बुटवलमा कम्युनिष्ट आन्दोलनको संक्षिप्त इतिहास

मेचीकाली संवाददाता

४ कार्तिक २०८१, आईतवार
714 shares

मेघराज भट्टराई

बुटवल कम्युनिष्ट आन्दोलनको लामो विरासत बोकेको क्षेत्र हो । यहाँको कम्युनिष्ट आन्दोलनको इतिहासका विषयमा चर्चा गर्नुपर्दा विशेष गरेर वि.सं.२००६ साल वैशाख १० गते नेपाल कम्युनिष्ट पार्टीको स्थापना भए पश्चात तत्कालिन समयमा नेपालको प्रशासनिक विभाजनअनुसार नेकपाको केन्द्रीय कमिटी मातहत रहने गरी कोसी, गण्डकी र कर्णाली प्रान्तीय कमिटीहरू गठन भएका थिए । यही गण्डक प्रान्तिय कमिटीको मातहतमा रहेर हालका रूपन्देही, पाल्पा, कपिलवस्तु, गुल्मी, नवलपरासी जिल्ला समेतलाई समेटेर पश्चिम गण्डक उपप्रान्तिय कमिटी गठन भएको थियो । बुटवल र यस आसपासको क्षेत्रलाई त्यतिखेर बुटवल जिल्ला भनिन्थ्यो । यस जिल्लामा पुष्पलाल, तुलसीलाल, कमलराज रेग्मी, केशरजङ्ग जस्ता नेताहरू पार्टी विस्तारका सिलसिलामा आउने जाने गरेको बताइन्छ ।

वि.सं.२००८ सालतिर पाल्पाबाट बुटवल झरेका लक्ष्मीप्रसाद श्रेष्ठ नाम गरेका व्यक्ति बुटवल प्राविमा पढाउने गर्दथे । उनले यस क्षेत्रका युवाहरूमा कम्युनिष्ट पार्टीको परिचय दिँदै यसको आवश्यकता र क्रान्तिकारिताका बारेमा हौस्याउने गर्दथे । युवाहरूमा उनको गहिरो प्रभाव परिरहेको थियो । यही सिलसिलामा २००९ सालको वैशाखतिर खस्यौलीमा रहेको हुलाकलाई पारी बुटवलतिर सार्ने सरकारी निर्णय भयो । यस निर्णयका विरुद्ध युवाहरू आक्रोशित भए र त्यसविरुद्धमा आन्दोलन सुरु गरे । हुलाकका सुपरिटेन्डेन्टलाई १५ दिनसम्म हुलाकमै नजरबन्द गर्ने काम भयो । युवाहरूले बजार बन्द गर्ने र जुलुस निकाल्ने काम गरे । आन्दोलनको अघिल्लो पंक्तिमा पृथ्वी शेरचन देखापरे पनि यसको अप्रत्यक्ष नेतृत्व भने यिनै लक्ष्मीप्रसाद श्रेष्ठले गरेका थिए । यस आन्दोलनले युवाहरूमा सकारात्मक क्रान्तिकारी ऊर्जा भरेको थियो ।

विसं.२०१० सालमा कृष्ण श्रेष्ठको नेतृत्वमा बुटवलमा नेकपाको कमिटी गठन भएपश्चात धेरै नेता कमरेडहरुले बुटवलको पार्टीलाई नेतृत्व प्रदान गर्दै आउनुभएको छ तर प्रयाप्त दस्तावेजको अभावमा विभिन्न कालखण्डमा नेतृत्व प्रदान गर्नुभएका कमरेडहरुको विवरण उपलब्ध हुन सकेको छैन । तथापि २०४६ सालको आन्दोलनपश्चात २०४८ सालमा प्रथम नगर अधिवेशन सम्पन्न भएको थियो भने त्यसपश्चात २०५० सालमा दोस्रो, २०५२ सालमा तेस्रो, २०५४ सालमा चौथो, २०५६ सालमा पाँचौ, २०५९ पौष १३ गते छैठौं, २०६१ पौष २३ गते सातौं, २०६३ पौष २२ गते आठौं र २०६६ पौष २५ गते नवौं नगर अधिवेशन सम्पन्न भयो । लगत्तै २०६९ सालमा दशौं र २०७१ सालमा एघारौं नगर अधिवेशन सम्पन्न भएको थियो । २०७३ सालमा बुटवल नगरपालिका उपमहानगरपालिकामा स्तरोन्ती भएपश्चात संगठन कमिटी निर्माण भयो भने २०७५ सालमा नेकपाको बुटवल उपमहानगर कमिटी गठन भयो । पार्टीको जीवनमा आएको संगठनात्मक शून्यताको अवधि पश्चात २०७८ सालमा प्रथम उपमहानगर कमिटीको अधिवेशन सम्पन्न भयो ।

बुटवलका युवाहरूमा देखापरेको विद्रोह र क्रान्तिकारी मानसिकताको अध्ययन गरिरहेका नेकपाका नेताहरूले यस ठाउँमा आफ्नो पार्टीको राम्रो पकड हुन सक्ने अनुमान गर्दै २००९ सालमा नेकपाका केन्द्रीय सदस्य तथा पश्चिम गण्डक प्रान्तिय कमिटीका सेक्रेटारियट सदस्य राधाप्रसाद घिमिरे एक जना मजदुर साथी लिएर बुटवल आइपुगे । २००९ सालको भाद्र महिनामा बुटवलमा व्यवसाय गरी बस्ने ३ युवाहरू पृथ्वी शेरचन, जयवद्र्धन जोशी र मुहम्मद सफी अन्सारीको नेतृत्वमा नेकपाको पहिलो जिल्ला संगठन कमिटीको निर्माण भयो । यसरी नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय संगठन स्थापना भएको तीन वर्षभित्रै हालको रूपन्देही क्षेत्रमा कम्युनिष्ट पार्टीको जिल्लास्तरीय संगठन स्थापना हुन पुग्यो । यस कमिटीमा पृथ्वी शेरचनले सचिव भएर आफ्नो भूमिका निर्वाह गरे । पृथ्वी शेरचनपछि क्रमशः मुन्नीलाल शाक्य, जनकलाल श्रेष्ठ, चन्द्रध्वज श्रेष्ठ, कृष्ण श्रेष्ठ र पशुपति गौतम पार्टीको सम्पर्कमा आई संगठित भए । यिनैमध्ये कृष्ण श्रेष्ठको नेतृत्वमा २०१० वैशाखमा ९ सदस्यीय बुटवल नगर कमिटीको गठन भयो र बुटवलमा नेकपाको क्रान्तिकारी चिराग विस्तारैविस्तारै सल्किन थाल्यो ।

यसैक्रममा २०१६ सालमा भारतबाट डालडा घिउ आयात गरिएको विरोधमा बुटवलमा जुलुस प्रर्दशन भयो । त्यसैवर्ष गण्डक सम्झौताको विरोधमा पीबी मल्ल, लालसिंह भण्डारी, श्यामसिंह प्रधान, चन्द्रमान शाक्यलगायतका नेता–कार्यकर्ताको नेतृत्वमा साइकल र्याली निकाल्ने कामसमेत भएको थियो ।

अर्कोतर्फ २०१६ सालको स्थानीय निकायको पदाधिकारीे चुनावमा बुटवल नगरपालिकाका कुल ९ वडामध्ये २ वटा वडामा धर्म गौतम बज्राचार्य र सरस्वतीप्रसाद शेरचन कम्युनिष्ट पार्टीका तर्फबाट विजय भएको पनि बताइन्छ । वि.सं.२०१७ सालमा पञ्चायती व्यवस्थाको शुरुवातसंगै राजनीतिक गतिविधि माथि प्रतिबन्ध लागेपछि बुटवलमा समेत कम्युनिष्ट आन्दोलन निष्कृय जस्तै रह्यो । विस्तारै वि.सं.२०२२ सालतिर विद्यार्थी आन्दोलनले गति लिन थालेपछि बुटवलमा रहेका महावीर पुस्तकालय र सोभियत मैत्री पुस्तकालय जस्ता सार्वजनिक पुस्तकालयले युवाहरुलाई आकर्षित गर्न थाल्यो ।

त्यही सिलसिलामा विसं.२०२३ सालमा देवेन्द्र घिमिरेलगायतको अगुवाईमा पार्टी सेल गठन हुनुका साथै २०२४ सालमा बुटवलको दाउरे टोलमा रुपन्देही जिल्ला स्तरीय भेला सम्पन्न भयो । २०२४ असोजदेखि ‘रेलिमै’ सांस्कृतिक टोलीको माध्यमबाट मोदनाथ प्रश्रित, जिवराज आश्रित, बुद्धिबहादुर थकालीलगायतको अगुवाईमा बुटवल र यसको सेरोफेरोलाई आधार बनाई सामन्तका विरोधमा जनतालाई सचेत पार्दै कम्युनिष्ट आन्दोलनलाई गाउँगाउँमा पु¥याउने काम सुरु भयो । विभिन्न खालका सांस्कृतिक कार्यक्रमहरुमार्फत जागरण ल्याउने काम अगाडि बढ्यो । त्यसपश्चात २०२५ सालमा जीतगढीमा रुपन्देही जिल्ला कमिटीको भेला र २०२७ सालमा नहरपुरमा कार्यकर्ता उत्प्रेरणा सम्मेलन भयो । त्यही बिचमा २०२६ सालमा देशभरिका १८ कलेज खारेज गर्ने सरकारी निर्णयको विरुद्धमा बुटवलदेखि पक्लिहवासम्म विद्यार्थी आन्दोलन भयो भने त्यही वर्ष नै बुटवल हाईस्कूलका विद्यार्थीहरुले समेत विद्यार्थी सहुलियतको माग राख्दै आन्दोलन गरे ।

यसरी बुटवलमा विद्यार्थी आन्दोलन र सांस्कृतिक जागरण अभियानसँगै किसान आन्दोलनले समेत आफ्नो प्रभाव बढाउँदै गयो । २०२७ सालमा बुटवल क्षेत्रमा रहेको हिरापुरका कृषि हरुवा मजदुरहरुले ज्यालादारी वृद्धिको माग राखी जमिन्दार विरोधी आन्दोलन सुरु गरे भने २०२८ सालमा भिमनारायण थारुको अगुवाईमा मोतिपुर सौराहामा बेगारीविरोधी आन्दोलन भयो । यस्तैगरी २०३० को दशकमा नयाँगाउँ, तामनगर र बेलवासको पश्चिमी भागमा कृषक आन्दोलन भयो भने अन्य गाँउहरुमा पनि जमिन्दार विरोधी किसान आन्दोलनसमेत भए । त्यसैक्रममा अर्कोतर्फ जीतबहादुर पुनलगायतको अगुवाईमा बुटवलमा मजदुर आन्दोलनको समेत सुरुवात भयो । २०२८ सालमा बिटिआईमा आन्तरिक व्यवस्थापनको सुधार सहितको माग राखी बुटवलमा प्रथम संगठित मजदुर आन्दोलन थिएको थियो भने २०२९ सालमा बुटवल–नारायणघाट राजमार्गमा काम गर्ने मजदुरहरुले समेत आन्दोलन गरेका थिए । यस्तैगरी २०३१ सालमा यातायात मजदुरका समस्यालाई संगठितरुपमा समाधान गर्ने उद्देश्यका साथ बुटवलमा यातायात मजदुर भलाई कोषको स्थापना भयो ।

२०३० को दशकमा नयाँगाउँ, तामनगर, बेलबासलगायत क्षेत्र कम्युनिष्ट पार्टीको आधार भूमि थियो जहाँ जिल्ला र अञ्चलका बैठक बस्दथे । त्यसैक्रममा विशेष गरेर कम्युनिष्ट आन्दोलनभित्र देखा परेका विभिन्न प्रवृतिहरुका आधारमा थुप्रै समूहहरु देखा परे । जसमध्ये २०३२ सालमा पुष्पलाल नेतृत्वको नेकपाभित्र वैचारिक मतभेद भएपश्चात २०३३ साल असार १५ गते मोतिपुरमा भिमनारायण थारुको घरमा असन्तुष्ट समूहको बैठकले मुक्ति मोर्चा गठन गरेको थियो । २०३४ सालमा कोके (कोअर्डिनेशन केन्द्र) र मुक्तिमोर्चाको एकतापश्चात २०३५ सालमा नेकपा माले पार्टीको गठन भयो । सोहीसमय अर्थात् २०३४ सालमा बुटवल क्याम्पसमा शैक्षिक माग राख्दै चोलेश्वरविरोधी आन्दोलन भयो । वि.सं.२०३५/३६ सालको संयुक्त विद्यार्थी आन्दोलनले स्ववियुको निर्वाचन गर्ने अधिकार प्राप्त भयो भने २०३६ सालमा मावि तहको स्ववियु माथि प्रतिबन्ध लागेपछि बुटवल क्याम्पस स्ववियुको नेतृत्वमा भएको आन्दोलनले उक्त प्रतिबन्ध हटाउन सफल भयो ।

साथै उक्त समयमा भएको आन्दोलनले राजालाई जनमत संग्रहको घोषणा गर्न बाध्य बनायो । नेकपा मसाल र नेकपा मालेले जनमत संग्रह बहिस्कार गरे पनि अन्य कम्युनिष्ट घटकहरु निर्दलीय पञ्चायतको विरुद्ध बहुदलको पक्षमा उभिए । उनीहरुको नेतृत्वमा बुटवलमा बहुदलको पक्षमा ठूलाठूला जुलुस र आमसभाहरु भए । बहुदलको पक्षमा जनमत तयार हुदैं गयो । विसं.२०३७ साल वैशाख २० गते सम्पन्न जनमत संग्रहमा रुपन्देही जिल्लामा निर्दल परास्त भयो र बहुदलको पक्षमा बहुमत प्राप्त भयो । अर्कोतर्फ २०३७ साल कार्तिक ६ गते सेमलारमा सांस्कृतिक कार्यक्रम चलिरहेकै बेला नकाबधारी प्रहरी र गुन्डाहरूको ठूलो जमातले चारैतिरबाट आक्रमण ग¥यो । सांस्कृतिक कार्यक्रमका लागि बटुलिएका सामानहरू लुटिए । सयौं मानिसहरूमाथि कुटपिट भयो । त्यतिमात्र होइन घरघर पसेर तोडफोड गर्ने आगो लगाउने, दुहुना (लैना) गाईभैंसीका कल्चौँडाहरू काटिदिनेसम्मका चरम आपराधिक ज्यादती भए । यसरी विभिन्न उतार र चढावका चरणहरु पार गर्दै बुटवलमा कम्युनिष्ट आन्दोलन अगाडि बढ्यो ।

त्यही सिलसिलामा २०४१ सालतिर शिक्षकका समस्या र मागप्रति उदासिन सरकारलाई झकझकाउन बुटवल, सेमलार क्षेत्रमा दिउसै लालटिन बाल्ने र शिक्षकको हस्ताक्षर संकलन गर्ने आन्दोलन भयो । अर्कोतर्फ २०४३ सालमा भएको बुटवल नगर पञ्चायतको चुनावमा जनपक्षीय प्रधानपञ्चको उम्मेदवारका रुपमा तत्कालिन नेकपा (मानन्धर) समूहका कार्यकर्ता सरस्वतीप्रसाद शेरचनलाई पार्टीले समर्थन गरेको थियो । २०४५ सालतिर माले, माक्र्सवादी र मानन्धर समूहका ट्रेड युनियनको बिचमा क्रमशः शिवराज सुवेदी, कान्ताराम पोखरेल र नविन अधिकारी नेतृत्वको समन्वयात्मक संयन्त्र निर्माण भई त्यसको नेतृत्वमा बुटवल क्षेत्रमा टेक्सटायल, वर्कसप, बिस्कुट, आइरन र विविध औद्योगिक प्रतिष्ठानमा कार्यरत मजदुरहरूको ज्याला, औषधी, अतिरिक्त पारिश्रमिक, बोनस र लुगा भत्तापाउने आदि माग राखी आन्दोलन भए । यसैवर्ष बुटवलमा नाकावन्दी विरोधी आन्दोलनसमेत भयो ।
त्यसैक्रममा २०४६ मंसिर महिनामा नेकपा मालेको प्रथम जिल्ला अधिवेशन सेमलारको चम्कीपुरमा आयोजना भयो भने सोही वर्ष नै जनआन्दोलनको शुरुवात भयो । विसं.२०४६÷०४७ को वाममोर्चा र नेपाली काग्रेसद्वारा सञ्चालित संयुक्त जनआन्दोलनमा वाममोर्चाको नेतृत्वदायी भूमिका रह्यो । ७ वटा कम्युनिष्ट पार्टी मिलेर बनेको वाममोर्चामा नेकपा माले र नेकपा माक्र्सवादी प्रमुख घटक थिए । उक्त जनआन्दोलनले पञ्चायती व्यवस्थालाई फालेर मुलुकमा प्रजातन्त्रको स्थापना गर्न सफल भयो ।

यसरी विभिन्न कालखण्डमा बुटवलमा भएका किसान, मजदुर, विद्यार्थी एवंम शिक्षक आन्दोलन तथा सांस्कृतिक जागरणलगायत शृंखलाबद्ध बहुआयमिक आन्दोलनहरुको आलोकमा कम्युनिष्ट आन्दोलनले गौरवपूर्ण इतिहासको जग निर्माण गर्दै अगाडि बढ्यो । पञ्चायती व्यवस्थाविरुद्धको लडाइँ होस् या २०६२÷६३ को शान्तिपूर्ण जनक्रान्ति होस्, नेपालका हरेक परिवर्तनकामी आन्दोलनमा बुटवलले विशिष्ट योगदान पु¥याउँदै आएको छ । यसरी विभिन्न आरोह र अवरोहपूर्ण यात्रा पार गर्दै अगाडि बढेको कम्युनिष्ट आन्दोलनको जगमा आज नेकपा एमाले बुटवलमा प्रमुख राजनीतिक शक्तिका रुपमा स्थापित हुन पुगेको छ ।
विसं.२०१० सालमा कृष्ण श्रेष्ठको नेतृत्वमा बुटवलमा नेकपाको कमिटी गठन भए पश्चात धेरै नेता कमरेडहरुले बुटवलको पार्टीलाई नेतृत्व प्रदान गर्दै आउनुभएको छ तर प्रयाप्त दस्तावेजको अभावमा विभिन्न कालखण्डमा नेतृत्व प्रदान गर्नुभएका कमरेडहरुको विवरण उपलब्ध हुन सकेको छैन ।
तथापि २०४६ सालको आन्दोलनपश्चात २०४८ सालमा प्रथम नगर अधिवेशन सम्पन्न भएको थियो भने त्यसपश्चात २०५० सालमा दोस्रो, २०५२ सालमा तेस्रो, २०५४ सालमा चौथो, २०५६ सालमा पाँचौ, २०५९ पौष १३ गते छैठौं, २०६१ पौष २३ गते सातौं, २०६३ पौष २२ गते आठौं र २०६६ पौष २५ गते नवौं नगर अधिवेशन सम्पन्न भयो । लगत्तै २०६९ सालमा दशौं र २०७१ सालमा एघारौं नगर अधिवेशन सम्पन्न भएको थियो । २०७३ सालमा बुटवल नगरपालिका उपमहानगरपालिकामा स्तरोन्ति भएपश्चात संगठन कमिटी निर्माण भयो भने २०७५ सालमा नेकपाको बुटवल उपमहानगर कमिटी गठन भयो । पार्टीको जीवनमा आएको संगठनात्मक शून्यताको अवधिपश्चात २०७८ सालमा प्रथम उपमहानगर कमिटीको अधिवेशन सम्पन्न भयो ।

यस अवधिमा बुटवलमा पार्टीलाई पहिलो, दोस्रो र तेस्रो अधिवेशनमार्फत क.भोजप्रसाद श्रेष्ठ, चौथो अधिवेशनमार्फत क.नन्दीकेशर ढकाल, पाँचौं अधिवेशन मार्फत क.कृष्ण पाण्डे, छैठौं, सातौं र आठौं अधिवेशन मार्फत क.भुवनेश्वर भण्डारी, नवौं र दशौं अधिवेशनमार्फत क.रामचन्द्र क्षेत्री र एघारौं नगर अधिवेशन मार्फत क.ज्ञानप्रसाद अर्यालले नेतृत्व प्रदान गर्नुभएको थियो । यस्तैगरी २०७३ सालमा संगठन कमिटी निर्माण भएपश्चात त्यसको नेतृत्व क.ऋषिराम पाण्डेले गर्नुभएको थियो भने एमाले र माओवादीको एकीकरण पश्चात बनेको नेकपा बुटवल उपमहानगर कमिटीको नेतृत्व क.बाबुराम पन्थीले गर्नुभएको थियो र हाल क.किसन ज्ञवालीले नेकपा एमाले बुटवलको नेतृत्व प्रदान गर्दै आउनुभएको छ ।

(नोटः यो लेख नेकपा एमाले रुपन्देही जिल्ला कमिटीले प्रकाशन गरेको रुपन्देहीमा कम्युनिष्ट आन्दोलनको संक्षिप्त इतिहास र एमालेका पुराना नेता कमरेडहरुले उपलब्ध गराउनुभएको विवरणका आधारमा तयार पारिएको हो ।)