शिक्षाप्रद पौराणिक कथा र पात्रहरू

मेचीकाली संवाददाता

२५ मंसिर २०८२, बुधबार
103 shares

घनश्याम कोइराला

मुख्य विषय जीवन हो । व्यवस्थित जीवन नै सुखी जीवन हो । सुख भौतिक र मानसिक दुवै हुन्छ । जीवनको अस्तित्व जगत्मा छ । त्यसैले मानिसले जीवन र जगत सँगसँगै बुझ्नुपर्दछ । जीवनका तात्कालिक कुरा मानिसले भोग्दै बुझ्दै जान सक्दछ । तर इतिहास र पूर्वइतिहासका कुरा बुझ्न इतिहास पढ्नु र कथा सुन्नुको विकल्प छैन । यद्यपि, हिजोआज यस्ता विषयलाई लिएर चलचित्र, टेलीशृङ्खला पनि बनेका छन् ।

हाम्रो समाजमा कथा भन्ने सुन्ने प्रचलन अज्ञात कालदेखि चल्दैआएको छ । साँझमा हजुरआमाहजुरबा, आमाबाले भन्ने कथा होस् वा स्वस्थानी, सत्यनाराणको कथा होस्, कथा सुनिन्छ, सुनाइन्छ । यसका साथै पुराणकथा सुन्ने ज्ञान महायज्ञ पनि आयोजना भएको देखिन्छ । ज्ञान महायज्ञमा भनिने कथा पुराणका कथा हुन् ।

पुराण अट्ठारवटा छन् । यी अट्ठारवटै पुराणका रचनाकार महर्षि व्यास हुन् भनिन्छ । ती पुराणका नाम यस प्रकार छन्ः १. ब्रह्मपुराण २. पद्मपुराण ३. विष्णुपुराण, ४. शिवपुराण ५. भागवत (महा) पुराण ६.नारदपुराण, ७. मार्कण्डेयपुराण ८. अग्निपुराण ९. भविष्यपुराण १०. ब्रह्मवैवर्तकपुराण ११. लिङ्गपुराण १२. वराहपुराण १३. स्कन्धपुराण १४. वामनपुराण १५. कूर्मपुराण १६. मत्स्यपुराण १७. गरूडपुराण १८. ब्रह्माण्डपुराण ।

यी पुराणहरूमा धेरै कथाहरू हुन्छन् । यी कथाहरूमा देवी, देवता, राजा, महाराजा, ईश्वर तथा ईश्वरीय शक्ति, ईश्वरप्रतिको भक्तिका विषय समेटिएका हुन्छन् । राजा, महाराजाका विषयमा त इतिहास पनि लेखिएका छन् । तर, यी पुराणहरूमा ईश्वर, भगवान, देवी, देवता, भक्ति, धर्म, स्वर्ग, पाप, नर्क आदिका विषयमा वर्णन गरिएको हुन्छ । यिनै वर्णनलाई पुराणका कथा, पुराणका ज्ञानकथा, भक्तिकथा भनिन्छ । पुराणहरूमा धेरै कथा हुन्छन् । यी कथाहरूबाट जीवनोपयोगी शिक्षा लिन सकिन्छ ।
मानवसमाज विकासको खास कालखण्डमा लेखिएका विषय हुनाले यी कथाहरूका सबै विषयवस्तु वर्तमान जीवनमा जस्ताको तस्तै मिलेको या मिलाउन खोजियो भने गल्ती हुनेछ । यो विषय पुराण भएर मात्र होइन, नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको रचना मुनामदन पनि जस्ताको तस्तै लागू हुन सक्दैन । यही कुरा पुराणका सन्दर्भमा पनि हुन सक्दछ । आस्था तथा मान्यताका कारणले आमकथा र पौराणिक कथाका बिचमा फरक हुनु स्वाभाविक हो । आस्था तथा मान्यताका कारणले मात्र होइन, अन्य अनेकौँ कारणहरूले पुराण कथाहरूको विशिष्ट महत्व रहेको छ ।

यी पौराणिक कथाहरूले जीवको उत्पत्ति र मानवसमाज विकासको दार्शनिक अवधारणा समेत बोकेका छन् । विष्णुका १० र २४ अवतारहरूको वर्णनमा ध्यान दिँदा यी विषय फेला पार्न सकिन्छ । पानीको बहुलता, पानीबाट जीवको उत्पत्ति र क्रमिक विकास यी अवतारहरूका अध्ययनबाट थाहा पाउन सकिने विषय हुन् । यी विषय विज्ञानसम्मत देखिन्छन् । पुराणकथाका यी प्रसङ्ग दार्शनिक पक्ष हुन् ।

यी कथाहरूमा वर्णित कथाका पात्रहरूको चरित्रभित्र वर्तमानलाई छुने अनेकौँ प्रतीकात्मक विषय छन् । सबै पुराणहरूमा ब्रह्मासँग सरस्वती, विष्णुसँग लक्ष्मी, महादेवसँग पार्वती हुनु र पार्वतीलाई दुर्गा, आदिशक्ति आदि भनिनुलाई यिनीहरूका भूमिकाका विषयमा गहिरिएर अध्ययन गर्दा मात्र बुझ्न सकिन्छ । सबै पौराणिक कथामा जस्तो कि ब्रह्मा सृष्टिकर्ता हुन् । विष्णु पालनकर्ता हुन् । महादेव या शिव संहारकर्ता हुन् भन्ने पाइन्छ ।

सृष्टि, पालन र संहारलाई आज कसरी हेर्न सकिएला ? यसको औचित्य के हुन सक्ला ? यस्ता प्रश्न धेरैका मनमा होलान् । कथा वाचकले आजको सन्दर्भमा यी कथाको मर्म बुझाउन बाँकी रहेको हुुन सक्दछ । ब्रह्मालाई ज्येष्ठ, श्रेष्ठ, पितामह पनि भनिएको छ । सरस्वतीलाई विद्याकी अधिष्ठात्री भनिएको छ । विष्णुलाई नारायण भनिएको छ, लक्ष्मीलाई धनकी देवी भनिएको छ । शिव भनेको कल्याण हो र शिवलाई रूद्रका रूपमा पनि देखाइएको छ । रूद्र भनेको संहारक शक्ति हो । पार्वतीलाई आदिशक्ति भनिएको छ । यी सबै विषयको अन्तर्वस्तु कथाका बाहिरी विषयले मात्र प्रकट गर्न सक्दैनन् । यिनीहरूलाई थप गम्भीरता साथ अध्ययन गर्न आवश्यक छ ।

कथामा पाइने खास विशेषता के हो भने कुनै पनि देवी, देवता, भगवान जिम्मेवारी विहीन देखिँदैनन् । सबैका लागि कुनै न कुनै प्रकारको काम तोकिएको र उनीहरूले ती काम गरेको देखाइएको छ । कुनै पनि देवी, देवता, भगवान केही नगरी उनीहरूबाट कुनै पकारको उपलब्धि भएको देखाइएको छैन । आआफ्ना जिम्मेवारी पूरा गर्न उनीहरू मानिसकै रूपमा देखिएका छन् र मानिसले जसरी नै काम गरेका छन् । समुद्र मन्थन गर्दा होस् वा युद्ध गर्दा, उनीहरू आफै भिडेको देखिन्छ । मानिसहरूले जसरी नै आफन्तहरूसँग व्यवहार गर्ने, अपेक्षा गर्ने, जीविकाका लागि शिकार आदि गर्ने, विवाह, सन्तानोत्पत्ती आदि कार्य मानिससरह नै गरेको देखिन्छ ।

‘लीला’ का रूपमा गर्ने चमत्कारिक कामहरू पनि उनीहरूले मानिस नै बनेर गरेका छन् । राम, कृष्ण, बलराम, परशुराम आदिका कथामा यस्तै विषय छन् । देवीदेवता भनौँ वा भगवान् उनीहरू मानिसभन्दा भिन्न देखिएका छैनन् ।
जहाँसम्म मत्स्य (माछो), कूर्म (कछुवा), वराह (बँदेल), नृसिंह (मानिसको शरीर र सिंहको टाउको भएको, आधा मानिस, आधा सिंह भएको, एउटै शरीरमा मानिस र सिंह भएको) आदि अवतारका कुरा छन्, यी जीवको उत्पत्तिको प्रारम्भको विषय हो भन्ने बुझिन्छ । निरपेक्ष ढङ्गले बुझ्न खोज्दा यी विषय पत्यार लाग्दा छैनन् ।

यस्ता विषय पौराणिक कथामा मात्र होइन, मानिसमा दार्शनिक अवधारणाहरूको विकासका क्रमको उल्लेख गरिएका अन्य पुस्तकहरूमा पनि पाइन्छ । अहिलेको विकसित अवस्थामा जन्मेका र बाँचिरहेका आँखाले हेर्दा पहिले भएकै विषय पनि कतिपय पत्यार नलाग्ने र कतिपय कमजोर लाग्ने थुप्रै विषय छन् ।

पूर्वीय पुराण कथामा जस्तै अन्यत्र पनि जीवन र जगतका विषयमा कथा कथिएको देखिन्छ । यस विषयमा एउटा यस्तो प्रसङ्ग पनि पढिन्छ, ‘अनांसी माकुरोले संसार भ्रमण ग¥यो र बुद्धिमत्ताका कणहरू जम्मा गरेर एउटा भाँडोमा राख्यो । भाँडो भरिएपछि अनांसीले त्यसलाई एउटा रूखमा लुकाउने तयारी ग¥यो । तर, त्यसैबेला ऊ आप्mनो छोरासँग रिसायो र उसले त्यस भाँडोलाई तल फ्याँकिदियो । भाँडो फुट्यो र बुद्धिमत्ताका कणहरू रूखमुनी चारैतिर छिरोलियो । जो मानिसहरू सचेष्ट र सावधान थिए, उनीहरूले ती कणहरू बटुले र जसले त्यस्तो गर्न सकेनन्, ती बुद्धिहीन नै रहिरहे ।’ (WHAT IS PHILOSHOPH, G. Kirilenko, L. Korshunova)

अफ्रिकी दन्त्यकथाको रूपमा प्रस्तुत गरिएको यो कथा विश्वास लाग्दो छ त ? छैन । यो त दन्त्यकथा हो, यो त्यस बेलाका मानिसहरूको सत्य थियो, जो काल्पनिक थियो । यो त एउटा उदाहरण मात्र हो । यस्ता अनेकौँ उदाहरणहरू छन् । यस्ता विषय पढेर नै दर्शनको विकसित अवस्थाबारे थाहा पाइने हो । आजका धेरै दार्शनिकहरूले यिनै पुराना कल्पना पढेर आपूmलाई विद्वान् बनाउन सकेका हुन् । तर, हाम्रा पौराणिक ग्रन्थहरू तीभन्दा सत्यका नजीक छन् । प्रतीकका रूपमा अथ्र्याउन सकिने स्तरका छन् ।

अधिकांशतः पौराणिक पात्रहरूका नाम पनि ठाउँ, पूर्वज र कामकै आधारमा रहेको देखिन्छ । यी विषय पनि मननीय लाग्दछन् । देश, काल, परिस्थितिको सापेक्षता विना कुनै विषय सार्थक देखिँदैनन् । सापेक्ष रूपमा बुझ्न सक्दा पौराणिक कथाका पात्र तथा तिनीहरूका चरित्रले हामीलाई काम लाग्ने शिक्षा दिइरहन सक्दछन् । कथा सुनौँ, इतिहास पढौँ वा सिनेमा हेरौँ, जीवनमा काम लाग्ने विषय रोजौँ । जीवनलाई हानिनोक्सानी गर्ने विषय सन्दर्भ सामग्रीका रूपमा अतीतको स्मृतिका रूपमा ग्रहण गरौँ । उहिलेलाई उहिलेका दृष्टिले र अहिलेलाई अहिलेकै दृष्टिले हेरौँ ।