प्रशंसनीय दृष्टिकोण राष्ट्रिय सञ्जालको दिशानिर्देश

मेचीकाली संवाददाता

१ असार २०८३, सोमबार
68 shares

डा.रामबहादुर राउत

पृष्ठभूमि
प्रशंसनीय दृष्टिकोणको माध्यमबाट सकारात्मक सामाजिक रूपान्तरण गर्न तथा देशमा स्थायी शान्ति, दिगो विकास र समतामूलक समाज निर्माण गर्ने कार्यभार आजको मूल कार्यभार हो । यसका लागि नेपालमा रहेका प्रशंसनीय दृष्टिकोणका अभ्यासकर्ता, चिन्तक, शुभेच्छुकलगायत बढीभन्दा बढी नागरिकहरूलाई प्रशंसनीय दृष्टिकोणका सैद्धान्तिक ज्ञान र सीपको अभिवृद्धिमा सहयोग गर्ने हेतुले २०६० साल माघ महिनाबाट अभियान सुरु गरिएको हो । सो अभियान अहिले नेपाल प्रशंसनीय दृष्टिकोण राष्ट्रिय सञ्जाल नामबाट मुलुकमा परिचित छ । स्थापना भएको नवांै महिनामा पहिलो राष्ट्रिय भेला काभ्रेको बनेपास्थित बुडोलमा नेपाललाई पहिचान दिने ज्ञान, सीप तथा प्रविधिको खोज तथा अनुसन्धान गर्ने विषयमा केन्द्रित भएर गरिएको थियो । राष्ट्रिय योजना आयोगका माननीय सदस्यहरू, सञ्चारकर्मी मित्रहरू, विकास नियोगका प्रतिनिधि तथा विभिन्न सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरूको सहभागितामा सञ्चालित प्रथम राष्ट्रिय भेला खुल्ला स्थान प्रविधि विधिका ज्ञाता, परिकल्पनाकारको पहलमा सिकागोमा अध्यक्ष माइकल हर्मनबाट सहजीकरण गरेको सो भेला २०६१को असोज १५ देखि १८ गते सम्म सञ्चालन भएको थियो ।

दोस्रो भेला संगठन सुदृढीकरण, तेस्रो भेला पर्यटन प्रवद्र्धन, चौथो शान्ति स्थापनाका लागि पहल, पाँचौं आमूल परिवर्तनकारी योजना तर्जुमा विधि र यसका प्रयोगका क्षेत्रको खोजी, छैठौं वैकल्पिक ऊर्जा प्रवद्र्धनका लागि विभिन्न स्रोतको खोज अनुसन्धान, सातौं राष्ट्रिय भेला सांस्कृतिक सम्मेलन र आठौं भेला प्रयोगात्मक शिक्षाका विषयमा केन्द्रित रहेर गरिएको थियो ।
नवौं राष्ट्रिय भेलाको सन्दर्भ
यही जेठ २३ र २४ गते २०८३ मा नयनले नवौं राष्ट्रिय भेला चितवनको कालिका नगरपालिका वडा नं १० सिद्धि तिनदोभानमा सम्पन्न गरेको छ । यस भेलाको विषयवस्तु नेपालका जनजातिमध्ये चेपाङ जातिका विषयमा सामाजिक अध्ययन गर्ने रहेको थियो । यसपटकको मूल नारा र विषयगत नारा अलग अलग प्रस्तुत गरिएको थियो । मूलनारा ‘सद्भावपूर्ण समाज निर्माणमा मेरो योगदान, सकारात्मक तरङ्ग पैदा गर्न सकारात्मक सोच अभियान’ रहेको थियो भने विषयगत नारा ‘पहिचान सम्मान र अधिकार चेपाङ समुदायको विकासको आधार’ भन्ने थियो ।

मूलतः मुलुकलाई सकारात्मक रूपान्तरणका लागि सद्भावपूर्ण समाजको अपरिहार्यता यो भेलाले अनुभव गरेर नै यो नारा तय गरेको हो । मुलुकमा बढ्दो सामाजिक सञ्जालको प्रयोग आफैँमा सकारात्मक हो तर पनि त्यसमा प्रस्ुतत गरिने नकारात्मक सन्देश तथा सामग्री र कृत्रिम बौद्धिकतामार्फत सञ्चालन गरिएको सूत्र अल्गोरिदमको प्रयोगले समाज नकारात्मक दिशातर्फ डोरिइरहेको भान भएको छ । मर्यादा मिचिएका सन्देश र त्यस उपर गरिएका भद्दा तथा अस्लिल टिप्पणीले समाजको वर्तमान अवस्थाको चित्रण गर्दछ । हाम्रा अगाडि एउटा अवसर पैदा भएको छ । अब हाम्रो अगाडि समाज बदलेर देखाउने अवसर छ ।

विकासानन्द भन्नुहुन्छ,‘मरुभूमिमा बाटो हँुदैन, बाटोबाहेक केही हँुदैन ।’ त्यसका लागि संसार बदल्नु छ सुरुवात आफैबाट गर्नुपर्दछ । यसै खातिर नवौं भेलाले ‘सद्भावपूर्ण समाज निर्माणमा मेरो योगदान, सकारात्मक तरंग पैदा गर्न सकारात्मक सोच अभियान’ नारा तय गरेको हो ।
दोस्रो हामी पहिलो भेलादेखि आठौं भेलासम्म सामाजिक सकारात्मक रूपान्तरणका लागि परिकल्पना पहल अभियान सञ्चालन गरेका थियौं । अहिले परिस्थति बदलिएको छ । समाजमा भएको शृङ्खला विशृङ्खलित भएको छ । संवेदना हराएको छ । कुनै स्थानमा दुर्घटना घट्यो भने मानिस उद्दार गर्नुपूर्व मोवाइल झिकेर फोटो खिच्ने सामाजिक सञ्जालमा पोस्ट गर्ने अनि मात्र उद्दार गर्ने अवस्थामा पुगेको छ । अर्थात् संवेदना गुमाएको छ । सद्भावहरू भत्किएका छन् । यसलाई पुनस्र्थापित गर्नुपर्नेछ । नकारात्मक तरङ्गलाई सकारात्मक तरङ्गले चिर्नु छ । माइनसलाई प्लस बनाउने आजको दायित्व हो । यसका लागि सकारात्मक तरङ्ग पैदा गर्ने गरी हाम्रो अभियान अगाडि बढाउने गरी नयनको फरक अवधारणा तय गरिएको छ । यसले आफूलाई पूर्णरूपेण अनौपचारिक तर अत्यन्तै संस्थागत ढंगले अगाडि बढ्ने नीति तय गरेको छ । यसको संगठन सञ्चालन प्रणाली, संगठनको स्वरूप, यसको रणनीति तथा कार्यक्रमसमेत तय गरेर आफूलाई व्यवस्थित गरेको छ ।

सद्भावपूर्ण समाज निर्माणको आधार के हुन सक्दछ ? सबैभन्दा उत्कृष्ठ अभ्यास कहाँ छ भन्ने कुराको खोजी गर्ने सिलसिलामा नेपाल बहुजातीय, बहुसांस्कृतिक तथा बहुभाषिक राष्ट्र भएको हुनाले नेपालमा असाध्यै मिलेर बसेको समाज, अत्यन्तै सद्भाव भएको समुदाय भनेको चेपाङ हो । यसका सफल, उदाहरणीय तथा अनुकरणीय अभ्यासहरू के छन् ?, त्यसको सामाजिक अध्ययन गर्ने, त्यसलाई प्रशंसा गर्ने त्यसको संरक्षण संवद्र्धन र विस्तार गर्ने उद्देश्यका साथ नवौं भेलाको समुद्घाटन नौजना विभिन्न उमेर समूहका चेपाङबाट गरिएको थियो ।
कालिका नगरपालिका वडा नं १० र ११ वडाका चेपाङ नेता र जनप्रतिनिधिबाट भेलामा आफ्ना सफल तथा अनुकरणीय अभ्यासहरू प्रस्ुतत गर्नुभएको थियो । चारवटा समूहमा विभाजन गरेर शोधखोज, सपना, संरचना र सञ्चालन विधिको अभ्यास गरिएको उक्त छलफलबाट अत्यन्तै महत्वपूर्ण निष्कर्ष निकालिएको थियो । जसलाई चितवन घोषणापत्रमा सम्बोधन गरिएको छ ।

अबको नयनको कार्यदिशा
नेपाल प्रशंसनीय दृष्टिकोण राष्ट्रिय सञ्जालले नवौं राष्ट्रिय भेलाबाट समाज रूपान्तरणका लागि समाजमा सद्भाव वृद्धि गर्ने कुरामा जोड दिएको छ । त्यसका लागि सकारात्मक सोचको अभियान विस्तार गर्ने कार्य प्रमुख हो भन्ने ठहर गर्दै सघन ढंगले यो अभियान सञ्चालन गर्ने संकल्प लिएको छ ।
दोस्रो हाम्रो शिक्षा व्यावहारिक जीवन उपयोगी र मानवमूल्यमा आधारित हुनुपर्दछ भन्ने निष्कर्षका साथ विद्यालयमा मानवमूल्यमा आधारित शिक्षा जसले जीवनमूल्य र नैतिक मूल्यको जगेर्ना गर्न सकोस्, त्यसमा जोड दिने कुरालार्ई जोड दिएको छ ।

मुलुकमा संघीयताको अभ्यास भैरहेको सन्दर्भमा तीनवटा सरकारको कार्यलाई फरक ढंगले विश्लेषण गर्दै केन्द्र (संघ) सरकार राज्यको आमूल रूपान्तरणको सपनासहित राज्यका नीति निर्माण गर्ने सरकारको रूपमा प्रदेश सरकारलाई विकासका पूर्वाधारहरू निर्माण तथा संघ र स्थानीय सरकारको सेतुको रूपमा संयोजन गर्ने सरकारको रूपमा तथा स्थानीय सरकार जनताको दैलोको सरकार, सुखदुखको सरकार, सेवा प्रवाह गर्ने सरकारको रूपमा परिभाषित गर्दै स्थानीय सरकारले सेवा प्रवाह गर्दा अत्यन्तै सरकारात्मक सन्देश प्रवाह हुने गरी सकारात्मक तरङ्ग पैदा गर्ने सेवा प्रवाह गर्न सकोस् भन्ने हेतुले स्थानीय सरकारको यस ढङ्गको क्षमता अभिवृद्धिमा सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेको छ ।

प्रत्येक व्यक्ति, स्थान र संस्था आफैँमा महत्वपूर्ण हुन्छ । आकार प्रकारले अस्तित्व निर्धारण गर्दैन । अस्तित्व निर्धारण उसको जीवन पद्धतिले गर्दछ, तसर्थ हरेक व्यक्ति, संस्था, समुदाय तथा स्थान आफम्ैमा महत्वपूर्ण छन् भन्ने निष्कर्षका साथ नेपालका हरेक समुदाय, हरेक संस्था र व्यक्तिसम्म नयन पुग्नुपर्दछ । उहाँहरूले चलाएको सद्भावपूर्ण समाज निर्माणको अभियान अर्थात् समाजको सकारात्मक रूपान्तरणको अभियान नयनको अभियान हो भन्ने मान्यताका साथ आफूलाई जोड्दै जाने प्रण गरेको छ ।

निष्कर्ष ः हामी भन्दछौँ हरेक समय महत्वपूर्ण छ । हरेक बेला शुभ बेला हो । सकारात्मक परिवर्तनका लागि सकारात्मक सोच आवश्यक छ किनभने सकारात्मक सोच, सकारात्मक विचार, सकारात्मक कार्य, सकरात्मक परिणाम, सकरात्मक प्रभाव भएपछि सकारात्मक परिवर्तन अवश्य हुन्छ । तसर्थ सोचले परिवर्तनको जन्म दिने भएको हुनाले सद्भावपूर्ण समाज निर्माणका लागि सकारात्मक सोच अभियान सघन ढङ्गले अगाडि बढाउनेदिशा नै नेपाल प्रशंसनीय दृष्टिकिोण राष्ट्रिय सञ्जालको अवको कार्य दिशा हो । यसका लागि सबैले सकरात्मक सोचौ, सकरात्मक तरङ्ग पैदा गरौं सद्भावपूर्ण समाज निर्माण गरौं । धन्यवाद । (लेखक नेपाल प्रशंसनीय दृष्टिकोण राष्ट्रिय सञ्जालका राष्ट्रिय अध्यक्ष हुन् ।)