किवीमय बन्दै भार्से गाउँ

यम बहादुर थापा भन्छन्, ‘किवी मेरो पेन्सन हो’

मेचीकाली संवाददाता

२७ आश्विन २०७९, बिहीबार
116 shares

टोपलाल अर्याल
गुल्मी । सत्यवती गाउँपालिका–८ भार्सेका यमबहादुर थापा ५५ वर्षका भए । उनले सात वर्षदेखि किवीको व्यावासायिक उत्पादन गर्दै आएका छन् । थापाले पाँच रोपनीमा एक सय २० बोट किवी रोपेका छन् । घरमा पसल राखेका छन् । किवीले बारी ढाकिएको छ । थापा वडा सदस्य पनि भएकाले सामुदायिक काममा पनि सक्रिय छन् । तीन वर्षबाटै किवी फल्ने भएकाले तीन÷चार वर्षनै भए बेच्न थालेका । गत वर्ष त्यति फलेन । तर पनि डेढ लाखको किवी बिक्री गरेको थापा बताउँछन् । उनी अहिले १५ क्विन्टल किवी बिक्री गर्ने योजना छन् । थापाका अनुसार एउटै बोटमा ६० देखि ७० किलो फल्छ । साढे दुईसयदेखि तीन सय रुपैयाँमा घरबाटै किवी बिक्री हुने भएकाले बजारको कुनै समस्या नभएको थापाले बताए ।

किवीको नर्सरीबाटै झन राम्रो आम्दानी
यमबहादुर थापाले तीन वर्षदेखि किवीको नर्सरी सुरु गरेका छन् । नर्सरीबाट झन राम्रो आम्दानी थापाले गरेका छन् । उनले गत वर्ष डेढ लाखकका बिरुवा बेचे । बिरुवाको माग जिल्लासँगै बाग्लुङ्गमा छ । उनको नर्सरीमा अहिले दुई हजार पाँच सय किवीका बिरुवा छन् । प्रति बोट साढे तीन सयमा बिरुवा बिक्री गर्छन् । किवीका बिरुवा बिक्रीबाटै करिव नौ लाख आम्दानी हुने थापाले बताए । हेवार्डसँगै रेड किवीको बिरुवा थापाले उत्पादन गरिरहेका छन् । उनले आफ्नैमा उत्पादन भएको किवीको फलबाट नर्सरीमा बिरुवा उत्पादन गर्ने गरिएको बताए । पहिले किवीको बिरुवा खरिद गर्न झापा पुग्नु पथ्र्यो ।

५० हजारको खाद्यान्न नहुने बारीमा लाखौँको किवी
यमबहादुर थापाले अहिले किवी रोपेको बारीमा पहिले गहुँ, मकै र भट्ट रोप्थे । लेक भएकाले बढीमा तीन जातका खेती वर्षमा हुन्थ्यो । त्योमाथि बाँदर, बँदेल र चराचुरुङ्गीबाट जोगाउन मुस्किल पथ्र्यो । वर्षमा सबैतिरबाट जोगिए ५० हजारको समेत खाद्यान्न उत्पादन हुन्थेन । तर, किवीबाट थापाले वर्षमा दशदेखि १५ लाख आम्दानी गर्छन् । सिजनमा आठ÷दश जनाले काम पाउँछन् । बाँदर र बँदेलको चिन्ता भएन । उनले बिस्तारै किवी बिस्तारको योजना पनि बनाएका छन् । ‘मैले सबैथोक त्यागेर किवी खेती गरेको छु । हावापानी हेरेर किवी रोपे पेन्सन हो,’उनले भने,‘सुरुको वर्ष लगानी गरेपछि वर्षौँ उत्पादन दिन्छ ।’

गाउँभरि किवीखेतीको लहर
सत्यवती गाउँपालिका–८ भार्सेमा किवीको लहर चलेको करिव एक दशक भए । अहिले लगभग सबैले किवी रोपेका छन् । त्योबाहेक समूहमा पनि किवी रोपिएको छ । ठुलोपोखरी कृषि समूहमा ३० जना छन् । यो समूहले आठ वर्षदेखि किवी उत्पादन सुरु गरेको छ । ठुलोपोखरी कृषि समूहले दुई सय ७५ बोट किवी रोपेका छन् । समुहका सदस्य धनबहादुर काउछाका अनुसार सुरुमा बिरुवा, तारपोल खरिद गर्ने, खाडल खन्ने र बिरुवा रोप्ने गर्दा एक बोट बराबर पाँच हजार लगानी हुन्छ । समूहले वार्षिक ५० हजारमा जग्गा भाडामा लिएको छ । गत वर्ष समूहका एक जनाको भागमा एक सय ४१ किलो परेको काउछाले बताए । अहिले ३०/३५ क्विन्टल उत्पादन हुने समूहले अनुमान गरेको छ । सुरुका वर्ष हुर्काउन, मल र पानीको व्यावस्थापनसँगै काँटछाँट गर्नुपर्छ । वर्षमा दुई पटक काँटछाँट गर्नुपर्ने काउछाले बताए ।

भार्सेकै अर्कुल किवी समूहले पनि एक सय बोट किवी रोपेको छ । समूहका सदस्य कुलबहादुर छन्तेलका अनुसार १५ जनाको समूहले गत वर्ष सात क्विन्टल किवी बेचे । अहिले १२ देखि १५ क्विन्टल बिक्री गर्ने योजना रहेको छन्तेलले बताए । समूहले वर्षमा एक हजार दुई सय रुपैयाँमा जग्गा भाडामा लिएको छ । मकै, भट्ट र कोदोभन्दा राम्रो आन्दानी किवीबाट प्राप्त भएको छ । उनले भार्से गाउँमा कम्तिमा १० बोट किवी अधिकांश घरले रोपेको बताए ।