बिमाको नाममा ठगी गर्ने नौलो अपराध

मेचीकाली संवाददाता

१ असार २०८३, सोमबार
16 shares

बिमालाई वैधानिक ठगी भन्दै कतिपयले गुनासो गर्ने गरेको पनि सुनिन्छ । केही हदसम्म बिमाको दाबी भुक्तानी रकमको लोभमा दुवै पक्षबाट गलत कुकर्म हुने गरेका घटना छन् । बिमा गराउने र बिमा गर्ने दुवैमा खराबी रहेका गुनासा आइरहेका बेलामा बुटवलमा भने नयाँ घटना सार्वजनिक भएको छ । सुन पसलेले आफ्नै पसल चोरी भयो भन्दै गरेको बदमासी बाहिरिएको छ ।

बिमा प्रणाली कुनै व्यक्ति वा व्यवसायलाई आकस्मिक क्षतिबाट आर्थिक सुरक्षा प्रदान गर्ने महत्वपूर्ण माध्यम हो तर यही प्रणालीलाई दुरुपयोग गरेर अनुचित लाभ लिन खोज्ने प्रवृत्ति बढ्न थालेको छ । बुटवलको अमरपथस्थित तिनाउ सुनचाँदी पसलमा भएको कथित चोरी प्रकरणले बिमाको रकम कुम्ल्याउन अपराधीहरूले कति योजनाबद्ध र नाटकीय शैली अपनाउन सक्छन् भन्ने गम्भीर प्रश्न उठाएको छ ।
प्रहरी अनुसन्धानबाट पसल सञ्चालक स्वयंले चोरीको नाटक रचेको आरोप सार्वजनिक भएपछि यो घटना केवल एक आपराधिक प्रकरणमा सीमित रहँदैन । यसले बिमा प्रणालीप्रतिको विश्वासमाथि नै चोट पु¥याउने खतरा पैदा गरेको छ । बिमाको रकम प्राप्त गर्ने लोभमा आफ्नै पसलबाट सुनचाँदी हटाउने, ग्राहकले धितोमा राखेका गहना फिर्ता नगर्ने योजना बनाउने तथा नक्कली चोरीको दृश्य सिर्जना गर्ने प्रयासले आर्थिक अपराधको नयाँ र जटिल स्वरूप उजागर गरेको छ ।

विश्वभर बिमा ठगीका अनेक रूप देखिएका छन् । कतै सवारी दुर्घटना योजनाबद्ध रूपमा गराइन्छ, कतै गोदाममा आगलागी गराइन्छ, कतै घरभित्रका सामान चोरी भएको नाटक मञ्चन गरिन्छ । यस्ता कार्यले बिमा कम्पनीलाई मात्र होइन, सम्पूर्ण समाजलाई नोक्सान पु¥याउँछ किनभने ठगीका कारण बिमा कम्पनीको जोखिम बढ्छ, दाबी प्रक्रिया जटिल बन्छ र अन्ततः यसको भार इमानदार बीमित नागरिकले नै बहन गर्नुपर्छ ।
यस घटनाले व्यवसायी, बिमा कम्पनी र नियामक निकाय सबैलाई थप सचेत बन्नुपर्ने सन्देश दिएको छ । बिमा दाबीका घटनामा वैज्ञानिक अनुसन्धान, डिजिटल प्रमाणको परीक्षण र जोखिम मूल्याङ्कनलाई अझ प्रभावकारी बनाउन आवश्यक देखिएको छ । आधुनिक सिसिटिभी प्रविधि, डिजिटल ट्रयाकिङ र प्रहरीको सूक्ष्म अनुसन्धानले सत्य बाहिर ल्याउन सहयोग गरेको उदाहरण पनि यस घटनाले प्रस्तुत गरेको छ ।
व्यवसायिक नैतिकता र कानुनी उत्तरदायित्वको पालनाविना आर्थिक प्रणाली बलियो बन्न सक्दैन । छोटो समयको लोभले व्यक्तिलाई अपराधतर्फ धकेल्न सक्छ तर त्यसको परिणाम दीर्घकालीन रूपमा समाज, व्यवसाय र स्वयं अपराधीका लागि विनाशकारी हुन्छ । बिमालाई सुरक्षाको माध्यम बनाऔँ, ठगी र दुरुपयोगको साधन होइन ।