घनश्याम कोइराला
यो लेख मैले आज, अहिले लेखेको होइन । यो लेख मैले असार १५, २०७८ मा लेखेको थिएँ । प्रकाशित शीर्षक थियो,‘राज्यशक्ति तथा नेतृत्व पुस्तान्तरण र आश्रमधर्म ।’ यो सामग्री मेचीकाली दैनिकमा असार १६, २०७८ का दिन छापिएको थियो । पाँचवर्ष बितेछ, मैले विषय उठान गरेको तर त्यतिबेलादेखि अहिलेसम्म आसैआसमा पर्खिबसेका केही राजनीतिका नाममा पार्टीको थैलो बोकेकाहरू दलीय दलदलमा बसिरहे तर नेतृत्व हस्तान्तरण, रूपान्तरण वा पुस्तान्तरणका विषयमा कोही, कतै, केही बोलेनन् । गतवर्षदेखि केही नेताहरूले आफ्नो आसन प्राप्ति र केहीले कुण्ठाको बजार बढाउन तथा लोकप्रियताको बिस्कुन पसार्न खासखुस, गाइँगुइँ सुरु गरेका हुन् । नेतृत्वसँग मागिएका कुरा पूरा नभएपछि असन्तुष्ट रहेका ‘निर्भीक’ वि.सं. २०८२ को सुरुदेखि ओँठ चलाउने जाँगर चलाएका हुन् । २०८२ भदौमा आयोजित नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा भने स्वर सुनिने गरी केही आवाज उठेको हो । तर, संयोग (दुःखद संयोग) एमालेको राष्ट्रिय प्रतिनिधि परिषद् बैठक सकिएकै भोलिपल्ट भदौ २३, २०८२ का दिन जेन–जी नागरिकहरूले आन्दोलन गरे र २४ गते देशको ठुलो भौतिक क्षतिसँगै राजकीय शक्ति नै हस्तान्तरण भयो । फागुन २१ म सम्पन्न प्रतिनिधिसभा निर्वाचन परिणामले धेरै कुरा बदलियो, फेरियो । यस घटनापछि नेतृत्व हस्तान्तारण, रूपान्तरण, पुस्तान्तरण, पुनःगठन, पुनःजागरण भट्ट (भटमास) भुटाइ तीव्र बनेको छ । पाँचवर्ष अघिको त्यो सम्झना ताजा गर्ने उद्देश्यले शीर्षक मात्र फेरेर यो लेख प्रकाशन गरिएको छ ।
‘जीर्णस्यास्य शरीरस्य विश्रान्तिमभिरोचते अर्थात् बुढ्यौलीले जीर्ण भएको यस शरीरलाई विश्राम दिन चाहन्छु ।’ (वाल्मीकिरामायण, अयोध्याकाण्ड) अहिले नेपालको राजनीतिक वृत्तमा युवालाई नेतृत्व हस्तान्तरण गर्नुपर्छ भन्ने स्वरहरू बलशाली हुँदै गइरहेको सन्दर्भमा वाल्मीकिरामायणको यो श्लोक एउटा सङ्केत हुनसक्दछ । यो श्लोक अयोध्याका राजा दशरथले रामलाई राज्य सञ्चालनको जिम्मेवारी सुम्पेर आफ्ूm सत्तामुक्त हुन चाहेको भावना व्यक्त गरेको प्रसङ्ग हो ।
नेपाल राज्य पुरानो हो, तर यहाँको यतिबेलाको राजनीतिक व्यवस्थाका नयाँ छ । नयाँ व्यवस्था भएको हुनाले धेरै विषय व्यवस्थित हुन नसकेको अवस्था छ । तर, सँगै यस व्यवस्थाको केन्द्र भागमा रहेका नेता नयाँ होइनन् । यो व्यवस्था हुनु पूर्वदेखि नै शासनसत्ता सञ्चालनका अनुभवी हुन् । सत्तापक्ष, प्रतिपक्ष सबै पुराना छन् । पार्टी स्थापनाका दृष्टिले तुलनात्मक रूपमा नयाँ देखिएका पार्टीका नेताहरू पनि अघिल्लै पुस्ताका पाका नै छन् । यदि यसलाई विशेषता मान्ने हो भने संसारको राजनीतिक इतिहासमा विरलै देखिने विशेषता नेपालमा देखिन्छ ।
राणाशासन विरोधी क्रान्तिदेखि बिचका सबै परिवर्तन हुँदै लोकतान्त्रिक गणतन्त्रसम्मका नेता उनै छन् । यसरी नेपाली राजनीतिका नायकहरू ‘परिपक्व’ छन् । प्रत्यक्षतः राणाशासन विरोधी आन्दोलनका व्यक्तिहरू नेतृत्वमा नदेखिए पनि त्यहाँदेखिको निरन्तरताको वैधानिकता वहन गरिआएकाहरू नै छन् । पाका नेताहरूको नेतृत्वमा संगठित रहेर राजनीतिक कर्म गरिरहेका ६० वर्षमाथिका ‘युवापुस्ता’ का नेताहरू भित्रभित्र कँुडिनुसम्म कुँडिएका छन्; तर, ‘म्याउँ गर्ने ठाउँ’ मा घण्टी बाँध्ने हिम्मत गरेको देखिँदैन । युवा पुस्ता–दोस्रो तहकाले नेतृत्व गर्दा राम्रो हुने विश्वास पाल्नेहरू पनि पार्टीभित्रको समूहबन्दीका कारण जेठो पुस्ताको जय जयकारमा नै देखिन्छन् । मनमा अर्कै, व्यवहारमा अर्कै हुँदा भनेजस्तो परिणाम आउन सक्दैन । योगदर्शनका दृष्टिले त यो मिल्दै मिल्दैन । योगदर्शनले त चिन्तन र कर्म जोड्ने अर्थ राख्दछ ।
कतिपय मानिसहरू राजनीति गर्नका लागि उमेरको कुनै सीमा नहुने बताउँछन् । त्यसखाले विचार राख्नेहरूले अमेरिकाका वर्तमान राष्ट्रपति जो बाइडेनको उमेरको उदाहरण दिन्छन् । भारतका वर्तमान र विगतका समेत राष्ट्रपति, प्रधानमन्त्रीहरूको पनि उदाहरण दिने गर्दछन् । संयोगले कुनै व्यक्ति वृद्ध अवस्थामा नेतृत्वमा पुग्नु एउटा प्रसङ्ग होला । खास उमेर वा बुढ्यौलीकै कारणले हुत्याइ हाल्नपर्छ, राख्नै हुँदैन भन्ने पनि नहोला । तर, खास उमेरमा आरोहण र अवरोहण हुनुपर्छ भन्ने विचार गलत होइन । युवा उमेरको हुनु मात्र कारणले राजनीतिक जिम्मेवारी पाउनुपर्ने तर्क पनि सही होइन । निरपेक्ष ढंगले नभई सापेक्ष रूपमा विचार गर्दा युवाको आरोहण र वृद्धको अवरोहण प्रकृतिसम्मत विषय हो । यसलाई पार्टी विधानमा प्रतिशतीय व्यवस्था गरी समाधान गर्न नसकिने होइन ।
अमेरिकालगायत पश्चिमी सन्दर्भमा पनि फरक–फरक दृष्टान्त छन् । आमरूपमा पत्यार नलाग्ने पाका उमेरका नेताहरू राजकीय नेतृत्वमा रहेर कुशलतापूर्वक जिम्मेवारी निर्वाह गरिरहेको प्रसङ्गसँगै कतिपय देशमा ४० वर्षको सेरोफेरोकाले नेतृत्व गरेका प्रसङ्ग पनि छन् । अन्यत्र पनि खासै उमेरको हदबन्दी भएजस्तो देखिँदैन, स्वाभाविक रूपमा अघिकाले छोड््दै जाने र पछिकाले लिँदै जाने गरेको देखिन्छ ।
कतिपय मानिसहरू नेताहरू सत्तामा जोडिइरहने सोचलाई ‘सामन्तवादी’ भन्ने गर्दछन् । यो विषय कति सामन्तवादी हो, कति होइन भन्ने विषयलाई यहाँ दुरुस्त चर्चाको विषय बनाउन चाहिनँ । सामन्तवादी संस्कृतिको आधारको रूपमा सनातन संस्कृतिका मान्यता तथा व्यवहारहरूतर्फ औँला उठाएको देखिन्छ । भन्ने कति जानेर भने, त्यो उनै जानून् । यहाँ चारै वेद र अट्ठारै पुराणका विषय त लेख्न सम्भव नहोला । धेरैजसोले पढे–सुनेका विषय यहाँ राख्न सकिन्छ ।
सामन्तवादको पक्षपोषण गर्न हुँदैन र त्यसो गर्न सकिँदैन तर के प्राचीन प्रवन्धहरू सबै सामन्तवादी र अन्धविश्वासका विषय हुन् ? वेद–पुराणका, रामायण, महाभारत र मनुस्मृतिका सबै विषय त्याज्य छन् ? पुरानो भएकै कारणले सामन्तवादी हुने हो भने बिस्तारै सबै संरचना, व्यवस्था पुरानो हँदै जान्छ र सामन्तिँदै जान्छ । यसरी हेर्ने बुझ्ने दृष्टिकोण सही हुन सक्दैन ।
प्रथमतः अत्यन्त सदासयपूर्वक के भन्न सकिन्छ भने सबै पुराना त्याज्य हुँदैनन् र सबै नयाँ ग्रहणीय पनि छैनन् । कतिपय कुरा कहीँका लागि ग्रहणीय र कहीँका लागि त्याज्य हुन सक्दछन् । सबै, सबैका लागि, सबै ठाउँमा एकनास केही हुँदैन । समाज, संस्कृति, सभ्यता, धर्म आदि विषय होस् वा प्रकृतिका पदार्थ; सबै देश, काल, परिस्थितिमा ग्रहणीय–ग्राह्य वा त्याज्य हुँदैन भन्ने कुरा बुझ्नबाट रोक्ने ‘वाद’को नाम के हो, थाहा छैन; तर त्यस्तो वाद, विचार, दृष्टिकोण, मान्यता, तर्क भने अवैज्ञानिक र पछौटे हो भन्ने विषयमा कुनै दुविधा राख्नुपर्दैन । कमसे कम यति त ध्यान राखौँ, छ्यानबिछ्यान राखौँ–पशु, पशु नै भए पनि सबै पशु पनि उस्तै हुँदैनन् । अरु धेरै उदाहरणतिर नजाऔँ, साह्रै परिश्रमी गधा, साह्रै इमान्दार कुकुर, साह्रै बलियो र उपयोगी घोडा, साह्रै चलाख मानिने स्याल आदिसँग कुनै मानिसको तुलना गरेर नाम राख्ने गरिँदैन । अहा, कस्तो गधाजस्तो बलियो हो, अहा, कस्तो कुकुरजस्तो इमान्दार हो, अहा कस्तो स्यालजस्तै बाठो हो भन्ने गरेको देखिँदैन । तर शेर÷सिंह भन्ने त मानिसका नामै हुन्छन् नि !? सबै कुरा डल्लैमा बुझ्ने ‘डल्लावाद’ संस्कृतिको विकासमा बाधक हुन्छ र छ । आफ्नो जमानामा आफ्mू केही गर्न नसक्ने वा सामुन्नेमा रहेकासँग प्रतिवाद गर्न नसक्नेहरू इतिहासलाई सराप्दछन् ।
यदि कसैले सबै पुराना विषयलाई सामन्तवाद भनेका हुन् भने त्यसलाई सच्याऊन् । राजनीतिक सत्ता वा व्यावहारिक पुस्तरणका सन्दर्भमा वेद–पुराणमा बाधक छैन । सामन्तवादको मानकका रूपमा चित्रित केही प्राचीन प्रवन्धका थोरै प्रसंगमा विमर्श गरौँ । मनु को थिए, मनु कति थिए, मनुहरूले के के गर्दथे भन्ने थाहा नभएकाहरू पनि ‘मनुवाद, मनुवाद’ भनेर उरालिएको देखिन्छ, सम्भवतः मनुवादलाई जीवित र जीवन्त राख्न यस्तैले सहयोग पु¥याइरहेका छन् । मनुस्मतिमा एउटा सन्दर्भ यस्तो भेटियो:
‘गृहस्थस्तु यदा पश्येद्वलीपलितमात्मनः । अपत्यस्यैव चापत्यं तदारण्यं समाश्रयेत् । अर्थात् गृहस्थले आफ्नो शरीर चाउरी पर्न, कपाल फ्mुल्न र छोराका छोराछोरी जन्मिन लागेको देखेपछि वनमा बस्नुपर्छ अर्थात् वानप्रस्थी हुनुपर्छ ।’ सत्ता परिवारको होस् वा राजकीय, यस्तो भनाइले जीवनभरि शासन गर्नुपर्छ भन्ने मान्यतालाई खण्डित गर्दछ ।
अब ‘त्रेतायुग’को दशरथ, रामको विषयमा हेरौँ । गोस्वामी तुलसीदासद्वारा रचित रामचरितमानसको यो प्रसंग हेरौँः
‘रायँ सुभायँ मुकुरु कर लीन्हा । बदनु बिलोकी मुकुट सम कीन्हा ।
राजा (दशरथ) ले स्वाभाविक रूपले नै ऐना लिए, त्यसमा आफ्नो अनुहार हेरेर मुकुट सोझ्mो पारे ।’ यसरी हेर्दा–‘श्रवन समीप भए सीत केसा । मनहुँ जरठपनु अस उपदेसा ।।
नृप जुबराज राम कहुँ देहू । जीवन जनम लाहु किन लेहू ।।
कानका नजिकका रौँ सेता भएका छन् । मानौँ, बुढ्यौलीले यस्तो उपदेश दिइरहेको छ, कि हे राजा रामलाई युवराज घोषणा गरेर जीवन र जन्मको लाभ किन नलिएको ?’ सक्षम भइसकेका जेठा छोरा रामलाई राज्यको उत्तराधिकार सुम्पिएर सेवानिवृत्त जीवनको आनन्द लिने सोच व्यक्त गरेको स्पष्ट छ । यसरी सत्ता हस्तान्तरणको आसय व्यक्त भएको देखिन्छ । यसै विषयमा ‘भानुभक्तको असली ठुलो रामायण’मा यस्तो लेखिएको छः
‘सन्तोष्ले दशरथ्जिका मन विषे, आनन्द मङ्गल भयो ।
राम्लाई अब राज्य द्यूँ भनि उसै, मन् यस् लहड्मा गयो ।
यस्तो मन् हुन गो र डाकि गुरुथ्यैँ यस्तो हुकुम् भो पनी ।
भोली राज्य म दिन्छु पुत्र कन सब् सामग्रि ल्याऊ भनी ।
(यहाँ भाषा जस्ताको तस्तै राखिएको छ ।)
आफ्नो छोरा राम राज्य सञ्चालनका लागि योग्य भएकोमा राजा दशरथको मनमा आनन्द मंगल भयो । रामलाई राज्य दिऊँ भन्ने सोचे । मनमा यस्तो विचार आएपछि गुरुलाई बोलाएर उनीसँग भने,‘म भोलि नै रामलाई राज्य सुम्पन्छु, राज्याभिषेकका लागि यसका लागि आवश्यक पर्ने सामग्रीको प्रवन्ध गर्नू भन्ने आदेश दिए ।’
यद्यपि, फरक कारणले दशरथको चाहनाबमोजिम रामको राज्याभिषेक हुन सकेन । यो प्रसङ्ग बेग्लै छ । वाल्मीकिरामायणको प्रसङ्ग त सिरानमा नै लेखिएको छ । अनि, त्यसपछिका रामले के गरे त ? रामले पनि जीवन कालमै कुश र लव दुवै छोरालाई राज्य सुम्पेको कुरा वाल्मीकिरामायणको उत्तरकाण्डमा पढ्न पाइन्छ ।
‘कोशलेषु कुशं वीरमुत्तरेषु तथा लवम् । अभिषिच्य महात्मानावुभौ रामः कुशीलवौ । कोशलको राज्यमा वीर कुशलाई र उत्तर कोशल राजसिंहासनमा लवलाई अभिषिक्त गरिदिए ।’ (वाल्मीकिरामायण उत्तरकाण्ड) यसरी उहिलेका सामन्त राजाका समयमा राजकीय सत्ता दोस्रो पुस्तामा सहजै हस्तान्तरण हुने गर्दथ्यो । आजीवन सत्तामा रहने गरेका केही राजा र हामी आफैले बनाएका, स्वीकार गरेका नेताहरूको सत्तालिप्साको दोष प्राचीन प्रवन्धहरू र संस्कृतिका आधारहरूलाई दिनु उचित देखिँदैन ।
हाम्रा पूर्वज, मानव पुर्खा, ऋषिमुनिहरूले स्थापित गरेका प्रवन्धअनुसार त मानिसको २५ वर्ष सम्मको उमेरलाई ब्रह्मचर्य भनिएको छ । यसको तात्पर्य हो, सकल ब्रह्माण्डका आचार, विचार, व्यवहारको विषयमा जान्न–बुझ्ने, शिक्षा प्राप्त गर्ने । त्यसपछि ५० वर्षको उमेरसम्म गृहस्थ धर्म निर्वहन गर्ने अर्थात् विवाह गर्ने, सन्तान उत्पादन गर्ने, पेसा–व्यवसाय गर्ने, २५ वर्षको उमेरसम्म सिकेका कुरा परिवार तथा समाजको हितमा प्रयोग गर्ने । ५१ देखि ७५ वर्षसम्म वानप्रस्थ हुने, ‘वन प्रस्थान’ गर्ने । वन जाने भनेको घर छोड्ने वा घरका बरव्यवहार सन्तानलाई जिम्मा लगाउने र वनमा बसेसरह लोभलिप्साबाट मुक्त हुने भनिएको हो । ७५ वर्षपछि सन्यासको प्रावधान छ । सत् (सत्य, श्रेष्ठता, जीवनको मूल्य वा सार)+न्यास(नासो, स्थापना, विश्वास)= सन्यास । यसरी मानव जीवनको मूल्य सम्झ्mाउने, निजी स्वार्थहरू त्याग गर्ने, मानव मात्रको नासोको रूपमा रहेको ज्ञान, सीप, अनुभवहरू बाँड्ने योगी (निजी स्वार्थहरूलाई परमार्थसँग जोड्ने) जीवन अँगाल्ने भनिएको हो ।
यस्ता महनीय प्राचीन प्रवन्धहरूबारे थाहै नपाइ अन्यथा सोच्नु, बोल्नु अन्याय हो । न्यायपूर्ण समाज व्यवस्थाका लागि अज्ञान र अन्यायको सहारा लिनुहुँदैन । इतिहासलाई जस्ताको तस्तै लागू गर्न सकिँदैन । त्यसो गर्नु आवश्यक र उचित पनि हुँदैन । तर, इतिहासबाट शिक्षा भने लिइरहन सकिन्छ । इतिहासबाट शिक्षा लिएर वर्तमान जीवनलाई परिमार्जित गर्नु नै सांस्कृतिक विकास र रूपान्तरण हो । (लेखकः संस्कृति अध्येता, अभियन्ता तथा नेकपा एमाले केन्द्रीय पार्टी स्कुल विभागका पूर्वसचिव हुनुहुन्छ ।)
