सोह्रश्राद्ध विशेष: पूर्वजहरूप्रतिको श्रद्धा, प्रेम र कृतज्ञता अन्धविश्वास हुनै सक्दैन !

मेचीकाली संवाददाता

४ आश्विन २०८१, शुक्रबार
433 shares

घनश्याम कोइराला

सोह्रश्राद्ध अर्थात् पितृपक्ष गत बुधबारदेखि सुरु भएको छ । हाम्रो सनातन संस्कृतिका अनेकौं असल पक्षहरू जस्तै सोह्रश्राद्ध पनि एक हो । जब मानिसले प्रकृतिकै ग्रह, उपग्रह, नक्षत्र (तारा), यसैका आधारमा (चन्द्रमाको गतिका आधारमा) सोह्रवटा तिथि (प्रतिपदा, द्वितीया, तृतीया, चतुर्थी, पञ्चमी, षष्ठि, सप्तमी, अष्टमी, नवमी, दशमी, एकादशी, द्वादशी, त्रयोदशी, अमावस्या र पूर्णिमा) निर्धारण गरे, मानिस जन्मने वा मर्ने तिथि पनि तिनै हुने भए । यिनै सोह्रवटा तिथि पर्नेगरी वर्षमा एकपटक आश्विन कृष्ण प्रतिपदादेखि पन्ध्रदिनको समयावधि पुर्खाप्रतिको कृतज्ञता तथा कर्तव्यबोधका लागि छुट्ट्याइनु पूर्वज/पुर्खाको सम्मान, श्रद्धा र स्मरणका लागि महत्वपूर्ण विषय हो । पितृपक्ष आफ्ना पूर्वजहरूप्रति कृतज्ञता प्रकट गर्ने, उनीहरूका सकारात्मक योगदानहरूको स्मरण गर्ने र उनीहरूप्रति श्रद्धा व्यक्त गर्ने महत्वपूर्ण पर्व हो ।

श्राद्धमा पिण्ड दिइन्छ । श्राद्धमा मिठो खाने कुराको पिण्ड दिइन्छ र जल अर्पण गरेर तर्पण दिइन्छ । यसरी दिवंगत आत्मीय पूर्वजहरूप्रति श्रद्धा व्यक्त गरिन्छ । श्राद्ध वास्तवमा श्रद्धा, प्रेम, कृतज्ञता, अभिनन्दन आदिको मिश्रित रूप हो । मरिसकेका आफन्तलाई श्रद्धा र प्रेमपूर्वक स्मरण गरिने सोह्रश्राद्ध जस्तो परम्परा स्थापित गर्ने वैज्ञानिक पूर्वजहरूप्रति आभार तथा असीम श्रद्धा व्यक्त गर्नु सकारात्मक संस्कृति हो । तर्पण गर्नु या दिनु भनेको तृप्तपार्नु भनेको हो । पुर्खालाई/पूर्वजहरूलाई तृप्तपार्न सिकाइएको हो । पिण्डमा अनेकौं स्वादिष्ट वस्तुहरूको सम्मिश्रण हुन्छ । पुर्खा/पूर्वजहरूले यी सबै वस्तुको महत्व बुझेका थिए र स्वस्थ जीवनका लागि यी सबैको सन्तुलित प्रयोग गर्दथे भन्ने ज्ञानको प्रकटीकरण हो । मानिसको तृप्ति/सन्तुष्टिसँग खाद्य–पेयको (खानपिनको) महत्व र यससम्बन्धी ज्ञानको निरन्तरताका लागि तर्पण र पिण्डको प्रचलन रहेको बुझिन्छ ।

तर हिजोआज केही मानिसहरू श्राद्धका विषयमा केही हलुका टिप्पणी र गम्भीर प्रश्नहरू पनि गरिरहेका छन् । श्राद्ध होस् वा अन्य कुनै परम्परा, बुझेर गरियो भने विज्ञान र नबुझेर गरियो भने अन्धविश्वास हुन्छ । कुनै कर्मको उद्देश्य स्पष्ट नभई पछि लगाइयो वा लागियो भने अन्धविश्वासले जित्दछ । दिवंगत पूर्वजहरूको स्मरण गरी श्राद्ध गर्ने विषय जिउँदा मातापिताको स्याहार–सम्भार, सेवा–सुश्रुष र पालनपोषणको विकल्प हुन सक्दैन । मरिसकेपछि पनि यति सम्मानभागी मातापिता जीवित अवस्थामा हेय हुन्छन् भन्ने कल्पना कसरी गर्न सकिन्छ ? जिउँदो छँदा गरिने सबै कर्म गरे पनि वहाँहरूका तपाइँ–हामीमा सरेका ज्ञानका लागि उहाँहरूलाई सम्झिरहनु अन्धविश्वास हुन्छ र ? के इतिहास पढ्नु अन्धविश्वास हो ? इतिहासबाट शिक्षा लिनु अन्धविश्वास हो ? विगत सम्झनु अन्धविश्वास हो ? होइन ।

समाज मानिसहरूको परम्पराद्वारा निर्मित मनोवैज्ञानिक संस्था हो । यसमा मनोवैज्ञानिक सम्बन्धको मात्रा प्रचुर रहेको देखिन्छ । व्यवस्थित जीवनका लागि भौतिक वस्तुहरूको अपरिहार्यता जत्तिकै समाज निर्माणमा मनोविज्ञानको भूमिका रहेको हुन्छ । प्रयोग गरिने वस्तु र प्रयोग गर्ने व्यक्ति भौतिक हो भने प्रयोगकर्तामा रहेको अन्तर्निहित विचार मनोविज्ञान हो । समाजमा कुनै निश्चित विधिबाट नापतौल गर्न र छुट्ट्याउन नसकिने गरी भौतिक र मनोवैज्ञानिक पक्ष बराबर छन् ।

हाम्रो समाज सनातन समाज हो । सनातन भनेको अज्ञात कालदेखि चल्दै आएको भनिएको हो । सनातन भनेको पुरानो हुँदैन । सनातन पुरानो किन हुँदैन ? यस्तो प्रश्न उठ्न सक्दछ । सनातन भनेको प्रकृतिबाट आएको हुन्छ । यसलाई प्राकृतिक अवस्थामा नै रहेका मानिसहरूबाट प्रारम्भ भएको भनेर बुझ्न सकिन्छ । प्रकृतिका गुणलाई मानवीयकरण गरिंदैआएको विषय नै सनातन हो । प्रकृतिलाई पुरानो भयो भनेर भनिंदैन । तर प्रकृतिमा पुरानो विषय नहुने होइन, पुराना कुरा हुन्छन् । प्रकृतिको नविकरण गरिएको हुँदैन । प्रकृतिलाई नयाँ ढङ्गले उपयोग गरिएको हुन्छ ।

हाम्रो समाज प्रकृतिबाट संगठित हुने, प्रकृतिबाट संरक्षित हुने, प्रकृतिबाट शिक्षित हुने, प्रकृतिबाट लाभान्वित हुने हुँदै अघि बढिरहेको देख्न सकिन्छ । यसका अनेकौं उदाहरणहरू छन् । हाम्रा पुर्खाले समाजलाई संगठित गर्ने उपायहरू अवलम्बन गरे । यसरी गरिएका सामाजिक प्रवन्धहरूलाई ‘धर्म’ पनि भनियो । धर्मका केही ‘कर्मकाण्ड’हरू बने । कर्मकाण्डहरूमा मानिस र मानिसका कर्तव्यहरूको वर्गीकरण र नामकरण गरियो अर्थात् कामका आधारमा ‘नाम’ वा ‘पहिचान’ निर्धारण गरियो । यसो गर्दा मानिसको योग्यता–क्षमता र रोजाईकै आधारमा भएको अनुमान गर्न सकिने देखिन्छ । यहाँसम्म ठिकै चल्यो तर कालान्तरमा पुर्खाको नाम वा पहिचानको आधारमा मात्र काम निर्धारण हुने परिपाटी प्रवन्धको विकारका रूपमा प्रकट भयो ।

हाम्रा वैज्ञानिक परम्परा, प्रवन्ध र सनातनता खण्डित हुन थालेपछि समस्या देखिन थाले । प्रवन्धकीय सन्तुलन खलबलिएपछि समाजमा असन्तुलन पैदा भयो । यहीँबाट नकारात्मक विभेद र विभाजन मौलायो । सनातनधर्म, सनातन संस्कृति, सनातन सन्तुलन, सनातनका अनेकौं पक्ष खण्डित हुँदै आयो । मानिसको कुत्सित नियतले, दुर्बुद्धिको प्रयोगले, अयोग्यता र अक्षमताको कारणले आजको प्राकृतिक विपत्तिहरू जसरी नै ‘सनातन’का अनेकौं पक्षहरू पनि विकृतजस्ता देखिए । यो सबै मानिसबाट भएको हुनाले मानिसले नै सच्याउन सकिने विषय हो । सनातनका असल पक्षलाई सच्याउन पनि सनातनकै सारलाई बुझ्न आवश्यक हुन्छ ।

मानिसहरूले प्रकृतिबाट स्वाभाविक रूपमा लाभ लिइरहेको भए तापनि यसलाई व्यवस्थित गर्न र यसका उत्पादनहरूलाई सञ्चय गर्न भने निकैपछि मात्र जानेको हो भन्ने बुझिन्छ । यो आफैमा ठूलो विकास हो । पशु पाल्न जान्ने, पशुहरूलाई आफ्ना हितहरूका लागि परिचालन गर्न जान्ने, अन्न उत्पादन र भण्डारण गर्न जान्ने कुरा ठूलो ज्ञान र विकास हो । यस्तो ज्ञानसञ्चय र विकासका लागि हाम्रा पुर्खाका अनेकौं पुस्ता समर्पित भए होलान् भन्ने सहज अनुमान लगाउन सकिन्छ । अहिलेका ज्ञान—विज्ञानका कुरा हुन् वा उत्पादन र सञ्चयका विषय, यी सबैका आधार त पुर्खा र यिनीहरूबाट सर्दै आएका ज्ञान नै हुन् ।

मानिस पहिलेदेखि नै खुसी हुन्थ्यो होला, रमाउँथ्यो होला तर संगठित रूपमा खुसी मनाउन जान्दैनथियो । खुसियालीका दिन, महिना तोक्न र सम्झना गर्न सक्दैनथियो होला । तर गर्दै जाँदा तिनै मानिसले यी सबै कुरा जाने र परम्परा बसालिदिए । खेतीपाती स्याहार्ने मौसममा गरिने रमाइला दिनहरू पर्व भए । विजय–उल्लासका दिनहरू पर्व भए । कुनै नाम र प्रकारका उपलब्धिका दिन पनि पर्व भए । कानभरी अन्नका अङ्कुर(जमरा) सिउरेर, निधारभरी रँगाइएको अन्न(अक्षता) लगाएर, सके र भेटेसम्मका मिठो–मसिनो खाने हाम्रो परम्पराको निकै ठूलो मानिँदै आएको दसैंपर्व प्रारम्भको १५ दिनअघि नै पुर्खा÷पूर्वजहरूलाई श्रद्धा, प्रेम, कृतज्ञता, अभिनन्दन आदि प्रकट गर्न भएभरका सबै तिथि निर्धारित गरिदिए र ‘पितृपक्ष’ नामकरण गरे र पितृपर्वको परम्परा बसालिदिए । आज हामी तिनै दिनहरूलाई सोह्रश्राद्ध भनिरहेका छौं ।

मानिस आज आफ्ना पूर्वज÷पुर्खाबाट लाभान्वित छ । उनीहरूबाट नै सर्दै आएको ज्ञान–बुद्धिलाई परिमार्जन र परिष्कार गर्न पाएको छ । मानिसले उत्पादन होस् वा सञ्चय, वितरण होस् वा विनिमय, विक्री होस् वा दान सबै कुराको आधारभूत ज्ञान पूर्वजहरूबाट पाएको छ । पितृपक्ष, पितृपर्व, सोह्रश्राद्ध आदिका सन्दर्भमा हामीले उपरोक्त विषयहरू सम्झनैपर्ने हुन्छ ।
पितृ भनेका को हुन् ? सामान्यतया पितृ भनेका बितिसकेका मानिसहरूलाई मात्र बुझ्ने चलन रहँदैआएको छ । तर पितृ भनेका मरेका मात्र होइनन् र जीवित मात्र पनि होइनन् । जीवित हुन् वा मृत बाबुबाजे, आमाबाबु, पूर्वज हुन् भनेर बुझ्नुपर्दछ । कसैकसैले त पितृ भनेका बितिसकेका पुरुष पूर्वजलाई मात्र बुझ्ने गरेको पनि पाइन्छ, तर यसो होइन । सोह्रश्राद्ध सुरु हुनुपूर्वको पूर्णिमालाई ‘मातामहादि श्राद्ध’को दिनको रूपमा लिइएको छ । यसरी आमातिरका सबै पुर्खाको सम्मानका लागि विशेष दिन छुट्ट्याइएको देखिन्छ । कसैकसैको मतमा घटस्थापनाको दिनलाई पनि ‘मातामहादि श्राद्ध’को दिन मानिएको पाइन्छ । अन्य विषयमा जस्तै श्राद्धका विषयमा पनि विद्वान्हरूको मतैक्यता देखिँदैन ।

शास्त्रमा पितृहरूलाई वसु स्वरूप, रुद्र स्वरूप र आदित्य स्वरूप भनेर वर्गीकरण गरिएको देखिन्छ । वसु स्वरूप भनेको सम्पत्तीको रूपको भनिएको हो । यसको अर्थ हो हामीले पितृबाट अनेकौं प्रकारका सम्पत्ती पाइरहेका छौं । सम्पत्ती भनेको धनपैसा, खेतबारी, सुनचाँदी आदि मात्र होइन, उनीहरूबाट हामीले पाएको सम्पत्ती भनेको उत्पादनका सीप, विविध वस्तुहरू बारेको ज्ञान, हाम्रो आफ्नो पहिचान पनि हो । हाम्रो जीवनयापनमा सहजता प्रदान गर्ने सबै कुरा सारमा सम्पत्ती हुन् ।
रुद्र भनेका शिव हुन् । शिव शब्दको अर्थ कल्याण हो । कल्याणका लागि हामीले उचित विचार, उचित व्यवहार अपनाउनपर्ने हुन्छ । यसो गर्दा अनुचित पक्ष नासिदै जान्छ भने उचित पक्ष जोगिंदै र बढ्दै जान्छ । यो नासिने, जोगिने र विकास हुने प्रक्रिया निरन्तर प्रक्रिया हो । यसले नै आवश्यक सन्तुलन र नियन्त्रण कायम गरिरहेको हुन्छ । पितृ वा पुर्खाको वर्गीकरणमा यस पक्षको ख्याल गरिएका देखिन्छ ।

आदित्य भनेको सूर्यसहितका सूर्यका गण हुन् । सूर्यका गण भनेका सूर्यका शक्ति हुन् । सूर्यको शक्ति के हो ? यो भनिरहनुपर्ने विषय होइन । सृष्टि र स्थितिका लागि सूर्यको शक्ति र प्रकाश सबैभन्दा महत्वको विषय हो भन्ने कुरा ख्याल गरिएको देखिन्छ ।
केही मानिसहरू अलिकति बुझ पचाएर पनि प्रश्न गर्दछन्–वर्षमा एकपटक/दुईपटक श्राद्ध गरेर हुन्छ ? यस्तो प्रश्नकर्तालाई के भन्ने ? बाल दिवस वर्षमा कतिपटक मनाइन्छ ? नारी दिवस ? श्रमिक दिवस ? शिक्षा दिवस ? विशिष्ट व्यक्तिहरूका जन्म वा स्मृति दिवस ? मानवअधिकार दिवस ? साक्षरता दिवस ? भ्रष्टाचार निवारण दिवस ? लोकतन्त्र दिवस, संविधान दिवस र यस्तै अन्य दिवसहरू दिनदिनै मनाइन्छ ? मनाइँदैन । वर्षमा एक एकदिन मनाइन्छ र वर्षैपिच्छे मनाइन्छ । किन होला ?

इतिहासलाई जस्ताको तस्तै लागू गर्न खोज्नेहरू अन्धविश्वासी हुन् । परम्परालाई सही ढङ्गले बुभ्mन नसक्नु अन्धविश्वास हो । आधारभूत विषय र परिवर्तित सन्दर्भहरू बुभ्mन नचाहनेहरू अन्धविश्वासी हुन् । तर श्रद्धापूर्वक आफ्ना दिवङ्गत आत्मीय पूर्वजहरूप्रति कृतज्ञ हुनु, सम्मान गर्नु, श्रद्धापूर्वक स्मरण गर्नु अन्धविश्वास होइन र यसो गर्नेहरू अन्धविश्वासी होइनन् ।

श्रद्धाबाट ‘श्राद्ध’ शब्द बन्दछ । श्रद्धापूर्वक गरिने कार्यलाई श्राद्ध भनिन्छ । ‘श्राद्ध’ श्रद्धालाई जीवन्त राख्ने माध्यम हो । हाम्रा संस्कृति निर्माता पूर्वजहरूले पूर्णिमादेखि औंसीसम्मको १६ दिनलाई पितृको सम्मानका लागि छुट्ट्याइदिए । हामी पनि पूर्वजहरूप्रति कृतज्ञ बनौं, सन्तानहरूप्रति कर्तव्यशील बनौं र संस्कृतिप्रति सम्वेदनशील बनौं । वस्तुनिष्ठ भएर समयसापेक्ष कर्म गरौं । विरोधी र विद्रोही नभई सिर्जनात्मक बनौं । (लेखकः कोइराला संस्कृति अध्येता तथा अभियन्ता हुनुहुन्छ ।)