डिल्लीराज आचार्य
चुनावमा मत हाल्ने नेपाली नागरिकहरुले हो र जहिलेभएपनि चुनावका मुख्य सरोकार भनेका राजनीतिक दलहरु हुन । राजनीतिक दलहरु यतिवेला जेनजीहरुको प्रहारका अतिरिक्त आ–आफैका बीचमा भएका हानाहान, तानातान र मै मेहमान समेतका कारणले यतिवेला चकनाचुर भएका छन । फरक र खास बिचारशून्यतामा छन । टाउकाको गन्तितिर लागिरहेका छन । आम मतदाताहरु दलहरुको चकनाचुरपनलाई रमिता हेरिरहेका छन ।
चुनाव एकप्रकारको महायज्ञ हो, जँहा बिचार रुपी मतको फूल मतदाताहरुबाट चढाउने गरिन्छ । मत प्राप्तिका आधारहरुमा दलको नीति, कार्यक्रम र कार्यशैलीले मतदाताहरुको मन जित्नुलाई लिइन्छ । दलहरुको ध्यान त्यतातिर जान सकेको छैन । त्यतातिर ध्यान जाने वातावरण नै छैन । दलहरु आन्तरिक रुपमा र दल दलका बिचमा विभाजन र एकताको काटमारमा छन । काटमार भन्नुको अर्थ बिचार, नीति र कार्यक्रमका आधारमा एकअर्कासंग फरक देखिने हैसियत निर्माण भन्दा देखेस र पख्लासको शैलीमा एकले अर्कोलाई गाली गर्ने र आ–आफ्नै झोली भर्ने यात्रामा छन ।
घाट जानेबेलामा पनि कुर्सी चाहिने मनको लड्डू घिउसित खाने फूर्ति प्रायः सबै ठुला नेताहरुमा देखिएको छ । प्रायः सबै दलका टाउका ठुला ठुला,पेट साना र हातखुट्टाहरुमा सुकेनास लागे सरह हुदै गएका छन । एकछिन हेरौँ दलहरुको हालको अवस्थालाई ।
नेपाली काँग्रेस चुनाव अगाडि महाधिवेशन कि विशेष महाधिवेशनलाई बिबादको बिषय बनाई भित्री रुपम समूहगत लपेटालपेटमा छ । शेरबहादुर देउवा फर्कनै नसक्ने गरी श्रीमती आरजू सहित सिँगापर तिरै थला परेका छन । दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गरेर सँगठनमा पुनर्ताजगीपनका साथ चुनावमा जानुपर्ने बेलामा भित्री रडाकोमा छ काँग्रस । रडाकोकै बीचमा पनि नेपाली काँग्रेसमा विभाजन त आउदैन तर आठभाइहरुको जिद्दीको परिणाम राम्रो हुने लक्षण देखिदैन । आपसमा नोकझोँक र भुडीँ कोराकोरले चुनाव उसकालागि जलेर झन सक्किने महायज्ञ र चारतारे झण्डा गुणात्मकता र मात्रात्मकतामा धेरै हदसम्म चरुहोम बन्ने करिब करिब निश्चित छ ।
भाद्र २४ गते कारागारबाट निस्केर प्रधानमन्त्री नै बन्ने सपना देखेका रबि र रबिमार्का राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुमानाहरु बाहिरिएपछि रेट्रोफिट गर्नुपर्छ भन्दै डा.बाबुराम भट्टराई नजिकिन खोजिरहेका छन । डा. बाबुराम भट्टराईलाई ‘’जहा पुगे भट्टराई, त्यहा विभाजनको टाउको समाइ’’ का रुपमा स्मरणगर्नु पर्ने हुन्छ । रबिको जेलतोड अभियानपछि रास्वपाको क्रेजमा अभूतपूर्व ब्रेक लागेको छ । रबि क्रेज लाई जीवन्त राख्न सक्ने तागत सहित उही अवस्थामा रास्वपा रहिरहला भन्न धेरै बिचार गर्नुपर्ने अवस्था छ ।
‘’भ्रष्ट दलहरुलाई निर्बाचनबाटै पराजित गर्न नयाँ र वैकल्पिक शक्ति एकजुट हुनुपर्छ”’ भन्दै डा बाबुराम भट्टराइले रास्वपा, साझा सहितका केही दलहरु र विभिन्न दलबाट उछिट्टिएकाहरुलाई भेला गराएर बहस आरम्भ गरेको यात्रा जनार्दन शर्माहरुको समुहसँग एकिकृत हुदै लोकतान्त्रिक प्रगतिशिल पार्टी बन्न पुगेको छ ।
उता कम्युनिष्ट पार्टी नेपाल स्थापना गर्न पुगेका बिप्लव सी, बाट चिरन सी र कर्णजित बुढाथोकीहरु अलगिए । जनमत पार्टीबाट जनस्वराज पार्टी बनेर दीपक साह र सतिशकुमार झाहरु बाहिरिय । नागरिक उन्मुक्ति पार्टी श्रीमान रेशम चौधरी र श्रीमती रँजिताको आपसी सम्बन्धबाटै पनि मुक्तिको विन्दूमा पुगिसक्यो । राप्रपाहरु कुन खाटी राजाबादी बनेर राजाको खान्की थाप्ने र भित्रभित्रै भएपनि वान्की नाप्ने विन्दूभन्दा माथि उठन सकेका छैनन ।
मधेशबादीहरु कहाँको मधेश र कुन मधेश ? भन्ने छिन्नभिन्न अवस्थामा पुगेका छन । सिके राउत,के पी शर्मा ओलीले पहिले दिएको सजाय मिनाहा सरहको अवसरलाई बिर्सेर, फेरि मधेश बिखण्डनको नारा लिएर सडककमा उत्रने धम्की दिइरहेका छन । नया दलहरुमा श्रमशक्तिका हर्क, वरपरको भिड देखेर मात्र हर्षित हुनु वा कुलमान घिसिङगले उज्यालो नेपालको नारा लिएर चिम देखाउदै हिड्नुकोपनि खासै अर्थ छैन । मुलुकी जनाधारको अभाव र संगठनिक संरचनाकै अभावले अध्याँरोमा पिलपिल गरेर उदाय पनि, धीपधीप गरेर सकिने छन ।
२०४२ सालको सेक्टर काण्डबाट नेतृत्वमा उदायका छविलाल दहाल (प्रचण्ड) एकता केन्द्र, माओवादी,एकिकृत माओवादी, माओवादी केन्द्र, नेकपा हुदै फेरि माओवादी बनेर, ३७ वर्षमा छ पटक विभाजन र नेतृत्वमा निरन्तरताको मनखुसमा पुगेका छन नेकपा माओवादी केन्द्रका अध्यक्ष । नेकपा माओवादी केन्द्र सहितका नेकपा (माओवादी) चिरन सि, नेकपा समाजवादी (राजु कार्की), जन समाजवादी (सुभाषचन्द्र काफ्ले), नेपाल समाजवादी पार्टी (महिन्द्रराय यादब), नेकपा माओवादी समाजवादी (कर्णजित बुढाथोकी), नेकपा साम्यवादी (प्रेमबहादुर सिँह), र नेकपा एकिकृत समाजवादी (माधवकुमार नेपाल), र देशभक्त समाजवादी,समेतका दशदलहरुको मिलनबाट आफै दङ्ग परेका थिए । यस्तैमा डा भीम रावल समूह थपिएपछि मुसुमुसु हाँसिरहेका छन ।
प्रचण्ड ‘नेपाली कम्युनिष्ट पार्टी’ नाउबाट ‘पाँचकुने तारा’ टाउकोमा बान्दै ठूलटाउकेको महाठुलटाउके अर्थात माउ बन्ने ध्याउन्नमा छन । माओवादी बिचारधारा र गोलाकार आकृतिभित्रको हसियाँ चुनाव चिन्हसँगै जनयुद्दताकाका कैयौँ बीरबीराँगनाहरु पनि त्यागेर झुण्ड बस्तीहरुको एकिकृत वस्तीमा नाइके हुनेतिर प्रचण्ड गइरहेको आभास भइरहेको छ । उमेरका हिसाबले ६६ वर्षका नारायणकाजी श्रेष्ठदेखि ७८ वर्षका बामदेव गौतमहरु जुटेका छन । बामदेव गौतम त अब एककरोड मतदाता बनाइन्छ भन्ने हुँकारसहित उठेका छन ।
एउटा दाबमा दुई खुकुरी रहनै नसक्ने अवस्थामा रहेको नेकपा समाजवादीमा झलनाथ र माधव नेपाल विभाजन भइसक्यो । ओली बा (कतिपयको जिब्रोमा रहेको शब्द !) को घोषणा अनुसार झलनाथ, रामकुमारी र घनश्याम रुपी ओदानका लागि एमालेमा प्रवेश निषेध भएको भनिएकाले झलनाथ र घनश्यामहरु आ–आफंनै सुरमा लागेको पनि बताइन्छ । उता झाँक्री बिचरी फेरि ओली बा भन्दै लम्पसार पर्न पुगिन । पहिले माधवकुमार नेपालको हात समाउदै रमाएर ओलीलाई सत्तो सराप्ने झाँक्रि यतिवेला ओलीकै शरणमा पुगेर माधवकुमार नेपालको नाउसम्म लिन पनि लाज मानिरहेकी छिन !
एकताका ‘सैपनि एमालेः मै पनि एमाले’ भन्ने श्वैरकल्पनामा डुबेको नेकपा एमाले, बा मालेमा परिणत हुने हो कि भन्ने डर अझै छ । ढोका नै नखोली अँशभाग लिएर गएकाहरुलाई आउ आउ भनिरहेका छन । झ्यालबाट भित्र पसेपनि बस्ने ठाउको निश्चित नभएपछि बरु सडकतिर हल्लिएलान कसरी आउलान र हेला गरेपछि बाहिरिएकाहरु ? अर्कोतिर एमाले भनेको ओली र ओली भनेको एमालेकै शैलीमा उनि गइरहेका छन ।
भलै गैरकुटनीतिक मनग्गे पहलको अभावका बिचमा एकप्रकारले जबरजस्ती नै किन नहोस, संसदमा भएका सबै दलहरुलाई चुँ सम्म बोल्न नदिएर, करयाक कुरुक पार्दै भएपनि, मिति २०७७।०३।०४ गते चुच्चे नक्शा बनाई छाडेका हुन के पी ओलीले । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सवैभन्दा ठूलो गुण वा पहिचान भनेकै यही राष्ट्रवादीता हो । त्यो बाहेक सँगठन, पद्दति, आन्तरिक जनवाद, जनवादी केन्द्रीयता सबैसबै खलास पारिसके त्यँहा पनि । खाइरहेको ओषतिको साइड इफेक्ट हो कि के हो ? एकातिर उनमा बरबराउने बानी बढेको छ भने अर्कोतिर नेपाली सिजि पिङग हुने भूत चढेको छ । तर स्टालिनपन्थ छोड्न सकेका छैनन ।
राष्ट्रवाद देशभक्तहरु सबैकालागि नभइ नहुने सन्जीवनी टालो हो भन्नेमा बिमति कसैको छैन होला सायदः । तर कतिदिन यसरी मात्रै हल्लाउने हो त्यो टालो र कतिदिन आउने हो त्यसबाट सुगन्ध ? गंभिरतापूर्वक बिचार गर्नुपर्ने हो एमालेजन र एमाले मनहरुसहित समग्र राष्ट्रवादी नेपालीहरुले । कुटनैतिक दक्षताका साथ व्यवहारिक राष्ट्रवादको खोजी गर्नुपर्ने हो । त्यतातिरको छनको अभाव हिजोपनि थियो र आजपनि देखिन्छ ।
वस्तुतः राजनीतिक दलहरुभित्र भइरहेको एकप्रकारले हृदय बिदारक टुटफुटको चकनाचुर अवस्थाबाट नेकपा एमाले पनि अछुतो रहने अवस्था देखिदैन । ‘’सैपनि एमाले मैपनि एमाले’’ भन्दै भित्रिनेहरु भन्दा बाहिरिनेहरु गुणात्मकतामा बढी हुने हो कि ? भन्नेतर्फ चिन्ता लिएनन भने गुण्डु वरपर रहेर मात्र रमाउनु पर्ने हुन्छ । अर्लि महाधिवेशनबाट नीति, पद्दति, संस्कार तथा कार्यशैलीमा आमूल परिवर्तनका साथ नेकपा एमाले संगठन निर्माणमा जुटयो भने केही कसो ! नत्र ‘’सैपनि एमाले मैपनि एमाले’’रुपी श्वैर कल्पनामा रमाउने मात्रै हो हुनेछ । खास गरी अन्तर पार्टी जनवादको अभाव र बिचार तथा संगठन दुबैमा पुस्तान्तरको युगिन मागको समुचित ब्यवस्थापनको अभाव एमाले ( विशेषतः केपी शर्मा ओलीका) का लागि घाँटीको हड्डी हुने डर छ ।
दर्ता भएका र दर्ता हुदै गरेका समेत गरेर निर्बाचन आयोगमा पुगेका दलहरुको नाउँ नेपाली भूमिमा रहेका जातीजनजाति सरह भाँतीभाँतीका छन । ऐलेसम्म करिब डेढ दर्जनको नाउ अगाडि ने क पा नै रहेको छ । निर्बाचन आयोगमा दर्ता भएका मध्ये करिब ८० प्रतिशत चुनावमा नजाने र च्याँखे थाप्ने दर्शकीय दीर्घामा हुनेछन भन्ने बुझ्नु अतिसयोक्ति नहोला ।
औसत नेपाली नागरिकहरुको चाहना र कामना भनेको (१) देश बचोस (२) खान लाउन पुगोस (३) समाजमा शान्ति होस (४) बालबच्चाहरुको पठन पाठन राम्ररी होस (५) सहज स्वास्थ उपचारको वातावरण बनोस (६) कृषिवालीका लागि सरकारी स्तरबाट प्रभावकारी सहयोग होस ७) स्वदेशमा गरिखान नपाएर प्रदेशी माटोमा मरेका सन्तानहरुको लाश कफनभित्र देख्न नपरोस (८) न्यूनतम खाना, नाना र छानाको आर्जनका लागि श्रमजीवी अवसर होस र (९) समानुपातिक तबरले बिकास निर्माणको कार्य क्रमशैः सही तर समानुपातिक रुपले होस, भन्ने नै हो ।
दल बिना लोकतन्त्र फुल्न फल्न नसक्ने । भइरहेका दलहरुमध्यै यसैबाट लोकतन्त्र फुल्छ, फल्छ र नेपाली मनहरु रमाउछन भन्ने आश गर्ने सँकेत नदेखिने ! यही पीरलो भएको छ सधैभरि ।
दलहरु कमजोर हुनु भनेको लोकतान्त्रिक गणतन्त्र कमजोर हुनु हो र लोकतान्त्रिक गणतन्त्र कमजोर हुनु भनेको अधिनायकवादको उदय हुनु हो । लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र भन्ने रट्याँई राजनीतिक रटयाइँ जारी छ । ऐले सम्म समुन्नत लोकतन्त्रको फल चाख्न के देख्न पनि पाएका छैनन नेपालीहरुले । लोकतन्त्र असफल भए, अधिनायकवाद, निश्चित छ । कुन मोडेलको र कहिले ? भन्ने मात्र हो ।
जो सुकै आउन र मुलुकी शासन सत्ताको बागडोर जो जसले समाउन, औसत नेपालीमनहरुको त्यसमा खासै चिन्ता छैन । चिन्ता भनेको माथि उल्लिखित नौ चाहनाहरुको संवोधनको शुभ समयको मात्र । संवोधनको शुभ समय भनेको चुनाव नै हो तर बिडम्बना ऐलेसम्म सबै दलहरुको अवस्था हेर्दा चुनावमा प्रायःसबै आफ्नो हैसियत बढाउने भन्दा पनि घटाउने दिशातिर गइरहेका छन् । अर्थात चुनाव जहिलेभएपनि चुनावी महायज्ञको अग्निहोममा आ–आफ्ना खराबीहरुलाई जलाएर स्फटिक बन्ने भन्दा पनि धेरै दलहरु अग्नीहोममा चरु बनेर सिद्दिनेतर्फ गइरहेका छन् ।
चुनावी महायज्ञको होममा जँचिएर खाँटी बन्दै निस्कनेहरु कति हुने हुन र सिद्दिनका लागि चरु बन्नेहरु कति हुन्छन ? समयले बताउला । दल दर्ता भएका करिब १२५ मा चुनावमा होमिनेको सँख्या चालिस जति होला । त्यसमा पनि सिद्दिने गरी चरु हुनेहरुको सँख्या २५ भन्दा कम हुने छैन भनेर ऐले नै अनुमान गर्न सकिन्छ । यहि नीति र यही चुनावी थितिमा चुनाव भएमा ऐलेको भन्दा झनै त्रिसँखु संसद हुने छ संसद । अनि मुलुकी समस्या जहाँको त्यहीँ । सरकारी करिब सात अर्ब र गैरसरकारी तीन अर्ब अर्थात सबै गरेर करिब १० अर्ब चुनावी स्वाहायनमः । न कसैको बहुमत । न संविधान संशोधन हुनेमा एकमत । घुमिफिरी रुम्जाटार । (यी लेखकका निजी विचार हुन् ।) (ऐरावती–१ धनबोट, प्यूठान ।)
