घनश्याम कोइराला
साउन महिना । शिव मन्दिरहरूमा मानिसहरूको घुइँचो देखिन्छ । लाम लागेर, तँछाड, मछाड गरेर शिवको पूजा गरिरहेको देखिन्छ । यसो गरेर मानिसहरू आस्था प्रकट गरिरहेका हुन्छन्, संस्कृतिलाई निरन्तरता दिइरहेका हुन्छन् र केही कुराको अपेक्षा गरिरहेका हुन्छन् । पूजा संस्कृतिको निरन्तरता सम्मानको निरन्तरता हो । यस्तो निरन्तरता पुरानोप्रतिको सम्मानको निरन्तरता हो । प्रकृतिमा रमाउने शिवका लागि साउनको झरी र जाडो मौसममा उनका नाममा धुनी बाल्ने कुरा बुझ्न कठिन छैन ।
कथामा वर्णित शिवलाई प्रत्यक्षतः आजका शिवभक्तहरू कसैले पनि देखेका होइनन् । कथामा शिवको बाबुआमा नभएको, जातकुलको थाहा नभएको, घरबार नभएको, कुनै चिन्ता नभएको, झरी र नदीको पानी जिउ र घाँटी भिजाउने, मसानको खरानी घसेर न्यानो पाउने, वनजङ्गलमा जे भेटिन्छ त्यसैको आहार गर्ने, शिवका साथी पनि कुनै धनीमानी, सभ्य मानिस नभएर सामान्य झुत्रेझाम्रे भएको, गोरुमा चढेर हिँड्ने, सर्पलाई घाँटीमा भुण्ड्याउने वनमा फल्ने रुद्राक्षको माला लगाउने आदि देवताका रूपमा चिनिन्छ । यी नै शिवका विशेषता हुन्, यही सादगीका लागि शिव पूजित छन् ।
शिवरात्रीमा भाङधतुरो चढाउने र शिवलिङ्गमा दुग्धधारा बगाउनेहरू धार्मिक मानिन्छन् । त्यसो गर्ने विधि शास्त्रीय मानिन्छ । तर शास्त्र भनेको के हो ? शिव परिवारबाट के सिक्न सकिन्छ ? मानिस बेखबर छन् । शास्त्र भनेको विज्ञान हो । अङ्ग्रेजीमा शास्त्रलाई साइन्स भनिन्छ । जस्तैः गृहविज्ञान, राजनीतिशास्त्र आदि यसका उदाहरण हुन् । (तर साइन्सले विज्ञानको भाव र पूर्ण सार बहन गर्न सक्दैन ।) पूर्वीय मान्यतामा शास्त्रहरूलाई ‘श्रूति’ र ‘स्मृति’ गरी दुई भागमा बाँडिएको पाइन्छ ।
वेदका रचयिता को हुन् ? ऋषिहरू हुन् । वेदमा भएका श्लोकहरूलाई मन्त्र र ऋचा भनेर भनिन्छ । मन्त्र यस कारण कि यसमा परामर्श (अर्ती÷उपदेश÷मन्त्रणा) हुन्छन् । परामर्श भनेको मानिसले मानिसलाई दिने हो । लेख्य परम्परा प्रारम्भ हुनुअघिको विषय भएकोले यस्ता कुरा सुनाउने–सुन्ने प्रक्रियाबाट अघि बढेकोले हुनुपर्छ यसलाई ‘श्रुति’ भनिएको । ‘श्रुति’ शब्दको तात्पर्यार्थ ‘सुन्न योग्य’ भन्ने हो । स्वयं वेदका ऋचा÷मन्त्रहरूको अध्ययन गर्दा वेदका रचयिता (मन्त्रद्रष्टा) ऋषिहरू धेरै छन् । यी सबै मन्त्रका आधार प्रकृति छन् ।
पृथ्वी, हावा, आकाश, पानी, तेज/प्रकाश (आगो/सूर्य/चन्द्र आदि) तथा प्रकृतिमा पाइने जीवजन्तु र वस्तुका गुण–दोषका विषयमा वेदका वाणी छन् । यिनको उपयोगका सन्दर्भहरू छन् । पृथ्वीको, प्राणीको उत्पत्तीको खोजी, अनुमान र यस बारेका धारणाहरू पनि वेदका विषय रहेका छन् । शासन, युद्ध, उत्पादन आदि पनि वेदका विषय बनेका छन् । सन्दर्भअनुसार पुरुष भन्नाले ‘व्यक्ति’ या मानिस भन्ने बुझ्दा वेद कुनै व्यक्तिविशेषले रचना गरेको होइन भन्ने स्पष्ट छ र वेदलाई ‘अपौरूषेय’ भन्नुको तात्पर्य खुल्दछ ।
वेद चारवटा छन् । वेदलाई स्पष्टपार्नका लागि उपनिषदहरू छन् । वेदलाई विभिन्न विद्वानहरूले भिन्नभिन्न कोणबाट आफ्ना धारणा प्रकट गरेको पनि पाइन्छ । यहीँबाट विरोधाभाषजस्ता पक्ष देखिन थालेका हुन् । वेदसँग सम्बन्धित यस्ता अनेकौँ जिज्ञासाहरूका विषयमा क्रमशः चर्चा हुँदै जानेछ ।
‘स्मृति’ भनेको मूलतः पुराणहरू हुन्, तर पुराणहरू मात्र होइनन् । सम्झन योग्य कुराहरू सम्झेर व्यवहारहरू गर्दै जाने अर्थमा यी वेदमा आधारित ग्रन्थहरूलाई ‘स्मृति’ भनिएको स्पष्ट हुन्छ । मनुस्मृति, नारदस्मृति, व्यासस्मृति, वशिष्ठस्मृति, यमस्मृति आदि स्मृतिग्रन्थहरू रहेको पाइन्छ । यी स्मृतिहरूको उद्देश्य भनेको वेदवर्णित आचार—विचारको प्रतिकूल नहुने गरी सरल भाषामा, कथानक तथा मनमोहक माध्यमबाट मानिसहरूलाई सम्झाउनु–बुझाउनु हो । त्यसैले यिनीहरूमा अनेकौँ कथा हुन्छन् । अनेकौँ उदाहरणहरू, बिम्वहरू, प्रतीकहरू, उपमाहरू हुन्छन् । यस्ता प्रस्तुतिहरूको आधार र गहिराई विज्ञानसम्मत हुन्छन् । यिनीहरूको रचनाको काल ई.पूर्व १००० देखि ५०० वर्ष रहेको मानिन्छ ।
माथि नाम उल्लेख गरिए बाहेकका पौराणिक ग्रन्थहरू १८ वटा छन् । व्यासरचित ‘अष्टादश पुराण (अट्ठार पुराण)’ भनिएका यिनै पुराणहरूलाई हो । यिनीहरूका वर्णन हेर्दा घटना सन्दर्भ र काल एउटै होइन भन्ने देखिन्छ । तर यस्तो लेख्ने, सङ्कलन गर्ने, वाचन गरी सुनाउनेलाई ‘व्यास’ भनिने स्पष्ट छ । अहिले पनि मूल कथावाचकलाई व्यास नै भनिने गरिएबाट यो कुराको पुष्टि हुन्छ । पौराणिक ग्रन्थहरूमा पनि २८ जना व्यास भएको उल्लेख छ ।
पुराण शब्दको अर्थ होः प्राचीन आख्यान, पुराना कथा । ‘पुरा’ भनेको पहिलेको/विगतको र ‘अण’ भनेको बताउनु, भन्नु हो । व्यास एउटै थिएनन् । पुराण एकै समयमा लेखिएका थिएनन् । फरक–फरक व्यासले, फरक–फरक समयमा लेखेका, भनेका कथामा विरोधाभाषहरू रहनु स्वाभाविकै हो । यिनीहरूको रचना तथा प्रचारप्रसार उद्देश्यमूलक थियो । समय बित्दै र फेरिँदै जाँदा यिनीहरू पुराना हुँदै गए । अनि यी पुराण बने ।
शास्त्रमा, देवदेवी छन् । शास्त्रमा पढिने र सुनिने देवदेवीहरूका कथा पुराना भए । पौराणिक कथाका नायक देवताहरू हुन्छन् । महाकाव्यका नायक राजामहाराजा वा युद्धका विजेताहरू हुन्छन् । इतिहासका नायकहरू पनि विजेताहरू नै हुन्छन् । इतिहास वा कथा जसको होस्, नायक वा महानायक जोसुकै हुन्, उनीहरूका विषयमा गरिने अध्ययन वर्तमान र भविष्यको लागि उपयोगी हुने भएकै कारण यी पढिन्छन् ।
पुराणसाहित्यमा त यस्ता जीवनोपयोगी कथा र दृष्टान्तहरू त कति छन्, कति ? त्यसै कारणले त हो नि कथा सुनेर धर्म हुन्छ, मोक्ष पाइन्छ भनिएको । यी कथाहरूमा जीवनोपयोगी ज्ञान पाइन्छ । यहाँ अनेकौँ भक्तिका उपदेश पाइन्छ । यिनीहरूमा योगका विषयमा बताइने गरिन्छ । ज्ञान, भक्ति र योगका लागि कथा पुराणकथा सुन्न, अध्ययन गर्न आवश्यक छ ।
यतिबेलाको संसार र समाज कति दुःखी छ । संरक्षण गर्ने जिम्मेवारीमा भएकाहरू संरक्षण गर्न नसकेर दुःखी होलान्, आश्रितहरू संरक्षण नपाएर दुःखी छन् । वर्ग नमिलेर सङ्घर्ष छ र सङ्घर्षका कारण दुःख छ । जात नमिलेका कारण सङ्घर्ष छ र सङ्घर्षका कारण दुःख छ । क्षेत्र र भाषा नमिलेका कारण सङ्घर्ष छ र सङ्घर्षका कारण दुःख छ । धर्म नमिलेका कारण सङ्घर्ष छ र सङ्घर्षका कारण दुःख छ । सङ्घर्षै सङ्घर्ष, दुःखैदुःख ।
यस्तोमा वेद र पुराणहरू मन लगाएर पढेर ज्ञान लिन, कर्तव्य पालन गर्न र शान्ति प्राप्त गर्न सकिन्छ । सुनेर र पढेर मात्र होइन, अवलम्बन गरेर सफलता पाउन सकिन्छ । सबै हिन्दुहरूको धार्मिक ग्रन्थ पुराणहरूमा ‘शिव’ का कथा छन् । शिव भनेको कल्याण त हुँदै हो, समन्वयका प्रतिक पनि हुन् शिव । शिवको कथाले सङ्घर्षमा होइन, समन्वयमा शान्ति र सुख छ भन्ने पनि देखाउँछ । सङ्घर्षको टुङ्गो नलागी शान्ति हुँदैन, सङ्घर्षको टुङ्गो पनि शान्तिभन्दा पर खोजेर हुँदैन । शिवका कथाले यस्तै भन्दछ । त्यसैले कल्याणकारी व्यवस्था र अवस्थाको सुनिश्चिततामा मात्र समन्वय सम्भव छ । शिवको परिवार र तिनीहरूको समन्वयले मिलाएर शासन गर्न गतिलो नायकले मात्र सक्दछ भन्ने देखाउँछ ।
शिवको परिवार नहुँदाको चरित्रबारे सुरूमै उल्लेख गरिएको छ । उनी सपरिवार भएपछिको प्रसङ्गअनुसार शिव घरमुली हुन् । यिनी सर्पको माला लगाउँछन् । यिनको वाहन नन्दी नामको गोरू हो । शिवकी अर्धाङ्गिनी पार्वती हुन्, यिनको वाहन सिंह हो । यिनीहरूका जेठा छोरा हुन् कार्तिकेय । यिनको सबारी साधन मयूर हो । कान्छा छोरा हुन् गणेश । यिनको शरीरको माथिल्लो भाग हात्तीको छ र यिनको वाहन मूसो हो । यिनीहरू हिमालयमा बस्दछन् । यिनीहरू सबैका काम पनि फरकफरक छन् ।
यहाँ कति धेरै विरोधाभाष छ । सिंह हिंस्रक पशु हो । यसलाई पार्वतीले वाहन बनाएकी छन्, शिवको नन्दी यसको रूचीकर शिकार÷भोजन हो । शिवको माला बनेको सर्प जेठा छोरा कार्तिकेयको वाहन मयूरको भोजन हो भने कान्छा छोरा गणेशको वाहन बनेको मूसो सर्पको आहारा हो । बासस्थानका हिसाबले हात्ती, सिंह, मुसो, सर्प, नन्दी, मयूर कसैको लागि पनि हिमालअनुकूल स्थान होइन । तर यो परिवार यी सबै वाहनसँगै हिमालयमा नै बसेको देखिन्छ ।
यो अत्यन्त राम्रो समन्वय र व्यवस्थापनको बिम्ब हो । मिलाएर राख्न सक्दा विपरितहरू मिलेर बस्न सक्दछन् भन्ने कुराको गतिलो उदाहरण हो । यो पुराण कथामा पढिएको विषय हो । हामी सूचना, प्रविधि र विकास भएको समयका सभ्य मानव हौँ । अनेकौँ साधनस्रोत तथा वैज्ञानिक उपकरणहरूले हाम्रो जीवन सहज बनेको समय हो । तर पनि हामी हिमाल, पहाड, तराई मिलेर बनेको सिङ्गो राष्ट्र र ती ती ठाउँका बासिन्दा मिलेर बस्न आनाकानी गरिरहेका छौँ । एकता भनेको उस्तैउस्तैमा होइन, पृथकतामा खोजिने विषय हो । मेलमिलाप र समन्वय उस्तैउस्तैमा नभई फरकफरकमा खोजिने विषय हो ।
आजको जमानामा समन्वय गरी मिलाएर राख्ने कुरा कुनै शक्तिशाली व्यक्तिले नभई संस्थाले गर्ने विषय हो । हामी नेपालीका सन्दर्भमा त्यो साझा संस्था भनेको राज्य हुन्छ । राज्यको नेतृत्व गर्न तम्सने व्यक्तित्वहरूले यो कुरा ध्यान दिन आवश्यक छ । धर्म, देवीदेवताका नाममा, कुलवंश, परम्पराका नाममा झगडा होइन, मेलमिलाप आवश्यक छ ।
हामीलाई हाम्रो सनातन संस्कृतिले दिएको शिक्षा यही हो । यो कथा हो, यसमा काल्पनिकता होला, तर अल्वर्ट आइन्स्टाइनको ज्ञानभन्दा परिकल्पना शक्तिशाली हुन्छ भन्ने यो प्रसिद्ध उक्तिले पुराण र पौराणिक संस्कृतिका अनुयायीहरूलाई कहाँ राखेको छ, स्वतः स्पष्ट हुन्छ । शिव सङ्घर्षशील हुन् । उनको जीवन सङ्घर्षमय देखिन्छ । सङ्घर्ष सङ्घर्षका लागि मात्र होइन, शान्ति, प्राप्ति, व्यवस्था र व्यवस्थापनका लागि हो । शिव र शैवदर्शनबाट सिक्नुपर्ने विषय धेरै छन् । यहाँ पनि लागू हुन्छ, ‘जाने विज्ञान, नजाने अन्धविश्वास ।’ (लेखकः संस्कृति अध्येता तथा अभियन्ता हुनुहुन्छ ।)