घनश्याम कोइराला
संसारमा धेरैथरि पात्रो–क्यालेण्डर प्रचलनमा छन् । हाम्रो देशमा पनि धेरैथरि क्यालेण्डर छन् । हाम्रो देश नेपालमा नेपाल संवत, माघी, ल्होसारहरू, हिजरी, शक, मैथिल्, एले आदि यहाँ प्रचलित वर्ष परिवर्तन–वर्षारम्भका नाम हुन् । नयाँ वर्षको शुभकामना दिन सबैलाई राम्रो लाग्छ । शुभकामना त उस्तै हो, तर व्यक्त गर्ने तरिका भने फरकफरक हुने गर्दछ । कतिलाई मनैदेखि सम्झेर दिइन्छ भने कसैलाई सामुन्ने पर्दा देख्ता औपचारिकताका लागि नयाँ वर्षको शुभकामना ज्ञापन गरिन्छ । नयाँ वर्षमा शुभकामना दिने प्रचलन कहिलेदेखि र कसले सुरू गरे ? यसबारे खासै चासो राखिँदैन । सुरू जसले गरेको भए पनि दुवै पक्षबाट परस्परमा शुभकामना आदानप्रदान हुन्छ ।
नयाँ र पुरानोबिच फरक हुन आफ्नै आधार हुन्छ । एउटा मात्रै छ भने त्यसलाई नयाँ वा पुरानो भन्नै पर्दैन । समय एक समान गतिमा छ, उसलाई थप्न, घटाउन, देख्न, थोत्रो बनाउन वा नयाँ बनाउन कसैले सक्तैन । समय भनेको अमूर्त र अनुभूतिजन्य अवस्था मात्र हो । समय बितेको होइन, हामी नै बितेका हौँ । रहर थोत्रो हुँदैन हामी नै थोत्रिएका हुन्छौँ । कसैले आफ्नो काम राम्रो गरेको छ भने उसको सराहना–प्रशंसा गर्नु उदारता हो । कुनै विदेशीले आफ्नै देशको सेवा गर्दा प्रशंसा गर्नु राम्रै हो । हाम्रा देशका, अर्का देशका सबैले आ–आफ्ना तरिकाले नयाँ वर्ष मनाउँछौँ । हामीले हाम्रै देशका मात्र नभई अरुको देशका नयाँ वर्ष पनि मनाउने गरिँदैआएको छ । अरूको जान्नै नहुने, शुभकामना दिनै नहुने भन्ने त हुँदैन तर हाम्रा र अरुकोमा भिन्नता के छ भन्नेबारे जान्नु भने आवश्यक छ । हामी प्रायः नजानीनजानी लतारिने गर्दछौँ । नजानीनजानी लहैलहैमा लागेर गर्नु अन्विश्वास हो । मान्नैपर्ने छ भने जानेर माने हुन्छ नि ! अरु देशमा काल गणना कसरी हुने गरेको छ ? वर्षको सुरुआत हाम्रो भन्दा भिन्न हुनुको कारण के होला ? यसतर्फ पनि सोचे, जाने, बुझे राम्रो हुन्छ भन्ने लाग्दछ ।
पात्रोमा धेरै सम्वत्बारे लेखिएको भए पनि औपचारिक सम्वत्का रूपमा हामी विक्रम् सम्वत् मनाउँदै आएका छौँ । विक्रम सम्वतको नयाँ वर्ष वैशाख एक गतेदखि सुरु हुन्छ । नेपालको प्राकृतिक परिवेश नयाँ देखिन्छ । धर्तीमा गर्मीपना बढ्न थाल्छ । प्रकृतिमा सजीवता देखिन्छ । भुइँमा नयाँ झारपात पलाउँछन् । पुराना पात झरेका रुखका हाँगामा नयाँ पात पलाउँछन् । घरदेखि वनसम्म चराचुरुङ्गीको चिर्बिर सुनिन्छ । तिनले नयाँ गुँड बनाउँछन्, भालेपोथी भेला हुन्छन् फुल पार्छन् बचेरा कोरल्छन् । धेरै जसो साना अथवा ठुला, घरेलु वा वन्य पशुप्राणीहरु भालेपोथी सङ्गम गर्ने बेला पनि यही प्रायः यही नै हुन्छ । उनीहरुले पनि नयाँ पुस्ता विकास गर्न प्रकृतिले दिएको जिम्मेवारी पूरा गरेकै हुन् ।
नयाँ वर्ष सुरु भयो, छोराको बिहे गर्नुपर्ने, ज्ञानगुनले सम्पन्न बुहारी खोजी गर्नुपर्छ । छोरी पनि हुर्किएकी छन् । असल ज्ञानगुन भएको, राम्रो संस्कारी परिवारको ज्वाइँ पाइयोस् भन्ने चाहना र यसैअनुसार सल्लाह घरघरमा हुन्छ । प्रकृति र परम्परामा यस्तो देखिएपछि नयाँ वर्षको सुरुवात यही समय हो भनेर शुभकामना आदान–प्रदान गर्न मानिसलाई केही सहज लाग्दछ । त्यसैले २०७९ लाई विदाई एवं वर्ष २०८० लाई एक वर्षका लागि स्वागत गर्दै सबैलाई हार्दिक शुभकामना छ !
हाम्रो संस्कृतिको आधार वेद हो । वेदमा पनि सबैभन्दा प्राचीन ऋग्वेद हो । विश्वस्तरीय, संस्था युनेस्कोले वैज्ञानिक अनुसन्धान गरेर नै ऋग्वेदलाई विश्वको सबैभन्दा पुरानो ग्रन्थ मानेको छ । त्यही ऋग्वेदमा वर्ष, संवत्सर, अयन, ऋतु, मास, पक्ष आदि समयका एकाई सूचक शब्दहरु छन् । त्यसैले यो भूमि नै वेदको रचना भएको भूमि भएको ठहर हुन्छ ।
ज्योतिष वेदबाट प्रतिपादित हो । पूर्वीय ज्योतिषअनुसार साठीवटा संवत्सर छन् । यी सम्वत्सर पालैसँग आउँछन् । उत्तरायण र दक्षिणायन गरी वर्षमा दुई अयन, छ ऋतु, बाह्रवटा महिना, सात बार, तीन सय पैँसठ्ठी दिन हुने व्यवस्था छ । एकै दिनमा पनि घडी, पला, विपला, निमेष, पल, लवका रूपमा विभाजन गरिएको छ । यसरी समयको गणना हुन्छ र समय गणनाको आधार चन्द्र, सूर्य ग्रह नक्षहरुका गतिमा आधारित छ । यो पुर्खाले अध्ययन गरेर तयार पारेका हुन् ।
हामीले मान्दै आएको अन्तर्राष्ट्रिय क्यालेण्डरमा नपाइने धेरै कुरा नेपाली पात्रोमा पाइन्छ । जस्तै साठी वटा सम्वत्सर अन्यत्र देखिँदैन । सातवटा बारसम्म सबैका आआफ्ना नाम छन् । ती नामहरु के के हुन् र नामको उपयोगिता के हो भन्ने विषयमा सन्दर्भ परिआउँदा चर्चा गर्न सकिन्छ । वर्षभन्दा पछि मन्वन्तर, युग, चतुर्युग, कल्प आदि समयको एकाइका अरु पनि नाम वेद र वैदिक वाङ्मयमा पाइन्छन् । नयाँ मन्वन्तर मनाउने वा युग मनाउने अवसर मानिसका सीमित आयुमा पुग्दैन । मानिसका जीवनमा साठीवटा संवत्सर पनि बढीमा दुईपटक पनि पूरा हुन्न । त्यसैले मानिसहरू नयाँ वर्ष मनाउँछन् र आजको विषय पनि नयाँ वर्ष हो । बरु हाम्रो गुरुङ्, शेर्पा, तामाङ आदि समुदायको सम्वत्सर खरायो, भेडो, मूसो, बिरालो आदि विभिन्न पशुपक्षीका नाममा रहेको छ ।
वैदिक समाजका वार्षिक देवकार्य पूजाआजा र पितृकार्य श्राद्ध आदि चन्द्रमाको गतिअनुसार गणना गरिने संवत्सरका आधारमा हुन्छन् । वेदमा वसन्त, ग्रीष्म आदि ऋतुहरुको उल्लेख छ । ठाउँ विशेषमा पर्ने तापक्रम, जलवायु परिवर्तन, प्रकृतिमा देखिने प्रभाव, सामयिक उत्पादनसँग ऋतुहरुको सम्बन्ध हुन्छ । त्यही हुनाले हाम्रो देशमा छ ऋतुहरु छन् । अरु देशमा आफ्नै जलवायु अनुसार ऋतुहरु कमबँेसी पनि होलान् र हाम्रामा देशमा वसन्त ऋतुलाई पहिलो मानेझैँ उनीहरुको आफ्नै पहिलो ऋतु होला । वसन्त ऋतुमा पर्ने वैशाख महिनाको एक गतेलाई नयाँ वर्ष मानेझैँ उनीहरुले पनि आफ्नो नयाँ वर्ष मानेका होलान् ।
वैशाख एक गते मनाइने नयाँ वर्ष विक्रम् संवत्अनुसारको हो । यसको गणना सूर्यको गतिअनुसार हुन्छ । विक्रम सम्वत् राजा विक्रमादित्यको नामबाट मनाउन थालिएको भनिन्छ । यस संवत्का २०७९ वर्ष सकिएर आजदेखि २०८० औँ वर्षमा प्रवेश गरेको छ । प्रायः नयाँ वर्ष सूर्य वा चन्द्रको गतिसँग सम्बन्ध नभएका हुँदैनन् । वर्ष पूरा हुन महिना पनि चाहिन्छ । वैदिक पद्धतिले महिनाहरुसँग नक्षत्रहरुको सम्बन्ध देखाएको छ ।
वैशाख विशाखा नक्षत्रसँग, ज्येष्ठ ज्येष्ठा नक्षत्रसँग, आषाढ पूर्वषाढा र उत्तरषाढासँग, श्रावण श्रवण नक्षत्रसँग, भाद्र पूर्वभाद्रा र उत्तरभाद्रा… जस्तै गरी सबै महिनाको सम्बन्ध नक्षत्रसँग रहेको देखिन्छ । बाह्रवटा महिनाको नाम बाह्र राशिसँग सम्बन्धित छ । सात वारका नाम ग्रहसँग मिल्दो छ र यो अङ्ग्रेजी महिनामा पनि मिलेको देखिन्छ । यी नक्षत्र, ग्रह भनेका आकाशीय पिण्ड हुन् । ग्रहनक्षत्रको गतिसँग समयको गणनाको सम्बन्ध अङ्ग्रेजी महिनाले पनि स्वीकार गरेको देखियो ।
हामीले सनातन वैदिक सन्दर्भ जोडेर मनाउँदै आएको सम्वत्सरका नाम पात्रोमा लेखिएको हुन्छ र सबैले पढ्न सकिन्छ । तर, ऋग्वेदको समय र विक्रमादित्यको समयको अन्तर कति हो भन्ने खोजी भए नभएको अवस्था के छ कुन्नि !
हामीले मान्दै आएको विक्रम् सम्वत् सुरू हुँदा आज चिनिएका देशहरूको यही रूपमा नामकरण भएको थिएन र चिनारी थिएन । आजका देश, आजका अनेकौँ धर्मसम्प्रदाय, आजका कांग्रेस, कम्युनिष्टहरू मात्र होइन, यस प्रकारको राजनीतिका सिद्धान्तकार र उनका देशको समेत थाहापत्तो नहुँदै स्थापित भई परम्परादेखि चलिआएको यो वैशाख महिनाको पहिलो दिन सुरू हुने विक्रम् सम्वत् हाम्रो प्राचीनताको साक्षी हो । यसलाई जोगाउन यो नयाँ वर्ष हषोल्लासका साथ मनाउन र यससँग जोडिएका सनातनका विषय मासिन नदिन आवश्यक छ ।
चारै वेदका नेपाली रूपान्तकार विद्वान् तिलकप्रसाद लुइँटेलजीका यी भनाइहरू सार्थक लाग्छन्,‘ऋग्वेदका स्रष्टाहरु मात्रै त्यहाँ शिक्षित नभएर अरु धेरै शिक्षित थिए, शिक्षितबाट छानिएकाहरु रचनामा स्थापित भए र पढ्न सक्नेहरु पनि मनग्गे थिए । लेखक भएका ठाउँमा पाठक पनि हुन्छ । कुनै देश शिक्षामा त्यति अघि पुगेको छ भने अन्य किसिमको उन्नतिमा पछि परेको अवश्य हुँदैन । त्यसैले यस देशका पुर्खाले आर्जन गरेका शिक्षाबाट प्रतिपादन भएका सात बार, नौ ग्रह, बाह्र महिना, बाह्र राशि, पन्ध तिथि, सत्ताईस नक्षत्र, आजका वैज्ञानिकहरु विना विरोध मान्दछन् । त्यसै स्रोतबाट प्रतिपादित हाम्रा पुर्खाले थालनी गरेको नयाँ वर्ष वैशाख एक गते पनि उस्तै वैज्ञानिक छ । हाम्रा पुर्खाको योगदानलाई अध्ययन नगरी लहै लहैमा लागेको भरमा माटोपानी, प्रकृति सुहाउँदो यो विज्ञान बुफ्न सकिन्न ।’
अहिलेको हाम्रो नेपाल भूमि अथवा जलवायुका दृष्टिले समानता राख्ने यसको निकटवर्ती क्षेत्र क्षेत्रमा मनाइँदै आएको नयाँ वर्षहरु विक्रम संवत् सेरोफेरोकै समयदेखि मनाइएको अनुमान गर्न सकिन्छ । समयको प्रत्येक क्षण पुरानो हुन्छ, त्यो बित्दछ र नयाँ पुनः उही लव, पल, निमेष, विपला, घडी आदि नयाँ हुँदै आउँछ । विगतमा आफै हराएरको जस्तै नयाँ नयाँ वर्ष आउँदै गर्दछ । त्यसरी नै आएको भए पनि यस पटक नयाँ वर्ष २०८० बनेर उदाएको छ । विगतका असल र कमजोर दुवैबाट शिक्षा लिँदै अगतिला पुराना छोड्ने, गतिला नयाँ ग्रहण गर्ने सङ्कल्पसाथ नयाँ वर्ष २०८० लाई स्वागत गरौँ । विक्रम सम्वत् २०८० सबैका लागि मङ्गलमय होस् ! (लेखक संस्कृति अध्येता तथा अभियन्ता हुनुहुन्छ ।)