निर्माणाधीन सडकमा दुर्घटनाको उच्च जोखिम

मेचीकाली संवाददाता

७ मंसिर २०८१, शुक्रबार
33 shares

–बुटवल–नारायणगढ खण्डमा मात्रै दुई वर्षमा ४० जनाको मृत्यु
–छैनन् स्पष्ट संकेत बोर्ड र सूचना पाटी

अमृत गिरी

बुटवल। बुटवल–नारायणगढ सडक खण्डको विस्तारमा भइरहेको ढिलाईबाट उत्पन्न भएको सास्ती धेरै छ । त्यसैमा पनि निर्माणाधीन सडकका खाल्डामा परेर, नालीमा परेर, निर्माण सामग्रीमा ठक्कर खाएर, निर्माणका उपकरणमा ठोक्किएर कैयौं दुर्घटना भएका छन् । यही बुटवलको चौराहा–गोलपार्क खण्डको विस्तारमा भइरहेको ढिलाई पनि कैयौं दुर्घटना निम्तिए र मानवीय क्षति भयो ।

अलपत्र सडकको बुटवल–दाउन्ने खण्डमा मात्रै ०७९ साउन यता करिब ४५ वटा सवारी साधन दुर्घटनामा परेका छन् । यी दुर्घटनामा परेर २१ जनाको मृत्यु भएको छ भने ७० जना घाइते । खासगरी दुईपांग्रे सवारी साधन नाली तथा खाड्लमा परेर र अगाडि रोकिएका निर्माणमा उपकरणमा ठोक्किएर दुर्घटना भएका छन् । ती दुर्घटनाहरुमा १८ जना पुरुष र ३ जना महिला गरी २१ जनाको मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलको तथ्यांकमा छ । त्यस्तै दुर्घटनामा ५० जना पुरुष, १५ जना महिला र ५ बालबालिका गरी ७० जना गम्भीर घाइते भएको उक्त कार्यालयका प्रहरी नायव उपरिक्षक मधुसुदन न्यौपानेले जानकारी दिए ।

कतिपय दुर्घटनामा मारिएकाका पीडित परिवारले त सडकको बेहालका कारणले अकालमा ज्यान गएको भन्दै क्षतिपूर्ति माग गरेर निवेदनसमेत दिएका छन् । त्यस्ता निवेदनलाई प्रहरी कार्यालयमा मातहतमा ‘फरवार्ड’ गरेको बताएको छ । यस्तै दाउन्नेदेखि नारायणगढसम्मको सडकमा गत आवमा मात्रै ५६ सवारी साधन दुर्घटना भए । अधिकांश दुर्घटना सडकको बेहालका कारण भएको पाइएको छ । ती दुर्घटनामा १४ जनाको मृत्यु भयो भने ७४ जना गम्भीर घाइते भए । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरको कार्यालयले उपलव्ध गराएको तथ्यांकमा छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यायल नवलपुरका वरिष्ठ नायवनिरीक्षक मिनबहादुर कुँवरका अनुसार साना सवारीका दुर्घटना धेरै भएको त्यसमा मोटरसाइकल र स्कुटर रहेका छन् । भएको जनशक्ति र स्रोतको परिचालन गरेर ठाउँठाउँमा संकेत चिन्हरु राख्ने, बोर्डहरु राख्ने गरिएपनि धेरै ठाउँमा जोखिमपूर्ण अवस्था रहेको बताउँदै वरिष्ठ नायबनिरीक्षक कुँवरले मातहतका कार्यालय र सरोकारवालाहरुसँग समन्वय गरेर दुर्घटना न्यूनीकरणका काम गरिएको बताए ।

सोही खण्डमा चालू आवको यो अवधिमै १५ वटा गम्भीर दुर्घटना भएका छन् । ती दुर्घटनामा परेर ५ जनाको मृत्यु भयो भने २० जना गम्भीर घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरको तथ्यांकमा छ ।

सूचना पाटी र संकेत बोर्ड अनिवार्य गरौं
विभिन्न निर्माणका काम गर्दा हुने ढिलासुस्ती, सूचना पाटी र संकेत बोर्ड नराख्ने र लापरबाही गर्ने प्रवृत्तिका कारणले पनि दुर्घटना निम्तिएका कैयौं घटना छन् । बुटवल–नारायणगढ खण्डका ठाउँठाउँमा संकेत बोर्ड र सूचना पाटी राख्ने र रातिमा पनि देखिने बनाउन जरुरी थियो तर त्यो हुन सकेन । त्यो खण्डमा ०७५ माघबाट निर्माणको काम सुरु भएपनि अहिलेसम्म आधा पनि काम भएको छैन । यहीँ बुटवलको चौराहा–गोलपार्क खण्डमा पनि त्यस्ता संकेत बार्ड र सूचना पाटी राखिएको छैन ।

सार्वजनिक सरोकारका विषयमा लामो समयदेखि वकालत गर्दै आएका वरिष्ठ अधिवक्ता शिवप्रसाद गौडलले हरेक सार्वजनिक सरोकारका निर्माणकार्यमा अनिवार्य सूचना पाटी राख्नैपर्ने भएपनि त्यो कार्यान्वयन नभइरहेको बताए । कुनै सार्वजनिक सरोकारका संरचनाहरु कहिले सुरु भएको, कहिले सकिने, कसले बनाउँदै छ, कति लागतमा बन्दैछ, कहाँ कहाँ के कसरी वैकल्पिक उपाय अपनाइएको छ भनेर खुलाएर अनिवार्य सूचना राख्न जरुरी रहेको वरिष्ठ अधिवक्ता गौडलको भनाइ छ ।
यता उपभोक्ता हीत संरक्षण मञ्च लुम्बिनी प्रदेशका अध्यक्ष तेजकुमार पाठकले पनि नागरिकको सूचना पाउने अधिकारलाई कार्यान्वयन गर्न जरुरी रहेका बताउँछन् । कतिपय विषयमा सूचना नपाउँदा तथा संकेत चिन्हहरु नहुँदा आम उपभोक्त जोखिममा परिरहेका हुन्छन् र त्यसले क्षति पनि निम्तिने गरेको अवस्था रहेको बताउँदै अध्यक्ष पाठकले जवाफदेही निकाय र निर्माण कम्पनीको यसमा ध्यानाकर्षण गराए ।

११३ किमी सडकको अधिकांश खण्ड बेहाल
बुटवल–नारायणगढ सडकको दूरी ११३ किमी छ । यो सडकलाई अन्तर्राष्ट्रिय स्तरको चार लेनमा डेडिकेटेड मार्ग बनाउने भन्दै विसं.२०७५ मा ठेक्का सम्झौता भएको थियो । त्यसबेला विसं. २०७९ साउन २२ भित्र काम सक्नेगरी सम्झौता भएको थियो । कोरोना महामारीले केही ढिलाई भएपनि अहिले ६ वर्षसम्म यो सडकको अवस्था बेहाल छ ।

सडक विस्तारका लागि एसियाली विकास बैंकको ऋण सहयोगमा योजना अगाडि बढेको थियो । यसको दुई खण्ड गरेर ठेक्का रकम १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार रुपैयाँ हो । दुई खण्डमा विभाजन गरी ११३ किमि सडकमध्ये ७० किमी ४ लेन, २९ किमी ४ लेनसहित दुवैतर्फ ६–६ मिटरको सर्भिस लेन, पहाडी भेग र जोखिम बढी रहेको क्षेत्र मानिने दाउन्नेको १४ किमी खण्डमा ३ लेनको सडक बनाउने गरी सम्झौता भएको थियो ।

यस्तै बिचमा ६४ वटा पुल र ४६२ वटा कल्भर्टलगायत संरचना निर्माण गर्नुपर्ने हो । अहिलेसम्म ८० किमि दुई लेन र ४० किमी चार लेन सडकमात्र कालोपत्र भएको छ त्यो पनि अधुरो छ । हालसम्म पेस्कीसहित साढे ९ अर्ब रुपैयाँ भुक्तानी भइसकेको छ तर दोस्रोपटक पनि काम सम्पन्न नभएपछि तेस्रोपटकका लागि २०८२ साउन ८ गतेसम्मका लागि म्याद थप भएको छ ।

नयाँ ठेक्का प्रक्रिया अगाडि बढाउन माग
सरकारले ठेकेदारको मागअनुसार म्याद थप गर्दै आएको छ । जनताले सास्ती खेपिरहेका छन् । वर्षौंसम्म सडक अलपत्र पार्ने ठेकेदारलाई जरिवाना गराएर ठेक्का रद्द गर्नुपर्ने स्थानीयको माग छ । यस भेगमा जनप्रतिनिधिले प्रधानमन्त्री केपी ओली, उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहाललगायतलाई भेटेर नयाँ ठेक्का लगाएरै भएपनि छिटो निर्माणकार्य सक्नेगरी निर्देशन गर्न अनुरोध गरेका थिए ।

यो सडक खण्डको पूर्वी र पश्चिम खण्डमा ६ वर्षमा ५३ प्रतिशत मात्र काम भएको छ । तोकिएको समयमा काम नसकिएपछि दोस्रोपटक २०८१ साउन ८ सम्मका लागि म्याद थपिएको थियो । यस अवधिमा पनि काम पूरा नभएपछि गत साउनमा तेस्रो पटक २०८२ साउन ८ सम्मका लागि म्याद थप गरिएको छ ।

लुम्बिनी प्रदेशमा ३ वर्षमा १५०८ जनाको मृत्यु
लुम्बिनी प्रदेशमा ३ वर्षमा दुर्घटनामा परी १ हजार ५०८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । आर्थिक वर्ष २०७८/०७९ मा १ हजार १६४ वटा सडक दुर्घटना भएकोमा ५५१ जनाको मृत्यु भएको थियो । १ हजार १२३ जना गम्भीर घाइते भएका थिए भने ५९७ जना सामान्य घाइते भएका थिए । आर्थिक वर्ष २०७९/०८० मा ८९२ वटा सडक दुर्घटना भएकोमा ४६२ जनाको मृत्यु भएको थियो । ७९९ जना गम्भीर घाइते भएका थिए भने ४७७ जना सामान्य घाइते भएका थिए । आर्थिक वर्ष २०८०/०८१ मा १ हजार १२० वटा सडक दुर्घटना भएकोमा ४९५ जनाको मृत्यु भएको थियो । १ हजार १७ जना गम्भीर घाइते भएका थिए भने ६७७ जना सामान्य घाइते भएका थिए ।