सालमा जेलबाट रिहापछि सार्वजनिक जीवनबाट टाढा गुप्तरूपमा पार्टीका नेताको जानकारी खोज्नु सजिलो थिएन । केही तथ्यको सम्भावना देखेकाहरूसँग प्रामाणिक खासै वस्तु केही हुँदैनथ्यो । बरू डकुमेन्ट्रीका फोटा, भिडियोमा हामीलाई पनि देखाउनुहोला भन्ने इच्छुक धेरै जना हुनुहुन्थ्यो । २०४७ वैशाखदेखि सार्वजनिक भएका जीवराजको ३ वर्षपछि नै दासढुंगाको हत्या आशंकित दुर्घटनामा निधन भयो । गोठाटारको मदनआश्रित प्रतिष्ठानले प्रकाशन गरेको उहाँका केही रचनाको संकलन ‘जीवराज आश्रितका अभिव्यक्तिहरू’ बाहेक जे हुन् खोज्न बाँकी कुरामात्र थिए । प्रतिष्ठानले उहाँलाई चिन्ने जान्नेबाट लेखाएर प्रकाशन गरेको आश्रित स्मृति ग्रन्थ अर्काे खोजीको आधार थियो । यसमा लेखकहरूले जीवराजको बाल्यकाल र खुला जीवन, सामाजिक क्रियाकलापतिर त्यति छोएका थिएनन् । केही खास बानीको चर्चा अनि आफूसितको सम्बन्धको चर्चा सबैले गरेको भेटिन्थ्यो ।

२०७४ साल जेठ ३ गते दासढुंगामै आयोजित श्रद्धाञ्जली कार्यक्रमपछि देवेन्द्र घिमिरे र डा.मुरारि पराजुलीबीच डकुमेन्ट्रीका बारेमा ठोस कुरा भए । त्यसको निचोड थियो—कथा खोजेर स्क्रिप्ट लेख्ने र राम्रो डकुमेन्ट्री बनाउने ! कथा खोज्ने काम पहिलो प्राथमिकता बन्यो हाम्रो । प्रतिष्ठानले बाटाखर्च दिने भयो । हामी २०७४ जेठ १७ गते जीवराज आश्रितको जन्मथलोमा बाली थन्क्याइसकेको धानको खेतमा सिला खोजेझैँ सामग्री खोज्न पुग्यौं । त्यहीँका जानेमाने व्यक्तित्व गिरिराज शर्मा हुनुहुन्थ्यो साथमा छायाङ्कनका लागि मनिष पन्थलाई लिएर गुल्मी, हरेवातिर लाग्यौँ ।
जनस्तरमा बाटोघाटोमा भेटिने सत्तरी आसपासका बुढापाकासँग छलफल गरेर बाल्यकाल, पढाइका अवस्था, तिनताकाको घरको अवस्थाको जानकारी लियौं । गाउँका आफन्त, शान्तिपुर बजारका हितैषी, अभिभावक हाम्रा जानकारीका स्रोत थिए । समय, तिथिमिति फरक हुने विस्मृतिको टुटाफुटा उल्टापाल्टा भनाइलाई धैरै जनाबाट थप पुष्टि गर्नुपर्ने दौरबाट हामी गुज्रनु प¥यो । जीवराज आश्रितका तस्बिर, काजातहरूको खोजी संकलन, उहाँबारे लेखिएका पुस्तक, स्मृति ग्रन्थको मिहिन अध्ययन गरी स्क्रिप्ट लेखनको जिम्मा डा.मुरारी पराजुलीले लिनुभयो ।

कसबाट के पाइन सकिएला भनेर उत्खनन गर्ने क्रमसँगै २०७५ जेठमा कमलप्रताप थापाको अध्यक्षतामा बसेको आश्रित प्रतिष्ठानको बैठकमा यसको स्क्रिप्टको स्वामित्व लिँदै ‘आश्रित वृत्तचित्र सम्पादन उपसमिति गठन’ भन्ने एजेन्डाले प्रवेश पायो । देवेन्द्र घिमिरेको संयोजकत्वमा युवराज घिमिरे, डा. मुरारि पराजुली, कुमार थापा र तारा पाण्डे यसका सदस्यहरू रहे । यो उपसमितिले त्यही २०७५ जेठ १० गतेबाट औपचारिक रूपमा काम थालेको थियो । हामी रूपन्देहीबाट छायाङ्कनका फुटेजहरू संकलन गर्दै गयौं । आश्रितका शिक्षक, सहकर्मी, विद्यार्थी साथै पार्टी नेतृत्वमा रहँदाका भेटे जतिका व्यक्तित्वहरूलाई समेट्न राजधानी काठमाडौंसम्म पुगेर १८ गते जेठमा फर्कियौं । अनुसन्धानका लागि देशका अनेकन ठाउँमा जानुपर्ने, संगीत एवम् एनिमेसन लगायतको वृत्तचित्र बनाउन ठुलो धनराशि जुटाउनु पर्ने चुनौतीले पछ्याइरह्यो । त्यसमाथि प्रतिष्ठानले आफूले पाएको पुँजीगत बजेट डकुमेन्ट्रीमा खर्च गर्ने अनुमति नपाउने कानुनी समस्या छँदै थिए । दाताबाट यसको जिम्मा नलिने अवस्था सिर्जना हुँदा पनि हामी निरास भएनाँै । आफँैले सक्दासक्दा बनाउने आशा लिइरह्यौँ । २०७५ साउन ५ गते रु.सात लाखमा श्रीनगर फिल्मसँग कार्तिकमा वृत्तचित्रको काम सक्नेगरी सम्झौता भयो ।

देवेन्द्र घिमिरे त्यही साउनमा वैदेशिक भ्रमणमा जानुपर्ने भयो । केही समय वृत्तचित्रको काम मन्द गतिमा रह्यो । २५ फागुन २०७५ मा प्रतिष्ठानको तेस्रो अधिवेशनदेखि अध्यक्ष उमाकान्त बस्यालको कार्यकाल सुरु भयो । २०७५ को चैत ७ गते कुमार थापा संयोजक, दलबहादुर गुरूङ सचिव र डा. मुरारि पराजुली, मोहनीलाल रिजाल, निर्मल शर्मा पाण्डे, गोपाल न्यौपाने, सागर न्यौपाने, कृष्णकुमारी थापा सदस्य रहेको वृत्तचित्र सम्पादन उपसमिति पुनर्गठन भयो । काममा भने कुमार थापा, डा.मुरारि पराजुली, मनिष पन्थ, दलबहादुर गुरूङहरू देखिन्थे । २०७६÷५÷८ को प्रतिष्ठान बैठकले वृत्तचित्रको कामलाई अनुमोदन गरेको थियो ।

हामी भौतिक अभौतिक काममा लागिरह्यौं । स्क्रिप्टलाई धेरै पटक परिमार्जन र परिष्कार गरियो । कथाले मागेका फुटेज मिलाउने, तस्बिर वा प्रमाणित दस्तावेज जुटाउने काम चलिरह्यो । २०७६ भदौ ६ गते विषय विज्ञ मोहन मैनालीसँग उपसमिति र प्रतिष्ठान पदाधिकारी समेतको कार्यशाला गोष्ठी गरियो । उहाँको सुझाव निरन्तर रहिरह्यो, ११ साउन २०७८ मा उहाँबाट प्राप्त सुझावलाई समावेश गरी निर्माणको काम सकिएको प्रतिष्ठानलाई जानकारी दिने काम भएको हो ।

२०७७ साउन १४ गते विजय पाण्डेको आवाजमा कथालाई स्वरारोपण गरियो । त्यसपछि हामीले श्रव्यदृश्यको मिक्सिङ थाल्यौँ । २९ भदौ २०७७ मा स्टुडियोमा जुटेर छलफल गर्दा जन्मथलो र निधन थलोको विस्तृत दृश्याङ्कन र राँटा मेट्दै समेट्दै जाने टुङ्गामा पुग्याँै । २०७७ कार्तिक १ गते कोरोना कहरकै बीचमा कुमार थापाको नेतृत्वमा डा.मुरारि पराजुली, मनिष पन्थ, दलबहादुर गुरूङहरू गुल्मी, बाग्लुङ कास्की पुगेर दासढुंगा हुँदै २ गते फर्किनुभयो । २०७८ वैशाख १–४ मा हामी वृत्तचित्र संयोजनमा घनीभूत रूपमा लाग्यौँ । बाँकी छुटपुट मिलाएर जेठ ३ मा रिलिजको लक्ष्य लिएको तर कोरोनाको दोस्रो लहरका कारण निषेधाज्ञाले निर्माण अभियान फेरि ठिङ्गुरियो ।

संस्थापक अध्यक्ष देवेन्द्र घिमिरेले द्वितीय अध्यक्ष कमलप्रताप थापाको कार्यकालमा समितिमा विषय प्रवेश गराएको यो वृत्तचित्रले प्रतिष्ठानका तृतीय अध्यक्ष उमाकान्त बस्यालको कार्यकाल २०७८ मा अनेक बाधा चिर्दै ‘जिउँदा जीवराज’ सार्जनिक गर्ने तहमा पुगेको छ । यसलाई २०७४–२०७८ का पाँच वर्षको समय खर्चिनुप¥यो । सोधपुछ तथा छायाङ्कन गरिएका पात्रहरूले हामीलाई बिस्यौ र भन्ने अन्दाजमा सोधखोज हुन थाल्यो । हामी भन्न पनि सकस, नभने झन् सकसको समस्यासँग जुधिरह्यौं । यसलाई चलिरहेका संस्थाका प्रोजेक्ट जस्तै दुईतीन महिनामा एक–दुई लाखका कार्यशालाको पाठ्यसामग्रीझैं ठान्ने धारणाका अघि यसको दूरगामी महत्त्व प्रस्ट्याउन गहिराइमा छलफल गर्नैपर्ने भएर पनि करिब पाँच वर्ष लागेको हो । आवश्यक सामग्री र जानकारहरूको छायाङ्कनलाई सरासर अघि बढाउन ससाना बाधा आइलाग्थे । आजभन्दा पचास वर्षअघिका जीवराजसँगैका पात्रहरूका एउटा–एउटा तस्बिर भेटाउन अनेक ठाउँमा चहारेर सूत्र खोज्दै जाने काम नदेखिने तर नगरी नहुने कुराले कामको गति रोकिन्थ्यो । प्रतिष्ठानले आफ्नै खर्चबाट थालेको त थियो सम्पन्न गर्दासम्म लाखौँ खर्च लाग्ने हुँदा पर्यटन विभाग र स्थानीय निकायसँग साझेदारी वा सहयोगको प्रक्रिया अघि बढायो । हामीलाई न्यून बजेटले पनि अवरोध गरिरह्यो, यसको अभौतिक मूल्यलाई नस्विकार्ने मनोविज्ञानले पनि समयमा काम सम्पन्न गर्न समस्या प¥यो ।

मानवीय कारण मात्रले होइन, कोरोना महामारीको लकडाउनले सार्वजनिकीरणको तयारी पुगेन । २०७८ को जेठ ३ दासढुंगा दुर्घटनाकै दिन पनि दोस्रो निषेधाज्ञाले रोक्यो । कोरोना खुकुलो भएको अवसर छोपेर काठमाडौंमा अघिल्लो पटक भेट्न अनुकूल नपरेका कतिपय बाइटहरूका लागि २०७८÷३÷२० गते प्रतिष्ठानले साउन १८ मा लोकार्पणको निर्णयका साथ कथा निर्देशक मुरारि पराजुलीको नेतृत्वमा छायाकार मनिष पन्थ र सहजीकरण गर्न देवेन्द्र घिमिरेको टोली खटिएको थियो । त्यहाँ कुलबहादुर आचार्य र सूर्य थापाको सहयोग रह्यो । आखिर सारा बिघ्नबाधालाई पन्छाउँदै २०७८ साउन १८ गते आज जीवराज आश्रितकै जन्मजयन्तीका दिन यो बायोडकुमेन्ट्री ‘जिउँदा जीवराज’को सार्वजनिकीकरण हुँदैछ ।