लक्ष्मण बेल्बासे
फागुनको महिना दिनमा तातो बिहान साँझ झनै जाडो । तराईको बसाइ केही रमाइलो पक्कै भएको छ । थोरै भए पनि जाडो सकिएको अनुभूति हुन थालेको छ । राम मनोहर त्यहीका रैथाने हुन् । उनको घरभन्दा केही पर आजभोलि पहाडबाट झरेका मान्छेहरुका बस्ती पनि छन् । राम मनोहर सानै छदा उनको गाउँमा पहाडिया थिएनन् । कोही आए पनि भाषा फरक भुसा, फरक र खास त छालाको रंग नै फरक राम मनोहर अनौठो मान्थे । हुनत उनी आफैँलाई पनि पहाडिया कुरा आउँदैनथ्यो । पुराना कुरा सम्झन्छन् । आज तिनै पहाडिया कुरा बोल्ने रैथाने मधेशीका जमिन्दार भएका छन् । उनीहरूका मालिक भएका छन् । हुनत रैथाने मधेसी पनि जमिन्दार नभएका होइनन् । अझ हिजो मात्रै पारिबाट आएका छालाको रंग एउटै भएका मान्छे पनि रातारात जमिन्दार नभएका होइनन् र पनि मनोहर जस्ता पहिलेदेखि नै नोकर नै थिए । मालिक पहाडिया हुन या मधेशी, वारिका हुन या हिजो आएका पारिका सबै उनलाई उस्तै लाग्छ ।
यस्तै कुरा हेर्दै र झेल्दै मनोहर बुढा भइसकेका छन् । अब तराई पनि बदलिएको छ । उनका रंगका मान्छेभन्दा धेरै रंगका मान्छेले मधेश भरिएको छ । अहिले त उनी पनि अलिअलि पहाडिया कुरा गर्न सक्ने भएका छन् । थुप्रै कथा र व्यथासहितको समग्र भोगाइले कपाल सेतो र गाला चाउरी पारेका मनोहर अहिले झनै निराश भएका छन् । जिन्दगीको सहारा र भरोसा र सँगै जिउने सपनाको लौरो उनले हराएको थुप्रै भएको छ । तर पनि पीडा अहिले झनै बल्झिदै गएको छ । आसँु उति बेला नै सकिए पनि निद्रा पनि उनको आँखा नजिक आउन छोडेको त्यति बेलादेखि नै हो ।
कुरा धेरै पुरानो भइसकेको छ । मनोहरको पुकार भगवान्ले सुनिदिएका थिए । सानोमा नै बिहे गरेको भए पनि ढिलै गरेर उनकी श्रीमतीको मिठो माया पाएका थिए । यही खुसीमा कति बेला डढेलो लाग्छ पत्तै भएन । उनी हरूको जीवनमा साँच्चीकै डढेलो लाग्यो । राम मनोहरको परिवार मालिकको घरमै काम गरेर गुजारा चलाउने पुर्खौली पेशा । एक रात उनको मालिकको गिद्दे नजर उनको श्रीमती माथि प¥यो । राम मनोहरको सबै खुसी खोसियो । पहाडिया कुरा नजान्ने श्रीमती चिच्याउँदा चिच्याउँदै उनको सर्वस्व लुटियो । सबै गुमाएकी श्रीमती निराश भएकी छिन् । राम मनोहर पनि बदला लिने कुरा सोच्न पनि सक्दैनन् । पुलिस प्रशासन मालिकको नै भयो । राम मनोहर जस्ताको लागि समाज पनि निरीह बनिदियो । दिन बित्दै गए । अब त छोरा पनि टुकुरटुकुर हिँड्ने भएको छ ।
राम मनोहर प्रण पूरा गर्न शिवरात्रिको मौका पारेर छोरालाई काँधमा राखेर बुढीलाई अगाडि लाएर निस्किएका छन् । दुःखकष्ट झेल्दै काठमाडौं पुगेका राम पशुपति पुगेका छन् । त्यहीको पाटीमा रात गुजारेर भोलि दर्शन गर्ने सुरमा लागेका छन् । पशुपतिको जात्रा मान्छेको घुइँचो राम मनोहर कतै हराइएला कि छुटिएला कि डर लागेको छ । चकचके बेटुवा कहाँ पुग्छ एकै छिनमा थाहै हुँदैन । अझै ठूलो समस्या त्यहाँबाट सुरु हुन्छ उनलाई पहाडिया कुरा आउँदैन । नभन्दै भगवान्को नजर उनकै पुत्रमाथि परे जस्तै भएको छ । उनको छोरा उनको हातबाट छुटेको छ । हेर्दाहेर्दै उनको आँखाबाट अदृश्य भएको छ । उनी चिच्याएको छन् । सुनिदिने र बुझी दिने कोही थिएन । त्यहाँ सबैका आफ्नै धुन थिए । सबैले एकले अर्कोलाई ठेलेको जस्तो मात्रै लाग्ने त्यहाँ कसले कसलाई सुन्ने । आज दिनदहाडै भगवान् कै अगाडि रामको परिवार लुटिएको छ । गुहार दिने कोही छैन ।
यसै पनि काठमाडौं मधेसप्रति उदार देखिँदैन । छालाको रंग कालो हुने सबै लाई मधेसी ठान्छ काठमाडौं र यिनीहरुलाई मान्छे कै दर्जा दिन पनि तैयार थिएन तत्कालीन काठमाडौं । भगवान् शिवले त बुझ्न नखोजेको उनको वेदना काठमाडौं ले बुझ्ने त झन् कुरै भएन निरीह रामका बुढाबुढी फेरि पनि तिनै भगवान् कै सरण पर्नुको विकल्प थिएन । रामलाई लाग्छ, पहाडियाले सधैं घेरिएका र हिमालबाट झरेका पशुपतिनाथ पनि मधेसी भाषा बुझ्दैनन् । त्यसैले उनको गुहार कसैले सुन्दैन ।
रात निष्पट्ट भइसकेको छ । जाडो बढेको छ । निरीह रामको जोडी सर्वस्व गुमाएर पनि त्यही जाडोसँग फेरि लड्नुपरेको छ । आज त भगवान् पनि एक्लै परेको छन् । उनको पुकार कतै सुनिदिन्छन् किीजोडले चिच्याउँछन् । उनको अगाडि सहयोगी बनेर कोही आउँदैन नत उनको मुटुको टुक्रा उफ्रिँदै उनको समीपमा आइपुग्छ । निराश राम निर्विकल्प हुन्छन् ।
यसरी नै दुईतीन दिनको दौड धूप चिच्याहट र रोदनले विक्षिप्त हुँदै पशुपति कै अगाडि देह त्याग गरौं जस्तो लाग्छ । विक्षिप्त श्रीमतीलाई सम्हलाउन या आफैँ सम्हलिऊँ केही उपाय देख्दैनन् ।
यसरी बाउआमासँग बिछोडमा परेका पुत्र राम विनोद एउटा साधुको नजरमा पर्छन् । नत साधुको प्रयासले राम भेटिन्छन् । नत खोज्दै जाँदा राम साधुको नजिक पुग्दछन् । अन्तत राम विनोद एक साधुको आश्रममा अनाथ बन्न पुग्दछन् । आफ्नो सम्पूर्ण परिचय गुमाएका राम विनोद अब कुटिमै निराजन भएर हुर्किएका छन् । उनको नाम बदलिएको छ । सबै थोक बदलिएको छ । उनको रंग बदलिएको छैन । समय रोकिएको छैन । समय सँगै निराजन बनेका विनोद पनि केही हुर्किएका छन् । एकदिन भिक्षा टनमा निस्किएका योगी कुटी फर्किएका छैनन् । यिनै निराजनबाहेक योगी कहाँ पुगे र किन फर्केनन् सोध्ने खोज्ने कोही छैनन् ।
अब निराजन सडक बालक बनेका छन् । उनी आफैँसँग आफ्नो परिचय छैन । आफैँ को हुन् उनी आफैँलाई थाहा छैन । योगीले चिनाएका अक्षरबाहेक उनको दिमागमा केही छैन । उनको रंग कालो नै भएपनि पहाडिया कुरा बोल्न भने सक्छन् र पनि निराजन अब सडक बालक भएका छन् । सडक नै उनको घर संसार भएको छ ।
धेरै हिउँद बर्खा गए । सडक मै निराजन जवान भएका छन् । सडक मै कैयौँ नारा जुलुस देखे । पड्किएको गोलीका खोका भेटे । आफैँले ओढ्ने पत्रिका पढे । कहिले जँड्याहाको लात खाए, कतिचोटि फालेको भात खाए । अब त नारा जुलुसमा आफैँ गए । सबै गर्दा पनि उनको परिचय कतै देखिएन । नत परिचय पत्र नै पाए । अब उनको नयाँ परिचय थपिएको छ । खाते बाट माग्ने । अब उनको पेशा भएको छ माग्ने ।
कहिले सडकमा गोली पड्कने । कहिले आन्दोलन भड्किने । आफैँले पत्रिकामा भेटाउँछन् । धेरैको बलिदानपछि देशमा गणतन्त्र आयो । उनी बुझ्दैनन् केहो देश केहो गणतन्त्र । उनलाई एउटै डर छ भोलिबाट मागेर पनि खान नपाइने होकि ।
उनले पत्रिका पढेअनुसार गणतन्त्र आएको पनि धेरै भइसकेछ । अब त मागेरै बाँचेका निराजन को दारी पनि सेतो हुन थालेछ । सम्झन्छन् देशमा गणतन्त्र आएसँगै भुइँचालो पनि आयो । त्यही भुइँचालोले उनी सुत्ने फलचा र मन्दिर पनि भत्काई दियो । उनलाई दुःख लाग्यो त्यही एउटा छिडी पनि प्रकृति ले खोस्यो । त्यही सिँढीमा पनि को सुत्ने भनेर उनीजस्तै अरुसँग विवाद हुने नगरेको होइन । तर पनि उनलाई लाग्थ्यो । यो सिँढी त उनकै हो । यसका लागि उनले धेरै सँग लडेका छन् । अरु धेरैका लड़ाइँ देखेका उनी यस्तै लड़ाइँ नै जीवन हो जस्तो लाग्छ । तर पनि खासमा जीवन के हो उनलाई थाहा छैन । आफ्नै बाआमा को हुन् थाहा नभएका उनी अरु थाह भएर पोके गर्नु जस्तो लाग्छ । आज पनि सहरका चोकचोकमा लड़ाइँ चलेको छ । अश्रु ग्यास फैलिएको छ । गोली पड्किएको छन् । राम्ररी नबुझेका उनी यो लड़ाइँ झनै जटिल लाग्दछ । भए जतिका मान्छे चोकमा जम्मा भएका छन् । कार्यालय रित्ताएर पुलिस सबै बाटोमा आएका छन् । उनले थोरै सुनेका छन् । सर्वहारा भनेको बुझ्न थालेका छन् । गरिबी के हो थाहा पाउन थालेका छन् । विभेद के हो ? दिनदिनैको भाषण सुनेर केही थाहा पाएका छन् । उनी सुन्छन् र यो लड़ाइँ सर्वहाराको मुक्तिको लागि हो । विभेदको अन्त्यको लागि हो । उनलाई अचम्म लाग्छ । यो कस्तो लड़ाइँ हो जसलाई मुक्ति चाहिएको छ ।
ऊ गुमनाम छ । उसलाई केही थाहा छैन । आज भारी बोक्न नपाइएला कि । आज माग्न पनि नपाइएला की भन्ने चिन्ता मै रुमलिएको छ । तर अरु नै सुकिला मुकिला हुने खानेहरू नै यिनै सर्वहाराको मुक्तिको लागि भनेर पुलिससँग दिनदिनै लडेका छन् । भारी बोकेको ज्याला दिनसमेत अफ्ठेरो मान्ने साहु र पाँच रुपैयाँ माग्दा गरेर खान सकिन्न भनेर हप्काउने साहु सर्वहाराको मुक्तिको लागि भनेर पुलिससँग लडेको देख्दा अचम्म लागेको छ । उनको मनमा शंका उब्जिएको छ । हामी सर्वहाराको नाममा यिनीहरुले रजाइँ गर्न खोज्दै छन् । होइन भने यिनी साहुहरू हाम्रा लागि किन लड्छन् र । त्यही पनि भीडमा मिसिएर नारा लाउन थाल्छन् निराजन । आज एक दिन भए पनि मासुभात खान पाइने भयो भनेर मख्ख पर्छन् । जहाँ गाह्रो त्यही साह्रो भने जस्तै मच्चिएर उफ्रिएका निराजन पुलिसको गोली पनि उनैलाई खोज्दै आइपुग्छ । भिडमै पुक्लुक्क ढल्छन् । होस गुम हुँदै जान्छ । धेरैपछि पुलिसको घेरामा हस्पिटलको बेडमा आफूलाई पाउँछन् । जिन्दगीमा पहिलो चोटि बिस्तराको अनुभव गर्छन् । गोली निकाली सकिएको छ । पुलिस को अनुसन्धान चलिरहन्छ । एउटा आतंककारी पुलिसको घेरामा समाचार छापियो । निराजन एकै छिनमा अब आतङ्ककारी भएका छन् । केरकार सकिन्छ । आखिर निराजन सडक मान्छे नै ठहहरिन्छन् र उनलाई बुझ्न चौकीसम्म आउने कोही छैन । अन्ततः सडकमै छोडिन्छन् । उनलाई लाग्छ पशुपतिको साँढे र उनमा केही फरक छैन । साँढेलाई त शिवरात्रीमा सबैले पुज्छन् । उनको दिन कहिले आएन । आज त्यही सिँढी पनि अब उनी बाट खोसिएको छ । उनी जस्तै धेरैका खोसिएका छन् । त्यही सिँढीमै बस्दाबस्दै धेरैका खुसी खोसिएको देखेका उनलाई यो पनि सामान्य नै लाग्छ ।
केही वर्ष बिते आज फेरि सहरमा चहलपहल बढेको छ । सहर सजीएको छ । साहु, ठूलाबड़ाको चुरीफुरी बढेको छ । झाँकी र ब्यानर हेर्छन् । आज गणतन्त्र दिवस रहेछ । मानिसको भीड लागेको छ । रत्नपार्क भरिएको छ । सडकको छेउमा टोलाइरहेका निराजनलाई पुलिस आएर धपाउँछन् । बाटो पुरै खाली भएको छ । भन्छन्–प्रधानमन्त्री र राष्ट्रपति आउँदै छन् । पुलिस दाइले भन्छन् । खुशीको दिन हो आज । हातमा फूल लिएर स्वागत गर महामहिम को र तिमी पनि खुसी हुनुपर्छ । अनुहार हँसिलो हुनुपर्छ ।
निराजन अचम्म मान्छन् । उनले सुनेको र पढेको गणतन्त्र आएको त धेरै भइसक्यो । उनी खुलामञ्चमा सुत्दै गर्दा धेरैपटक यो पर्व मनाएको देखिसकेका छन् । तर उनलाई अचम्म लाग्छ । उनी खुसी हुनुपर्ने कारण के छ ? पुलिस दाइलाई सोध्छन्–मलाई एक छाक मासुभात ख्वाउनुस् अनि खुसी हुन्छु । कालो वर्णका निराजन छेउमै बसेका सज्जन जानी नजानी हिन्दी मै सोध्छन् । तुम इंडिया हे की नेपाल का । निराजन भन्छन्–म नेपाली होकी इन्डियन मलाई नै थाहा छैन । यति थाहा छ । गणतन्त्र ल्याउन मैले पनि गोली खाएको छु ।’ सज्जन भन्छन् । हट्ठाकठ्ठा नै छौ । एकछाकको लागि के पैसा माग्छौ । गरेर खान सक्दैनौ ? निराजन भन्छन्–यहाँ मलाई कसले काम दिन्छ ? सरकार मलाई चिन्दैन । साहुको नजरमा म एउटा सडक मान्छे हो, भरोसा छैन । हजुर नै भन्नुस् म के गरुँ ? सज्जन भन्छन्, केही पेशा गर । निराजन भन्छन्–हजुर मलाई लगानी जुटाइदिनुहुन्छ ? म चटपट पसल चलाउँछु । कमाएर तिरुँला । सज्जन झस्किन्छन् । म को हो र तिम्रो ? तिम्रो लागि लगानी जुटाइदिने ।
निराजन भन्छन्–महोदय उसो भए यो अवस्थामा मैले किन र केका लागि मुस्कुराउनु पर्ने ?
गणतन्त्र आयो त तपाईं जस्तै सुकिला मुकिलाको लागि आयो । व्यवस्था बदलियो त तपाईंहरुकै लागि बदल्नुभयो । हामीले के पायौँ ? अहिले पनि तपाईंले भनेर मैले किन मुस्कुराउनु पर्ने ? सज्जन झस्किन् । निराजन भन्छन्–महाशय अब म केही गर्न हजुरको घरमा चोरी गरौँ ? तपाईं पुलिस बोलाएर कारबाही गराउनु हुन्छ । सज्जनको बोली बन्द हुन्छ । निराजन प्रश्न गर्छन् । सज्जन यो देशमा म जस्तै को खाने बस्ने र बाँच्न पाउने अधिकार छ कि छैन ? यदि यो देशमा हामी जस्ता को केही अधिकार छैन भने हामीले यो देशको नियम कानुन किन मान्नुपर्ने ? सज्जन जवाफविहीन भएका छन् । निराजन भन्छन् । हामीलाई मान्छेको दर्जा यो सुकिला मुकिला को समाजले दिँदैन भने बाँच्नको लागि पशुको व्यवहार देखाउन हामीलाई कसले रोक्ने ? हामी चोरेर खान्छौँ । खोसेर खान्छौं । तिमी र तिम्रो समाज मिलेर हामीलाई लखेट्दै गर । छेउ लाउँदै गर । खासमा तपाईं जस्ताले बनाएको यो समाज हामी सर्वहारा भोकभोकै मरेको हेर्न मात्र चाहन्छ, बुझ्नुभयो महाशय ।
यत्तिकैमा स्टेजको आवाज बाटोसम्मै आइपुग्छ । भर्खरै बाटो खाली गराएर । महंगो गाडीमा सवार महाशय लाल सलाम भन्दै गर्जिन्छन् । नारा लगाउँछन् । सर्वहारा जिन्दाबाद । जनवादी क्रान्ति जिन्दाबाद । निराजन भन्छन्–सज्जन सुन्नुहोस् र भन्नुस् जिन्दाबाद ।
केही समय दुवैजना चुप रहन्छन् । निराजनलाई अझै धेरै कुरा बताउन मन लाग्छ । सज्जनलाई देखाउँदै भन्छन्,महाशय हजुर यहाँ जति देख्नुहुन्छ ठूलाठूला भवन सबै प्रजातन्त्र र गणतन्त्र पछिनै बनेका हुन् । बाटोमा हेर्नुहोस यति विघ्न महंगा गाडी गणतन्त्र पछि नै भित्रिएका हुन् । अहिले खोजेर हेर्नुहोस् यी सबै भवन र गाडी यिनै व्यवस्था बदल्नेहरुकै हुन् । त्यति मात्रै होइन यी भवनले तानेर मापदण्ड विपरीत बनाएका यी टाहरा र कोठी हरुमा पसल गर्ने साना व्यापारी हुन् । ऋण धन गरेर मालिक लाई बुझाएका छन् । यिनै टहरामा भविष्य खोजेका छन् । यिनीहरु पनि छोराछोरी पढाउनला हामी पनि सुखी हौंला धेरै सपना देखेका छन् । सडकबाट छाप्रोमा पुग्ने धेरै छन् । कुनै दिन नयाँ गर्छु भन्ने कोही आउने छ । शहरको सुन्दरता बिग्रियो भन्ने छ । डोजर डुलाउँदै यिनैलाई फेरि सडकमा पठाउने छ । बुझ्नुभयो महाशय । भवन मालिकलाई कोही केही गर्न सक्दैन । किन भन्नुहोला । यो व्यवस्था यिनै भवन मालिकको हो । यी नेता त उनैका कारिन्दा मात्रै हो । त्यसैले गरीबले सपना देख्न यहाँ मनाही छ । सज्जन गम्भीर हुँदै छुट्टिएका छन् । नाजवाफ भएका छन् । अब लालसलामले आफैँलाई गिज्याए जस्तो लागेको छ ।
यसरी नै गणतन्त्र, प्रजातन्त्र दिवस धेरैचोटि मनाएको निराजनले हेरिरहेको छन् । उनलाई लाग्छ, यी दिवस खुल्ला मञ्चमा ल्याएर प्रजातन्त्र र गणतन्त्रको खिल्ली उडाउन मनाए जस्तो लाग्छ । मान्छेको झिनो सहभागिता लाई हेरेर उनलाई लाग्छ सबैले बुझे जस्तो लाग्छ । गणतन्त्र सीमित मान्छेको पेवा भइसकेको छ ।
बाटोमा माग्ने र मन्दिरमा सुत्ने, पत्रिका ओढ्ने यसरी नै निराजनको दिन बितिरहेको छ । आज फेरि धेरै पछि उनको सहरका चोक र ठूला भवनका अगाडि भीड बढेको छ । रुवाबासी मच्चिएको छ । पुलिसको उपस्थिति बाक्लो रहेको छ । बोल्न खोज्नेहरुका आवाज पुलिस बन्द गराउन ठूलै मिहिनेत गरेका छन् । तर पनि आवाज बाहिर आएका छन् । निरीह आवाज न्यायको लागि भिख मागेका छन् । आफू लुटिएको ठगिएको भन्दै छन् । डोजर चलेको छ । भीड भित्रै आवाज हराएको छ ।
संयोग भनौं तिनै सज्जन आज निराजनको छेउमै पुगेका छन् । निराजन सञ्चो बिसन्चो सोध्छन् । निराजन अझै उनको नजिक पुग्छन् र भन्छन्–देख्नुभयो महाशय यी ठूला भवन हुनेहरूले वर्षौंदेखि गैरकानुनी रुपमा बनाएका टहराबाट थुप्रै आम्दानी बटुली सकेका छन् । पैसा कमाइसकेका छन् । यो पुलिस प्रशासन त्यहाँसम्म पुग्न सक्दैनन् किनभने तिनी मालिक हुन् । अहिले आएर यिनै टहरा अनधिकृत पसल भए । डोजर तिनैमाथि डुल्यो । पुँजी तिनैको नास भयो । सपना तिनैको तुहियो जो हिजो सडकबाट सटरमा जान चाहन्थे र जेनातेन टहरामा पुगेका थिए । सलामी बुझाएका छन् । भाडा पनि अग्रिम तिरेका छन् । मालिक मोटाइसकेका छन् ।
तिनलाई पेशा व्यवसायविहीन बनाउनेले तिनका भविष्य हेर्नु पर्दैन ? कलेज स्कूल पढ्दै गरेका बच्चाको फि कसले तिरिदिन्छ ? जिम्मा तिनले लिनु पर्दैन ? अब तिनलाई न्याय कसले दिन्छ ? ती मालिक बाट क्षतिपूर्ति भराई दिने जिम्मा कसले लिने हो ? अब सडकको आवाज कसले सुन्छ र यहाँ । त्यही भएर महोदय म गणतन्त्र दिवसमा पनि खुसी हुन सकिन । यो देशमा रैतीबाट नागरिक हुन सकिन ।