कमल पन्थी
वैदिक सनातन धर्म अनुसारका चार रात्रीहरु मोहरात्री, कालरात्री,सुखरात्री र शिवरात्री। रात्रीको अर्थ रात मात्र होईन, ज्ञान पनि हो।शिव बुझ्ने, ज्ञान प्राप्त गर्ने, व्रम्हसाक्षात्कार गर्ने रात्रीलाई शिवरात्री भनिन्छ। शिवस्य रात्री शिवरात्री अर्थात शिवको रात्री वा शिव साक्षात्कार गर्ने रात्री नै शिवरात्री हो। शिवको अर्थ परमात्मा र रात्रीको अर्थ ज्ञान हुन्छ । फाल्गुणकृष्ण चतुर्दशीको साधनावाट तुरुन्तै परमात्माको वोध हुने हुँदा त्यसलाई महाशिवरात्री भनिन्छ। पौराणिक र धार्मिक मान्यता अनुसार आजको दिन नै भगवान शिव निराकार व्रम्हावाट साकार स्वरुप अर्थात रुद्र रुपमा अवतरित भएको मानिन्छ।आज आशुतोष भगवान शिवको अति प्रिय दिन।शिशिर ऋतुको उत्तरार्ध पर्ने यो पावन पर्व।वृक्ष वनस्पतीमा पुराना पात झरेर नयाँ पालुवा पलाउँन शुरुहुदै। तसर्थ शिवरात्री हामी सवै हिन्दूहरुको पवित्र दिन ।
यो संसारमा हामी सवैका अगाडी तीनवटा कुराहरु दृष्टीगोचर भई रहेका छन् । ती हुन सृष्टि,स्थिति र लय। अर्थात गर्भ, गृहस्थ र गंगा (मृत्यु) । सतही सोचाईमा केही कुरा उत्पती भै रहेका छन्, केही कुरा स्थीर रहेका छन भने केही कुरा दिनानुदिन क्षय तथा नाश भै रहेका छन। यसो गहिरिएर सोचौ त के यी कामहरु स्वतः भई रहेका छन वा कसैवाट प्रेरित भएर भएका होलान।सामान्य सोचाईमा यी कुराहरु आफसेआफ भै रहेका मान्न सकिन्छ तर गहिरिएर हेर्दा उक्त कुरा स्वतः घटित नभै कुनै शक्ति विशेषवाट प्रेरित भएको हुन सक्छ।यसरी दैनिक उत्पति सृष्टी, पालन, विलय नाशमा सहयोगी भै रहने त्रिमूर्ति परमात्माको जुन शक्ति छ त्यो शक्ति वा रुपलाई हिन्दूधर्ममा ब्रम्हा,विष्णु र महेश्वर मानिएकोछ।
हिन्दू मान्यता अनुसार व्रम्हाजी यो संसारका सृष्टी कर्ता, भगवान विष्णु पालन कर्ता र शिवलाई संहार कर्ताको रुपमा मानिएको छ । शिवकै अंशबाट व्रम्हा,विष्णु र महेश्वर तीन देवताको उत्पती भएको हो।भगवान शिव देवताका पनि देवता भएकाले महादेव र ईश्वरका पनि ईश्वर भएकाले महेश्वर पनि भनिन्छ । शिवको अर्थ शून्य हो,कल्याण हो,जीवन शून्यवाट शून्यमा नै अन्त्य हुन्छ ।
हिमालयको काखमा अवस्थित नेपाललाई प्राचिन काल देखि नै शैवभूमिका रुपमा लिईन्छ। अनुभव एवं अनुभूतीलाई पुस्तान्तरण तथा हस्तान्तरण गर्न नसक्दा पुर्खाका धेरै उपलव्धीहरु र आध्यात्मिक सन्दर्भहरु धेरै गुमेका सन्दर्भमा तन्मे मनः शिवसङकल्पमस्तु (मेरो मनले सधै मङ्गलमय सङ्कल्प गरि रहोस)को यो सानो प्रयास हो।यस आलेखमा शिवसंग सम्वन्धित विविध आयमहरुको बस्तुनिष्ठ ढंगले विश्लेषण गर्ने सन्दर्भमा चेतोनाथशर्मा आचार्य र हरीप्रसाद सोडारीज्यूको हाम्रा धार्मिक चाडपर्व र शिवलिङ्गभित्रको विज्ञानलाई सन्दर्भ सामग्रीको रुपमा लिइएको छ ।
एकाक्षर शव्दव्रम्ह ॐ र पाञ्चक्षर ॐ नम शिवाय मन्त्रः अर्थ र महत्व
हिन्दू धर्मको सवैभन्दा महत्वपूर्ण शव्द ॐ।सृष्टिकर्ता व्रम्हाको मुखवाट उत्पन्न र ब्रम्हाण्डको पहिलो ध्वनी स्वर। सवै भन्दा वढी प्रयोग हुने शव्द ॐ नम शिवाय।वेदमा पहिलोपटक ॐ को शव्द प्रयोग गरिएको।व्रम्हा विष्णु र महेश्वर तीनै देवताहरुलाई जनाउने शव्द ॐ। अ ंउं म तीन अक्षर जुटेर वनेको ॐ अक्षर।अ ले नाभी उ ले हृदय र म को उच्चारणले मस्तिष्कमा प्रभाव महसुस हुन्छ।
हिन्दु धर्ममा मात्र होईन वौद्ध र जैन धर्ममा पनि उस्तै महत्व दिइएको छ । वौद्ध धर्मको मन्त्र ॐ मणि पद्मे हुँ अर्थात जीवनलाई कमलको फूलजस्तै कन्चन र स्वच्छ राख्दै मणिरुपी गुणले युक्त पार्नुपर्छ भन्ने मूलभाव रहेको विश्वभरिका बौद्ध धर्मावलम्वीहरुले जप्ने पवित्र मन्त्र हो । ॐनम शिवायः मन्त्र जप्नाले सर्वसिद्धी लाभ भै परलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ ।
बर्तमान सन्दर्भ
शारीरिक,मानसिक र भावनात्मकरुपमा चुस्तदुरुस्त राख्नका लागि प्रयोग हुने शव्द वनेको छ ॐ।एकान्तमा ॐ को ध्वनि उच्चारण गर्दा मानिसमा तनाव कम हुने लोभ ईष्या जस्ता नकारात्मक कुराहरु आफुकाट टाढा रहने विश्वास गरिन्छ।मेडिकल साईन्समा कुनै कारणवाट आवाज हराएका मानिसको पुनस् आवाज फर्काउने अभ्यासमा स्पीच थेरापी ॐ शव्दवाट शुरु गराईन्छ ।
शिवः महादेव
हामीहरु शिव र महादेवलाई एकै तत्व र स्वरुपमा बुझेका छौ।शिव र महादेव एउटै हुन भन्छौ।तर शिव र महादेव एउटै होईनन।शिव परमात्मा हुन भने महादेव देवता हुन।शिव निराकार छन भने शिरमा चन्द्रमा र गंगा,घाँटीमा वासुकी सर्प,शरीरमा भष्म लेपन गर्ने,देहधारी देवता विशेषलाई महादेव भनिन्छ।शिवलाई मूर्तिरुपमा शिवलिङ्ग वाक्यमा नम शिवाय शब्दमा ॐ ले चिनिन्छ ।
शिवको अंशवाट व्रम्हा,विष्णु र महेश्वर महादेव उत्पन्न भएका हुन।शिवको अंश महादेव हुन भने महादेवको अंश रुद्र हो।शिव सवैका आधार,सृष्टिकर्ता र संरक्षक हुन।शिवको जन्म, पुनर्जन्म र अवतार छैन तर महादेवका अनेक अवतार छन । महादेव हिमालमा वसेर निरन्तर शिवमा ध्यान मग्न हुनुहुन्छ।शिवलाई ज्ञानवाट र महादेवलाई लौकिक अनुष्ठानवाट प्रसन्न पार्न सकिन्छ । शिवको निवासलाई शिवालय र मूर्तिलाई शिवलिङ्ग भनिन्छ । महादेवको मूर्ति भएको मन्दिरलाई देवालय भनिन्छ । देवतामा ठूला भने महादेव हुन । देवताको अर्थ प्रकाश हुन्छ।त्यसैले तमसोमा ज्योतिर्गमय भनिन्छ।शिवको नाश हुदैन तर महादेव भने निश्चित कल्पपछि शिवमा लय हुनु हुन्छ । फलको आशा गर्नेले महादेवको पूजा र फलको आशा नगर्ने निष्कामीहरुले शिवको चिन्तन गर्छन ।
शिवलिङ्गः भ्रम,यथार्त र वास्तविकता
शिव शव्दले परमात्मा र लिङग शव्दले चिन्ह भन्ने बुझाउँछ।अदृश्य परमात्मालाई वोध गराउने चिन्ह नै शिवलिङ्ग हो । शिवमूर्ति होईन।शिवालिङ्ग जहाँ राखिन्छ त्यसलाई शिवालय र देवीदेवताको मूर्ति राखिने घरलाई मन्दिर भनिन्छ । सवै देवीदेवताको आश्रयस्थल,चराचर जगतको उत्पती,विकास र विनासको मालिक शिवालिङ्ग हो।प्राणी,प्रकृति र व्रम्हाण्डको प्राण शिवलिङ्ग हो । पृथ्वीको मेरुदण्ड हिमाल,प्रकृतिको मेरुदण्ड परमात्मा,ज्ञानको मेरुदण्ड वेद भए झै मूर्तीहरुको मेरुदण्ड शिवलिङ्ग हो। अर्थ नै नवुझी,रहस्य नै नजानी,तथ्य नै थाहा नपाई शिवलिङ्गलाई पुरुषको प्रजनन अंग भनी अपव्याख्या गरिन्छ।प्रजनन अंगको पूजा गर्ने भनी गलत प्रचारप्रशार गरिन्छ।शिवलिङ्गको सवैभन्दा तलको भाग चारपाटे,बिचको भाग आठपाटे र माथिल्लो भाग गोलाकार हुन्छ।शिवलिङ्गले परमात्माको स्वरुप वा आकारको वोध गराउँछ न कि प्रजनन अंगको।महादेवको पूजा सय वर्ष गर्नु र शिवलिङ्गको पूजा एकदिन गर्नुको फल बराबर हुने शास्त्रमा बताईएको छ।शिवलिङ्गवाट नै शास्त्र,देवीदेवता, मन्त्र,तन्त्र,यन्त्र,जीव र चराचर जगत उत्पन्न भएकाले परमात्माको रुपमा बुझ्न, पुज्न र चिन्तन गर्नु पर्छ ।
शिवलिङ्गमा बेलपत्र र निर्माल्य सम्वन्धी शास्त्रीय विधान
दुर्गालाई रातो फुल,लक्ष्मीलाई रातो कमल,सरस्वतीलाई सेतो कमल,गणेशलाई दुवो,विष्णुलाई तुलसीपत्र,नागलाई दूध अर्पण गरे झै शिवलिङ्गमा बेलपत्र चढाईन्छ।शिवलिङ्गमा तीनवटा पात भएको एघारवटा वेलपत्र चढाउने नियम छ।बेलका तीन पातले सत्व ,रज ,तम तीन गुणलाई जनाउँछ।नच्याँतिएको बेलको पातले शिवलिंङगको पूजा गरेमा शिव प्रशन्न भै पाप नाश हुने र पुण्य मिल्ने विश्वास गरिन्छ । शिवजीलाई चढाएको पुष्प,फल, जल आदिलाई निर्माल्य भनिन्छ।सामान्यतया शिवजीको निर्लाम्य ग्रहण नगर्नु भन्ने शास्त्रीय विधान छ। त्यसै भएर शिवलिङ्गसंगै शालग्राम राखेर मात्र शिवजीलाई चढाएको जल ग्रहण गर्ने गरिन्छ।शिवको पूज्न र उपासना गर्न अति सजिलो छ किनभने आर्थिक अभाव तथा बेलपत्रको अभाव भए पनि मनकै फूल चढाउन सकिने शास्त्रीय विधान रहेको छ ।
रुद्राक्षः आध्यात्मिक महत्व
रुद्र भनेको महादेव र अक्ष भनेको आँखा हो।अर्थात महादेवको आँखा।महादेवले संसारको कल्याण गर्न दिव्य हजार वर्षसम्म तपस्या गरेर आँखा उघार्दा आँशु चुहियो र रुद्राक्षको विरुवा उत्पन्न भयो भनी शिवपुराणमा उल्लेख गरिएको छ।रुद्राक्ष आफैमा बिचित्रको फल हो।हरेक हरिया फलहरु पाकेपछी पहेला,राता वा अन्य रंगमा बदलिन्छन।तर रुद्राक्ष पाकेपछि निलो हुन्छ।महादेवलाई निलकण्ठ भन्नु र रुद्राक्षको बोक्रा निलो हुनुमा सम्वन्ध छ।सामान्यतया पानीमा डुव्ने रुद्राक्ष नक्कली र तैरने वा पानीको फोका आउने सक्कली हुने गर्छ ।
–रुद्राक्षको आध्यात्मिक महत्वस् रुद्राक्ष महादेवको स्वरुप भएकाले यसको माला जपेर शान्ति र आनन्द प्राप्त गर्न सकिन्छ।शारीरिक र मानसिक समस्या हटाउँछ ।
–रुद्राक्षको आयुर्वेदिक महत्वस्रुद्राक्षलाई १२ घण्टासम्म पानीमा डुवाएर बिहान खाली पेटमा पिउँदा रक्तचाप, पेटसम्वन्धी समस्या,मुखका खटिरा,टाउको दुख्ने लगायतका रोगहरुको उपचार हुने वताइएको छ ।
–रुद्राक्षको माला जप्ने धार्मिक विधि रुद्राक्षको माला साउनको सोमवार शिवलिंगमा राखी गाईको दूध चढाई पूजा गरेर दाहिने हातको माझी र बुढी औलाले समातेर पञ्चाक्षरी महामन्त्र ॐ नमस् शिवाय जप्ने विधि लोकप्रिय छ।
सोमवार महादेवको पूजा
महादेवको शीरमा चन्द्रमा छन। चन्द्रमालाई ‘सोम’ पनि भनिन्छ । सोमवार महादेवको प्रिय दिन भएकाले विशेष पूजा गरिन्छ।ज्योतिष शास्त्रले चन्द्रमालाई जल र मनको कारक ग्रह मानेको छ। चन्द्रमा मनसो जात”पनि भनिन्छ।चन्द्रमा शीतलताको प्रतिक हो।मनलाई नियन्त्रण राख्नेले मात्र संसारलाई कावुमा राख्न सक्छ।शास्त्रअनुसार सोमवारको व्रत बस्दा भगवान शिव प्रसन्न हुने र भक्तजनहरुको मनको ईच्छा पूरा हुने विश्वास गरिन्छ ।
शवयात्राः शिवयात्रा
पञ्चभौतिक शरीरलाई विसर्जन गर्ने तीर्थस्थल,यात्रा समाप्त हुने देवस्थल र ईच्छाहरुले समाधी लिने पुण्यस्थल आध्यात्मिक उर्जा भएको सागरको तटमा मृतकका परिवारलाई शान्त्वना दिने,पीडामा मलम लगाउन उपस्थित मानसिहरु मलामी हुन।शवलाई अन्तरयामी शिवमा अर्पण गरिन्छ । यो शिव यात्रा हो तर हामी बोलीचालीमा शवयात्रा भन्ने गर्दछौ । जिवात्माले त्यागेको लाश ल्याउदै छौ मुक्त गराउनुहोस भनी एकोहोरो शंखले प्रार्थना गरिन्छ । शिव ध्यान अवस्थामा हुने भएकाले मलामीहरु अनाबश्यक वोल्न वर्जित मानिन्छ ।
जातस्यही ध्रवो मृत्यु अर्थात जन्मेपछि अवस्य मृत्यु हुन्छ।आयु,भाग्य,सम्पती,विद्या र मृत्यु यी पाँच कुरा मानिसले आमाको गर्भवाट नै लिएर आएको हुन्छ भन्ने मान्यता छ। मृत्यु असम्भावी र पीडादायी हुन्छ।फेरी मृत्यु अन्तिम सत्य पनि हो।हामीहरु सवैले यही अन्तिम सत्यलाई स्वीकार गर्न वाध्य छौ। विधाताले भाग्यका लिपीद्वारा समग्र जीवनको कार्यतालिका लेखी पनि त दिन्छन। मृत्यु पश्चात मोक्ष र पुनर्जन्मको चक्रवाट पार पाउन हामी शिव भक्तिमा समर्पित हुन चाहन्छौ।तीन नेत्र भएका भगवान शिवलाई हामी पूजा गर्छौ।वहाँले हामीलाई सांसारिक बन्धनवाट मुक्त गराई अमरत्व प्रदान गर्नु हुन्छ । ॐ नम शिवाय । महाशिवरात्री २०८२ को पावन अवसरमा सबैलाई हार्दिक मंगलमय शुभकामना ।।
