सोह्र श्राद्ध सुरु, कुन तिथि कतिखेर गर्ने ?

मेचीकाली संवाददाता

२६ भाद्र २०७९, आईतवार
627 shares

बुटवल । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आइतबारदेखि विधिवत् रुपमा सुरु भएको छ । आरम्भकै दिन आइतबार प्रतिपदा र द्वितीया तिथि श्राद्ध गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ वटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो । यो समयलाई अपर, प्रेत पक्ष आदि नामले पनि बुझिन्छ । चाडपर्व यज्ञयागादि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । यस समयमा पितृले आशगरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ ।

यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ । यो पक्षमा श्राद्ध नगर्दा अक्षम्य दोष लाग्छ भन्ने शास्त्रीय वचनका आधारमा श्राद्ध गर्ने गरिएको धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमले बताए । सोह्रश्राद्ध अपराह्न कालमा गर्नुपर्छ भन्ने शास्त्रीय वचन रहेको पनि उनले बताए । जाताशौच, मृताशौच र पत्नी रजस्वला भएका अवस्थामा बाहेक सोह्र श्राद्ध छोड्नु नहुने धर्मशास्त्रविद् गौतम बताउँछन् ।
कारणवश सोह्र श्राद्ध रोकिँदा शास्त्रमा अनेक विकल्प दिइएका छन् । सोह्र श्राद्ध कर्ताले आफ्ना पिताको तिथिमा गर्नुपर्ने विधान छ । आपत् धर्मअनुसार कुनै कारणवश अड्किएमा आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् गौतमले बताए । यो समयमा पनि कारणवश सोह्र श्राद्ध गर्न नसकिएमा कार्तिककृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन गर्न सकिन्छ । कार्तिककृष्ण औँसीमा पनि गर्न नसकिने भएमा वृश्चिक सङ्क्रान्ति अर्थात् मङ्सिरसम्म जुराएर गर्न सकिने धर्मसिन्धु नामक शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ ।

आश्विन शुक्ल पञ्चमीपछिका अष्टमी, द्वादशी र औँसी, भरणी नक्षत्र र व्यतिपात योग परेका दिन जुनसुकै तिथि परे पनि रोकिएको सोह्रश्राद्ध गर्न सकिने शास्त्रीय विकल्पसमेत निर्णयसिन्धु, धर्मसिन्धुलगायत धर्मशास्त्रका ग्रन्थमा दिइएको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुखसमेत रहेका समिति सदस्य प्रा. डा. देवमणि भट्टराईले जानकारी दिए ।
त्यसपछि पनि सोह्रश्राद्ध गर्न नसकिएमा सक्नेले आफैँ नसक्नेले ब्राह्मणमार्फत दैनिक १०८ मन्त्र जप गर्न सकिने शास्त्रीय विकल्प रहेको धर्मशास्त्रविद् भट्टराईले सुनाए । विधिपूर्वक यस्तो जप १० महिनासम्म गर्नुपर्छ । यो विधिबाट पनि पितृले तृप्ति प्राप्त गर्ने धार्मिक विश्वास छ ।
यसैगरी यस वर्ष असोज १ गते कुनै पनि तिथिको श्राद्ध नपरेको समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख गरिएको छ । भदौ ३१ गते सप्तमी तिथि श्राद्ध परेको छ । अष्टमी तिथि भने असोज २ गते परेको छ । असोज २ गते अष्टमी तिथि बढी परेकाले त्यस दिन अष्टमी श्राद्ध गर्नुपर्ने निर्णय गरिएको समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले बताए ।

पुरोहितले आफू अनुकूल बिहानै श्राद्ध गर्नु शास्त्रसम्मत नहुने बताउदै उनले अपराह्नकाल पारेर पिताका तिथिका दिन सोह्र श्राद्ध गर्नुपर्छ । यसका लागि प्रत्येक दिन कुन समयमा श्राद्ध गर्ने भन्ने तालिका बनाएर दिइएको तोयानाथ पन्तको पञ्चाङ्गका सम्पादक सूर्यनाथ पन्तले जानकारी दिए । पितृपक्षभर यही तालिकाका आधारमा श्राद्ध गर्न पनि उनले सुझाव दिए । पितृ पक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् वडादसैँ सुरु हुन्छ । वडादसैँ मनाउनुअघि पितृ तृप्तिका लागि सोह्र श्राद्ध गर्ने गरिएको धर्मशास्त्रीय मत छ । ठूला पर्व वा चाड मनाउनुअघि पितृ तृप्तिको कर्म गर्ने वैदिक सनातनी परम्परा छ ।

औपचारिकतामा सीमित बन्दै सोह्र श्राद्ध
‘पितरो वाक्यमिच्छन्ति भावमिच्छन्ति देवता’ अर्थात् पितृले वाक्यको इच्छा गर्छन्, देवतालाई भाव भए पुग्छ । श्राद्ध अर्थात् पितृकर्ममा वाक्य मिलेन भने श्राद्ध गर्नुको अर्थ हुँदैन, व्यर्थ हुन्छ । यसैगरी श्राद्ध गर्दा तोकिएको समयमा गर्नुपर्छ । ब्राह्मणले धेरै घरमा सिध्याउन बिहानै श्राद्ध गराउन खोजेमा त्यसो गर्दा पनि पितृले नपाउने शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ ।

श्राद्धमा कर्ताले पालना गर्नुपर्ने एकछाकी बाहेकका सबै नियम निमन्त्रणा पाएको पुरोहितले पनि पालना गर्नुपर्ने शास्त्रीय विधि रहेका धर्मशास्त्र विभागका प्रमुख प्रा. डा. भट्टराईले बताए । श्राद्ध गराउने पुरोहितले पनि घरमा पूजा गर्नु नहुने शास्त्रीय वचन छ । नित्य पूजा गर्ने अरु कोही नभई गर्नै पर्ने भएमा पूजा गरिसकेपछि फेरि स्नान गरेर मात्र यजमान कहाँ श्राद्ध गर्न जानुपर्छ । पुरोहितले पनि निधारमा टीका लगाउनुहुँदैन । ‘कर्ता र पुरोहितको पनि निधारमा टीका देखेपछि पितृ निराश भएर फर्कन्छन्, यसैले पूजा गर्नै पर्ने भए पनि पानीको मात्र टीका लगाउनुपर्छ, पुरोहितले एक घरमा मात्र श्राद्ध गर्नुपर्छ’ उनले भने ।

देशे काले च पात्रे च श्रद्धया विधिना चयत् ।
पितृनुद्दिश्य विप्रेभ्यो दत्तं श्राद्धमुहाह्तमे ।।

देशकाल पात्रमा श्रद्धाले विधिपूर्वक पितृहरुको नामोच्चारण गरी ब्राम्हणहरुलाई जो दान दिइन्छ त्यो दानलाई श्राद्ध भनिन्छ भनी विभिन्न ग्रन्थमा उल्लेख गरिएको छ ।
सोह्र श्राद्धमा कुनै एक पितृको मात्र नभएर दिवङ्गत भएका सम्पूर्ण पितृको सम्झनामा तर्पण दिई श्राद्ध गरिन्छ । आफ्नै घर हुनेले घरमा र घर नहुनेले नदीको किनारमा श्राद्ध गर्नुपर्छ । अघिल्लो दिनदेखि नै चोखो बसेर, कपाल काटेर श्राद्ध गर्नुपर्ने शास्त्रीय नियम रहेको पण्डित बालमुकुन्द देवकोटा बताउनुहुन्छ । ब्रम्हाजीले बताएअनुसार श्राद्ध भनेको श्रद्धा अर्थात् विश्वास हो । दिवङ्गत पितृको कर्म गर्दा दिएको पाउनुहुन्छ भनेर श्रद्धा र विश्वासले ब्राम्ह्ण, गाई, अग्नि, नदी, दुःखी, गरिब, असहायमा समर्पण गर्नु श्राद्ध हो भनी शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ ।
नेपाल धर्म र संस्कृतिले धेरै धनी रहेको छ । प्रत्येक दिनजसो एक न एक पर्व परेकै हुन्छ । चान्द्रमानको पात्रोअनुसार वर्षमा चौबीस पक्ष रहेका हुन्छन् । वर्षका चौबीस पक्षमध्ये आश्विन कृष्णपक्षलाई पितृपक्ष वा सामान्य बोलीचालीको भाषामा सोह्र श्राद्ध भनिन्छ । एक पक्षमा पन्ध्र तिथि हुने भएपनि भाद्र शुक्लपूर्णिमादेखि आश्विन कृष्ण औँसीसम्मका सोह् तिथिमा श्राद्ध गरिने भएकाले यस समयमा गरिने श्राद्धलाई सोह्र श्राद्ध भनिएको हो ।

यसलाई पार्वण श्राद्ध पनि भनिन्छ । बढ्दो आधुनिकताका कारणले गर्दा कतिपय व्यक्तिलाई श्राद्धका नियम थाहा नहुन पनि सक्दछ । हरेक व्यक्तिको जिम्मेवारी बढ्दै गएको कारणले गर्दा आफ्नो संस्कार, मूल्य र मान्यतालाई बिर्सिदै जाने क्रम बढेको छ । समाजबाट सदाचार, संस्कार, नैतिक शिक्षा, असल समाज तथा राष्ट्र निर्माणका लागि नभई नहुने वस्तुको अभाव हुँदै गएको छ ।
पितृ खुसी हुनु भयो भने आयु, पुत्र, धन, विद्या, राज्य, सुख, स्वर्ग, मोक्ष प्राप्त हुन्छ । त्यसैले शास्त्रले पितृकर्मलाई अत्यन्त महत्व दिएको छ । देवताले दिने, पितृले हर्ने शास्त्रीय मान्यता नेपाली समाजमा रहँदै आएको छ ।

न सन्ति पितरश्चेती कृत्वा मनसि यो नर ।
श्राद्धम् न कुरुते तत्र तस्य रक्तं पिवन्ति ते ।।

अर्थात् जसले पितृ छैनन् वा हुँदैनन् भनी श्राद्धादि कर्म गर्दैनन् भने त्यसको रगत पितृले पिउँछन् भन्ने वचन पनि ग्रन्थमा रहेको छ । भगवान् राम, भीष्मपितामह आदिले पनि श्राद्ध गरेको रामायाण, महाभारतलगायत ग्रन्थमा उल्लेख गरिएको छ ।
हाम्रा धार्मिक शास्त्रमा श्राद्ध धेरै किसिमका छन् । भविष्य पुराणमा श्राद्ध १२ वटा उल्लेख गरिएको छ । दिनदिनै गरिने नित्य श्राद्ध हो । वार्षिक एकोद्दिष्ट नैमित्तिक श्राद्ध, आफ्नो इच्छा सिद्ध होस् भनी गरिने काम्य श्राद्ध, विवाह आदि अभ्युदयमा गरिने वृद्धि श्राद्ध, सपिण्डी श्राद्ध, पार्वण श्राद्ध, गोठमा गरिने गोष्ठी श्राद्ध, पितृ तृप्ति विद्धानको सुख प्राप्ति र शुद्धिका निमित्त गरिने ब्राह्ण भोजन शुद्धि श्राद्ध हो ।
सीमन्तोनयन, पुंसवन आदि संस्कारका निमित्त गरिने कर्मांङ्ग श्राद्ध हो । देवताका लागि गरिने दैविक श्राद्ध । देशान्तरमा जाँदा घ्यूले गरिने यात्रा श्राद्ध हो । शरीर स्वस्थ होस् भनी गरिने पुष्टिश्राद्ध हो ।

यसैगरी अर्को ग्रन्थमा पाँच प्रकारको श्राद्धको उल्लेख गरिएको छ । यो श्राद्ध भने आजकाल धेरै गरिएको देखिन्छ । यसमा नित्य, नैमितिक, काम्य, वृद्धि र पार्वण श्राद्ध रहेका छन् । हाम्रो समाजमा एकोद्दिष्ट बढी प्रचलनमा छ । पितृलाई वार्षिक रुपमा मृत तिथिमा गरिने श्राद्धलाई एकोद्दिष्ट श्राद्ध भनिन्छ । पितृको मृत महिना, पक्ष र तिथि याद गरी यो श्राद्ध गरिन्छ ।
वर्षको एकपटक पार्वण श्राद्ध गरिन्छ । सोह्र श्राद्ध समेत भनिने पिता अर्थात् बाबुको जुन तिथिमा गरिन्छ । एक पार्वण श्राद्ध औंसी तिथिमा र आश्विन कृष्ण पक्षमा मृत्यु भएकाको तिथि श्राद्धलाई एक पार्वण श्राद्ध पनि भनिन्छ ।

आश्विन कृष्ण पक्षमा गर्नुपर्ने श्राद्धको महिमा श्रीमद्भागवत, महाभारत आदि पौराणिक ग्रन्थमा पनि वर्णन गरिएको छ । पार्वण श्राद्धमा चार जना ब्राम्ह्ण चाहिने भएकाले ब्राम्ह्णको प्रतीक स्वरुप कुशको ब्राम्ह्ण थापिन्छ । पहिले–पहिले पार्वण श्राद्ध गर्दा चार जना ब्राम्ह्ण अगाडि राखेर पूजाआजा गर्ने परम्परा थियो । यो परम्परा लोप हुँदै गएर श्राद्ध मण्डपमा कुशको ब्राम्हण राख्न थालिएको पण्डित देवकोटाले बताए । दुवैपट्टि दुई÷दुई ब्राम्ह्णलाई क्रमशः विश्देव र पितृ ब्राम्ह्ण भनिन्छ ।

पार्वण श्राद्ध अन्य श्राद्धको विधि जस्तै सुरुमा देव, मनुष्य, दिव्यपितृ र स्वपितृलाई तर्पण दिएर सुरु गरिन्छ । प्रत्येक ब्राम्हणलाई निमन्त्रणा गरिन्छ । यसपछि विकटदान गरी पिण्ड दानका लागि वेदी बनाएर पूजा गरिन्छ । प्रत्येक पितृलाई पिण्ड दिनुअधि पिण्डासन दिई पितृको नाम लिएर विधिपूर्वक पिण्डदान गरिन्छ । श्राद्धको लागि स्थान हेर्ने हो भने पार्वण श्राद्ध आफ्नै घरमा बसेर वा आफ्नो घर नभए पवित्र तीर्थस्थल, गङ्गाको तिरमा गएर पनि गर्ने चलन छ । घरमै भए पनि श्राद्ध गर्दा भूमिमै गर्नुपर्ने नियम छ ।

के हो पिण्ड ?
पिण्ड भनेको ब्रह्माण्डको उत्तम वस्तुद्वारा निर्मित पितृलाई नाम गोत्रोच्चारणपूर्वक समर्पण गरिने पितृको भोज्य अर्थात् खाने पदार्थ हो । श्राद्धको दिन छोरीको छोरो (नाति), कुश, तुलसी, कालो तिल, मासको बारा, अदुवाको भुजुङ्गो छोप चाहिन्छ ।
कर्ताले दिएको पिण्डको अन्न पितृलाई अमृत अवस्थामा प्राप्त हुन्छ । दैत्ययोनीमा गएको भए भोगरुपमा प्राप्त हुन्छ । पशु योनिमा तृण अर्थात् घाँसका रुपमा प्राप्त हुन्छ । सर्प योनिमा वायु रुपमा प्राप्त हुन्छ । यक्ष योनिमा गएको भए पान रुपले प्राप्त हुन्छ । मनुष्य योनीमा गएको भए अन्नका अनेक रुपमा प्राप्त हुन्छ । प्रेत योनिमा गएको भए रगतको रुपमा प्राप्त हुन्छ भन्ने शास्त्रीय मान्यता रहेको छ ।

पितृ पक्ष (सोह्र श्राद्ध) को अपराह्नकालः कुन तिथि कतिखेर गर्ने ?
दिवङ्गत पितृका नाममा प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा गरिने सोह्र श्राद्धका लागि आवश्यक पर्ने अपराह्नकालको समय निर्धारण गरिएको हुन्छ । आइतबारदेखि सुरु भएको सोह्र श्राद्धमा अपराह्नकालमा पिण्डदान नगरे पितृले पाउँदैनन् भन्ने शास्त्रीय प्रमाण छ । आइतबार प्रतिपदा तिथिको श्राद्ध दिउँसो १३ः१४ बजेदेखि १४ः१९ बजेसम्ममा पिण्डदान गर्ने गरी निर्धारण गरिएको छ । यो समयभित्रमै पिण्डदान गर्नुपर्नेछ ।
आइतबार नै द्वितीया तिथि श्राद्ध दिउँसो १४ः०९ बजेदेखि सूर्यास्तपूर्व सम्मको समय दिइएको छ । भदौ २७ गते सोमबार तृतीया तिथि श्राद्धको समय १३ः३० बजेदेखि सूर्यास्त पूर्वसम्म गर्न सकिन्छ । भदौ २८ गते मङ्गलबार चतुर्थी तिथि श्राद्ध पनि १३ः१२ बजेदेखि सूर्यास्त पूर्व नै सक्ने गरी गर्नुपर्छ ।

यसैगरी पञ्चमी तिथि श्राद्ध भदौ २९ गते बुधबार दिउँसो १३ः बजेदेखि सूर्यास्त पूर्वको समयसम्ममा सक्नुपर्नेछ । षष्ठी तिथि श्राद्ध भदौ ३० गते बिहीबार १३ः११ बजेदेखि सूर्यास्त पूर्वको समयसम्ममा गर्नुपर्नेछ । सप्तमी तिथि श्राद्ध भदौ ३१ गते शुक्रबार १३ः११ बजेदेखि सूर्यास्त पूर्व सम्ममा गर्नुपर्नेछ । यस वर्ष असोज १ गते शनिबार कुनै पनि तिथिको श्राद्ध नहुने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पञ्चाङ्ग (पात्रो) मा उल्लेख छ ।

अष्टमी तिथि श्राद्ध असोज २ गते आइतबार दिउँसो १३ ः०९ बजेदेखि सूर्यास्त पूर्वसम्ममा गर्नुपर्ने शास्त्रीय विधि छ । नवमी तिथि श्राद्ध असोज ३ गते सोमबार दिउँसो १३ः१० देखि सूर्यास्त पूर्वको समयमा सक्ने गरी गर्नुपर्नेछ । दशमी तिथि श्राद्ध असोज ४ गते मङ्गलबार १३ः०९ बजेदेखि सूर्यास्त पूर्वको समयसम्ममा गर्नुपर्नेछ ।
एकादशी श्राद्ध असोज ५ गते बुधबार दिउँसो १३ः०८ बजेदेखि सूर्यास्त पूर्वको समयमा सक्ने गरी गर्नुपर्नेछ । द्वादशी तिथि श्राद्ध असोज ६ गते बिहीबार १३ः०८ बजेदेखि सूर्यास्त पूर्वकै समयमा सक्ने गरी गर्नुपर्नेछ । त्रयोदशी तिथि श्राद्ध असोज ७ गते शुक्रबार १३ः०८ बजेदेखि सूर्यास्त पूर्वकै समयसम्ममा गर्नुपर्नेछ ।

यसैगरी चतुर्दशी तिथि श्राद्ध असोज ८ गते शनिबार १३ः०६ बजेदेखि सूर्यास्त पूर्वसम्ममा गरिसक्नुपर्नेछ । औँसी तिथि श्राद्ध असोज ९ गते आइतबार दिउँसो १३ः०७ बजेदेखि सूर्यास्त पूर्वकै समयसम्ममा गरिसक्नु पर्नेछ । अपराह्नकाल पारेर पिण्डदान नगरेमा श्राद्ध गरेर पाइने फल पाउन नसकिने शास्त्रीय प्रमाण छ । यस्तो श्राद्ध पितृले पाउँदैनन् ।