विराट सृष्टिको निर्माण गर्न, असीम रूपमा विस्तार गर्न र सम्पूर्ण जीवनलाई एक सूत्रमा बाँधेर अनन्त रूपमा परिचालन गर्ने अव्यक्त प्राकृतिक शक्ति नै ईश्वरीय शक्ति हो।
आलोक अग्रहरी
वृहत संरचनाको निर्माणको आधारभूत सिद्धान्त अनुरूप धरा तथा भौतिक शरीर अस्तित्वमा रहेको छ। नियमित कम्पन रहने संरचना निर्माणका परा तथा अपरा आधार तत्त्वहरूको संयुक्त गुण वा संस्कारले वस्तुको दिशा निर्धारण गर्दछ। यसको समग्र आधारमा भौतिक तथा अभौतिक जगत निर्माण तथा सञ्चालनको आधारभूत सिद्धान्तको निर्धारण सम्भव हुन्छ।
कठोपनिषद् १.३.३ ले भन्छः
आत्मानं रथिनं विद्धि । शरीरं तु रथं एव । बुद्धिं तु सारथिं विद्धि । मनः च प्रग्रहम् एव॥
अर्थात, आत्मा मूल गुरु हो। शरीर रथ हो। बुद्धि रथ हाँक्ने सारथि हो। मन रथलाई नियन्त्रण गर्ने लगाम हो। उक्त चार रूपकहरूको संयुक्त रूप मान्छे हो ।
समग्रमा भन्दा मानसिक र आध्यात्मिक सबलताले मानिस आध्यात्मिक बन्दछ। अन्तर(आत्मा केन्द्रित हुन पुग्दछ। आफ्नो जीवनको लक्ष्य प्राप्ति तर्फ अघि बढ्छ। मानसिक र आध्यात्मिक रूपको निर्बलताले मानिस शरीर केन्द्रित बन्न पुग्छ। शरीरको सुख भोग नै जीवनको अन्तिम उद्देश्य भन्ने निश्चयमा पुग्दछ। मानिसको मानसिक र आध्यात्मिक सबलताको क्षेत्रलाई स्वर्ग लोक, जीवन चक्र व्यतीत हुने भौतिक संसार लाई मर्त्य लोक र शरीरको सुख भोगको सबलताको क्षेत्र लाई पाताल लोक मानिन्छ।
व्यवहारिक रूपमा वैदिक परम्पराको यथार्थ शास्त्र अन्तर्गत मानव जीवनको सन्दर्भको भौतिक शरीरको संरचनाको व्यक्त पक्ष लाई पृथ्वी अर्थात् भौतिक शरीरको रूपमा बुझ्ने गरिन्छ। भौतिक शरीर निर्माणको सूक्ष्म व्यक्त तथा अव्यक्त दुवै प्रकृतिको संरचना लाई भने पातालको रूपमा लिने गरिन्छ। हामीले भन्ने गरेको स्वर्ग, मृत्यु र नरक तिनै चिज यही पृथ्वी मै अवस्थित छ। जब मानिसले आफ्नो वास्तविक यथार्थ पहिचान गर्न असफल हुन्छ उ जनावर रुपी आवेगहरूमा रमाउन थाल्दछ। त्यो उसको पतन मार्ग वा काम, क्रोध र लोभको दुःखमय संसारको यात्रामा रहेको भन्ने बुझिन्छ। त्यसैलाई नै नरक भनिएको हो।
जब मानिस चेतनाको अधिकतम वृद्धि बाट आफ्नो जीवनको उद्देश्य वा लक्ष्य अर्थात् आत्म(ज्ञान प्राप्ति गर्दछ तब उसले काम, क्रोध, लोभ, मोह, मद र मात्सर्य जस्ता सुख प्राप्ति गर्नको लागि वाधक हुने प्राकृतिक अवरोधकहरू वाट मुक्त बन्दछ। इन्द्रिय–विजयमार्फत उसले परम-सुख प्राप्त गर्न सक्दछ। त्यसै अवस्थालाई स्वर्ग-लोक अर्थात् शान्ति, सद्भावको र आनन्दमय जीवन भनिएको हो।
वास्तवमा पूर्वीय तत्ववेत्ताहरुद्वारा वैदिक दर्शनको निचोड र सरलतम व्याख्याको रुपमा उपनिषद् लेखन भयो। तिनै दर्शनहरुको निचोडको रुपमा रहेको तत्वज्ञान कालान्तरमा पुराण, स्मृति आदि शास्त्रहरुमा कथानक पृष्ठभूमिमा चित्रित गरियो । यसर्थ, उपनिषद् गंगामा गोता लगाएर आफ्नो कल्याण गर्नु नै बुद्धिमत्ता हुन्छ।