सुरुङ बाहेकको खण्डमा स्लोप स्टेबलाइजेशन र रक ब्यारिएर

मेचीकाली संवाददाता

२६ असार २०८२, बिहीबार
270 shares

अमृत गिरी

बुटवल । बुटवल–तानसेन सडक खण्ड, विशेषतः सिद्धबाबा क्षेत्र, विगतदेखि नै ‘मृत्यु मार्ग’को नामले चिनिँदै आएको छ । हालै पाल्पा रामपुरका जनक भण्डारीको पहिरोमा परेर मृत्यु र उनकी पत्नी कल्पना गम्भीर घाइते भएको घटनाले फेरि यस क्षेत्रको जोखिमपूर्ण अवस्थालाई उजागर गरिदिएको छ । बुटवलबाट मोटरसाइकलमा घर फर्किँदै गर्दा तिनाउ किनारमै पहिरोले भण्डारीलाई बगाएपछि सामाजिक सञ्जाल र स्थानीयस्तरमा व्यापक चिन्ता व्यक्त भएको छ । सुरुङ निर्माण भएपछि त मृत्यु मार्ग फेरिएला भन्ने आश गरिरहेका बेला सुरुङकै मुखनिर भएको दर्दनाक दुर्घटनाले झस्काएको छ । तर, यो अवस्थालाई सुधार्ने उपाय सुरुङ मार्गको प्याकेजमै समावेश गरिएको छ ।

प्याकेजअन्तर्गत चिडियाखोला–सिद्धबाबा मन्दिर र सुरुङको उत्तरी मोहोडादेखि दोभानसम्मको सडकमा समेत आधुनिक प्रविधिबाट जोखिम न्यूनीकरणको काम अघि बढाएको छ ।
यहाँ स्लोप स्टेबलाइजेशन र रक ब्यारिएर विधि प्रयोग गरिनेछ, जसअनुसार पहिरो सम्भावित क्षेत्रमा ढुंगाहरू हटाइने र बलियो तारजाली बिछ्याइनेछ । यो तारजाली ५ हजार किलोसम्मका ढुंगालाई थाम्न सक्षम हुनेछ भने ठूला ढुंगाको गति पनि कम गरिनेछ । सिद्धबाबा सुरुङ मार्ग आयोजना कार्यालयका प्रमुख इन्जिनियर कृष्णराज अधिकारीका अनुसार वर्षा सकिएलगत्तै चिडियाखोला–सिद्धबाबा मन्दिर र दोभान खण्डमा यो प्रविधिको प्रयोग थालिने छ र २०८३ सालभित्र काम सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।
सिद्धबाबा खण्डमा सुरुङबाहेकको सडकमा स्लोप स्टेबलाइजेशन र रक ब्यारिएर विधि अपनाएर जोखिम न्यूनीकरण गर्ने विधि अपनाइने छ जुन विश्वका धेरै मुलुकमा सफल मानिएको छ ।

चिडियाखोला–दोभान खण्डमा सुरुङसँगै अर्को विधि
सुरुङका अतिरिक्त चिडियाखोला–सिद्धबाबा मन्दिर, सुरुङको उत्तरी मोहोडा–दोभानमा नयाँ विधिमा सडक सुरक्षित बनाउने तयारी छ । चिडियाखोलादेखि सिद्धबाबा मन्दिर सम्मको सडकलाई दुई लेनमा विस्तार गर्ने र त्यहाँसम्मको सडकमा ३० मिटर माथिसम्मको भागमा स्लोप स्टेबलाइजेशन र रक ब्यारिएर गरिने भएको छ ।
त्यस्तै सुरुङ सकिएको उत्तरी मोहाडादेखि दोभानसम्मको सडकलाई पनि विस्तार गरेर माथिको भागमा स्लोप स्टेबलाइजेशन र रक ब्यारिएर गराइने छ । ‘१३०० मिटरको सुरुङले मात्रै यो खण्डको जोखिम कम गर्दैन भन्ने थाहै छ, त्यसैले यता र उतातिरका दुवै खण्डमा सडक विस्तार गरेर जोखिम न्यूनीकरण गर्ने विधि अपनाइने छ,’सिद्धबाबा सुरुङ मार्ग आयोजना कार्यालयका प्रमुख इन्जिनियर अधिकारीको भनाइ छ ।

प्राविधिका हिसाबले चुनौतीपूर्ण मानिएको सिद्धबाबा सुरुङ्गमार्गले टनेलमार्गमा नयाँ खुड्किलो पार गरेको छ । भेदन र मुख्य भागमा इन्भर्टको समेत काम पूरा भैइसकेको यस टनेलमार्ग सँगै दुवै मोहाडाका सडक खण्डको पनि जोखिम न्यूनीकरणको काम विसं.२०८३ भित्र सम्पन्न गर्ने तयारी छ । सोही टाइमलाइनमा रहेर धमाधम काम भइरहेको र मनसुन सकिएलगत्तै दुवै मोहोडाका सडकमा स्लोप स्टेबलाइजेशन र रक ब्यारिएरका काम हुने आयोजनाका प्रमुख इन्जिनियर अधिकारीको भनाइ छ ।

के हो स्लोप स्टेबलाइजेशन र रक ब्यारिएर विधि ?
‘स्लोप स्टेबलाइजेशन र रक ब्यारिएर’ विश्वका यस्ता जोखिमयुक्त सडकमा प्रयोग गरिने विधि हो । सडकको कुनाबाट केही मिटर माथिसम्म झुण्डिएर खस्ने अवस्थामा रहेका ढुंगालाई हटाइनेछ । त्यसपछि मात्रै त्यहाँ रहेका अरु ढुंगामा नटबोल्टहरुले कँसेर बलियो तारजाली बिछ्याइने छ । त्यो तार जालीले तीव्र गतिमा खस्न सक्ने जोखिमका ढुंगालाई उतै रोक्ने छ, रोक्न नसक्ने ढुंगाको गतिलाई माथि कै कम गर्नेछ । ‘५ हजार किलोसम्मका ढुंगाहरु भने तारजालीमै रोकिने छन् । त्योभन्दा माथिका बडेमानका ढुंगालाई पनि तारजालीले गति कम गर्नेछ र क्षति न्यूनीकरण गराउनेछ,’ इन्जिनियर अधिकारीको भनाइ छ । माथिसम्मको भागमा नटबोल्टले बलियोगरी कँसेका तारजाली र त्यसमाथि स्लोपको ढलान गरेर ढुंगा झर्न रोक्ने विधिबाट यो खण्डको जोखिम कम गर्न लागिएको सुरुङ मार्ग आयोजना कार्यालयले जनाएको छ । यी दुवै खण्डको सुरक्षाको काम पनि सोही आयोजनाअन्तर्गतको प्याकेज हो ।

प्रधानमन्त्री केपी ओलीबाटै ब्रेक थ्रू भएको र अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अर्को ड्रिम प्रोजेक्टमध्येको सिद्धबाबा सुरुङमार्ग ११२६ मिटर लम्बाइको छ । यो तराई–पहाडको लाइफलाइन सडकको प्रवेश बिन्दु हो । विसं. २०७८ चैत ९ गते ७.४ अर्बमा ठेक्का सम्झौता भएको हो । यहाँ १५०, १६१ र १३० मिटर लम्बाइका बाइपास सुरुङ पनि निर्माण पूरा भएका छन् । २०८३ चैत ८ गते निर्माणकार्य पूरा हुने लक्ष्यमा काम भइरहेको छ । सुरुङ भएको भागमा पनि बाहिरपट्टि रकसेट गरिने छ ।