हरेक नागरिकमा जिम्मेवारीबोध हुनुपर्छ

मेचीकाली संवाददाता

१० मंसिर २०८२, मंगलवार
11 shares

हामीकहाँ अधिकार खोज्ने, आफ्नो हकका बारेमा जान्ने काम ज्यादा हुन्छ । तर, आफ्नो नागरिकको कर्तव्यबोधका बारेमा जवाफदेहीताका बारेमा भने कहिल्यै हेक्का राख्दैनौं । लोकतन्त्रमा आफूले अधिकार खोज्दा आफ्नो कर्तव्यको पनि पालना गर्नुपर्छ भनेर बुझ्न सकेका छैनौं । अहिले त अझ भदौ २३, २४ गतेपछिको अवस्था त झनै छाडा र उदण्ड बनिरहेको छ । यस्तो प्रवृत्तिले कहिल्यै कसैको पनि हित गर्दैन ।

आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा निर्वाचन हुँदैछ । यद्यपि चुनावको वातावरण भने बनिसकेको छैन । यसबिचमा झन्डै साढे ८ लाख नयाँ मतदाता थपिनु लोकतान्त्रिक अभ्यासप्रति नागरिकको विश्वास र लोकतन्त्रको निरन्तरताप्रतिको आकाङ्क्षाको स्पष्ट संकेत हो । निर्वाचन आयोगका अनुसार यसपालि ८ लाख ३७ हजार ९४ जनाले पहिलोपटक नाम दर्ता गराएका छन्, जसमा उल्लेख्य हिस्सा युवा पुस्ताको छ । अनलाइन प्रणाली सुदृढ भएपछि राष्ट्रिय परिचयपत्रमार्फत नाम दर्ता गर्नेको संख्या झनै बढ्नुले सहजरूपमा प्रविधिमैत्री निर्वाचन प्रणालीतर्फको देशको यात्रालाई पनि अघि बढाएको छ ।

यो संख्या केवल तथ्यांक मात्र होइन, नयाँ पुस्ताको राजनीतिक सहभागिता र राष्ट्रप्रति जिम्मेवारीबोधको सुन्दर अभिव्यक्ति हो । त्यसैले मताधिकार प्रयोग गर्दा कुनै प्रभाव, उग्रता वा भावनात्मक उत्तेजनामा नभई गम्भीर मूल्यांकनका आधारमा निर्णय लिनु अत्यन्तै महत्वपूर्ण छ । उम्मेदवारले गरेका काम, प्रतिबद्धता, क्षमता, सदाचार, सुशासनप्रतिको प्रतिवद्धता, राष्ट्रिय हितप्रतिको जिम्मेवारी–यी मापदण्डहरूलाई प्राथमिकता दिन सके लोकतन्त्र बलियो बन्दै जान्छ ।

हालका दिनमा ‘नयाँ’ नाममा उग्रता फैलाउने, असहिष्णुता बढाउने, सामाजिक सद्भाव खल्बल्याउने र कानुनविद्रोही गतिविधिलाई बढाउने प्रवृत्ति चुनौतीका रूपमा देखा परेका छन् । कुनै पनि सभ्य समाजले यस्तो अव्यवस्था स्वीकार गर्न सक्दैन । शान्तिपूर्ण सभा–सम्मेलन नागरिकको मौलिक अधिकार हो । त्यसमा हस्तक्षेप गर्नु वा हिंसात्मक आचरणलाई प्रोत्साहन गर्नु लोकतान्त्रिक मूल्यहरूको अपमान हो । राज्यका निकायले यस्ता अपराधमाथि कडाइपूर्वक कारबाही गर्नुपर्छ भने नागरिकले पनि यस्ता प्रवृत्तिबाट सावधान रहन आवश्यक छ ।

देशले आज राजनीतिक स्थायित्व, सुशासन, शान्ति, समृद्धि र भ्रष्टाचारमुक्त प्रशासन खोजिरहेको छ । यी लक्ष्य प्राप्तिको आधार हो–जिम्मेवार मतदाता । विशेषतः नयाँ भइसकेका लाखौँ मतदाताले ठन्डा दिमागले, राष्ट्रहितलाई प्राथमिकता दिँदै मताधिकार प्रयोग गरे मुलुकले अपेक्षित निकास पाउन सक्छ । नयाँ मतदाता केवल ‘संख्या’ होइनन्, उनीहरू भविष्यका वहनकर्ता हुन् । उनीहरूको सूचित र विवेकपूर्ण मतले असल नेतृत्व चुन्न, लोकतान्त्रिक संस्थाहरू सुदृढ बनाउन र समुन्नत नेपाल निर्माण गर्न निर्णायक भूमिका खेल्नेछ ।