ओम बानियाँ
मेरो छिमेकमा एक जना भाइ छन्, मजदुरी गरेर जीविका चलाउँछन् । अहिले उनी मात्र २२ वर्षका भए तर उनले विवाह गरेका छन् । श्रीमती र छोराछोरी गरेर उनीसँग ४ जनाको परिवार छ । किरायामा बस्छन् । उनलाई हातमुख जोड्न पनि निकै धौ–धौ छ । तर, उनले जाँडरक्सी खुब खान्छन् । चुरोट पनि खुब फुक्छन् । काम गर्दै चुरोट फुकिरहेको देखेर एक दिन मैले उनलाई साधेँ,‘ए भाइ, तिमीले दिनको कति चुरोट फुक्छौ हँ ?’ उनले भने,‘१०–१५ खिल्ली ।’ मैले फेरि सोधेँ,‘कुन चुरोट पिउँछौ ?’ जवाफ आयो, फिल्टर बिजुली ।
मेरो उत्सुकता झनै जाग्यो, एक पकेटलाई कति पर्दछ ? उनले भने–८० रूपैयाँ । मैले मनमनै हिसाब गरेँ । दिनको लगभग ५० रूपैयाँ । महिनाको १५ सय रूपैयाँ । वर्षको १८ हजार । अनि मैले दृढतापूर्वक भनेँ,‘उसो भए, तिमी अझ ६० वर्ष बाँचेर यसरी नै चुरोट फुक्यौ भने चुरोटमा मात्र तिमीले लगभग १५, –२० करोड रूपैयाँ फुक्ने छौ ।’ मेरो कुरा सुनेर उनले गोला आँखा बनाउँदै भने–कसरी ?
धुम्रपानको सेवनबाट मानिसले ठुलो हानिनोक्सानी बेहोर्नुपर्दछ । धुम्रपानका फाइदा त केही छँदै छैनन्, नकारात्मक असर मात्र छन् । धुम्रपान तथा सुर्तीजन्य पदार्थहरुको सेवन गर्ने व्यक्ति प्रत्यक्ष असरबाट प्रभावित हुन्छन् भने उनका परिवारका सदस्य तथा साथीसङ्गी पनि अप्रत्यक्ष असरबाट प्रभावित भइरहेका हुन्छन् । धुम्रपानले एकातिर अनेक खालका स्वास्थ्य समस्या निम्त्याउँछ भने अर्कोतिर पारिवारिक, समाजिक तथा आर्थिक समस्या पनि थपिन्छ । परिवारलाई नै बिचल्ली बनाउँछ । परिवारिक कलह, सामाजीक मनमुटाव तथा घरेलु हिंसाको एउटा प्रमुख कारण धुम्रपान तथा मद्यपान हो ।
एक पटक सोच्नुहोस् त, दिनको डेढदुई सय कमाउने एउटा मजदुरले समेत ६० वर्ष चुरोट पियो भने १५–२० करोड रूपैयाँ धुवाँमा उडाउँछ भने अरुले कति उडाउलान् ? यसबाट एउटा कुरा के प्रष्ट हुन्छ भने अधिकांश मानिस केवल अन्याय–अत्याचार, शोषण र कुशासनले मात्र गरिब हुँदैनन् कि धेरै व्यवहारिक शिक्षाको अभावले तथा फजुल खर्च गर्ने तर वचत नगर्ने र वचतलाई ठिक ठाउँमा लगानी नगर्नाले पनि गरिब हुने गर्दछन् ।
अब माथि उल्लेखित भाइकै कुरा गरौँ र उनले चुरोटमा गरेको खर्च र चुरोट नपिउँदा हुने वचतको हिसाबकिताब गरौँ । ठुल्ठुलो हिसाब गर्ने हो भने पनि उनले वर्षमा कम्तीमा पनि १८ हजार रूपैयाँ चुरोटमा खर्च गर्दा रहेछन् । त्यो हिसाबले ५ वर्षमा ९० हजार खर्च गर्दा रहेछन् । यदि उनले त्यो रकम खर्च नगरेर ब्याजमा लगाएमा वा कतै लगानी गरेमा ५ वर्षमा आरामले कम्तीमा पनि १ लाख त हुन्छ ।
अनि त्यसमा फेरि पाँच वर्षको ९० हजार गाभिन्छ । यसरीे ६० वर्षमा १५–२० करोड वचत हुन्छ । अझ चुरोटको मूल्य समयअनुसार बढ्दै जान्छ, त्यहीमाथि चुरोटको धुवाँले निम्ताएको रोगको उपचार खर्चको हिसाब गर्ने हो भने कति हुन्छ हुन्छ, त्यो आफैँ अनुमान गर्नुहोस् ।
यो त एक मजदुरले समेत गर्ने चुरोटको फजुलखर्च हो तर मानिसले स्वास्थ्यलाई नै प्रतिकुल असर गर्ने यस्तो फजुलखर्च त कति गर्छन् कति ? पान–गुटका, जाँडरक्सी, सितन–भुटन, जुवातास तथा अनावश्यक फेशन आदि–आदि । यस्ता सबै फजुलखर्चहरू रोक्ने हो र त्यो वचतलाई ठिक ठाउँमा लगानी गर्ने हो भने मानिससँग पैसा जाबो कति हुन्छ कति ?
विश्वमा धुम्रपान गर्नेको संख्या ठुलो छ । एक सर्वेक्षणका अनुसार विश्वका करिब १ अरब ३० करोड मानिसले धुम्रपान तथा सुर्तीजन्य पदार्थहरुको सेवन गर्दछन् । अफ्रिकाका २९ प्रतिशत पुरूष तथा ४ प्रतिशत महिलाले चुरोट पिउँछन् । अमेरिकाका ३५ प्रतिशत पुरुष तथा २२ प्रतिशत महिलाले चुरोट पिउँछन् । युरोपका ४६ प्रतिशत पुरूष तथा २६ प्रतिशत महिलाले चुरोट पिउँछन् । दक्षिण एसियाका ४४ प्रतिशत पुरूष तथा ४ प्रतिशत महिलाले चुरोट पिउँछन् भने नेपालका ४९ प्रतिशत पुरूष तथा २९ प्रतिशत महिलाले चुरोटबिँडी पिउँछन् । पछिल्लो तथ्याङ्कअनुसार नेपालमा प्रत्येक दिन धुम्रपान र सुर्तीजन्य पदार्थको सेवनबाट ४४ जनाको ज्यान जाने गर्दछ । र, यस्ता पदार्थको सेवनका कारण उत्पन्न हुने रोगका कारण उपचारमा वार्षिक २० औं अर्ब रुपैयाँ खर्च भइरहेको छ । वास्तमा यो आँकाडा निकै डरलाग्दो हो ।
साधारण शब्दमा सुर्ती तथा सुर्तीजन्य पदार्थको सेवन गर्नुलाई धुम्रपान गर्नु भनिन्छ । धुम्रपानमा प्रयोग हुने प्रमुख पदार्थ भनेको नै सुर्ती हो । सुर्ती निकोटियाना प्रजातिको घाँसे बिरुवा हो । सुर्तीको पातलाई सुकाएर नशाको रुपमा प्रयोग गर्ने प्रचलन प्राचीनकालदेखिको हो ।
सुर्ती तथा सुर्तीजन्य पदार्थको प्रयोग विधिलाई धुम्रयुक्त र धुम्ररहित गरी दुई वर्गमा बाँडिएको छ । चुरोटबिँडी, चिलिम, सिगार तथा हुक्का जस्ता सुर्तीको प्रयोग विधि धुम्रपानीय विधि हुन भने सुर्ती, खैनी, पान, गुट्खा, पानमसला, क्रिमयुक्त सुर्ती, सुर्ती भिजाएको पानी तथा सुर्तीमिश्रित अन्य पदार्थको सेवन चाही धुम्रपानरहित सेवनका विधि हुन् । नेपालमा यी दुवै विधिद्वारा सुर्तीको सेवन गर्ने गरिन्छ ।
ब्रेन बाइट्स

एक जना चुरोटको अम्मली चुरोट कसरी छोड्न सकिन्छ भन्ने परामर्श लिन मनोचिकित्सककहाँ गएछन् र सोधेछन्,‘डा. साब, कति कोसिस गरेँ तर चुरोट छोड्न सकिनँ । चुरोट छोड्ने कुनै उपाय छ ?’ नोचिकित्सक भने छन्–उपाय छ । एकदम सरल उपाय छ । एक पटक तपाईंले कसरी चुरोट पिउनुहुन्छ, देखाउनुहोस् त ? अनि उनले चुरोट सल्काएर पिउन थालेछ । त्यो देखेर मनोचिकित्सकले पुनः भनेछन्–औंलाले त्यसरी च्यापेपछि कसरी छुट्छ त चुरोट ? एक पटक औंला धोल्लो बनाउनुहोस् त । उनले चुरोट च्याप्पेको औंला धोल्लो बनाए, चुरोट भुइँमा खस्यो । मनोचिकित्सक मुसुक्क हाँस्दै भने–छुट्यो कि छुटेन चुरोट ?
धुम्रपान र सुर्तीजन्य पदार्थको सेवन सुरु गर्दा प्रायः कसैले पनि जिन्दगीभरि सेवन गर्छु भने सुरु गर्दैनन् तर यसको सेवन गर्न थालेपछि निकोटिनले मानिसलाई मोहनी लगाउँछ र मानिस धुम्रपानको लत फस्छ । निकोटिन लिने बानी परेपछि शरीरले सदैव निकोटिन खोजिरहन्छ । धुम्रपान गरेको ५ सेकेण्डभित्र निकोटिन मस्तिष्कमा पुग्छ, अनि त्यसको गहिरो प्रभाव २५ मिनेटमै सकिन्छ । प्रभाव सकिनेबित्तिकै शरीरले पुनः थप मात्रा माग्छ, त्यो भनेको फेरि धुम्रपान गर्न मन लाग्नु हो । यसरी धुम्रपान गर्न थालेको १ महिनामा निकोटिन लिने बानी बस्छ । त्यसपछि शरीरले छिनछिनमा निकोटिन खोजिराख्छ । परिणाम स्वरुप व्यक्ति धुम्रपानको अम्मली बन्न पुग्दछ ।
धुम्रपानले आर्थिक समस्या निम्त्याउनुको साथै अनेक स्वास्थ्य समस्याहरु पैदा गर्छ । चुरोटले चुरोट पिउने व्यक्तिलाई मात्र हानि गर्दैन कि चुरोट पिउनेको साथ रहनेहरूलाई समेत हानि पु¥याउँछ । एक अध्ययनका अनुसार धुम्रपान गर्ने व्यक्तिले तान्ने चुरोटको धुवाँ (मेनस्ट्रिम स्मोक) र धुम्रपान नगर्ने, तर धुम्रपान गर्नेहरूका साथ रहनेहरूले सास फेर्दा लिने धुवाँ (साइडस्ट्रिम स्मोक) को दुष्प्रभाव समान भेटियो ।
चुरोट–बिँडीमा दुई प्रकारका प्रमुख विषालु तत्वहरू, निकोटिन र कार्बन मनोक्साइड हुन्छन् । यी तत्वहरूले शरीरलाई थुप्रै हानि–नोक्सानी पु¥याउनको साथै रगतमा नोरेड्रिनालीन जस्ता रसायनहरूको मात्र बढाउँछन् । एक प्रयोगका अनुसार दुईवटा चुरोट पिउँदा ८–१० मिमी रक्तचाप वृद्धि हुन्छ भने त्यो वृद्धि १६ मिनेटसम्म रहिरहन्छ । बे्रन स्ट्रोकको एउटा प्रमुख कारण धुम्रपान नै हो ।
धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवनले अनेक प्रकारका स्वास्थ्य समस्याहरु पैदा गर्न सक्दछ । मुख, गिजा, सासनली तथा फोक्सोको क्यान्सर, ल्युकेमिया, पेट, मिर्गौला, प्यानक्रियाज, आन्द्रा, मुत्रथैली र पाठेघरको क्यान्सरको सम्भावना बढाउँछ । त्यस्तै मुटु तथा रक्तनलीसँग सम्बन्धित रोग, स्ट्रोक, अन्धोपन, गिजा सुन्निने, दमखोकी, न्युमोनिया, अनिद्रा, अपच तथा मानसिक रोगहरुको खतरा बढेर जान्छ । गर्भवतीले धुम्रपान गरेमा अपाङ्ग तथा मृत बच्चा जन्मने सम्भावना रहन्छ ।
धुम्रपानको सेवनबाट कुनै लाभ नहुने र यसले असरै असर मात्र गर्ने हुनाले धुम्रपानको सेवन नगर्नु तथा सेवन गर्ने तुरुन्त यसलाई छोड्नु नै बुद्धिमानी हुन्छ । धुम्रपानको सेवनबाट के कस्ता स्वास्थ्य समस्याहरु देखा हुन्छन्, यसले कसरी पारिवारिक, सामाजिक तथा आर्थिक समस्या पैदा गर्छ र यसको लत कसरी बस्छ भन्ने कुरा जानकारी भएको खण्डमा यसबाट मुक्त हुन सकिन्छ ।
हो, धुम्रपानको लतबाट मुक्ती पाउन गाह्रो भएता पनि असम्भव छैन । कतिपय मानिसले आफैं धुम्रपान छोडेको उदाहरणहरु पनि देख्न सकिन्छ । तर, धुम्रपान तथा सुर्तीजन्य पदार्थहरु छोड्न दृढसंकल्पको आवश्यकता पर्छ । यस्ता पदार्थहरु छोड्दा टाउको दुख्ने, जिउ काप्ने, छटपटि लाग्ने, औडाहा हुने, चक्कर लाग्ने, पसिना आउने, छाती तथा पेटमा भारीपन बढ्ने, निद्रा नलाग्ने, आत्तिने, टोलाउने, स्मरणशक्ति ह्रास हुने आदि जस्ता लक्षणहरु देखा पर्न सक्छन् । यस्ता लक्षणहरु देखिनासाथ अम्मलीले पुनः यस्ता पदार्थहरु सेवन गर्न थाल्छन् । त्यसैले धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवनबाट मुक्ति प्राप्त गर्न मनोचिकित्सकको परामर्श लिनु उचित हुन्छ । मनोचिकित्सकले विभिन्न किसिमका मनोवैज्ञानिक तथा व्यावहारिक पद्धति तथा औषधीद्वारा मानिसलाई धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवनबाट मुक्त पार्न महत्वपूर्ण भूमिका निभाउँछन् ।
