मोटोपनबाट मुक्ति

मेचीकाली संवाददाता

३ आश्विन २०७८, आईतवार
518 shares

ओम बानियाँ
सामान्यतया शरीरको उचाइको अनुपातमा हुनु पर्ने औसत तौल भन्दा शारीरिक तौल बढी हुनु तथा पेट बढ्नु नै मोटोपन हो । शरीरमा मोटोपना छ छैन पत्ता लगाउनका लागि तौल र उचाइमा आधारित बडी मास इन्डेक्स (बीएमआई) नापको उपयोग गरिन्छ । यसले कुनै पनि व्यक्ति कम तौल को, सामान्य तौल को, बढी तौलको या अत्यधिक तौलको के छ त्यो सजिलै पत्ता लाग्दछ ।

शरीरको तौललाई उचाइ (सेन्टिमिटर) ले दुई पटक भाग गर्दा आउने अंक नै बडीमास इन्डेक्स (बीएमआई) हो । बीएमआई १८ देखि २५ सम्म हुनुलाई सामान्य मानिन्छ । तर, सूचक ४० भन्दा बढी हुनुलाई अत्यधिक मोटोपनका रूपमा लिइन्छ ।

त्यस्तैगरी कम्मरको घेरा अर्थात् पेटको गोलाइ महिलाको ८० सेन्टिमिटर (३१.५ इन्च) र पुरुषको ९० (३५.५इन्च) सेन्टिमिटरभन्दा थोरै हुनुलाई सामान्य मानिन्छ । त्यो भन्दा बढी भए मोटोपना मानिन्छ  । पेट लाग्यो भने कम्मर भन्दा माथिको भागमा मोटोपना देखिन्छ  । ३० वर्षभन्दा बढी उमेर भएका र व्यायाम नगर्ने निस्कृय जीवनशैली भएका व्यक्तिको शरीरको तौल र पेटको गोलाइ (नाइटोनिर) आवश्यकभन्दा बढी हुने गर्छ ।

मोटोपनका समस्या
मोटोपनले मानिसको शारीरिक सौन्दर्य घटाउँछ । तौल बढी भएका तथा पेट बढेका व्यक्तिहरु वास्तविक उमेरभन्दा धेरै बूढो देखिन्छन् । प्रमुख कुरा मेटोपनाले गर्दा अनेक खालका रोगहरू लाग्ने सम्भावना धेरै हुन्छ । जस्तैः मधुमेह, मुटुरोग, उच्च रक्तचाप, उच्च कोलेस्टेरोल, ह्दयाघात, स्ट्रोक, दम, कफ, स्वाँ स्वाँ र श्वासप्रश्वासमा समस्या, महिनावारी गडबडी, थाइरोडिज्म, मानसिक रोग आदिआदि ।

मोटोपनका कारण
मोटोपनको प्रमुख कारण अस्वस्थ जीवनशैली हो । वंशानुगत रुपमा पनि यो समस्या देखा पर्न सक्दछ । धेरैजसो मानिस मोटाउनुका पछाडिको कारण सामान्य छ, धेरै खानु र थोरै परिश्रम गर्नु । लामो समयसम्म डिप्रेशन आदि रोगहरुको औषधी सेवन गर्नुले पनि मोटापन बढाउने काम गर्छन् । हर्मोनका कारणले पनि मोटाइने केही घटना हुन सक्छन् । जस्तो कि थाइरोइड हर्मोनको कमीका कारण पनि मोटाउने सम्भावना हुन्छ ।

आमाले बच्चालाई आफ्नो स्तनपान नगराएर पाउडर दूध खुवाउँदा पनि बच्चाको तौल अस्वाभाविक बढ्ने सम्भावना हुन्छ । बच्चा छँदा अथवा किशोर छँदा बढी तौलको भएको खण्डमा वयस्क छँदा पनि बढी तौलको हुने सम्भावना हुन्छ । यदि गर्भावस्थामा आमाले अस्वस्थकर खानेकुरा खाने गरेको खण्डमा पनि बच्चा पछि गएर मोटो हुने सम्भावना हुन्छ । व्यायाम नगर्ने, फास्ट फुड, जंक फुड, अत्याधिक चिल्लो नूनिलो र गुलियो खाद्यपदार्थ सेवन गर्ने व्यक्तिहरूमा मोटोपना पाइएको छ । हाइपोथाइरोडिज्म भएका महिलाहरूमा पनि मोटोपना देखिन्छ । उनीहरू थोरै खाना खाए पनि मोटाइ हाल्छन् ।

शरीरमा पानी जमेर (वाटर रिटेन्सन) पनि तौल बढ्ने गर्छ । अत्याधिक तौलको थलथल शरीरका व्यक्तिहरुमा यो समस्या देखिने गर्छ । पानी मात्र खाए पनि शरीर लाग्ने कारण पनि यही हो । यदि यसरी शरीरको तौल बढेको छ भने तौल घटाउन निकै गाह्रो हुन्छ । यस्तो अवस्थामा तौल घटाउन सोडियमको सेवन कम गर्ने, बढी पानी पिउने । कार्बोहाइड्रेटको सेवन कम गर्ने, अल्कोहल बन्द गर्ने । पसिना निकाल्ने गरी व्यायाम गर्ने, कैनबैरी जुस पिउने तथा कुरिलो सेवन गर्ने ।

मोटोपनको उपचार
मोटोपना घटाउने विभिन्न तरीकाहरु छन् । अत्यधिक मोटाइबाट मुक्ति पाउनका लागि केही औषधी सेवन तथा शल्यक्रिया पनि महत्वपूर्ण विकल्प हुन सक्छन् । तर यी तरीकाहरु सधैं ठीक नै हुन्छन् भन्ने छैन । यी महँगा पनि छन् र सजिलै प्राप्त गर्न पनि सम्भव हुँदैन । तौल घटाउने हर्बल औषधीहरु पनि त्यति सुरक्षित मानिँदैनन् । वास्तवमा मोटापन घटाउन प्रयोगमा ल्याइने धेरैजसो तरिकाहरु सामान्य र संसारभर उपयोग गर्न सकिने खालका छन् । थोरै खानु, धेरै हिँड्नु । यी दुवै कुरा सँगसँगै गर्नु नै तौल घटाउने सर्वोत्तम उपाय हो ।

नियमित रुपमा गरिने शारीरिक परिश्रमले तौल घटाउन मद्दत गर्दछ । छिटछिटो हिँड्न, उफ्रनु, नाच्नु, बगैंचामा काम गर्नु या बसेका बेलामा सामान्य रुपले हातको व्यायाम गर्नुले पनि तौल घटाउने काममा सघाउँछन् । मुख्य कुरा भनेको खाएको कुराबाट प्राप्त क्यालोरीलाई परिश्रम गरेर खर्च गर्नु हो । त्यसपछि थप क्रियाकलाप गरियो भने त्यसले मोटोपना घटाउने काम गर्छ ।

दिउँसो हल्का खाजा खाने र बेलुकी कम खानुपर्छ । बेलुका टन्न खानेहरूलाई मोटोपनले सताउन सक्छ । दिनभरिमा तीन छाक खाने बीचबीचमा थोरै क्यालोरी भएका खानाहरू खान सकिन्छ । चिल्लोरहित भेजिटेबल सुप, जुस, मही लिनु लाभदायक हुन्छ । भोक लाग्दा कम क्यालोरी दिने खाद्य पदार्थहरू जस्तैः गाँजर, काँक्रो, कागतीको सर्बत खानु ठीक हुन्छ । बिहानको लन्चमा ओट्स, गहँु तथा मकैको च्याँख्लाको भात वा ब्राउन राइस खाने गर्नुपर्छ । मिठाइ, गुलियो जुस र तेल बढी मात्रा भएका परिकार सेवन गर्नु हुँदैन । बेलुकाको डिनर बेलुका ७ बजेभित्र खानु उपयुक्त हुन्छ । खाना खाएको कम्तीमा पनि तीन घण्टापछि मात्र सुत्नु उपयुक्त हुन्छ ।

एक दिनमा कम्तीमा पनि ५ पटक जति विभिन्न प्रकारका फलफूल र सागसब्जी खानुपर्दछ । धेरै लामो समयसम्म खाली पेट बस्नु हुँदैन । खाली पेटमा चिया खानु हुँदैन जसले गर्दा ग्यासट्राइटिस हुन्छ । प्रायःधेरै खानाहरुमा रेसादार वस्तु भएमा राम्रो हुन्छ जस्तैः गहुँ, कोदो, आलु, चामल) र साथमा फलफूल र सागसब्जी । मोटो मासुहरु, चिल्लो भएको दूध, चीज, झानेको वा तारेको खानाहरु सकेसम्म नखाने । कम चिल्लो भएका तेलहरु प्रयोग गर्ने । हप्तामा २–३ पटक माछा खाँदा राम्रो हुन्छ । माछाभित्र भएको चिल्लो लाभदायक हुन्छ । मासु खाँदा सकेसम्म सेतो मासु जस्तै कुखुराको मासु बढी प्रयोग गर्ने । खानामा बढी नूनको प्रयोग नगर्ने र नुनिला खानेकुरा सकेसम्म नखाने । खाना दिनको तीनपटक खाँदा उत्तम हुन्छ । खाना विस्तारै खानुपर्दछ ।

मोटो व्यक्तिले तौल सन्तुलनमा ल्याउन खाना जस्तै व्यायाममा पनि ध्यान दिनुपर्छ । बिहान सबेरै हिँड्ने वा हलुका व्यायाम गर्ने बानी बसाल्नुपर्छ । मोटोपना भएका व्यक्तिले एरोबिक व्यायाम गर्नु उपयुक्त हुन्छ । यस व्यायामअन्तर्गत हिँड्ने, दौडने, फुटबल, भलिबल, बास्केटबल, व्याडमिन्टन, पौडी, साइकल चलाउने र परेड खेल्ने लगायतका पर्छन् । व्यायाम गर्दा असल कोलेस्टेरोल (एचडीएल) बढाउँछ भने खराब कोलेस्टेरोल (एलडीएल तथा ट्रिग्लेसराइड) मा कमी ल्याउँछ । वजन घटाउन सहयोग गर्छ ।

मोटोपना कम हुन्छ । एक किलो वजन घटाउन सात हजार पाँच सय क्यालोरी ऊर्जा शरीर निकाल्नुपर्छ । यदि पसिना आउने गरी आधा घण्टा दौड्ने हो भने दुई सयदेखि तीन सय क्यालोरी ऊर्जा खर्च हुन्छ । नियमित व्यायाम गर्न सकेमा कमसेकम एक किलो वजन घटाउन सकिन्छ  । तर, खानाबाट ऊर्जा थप्दै जाने हो भने मोटोपना घटाउन व्यायाम गर्नुको औचित्य हुँदैन । खेलाडीहरूको वजन धेरै हुन्छ, तर उनीहरूको पेट भुक्क उक्सिएको भने हुँदैन । शरीरको बोसोभन्दा पनि मांशपेशीका कारण उनीहरूको वजन बढेको हुन्छ ।

वजन एकैचोटि ह्वात्तै नघटाई विस्तारै तौललाई नियन्त्रणमा ल्याउनुपर्छ । एकैचोटि वजन घटाउँदा अन्य दीर्घ रोगहरू लाग्ने सम्भावनाहरू हुन्छ । सातामा पाँच सय ग्राम अर्थात् एक महिनामा दुईदेखि चार केजी वजन घटाउन सकिन्छ । अतः जीवनशैली परिवर्तन गरेर तौल नियन्त्रणमा राख्नु सर्वोत्तम उपाय हो । त्यसैले मोटोपना हुन नदिने किसिमले शुरुमै स्वस्थ जीवनशैली अपनाउनु राम्रो हुन्छ ।

स्वस्थ जीवनशैली, सन्तुलित खाना, व्यायामसहित चिन्तामुक्त दिनचर्या बिताउने हो भने मोटोपनबाट मुक्ति पाइन्छ । तर यति गर्दा पनि कतिपय मानिसहरुको वजन घट्दैन । यसका दुई कारण हुन सक्छन्ः एक हो, वाटर वैट र अर्को माटोपनको मनोविज्ञान । अधिकांश मानिसको यस कारण वजन घट्दैन कि उनीहरु भित्रदेखि मोटोपना घटाउन चाहँदैनन्, मोटोपनामा नै मस्त रहन चाहन्छन् । त्यसैले यस्ता व्यक्तिहरुको तौल घटाउन मनोवैज्ञानिक उपचार आवश्यक हुन्छ ।