परदेशीको ‘बडादशैं’

मेचीकाली संवाददाता

११ आश्विन २०७९, मंगलवार
624 shares

दिलप्रसाद पौडेल
वास्तविकता भन्दापनी अलि पर कल्पनाको दुनियाँमा हराउँछ मन । उदाशिन हुन्छ, बिरह र चित्कारका घुम्तीहरुमा आशाका पालुवाहरु मुस्कुराउँछन् । बिक्षिप्त बनेका परेलीका डिलबाट अश्रुसागर बगिरहन्छ । सोच्छु यस्तै रहेछ जिन्दगी । भावावेशमा रुमलिएर भुइँमा हेर्दै खुट्टाको बुढी औंलाले माटो कोट्याउदै रुदै गर्छु । गाउँको परिवेश अनि पृष्ठभुमिलाई सपनामा उतार्छु र बिउझिन्छु झल्यास्स । फेरि कल्पनाका रश्मीहरु मेरो मानसपटलमा ठोकिन्छन, भक्कानिएर रुन्छु । बिदेश पस्दा पस्दै दशैं मान्न नपाएको पनि दशक बितिसकेछ ।सदियौ देखिका इष्ट्मित्र, दाजुभाई पनि बिराना भए झैं लाग्छ यस्तै यस्तै ज्वारभाटा हरु मनमा उब्जिरहन्छन् ।

असत्यमाथी सत्यको बिजय बडादशैं हामी सबैको घरआगनमा प्रवेश गरिसकेको छ । बारीका काल्लाहरु, डिलहरुमा मखमली र सयपत्री फुलहरुले स्वागत गरिरहेका छन् । भित्तामा टांसेका भवानीका तस्विरहरुले आशीर्वाद दिन हतार हतार गरिरहेका होलान । अस्ति भर्खर छरेका जमराका पालुवाहरुले बिस्तारै रंग फेर्दैहोलान । केराको पातले मकै, जौ, तिलसँग बहस गर्दै छ होला । पबित्र माटोले जन्माएका मुनाहरुको अवशानको बाटो कुरेर समय पर्खिरहेको छ । रातो माटो र कमेरोले विवाहमा सिंगारिएकी दुलही जस्तै चिटिक्क पारेका घरले मेरो आगमन को प्रतीक्षा गरिरहेको होला । केटाकेटी हरु गाउँभरी बाबियो बटुलेर लट्ठो बाट्दैहोलान भने बयस्कहरु चर्खे पिङ बनाउन जुटिरहेका छन होला ।

तितेपातीले मख्ख हुँदै आफ्नो सुवास छर्न बगर किनारासंग आफ्नो शिर झुकाउदै बिन्ती गरिरहेको होला । खोल्सामा रहेको सिस्नोको गांजमाथी झुसिल्किराकरु समुन्द्रको पानीको छाल जसरी तैरिरहेका छन होला यतिखेर । चराचुरुङ्गीले गुंड भित्रबाट बचेराहरुलाई दशैं आएको खबर सुनाउदैहोलान । कागहरु खुशी हुँदै तिहार आएको संकेत गराउदै छन । बुढा बा ले आंगनको डिलमा बसेर मेरो बाटो हेर्दै भट्मासका कोसाहरु केलाईरहनुभएको छ होला । बुढी आमाले सकिनसकी गाग्री बोकेर पधेरीमा पानी भर्न हतारिनुहुन्छहोला सांझ बिहान । सिमसारमा खोले र जलुकाका मुन्टाहरु आक्रोशित भएका छन मलाई भुल्यो कि भनेर । शितका थोपाहरुले बिहानपख सुर्यका किरणसंग अंकमाल गर्दै चिसो सिरेठो संग भलाकुसारी गर्दै छ होला आखिर यस्तै रहेछ प्रवासको जिन्दगी बाध्य भएर जिउनुको पीडा ।

यहाँ त केवल काम ग¥यो, खाना खायो अनि सुत्यो नित्यकर्म दोहोरिईरहन्छ । बांकी यादहरु गाउँघरसंग समर्पित बन्दोरहेछ । हजारौ चुनौतीसंग संघर्ष गर्दै पसिनासंग पैसा साट्नुको बिकल्प रहेनछ । कंटाकिर्णमय जिन्दगीको क्यानभाषमा क्रन्धित स्वरहरु गुनगुनाउदै आंखाभरी आँसु अनि बेदनाका पोका बोकेरै बांच्नुपर्दोरहेछ । उमङ्गको समयमा पनि रोदनका ज्वारभाटाहरु झनझन मौलाउदारहेछन । जीवन अनि मृत्युको दोसांधमा अल्झिएको एक्लो शरीर बांचिरहेको छ खाडीको खोरभित्र । दुरदराजमा खोज्नुपर्ने भएको छ गाउँले, इष्टमित्र, साथीभाईहरु । कारुणिक पलहरुमा साथ दिने जिवनसंगिनीसँग अलग्गिएर अनि भर्खर पलाएको सन्तानको खुशीसँग जबर्जस्ती पीडा झेल्नुपर्दोरहेछ । सुनौलो भविष्य सिङ्गार्ने चाहानाका लगामहरु जति तानेपनी गन्तव्य चाहिँ फरक हुदोरहेछ । भावुक बनेर दशैं तिहार आउदा सबैसंग सन्चै छु भन्नैपर्ने रहेछ आफ्ना ब्यथाहरु गुम्साएरै भएपनी । अतितका पानाहरु एकपछी अर्को गर्दै चलचित्रको पर्दामा झैं आँखा वरिपरि नाचिरहन्छन । बिस्मादताले पु¥याएको गहिरो घाउ कोसेली स्वरुप उपहार मिलेको छ । आशातित सफलता प्राप्तीको लागि कैयन प्रयास गर्दा पनि असफल हुनुपर्दोरहेछ यहाँ ।

फेसबुकका वालहरुमा सन्देश हरु हेर्दा दशैं आएको महशुस गराउछ । गाउँघर अनि आफन्तको याद दिलाउछ । म जस्तै प्रदेशमा बस्नेहरुलाई फेरि एकपटक चिन्तित गराउछ । वास्तवमै पिडासंग परेली रुझाएरै झलझली यादको पोखरीमा चुर्लुम्म डुबुल्की मार्दै यसपालीको यो दशैंमा घर आउन नपाएपनी अर्को बर्ष अवस्य आउने बाचा गर्दै परिवार, इष्टमित्र, दाजुभाई अनि परदेशी आत्माहरुलाई सम्हालिएर बस्न आग्रह गर्दै सबैमा सुख, शान्ती, समृद्धि अनि दिर्घायुको हार्दिक मंगलमय शुभकामना ।
जैमिनी १० बागलुङ
हाल कुवेतबाट