समाज सेवाको पर्यायवाची बनेका कृष्ण

मेचीकाली संवाददाता

२ माघ २०८०, मंगलवार
214 shares

प्रकाश आचार्य

बुटवल। बुटवलका कृष्ण चौहान क्षेत्रीले आफ्नो सफलता पैसासँग कहिल्यै तौलिएनन् । बरु हुँदा खाँदाको प्राध्यापन पेशाबाट हात झिकेर २४ सै घण्टा मानव सेवामा लागेका छन् । उनको आफ्नो सम्पूर्ण जीवन नै रक्तदान क्षेत्रमा बिताउने प्रण गरेका छन् । बिरामीलाई रगत जुटाउन उनी रातदिन तल्लीन छन् । यसैले आजकल कृष्णको नाम र रक्तदान पर्यायवाची जस्तै बनिसकेको छ । उमेरले ४४ वर्ष टेकेका उनले हरेक तीनतीन महिनामा रक्तदान गर्छन् । अरू स्वस्थ व्यक्तिलाई पनि नियमित रक्तदान गर्न प्रोत्साहन गर्छन् ।

नेपाल स्वयंसेवी रक्तदाता समाज, रूपन्देहीका अध्यक्षसमेत रहेका कृष्णले अहिलेसम्म ८० पटक रक्तदान गरिसकेका छन् । उनले विसं.२०६१ पुस २३ गतेदेखि अहिलेसम्म हरेक ९०–९० दिनमा रक्तदान गर्दै आइरहेका छन् । कृष्ण नेपालमा सबैभन्दा धेरै रक्तदान गर्ने ‘टप टेन’ भित्र पर्छन् । रुपन्देहीका लागि पहिलो स्थानमा विशुद्ध आत्मसन्तुष्टिका लागि समाजसेवामा लागेका कृष्ण रक्तदानलाई अभियानकै रूपमा अघि बढाएर हजारौं बिरामीलाई मृत्युको मुखबाट जोगाएर छन् । रगत नपाएर जीवन जोखिममा परेकाहरूका लागि रगत दिन र जुटाउन रगतदाता खोज्न रातदिन जुटाउन कृष्ण लागि परिरहन्छन् । बिरामीलाई रगत उपलब्ध गराउन उनी र उनीजस्तै रक्तदाता मिलेर नेपाल स्वयंसेवी रक्तदाता समाज खुलेको हो ।

‘रगत नपाए बुटवल जानू’ अभियान सुरु गरेका कृष्णले रगत अभाव भएको बेला चितवन, पोखरा, काठमाडौं र दाङसम्म पठाउने गर्छन् । अभियानमा लागेयता अहिलेसम्म उनले आफ्नै खल्तीबाट पैसा खर्च गरिरहेका छन् । उनले बाहिरबाट अहिलेसम्म कसैको आर्थिक सहयोग लिएका छैनन् । ‘मैले त पढाउने जागिर पनि छाडेर यसैमा लागेँ,’ उनी भन्छन्, ‘श्रीमतीले बैंकमा जागिर गर्छिन् । खान पुगेकै छ । बस् त्यति भए पुग्यो । अहिलेसम्म कसैसँग पैसा माग्नुपरेको छैन ।’ कृष्ण रक्तदाताहरूलाई खर्च नगराई रक्तदान गराउने गर्छन् । रक्तदान गर्ने संघ–संस्थाहरूले पनि उनलाई बोलाउँछन् । उनले पनि रक्तदातालाई बोलाउँछन्, खाजा खुवाउँछन् । रक्तदाताहरूको एक रुपैयाँ पनि खान नहुने उनको बुझाइ छ । रक्तदानमा लागेर उनले अहिलेसम्म कति खर्च गरेँ भन्ने हिसाब राखेका छैनन् । त्यसरी खर्चको लेखाजोखा राख्ने हो भने समाजसेवा नै नहुने उनी बताउँछन् । निःस्वार्थ मनले सेवा गरेकाले अब पनि त्यसरी हिसाब नराख्ने कृष्णले बताए । २३ वर्षको उमेरदेखि लगातार रक्तदान गरेका उनी पहिलोपटक गर्न खोज्दा रगत दिन नमिलेको क्षण सम्झनलायक भएको बताउँछन् ।

विसं.२०६१ मा बुटवलमा एकजना अपरिचित व्यक्तिले कृष्णलाई भने,‘मेरी छोरी बिरामी छे, उसका लागि रगत चाहियो ।’ कृष्णले उनलाई तुरून्तै पुष्पलालपार्कस्थित रगतको रक्तसञ्चार केन्द्रमा लगे । उनी बिरामीलाई रगत दिन तयार भए । तर, उनको ‘ब्लड प्रेसर’ नमिलेर बिरामीलाई रगत दिन पाएनन् । बिरामीलाई बचाउन पहिलोपटक रगत दिन नमिलेपछि उनी रक्तदान गर्दा के–के कुराहरू मिल्नुपर्ने रहेछ भनेर सोधखोज गरे ।

पाल्पाका सरोज सिलवालले नियमित रक्तदान गर्दै आएका छन् भन्ने कृष्णले थाहा पाए । सिलवाल नेपाल नियमित रक्तदाता संघ गठन गरी रक्तदान गर्दै आएका थिए । संघले पहिलोपटक विसं. २०६१ पुस २३ गते बुटवलमा आकस्मिक रक्तदान कार्यक्रम राख्यो । कृष्णले पनि रक्तदान कार्यक्रममा पुगेर पहिलोपटक रक्तदान गरे । त्यसपछि उनले तीनतीन महिनामा हालसम्म रक्तदान गर्दै आएका छन् ।

कृष्ण बिहान एकपटक स्वयंसेवी रक्तदाता समाजको म्यासेन्जर ग्रुप च्याट नियाल्छन् । कसैलाई रगत चाहिएर म्यासेज आएको छ कि भनेर सोधीखोजी गर्छन् । स्वयंसेवी रक्तदाताहरूको नाम र नम्बरसहितको लामो सूची उनले मोबाइलमा राखेका छन् । रक्तदाताको रक्तसमूहअनुसार अलग–अलग सूची तयार पारेका छन् उनले । आकस्मिक रूपमा बिरामीलाई रगत चाहियो भने मोबाइलमा रक्तदाताहरूको नाम हेर्छन् र कुन समूहको रगत चाहिएको हो त्यही समूह भएको व्यक्तिलाई सम्पर्क गरेर बोलाउने गर्छन् । उनको खोलेको संस्थामा अहिले ५०० भन्दा बढी आजीवन सदस्य रहेका छन् । तीमध्येबाट पनि उनले रक्तदान गराउँछन् । रक्तदान गरिरहँदा अहिलेसम्म कृष्णलाई कुनै कमजोरी महसुस भएको छैन । कुनै ठूलो समस्या देखिएको छैन । त्यसैले रक्तदानले मानिसलाई निरोगीसमेत बनाउने उनी बताउँछन् । रक्तदाताले निःशुल्क दिएको रगत देशभरिका बिरामीले निःशुल्क पाउनुपर्छ भन्ने दबाबपूर्ण आन्दोलन पनि छेडे उनले । सो आन्दोलन र दबाबले लुम्बिनी प्रदेश सरकारले सरकारी अस्पतालमा उपचार गर्ने बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउने गरेको छ भने धेरै पालिकाले आफ्ना नगरवासीका लागि निःशुल्क रगत उपलब्ध गराउने निर्णय गरिसकेका छन् ।

हाटबजारको भुँइमै व्यवसाय गरेर व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका कृष्णले बुटवलको एभरेस्ट माविमा एक दशक ‘प्लस टू’ संयोजक भएर प्राध्यापन गराए । १६ वर्ष प्राध्यापक गरेका उनी त्यो छोडर समाजसेवामा मात्र लागेका हुन् । आर्थिक क्षेत्रमा राम्रो दख्खल राख्ने उनी सहकारीको विज्ञको रूपमा पनि चिनिन्छन् ।

रक्तदान अभियानमा उत्कृष्ट काम गरेपछि कृष्णलाई एसियन थाई फुड्सले ‘तपाईंलाई केको भोक छ’ भन्ने विद्याअन्तर्गत १ लाख रुपैयाँ र सम्मानपत्र प्रदान गरेको छ । यस्तै उनले नेपाल रेडक्रस सोसाइटीबाट स्वर्ण (५० पटक) र रजत (२५ पटक) पदकको सम्मान पाएका छन् । यसैगरी उनले उत्कृष्ट युवा पुरस्कार (बुटवल जेसीज), कोभिड हिरो (तीनवटा रोटरी तथा चावटा रोट्रयाक्ट क्लबबाट) र विश्व हिन्दू महासंघ आदिबाट गरी १०० भन्दा धेरै पुरस्कार र सम्मान पाएका छन् । कृष्ण नेतृत्वको समाजले प्रत्येक महिनाको अन्तिम शनिबार रक्तदान कार्यक्रम राख्ने गर्छ ।

उनी डेंगु र कोभिडका बिरामीका लागि आवश्यक प्लाज्मा व्यवस्था गर्ने गर्छन् । साथै १७ वर्ष पूरा भएकालाई रक्तदानमा प्रेरित गरेको तथा भारतको दिल्ली र गोरखपुरसम्म समेत नेपाली बिरामीका लागि रगत व्यवस्थापन गरेको उनी सुनाउँछन् । यस्तै दुर्गम पहाडी र मधेशका क्षेत्रमा पनि उनले रक्तदान कार्यक्रम चलाएका छन् । ‘रक्तदान गर्न डराउने मधेश क्षेत्रमा रक्तदान कार्यक्रम आयोजना गरियो । अवसरबाट बञ्चित पहाडी क्षेत्रमा समेत यो कार्यक्रम आयोजना गरियो,’ उनले थपे ।