ननिता श्रेष्ठ
बौद्ध न्यायशास्त्रमा कानुनलाई केवल नियम र दण्डको प्रणालीका रूपमा नहेरी नैतिकता, सदाचार र सामाजिक उत्तरदायित्वसँग जोडेर बुझिन्छ। यसले व्यक्तिलाई बुद्धिमत्ता, करुणा र इमानदारीका साथ आचरण गर्न प्रेरित गर्दै न्यायलाई व्यक्तिगत तथा सामाजिक उत्तरदायित्वको आधारमा व्याख्या गर्दछ। आर्य अष्टाङ्गिक मार्गका सम्यक वाणी, सम्यक कर्म र सम्यक आजीविका बौद्ध कानुनी नैतिकताका महत्त्वपूर्ण आधारस्तम्भ हुन्। यी सिद्धान्तहरूले सत्यनिष्ठा, निष्पक्षता र नैतिक आचरणलाई प्रवद्र्धन गरी न्याय प्रणालीलाई पारदर्शी, विश्वसनीय र मानव गरिमाको सम्मान गर्ने बनाउँछन्।
सम्यक वाणी र कानुनी नैतिकता
सम्यक वाणी आर्य अष्टाङ्गिक मार्गको एक महत्त्वपूर्ण अङ्ग हो, जसले सत्य, नम्र, सम्मानजनक र जिम्मेवार अभिव्यक्तिलाई प्रोत्साहित गर्दछ। यसले झुट, कठोर वचन, चुगली तथा अर्थहीन संवादबाट टाढा रहन शिक्षा दिन्छ। कानुनी क्षेत्रमा यसको विशेष महत्त्व छ, किनकि न्यायिक प्रक्रियाको विश्वसनीयता सत्य र इमानदार संवादमा निर्भर हुन्छ। न्यायाधीश, वकिल, साक्षी तथा न्याय प्रशासनसँग सम्बन्धित सबै व्यक्तिहरूले आफ्नो अभिव्यक्ति सत्य, निष्पक्ष र जिम्मेवार बनाउनुपर्दछ।
सम्यक वाणीले न्यायाधीशलाई व्यक्तिगत पूर्वाग्रहभन्दा माथि उठेर तथ्य र प्रमाणका आधारमा निर्णय गर्न प्रेरित गर्दछ। वकिलले अदालतलाई भ्रममा नपारी कानुनी आधार र वास्तविक तथ्य प्रस्तुत गर्नुपर्छ भने साक्षीले कुनै दबाब वा प्रलोभनको प्रभावमा नपरी सत्य बयान दिनु उसको नैतिक तथा कानुनी दायित्व हो। यस्ता व्यवहारहरूले न्यायालयलाई सत्यको खोजी गर्न, व्यक्तिका अधिकारको संरक्षण गर्न तथा न्याय प्रणालीप्रति जनविश्वास कायम राख्न सहयोग पुर्याउिँछन्।
कानुनी दृष्टिकोणबाट सम्यक वाणीको मूल उद्देश्य सत्य, उत्तरदायित्व र निष्पक्षतालाई सुदृढ गर्नु हो। यसले मिथ्या साक्षी, मानहानि, घृणाजन्य अभिव्यक्ति तथा न्याय प्रक्रियामा अवरोध सिर्जना गर्ने झुटा सूचनालाई निरुत्साहित गर्दछ। उदाहरणका रूपमा, कुनै साक्षीले दबाबका बाबजुद अदालतमा सत्य बयान दिनु वा कुनै वकिलले छलकपट नगरी प्रमाण र कानुनी तर्कका आधारमा बहस गर्नु सम्यक वाणीको व्यावहारिक प्रयोग हो।
नेपालको संविधान, २०७२ ले सम्यक वाणीलाई प्रत्यक्ष रूपमा उल्लेख नगरे पनि यसको मूल भावना अभिव्यक्ति स्वतन्त्रता र जिम्मेवार सञ्चारसम्बन्धी व्यवस्थाहरूमा प्रतिबिम्बित भएको देखिन्छ। संविधानको धारा १९ ले अभिव्यक्ति तथा प्रकाशन स्वतन्त्रताको प्रत्याभूति दिएको छ भने सार्वजनिक शान्ति, सुरक्षा तथा अन्य व्यक्तिको अधिकारको संरक्षणका लागि आवश्यक कानुनी सीमा निर्धारण गर्न राज्यलाई अधिकार प्रदान गरेको छ। त्यसैगरी, मुलुकी अपराध संहिता, २०७४ ले मिथ्या साक्षी, मानहानि, आपराधिक धम्की तथा झुटा सूचना फैलाउने कार्यलाई दण्डनीय अपराध मानेको छ। यी प्रावधानहरूले सत्यनिष्ठ र उत्तरदायी संवादलाई प्रोत्साहन गर्दै सम्यक वाणीको भावनालाई कानुनी रूपमा सुदृढ बनाउँछन्।
सम्यक कर्म र न्यायिक उत्तरदायित्व
सम्यक कर्म आर्य अष्टाङ्गिक मार्गको अर्को महत्त्वपूर्ण सिद्धान्त हो। यसको अर्थ आफू वा अरूलाई हानि पुर्या्उने कार्यबाट टाढा रही नैतिक, जिम्मेवार र कानुनसम्मत आचरण गर्नु हो। यसमा हत्या, चोरी, हिंसा, यौन दुराचार तथा अन्य हानिकारक कार्यबाट बच्दै अरूको अधिकार र मर्यादाको सम्मान गर्ने व्यवहार समावेश हुन्छ। कानुनी सन्दर्भमा सम्यक कर्मले न्यायाधीश, वकिल, प्रहरी अधिकारी, सरकारी कर्मचारी तथा नागरिकलाई इमानदारी, निष्पक्षता र कानुनको शासनअनुसार आफ्नो जिम्मेवारी पूरा गर्न प्रेरित गर्दछ। विशेषतः न्यायाधीशहरूले व्यक्तिगत स्वार्थ, बाह्य दबाब वा अनुचित प्रभावबाट मुक्त भई तथ्य, प्रमाण र कानुनी सिद्धान्तका आधारमा निर्णय गर्नुपर्छ। यस्तो आचरणले न्याय, मानव अधिकार तथा कानुनको शासनलाई सुदृढ बनाउँछ।
बौद्ध दृष्टिकोणअनुसार अधिकांश अपराध लोभ, द्वेष र अज्ञानताबाट उत्पन्न हुन्छन् । सम्यक कर्मले नैतिक चेतना, आत्मअनुशासन र उत्तरदायित्वको विकास गरी व्यक्तिलाई हिंसा, बेइमानी र अन्य हानिकारक व्यवहारबाट टाढा रहन प्रेरित गर्दछ । यसले अपराध हुनुअघि नै त्यसको सम्भावना कम गरी सामाजिक शान्ति, सुरक्षा र न्यायपूर्ण समाज निर्माणमा योगदान पु¥याउँछ ।
सम्यक कर्मको विशेषता यसको रोकथाममुखी प्रकृतिमा निहित छ। यसले व्यक्तिलाई केवल दण्डको भयले होइन, नैतिक चेतनाका आधारमा कानुनको पालना गर्न उत्प्रेरित गर्दछ। परिणामस्वरूप हिंसा, चोरी तथा अन्य गैरकानुनी कार्यहरूमा कमी आउँछ र सामाजिक सद्भाव कायम रहन्छ। उदाहरणका रूपमा, कुनै न्यायाधीशले भ्रष्टाचार र पक्षपातबाट मुक्त भई निष्पक्ष फैसला गर्नु, वा नागरिकहरूले अरूको सम्पत्तिको सम्मान गर्दै कानुनको पालना गर्नु सम्यक कर्मको व्यवहारिक अभिव्यक्ति हो।
नेपालको संविधान, २०७२ ले प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गरेको छ, जसले मानव जीवनको सम्मान र अहिंसाको मूल्यलाई संरक्षण गर्दछ। त्यसैगरी, मुलुकी अपराध संहिता, २०७४ ले हत्या, चोरी, बलात्कार, ठगी, भ्रष्टाचार तथा अन्य हानिकारक कार्यलाई दण्डनीय अपराधका रूपमा परिभाषित गरेको छ। यी प्रावधानहरूले कानुनसम्मत, जिम्मेवार र नैतिक आचरणलाई प्रोत्साहन गर्दै सम्यक कर्मको उद्देश्यलाई व्यवहारमा कार्यान्वयन गर्ने प्रयास गरेका छन्।
सम्यक आजीविका र व्यावसायिक नैतिकता
सम्यक आजीविकाको अर्थ अरूलाई हानि नपुर्या ई इमानदार, नैतिक तथा कानुनसम्मत माध्यमबाट जीविका आर्जन गर्नु हो। बौद्ध धर्मले व्यक्तिलाई आफ्नो पेशा वा व्यवसायमार्फत समाजको हितमा योगदान पुर्यानउन तथा आर्थिक लाभका लागि अनैतिक वा गैरकानुनी कार्यमा संलग्न नहुन प्रेरित गर्दछ।
कानुनी सन्दर्भमा सम्यक आजीविकाले व्यावसायिक र आर्थिक गतिविधिहरूमा कानुन तथा नैतिक मापदण्डको पालना गर्न जोड दिन्छ। यसले भ्रष्टाचार, धोखाधडी, शोषण, मानव बेचबिखन, अवैध व्यापार तथा अन्य गैरकानुनी माध्यमबाट जीविका आर्जन गर्ने कार्यलाई निरुत्साहित गर्दछ। साथै, मानव मर्यादा, सामाजिक न्याय र कानुनको सम्मान गर्ने व्यवसाय र पेशालाई प्रोत्साहन गर्दछ।
यस सिद्धान्तको मुख्य उद्देश्य व्यावसायिक जीवनमा इमानदारी, उत्तरदायित्व र निष्ठाको विकास गर्नु हो। प्रत्येक व्यक्तिले आफ्नो पेशागत जिम्मेवारी कानुन र नैतिकताअनुसार पूरा गर्नुपर्ने कुरामा यसले जोड दिन्छ। फलस्वरूप अन्याय, शोषण र गैरकानुनी आर्थिक गतिविधिहरूमा कमी आउँछ तथा व्यक्तिको अधिकार र मर्यादाको संरक्षणमा सहयोग पुग्छ।
उदाहरणका रूपमा, कुनै वकिलले घुस वा छलकपटको सहारा नलिई इमानदारीपूर्वक सेवा प्रदान गर्नु, वा कुनै व्यवसायीले कर तिर्दै निष्पक्ष व्यापार सञ्चालन गर्नु सम्यक आजीविकाको उत्कृष्ट अभ्यास हो। यस्ता व्यवहारहरूले समाजमा नैतिक व्यावसायिक संस्कृतिको विकास गर्नुका साथै न्याय प्रणालीप्रति जनविश्वास अभिवृद्धि गर्न मद्दत पुर्यासउँछन्।
नेपालको संविधान, २०७२ को धारा ३४ ले प्रत्येक श्रमिकलाई न्यायोचित श्रम अभ्यास, उपयुक्त पारिश्रमिक, सामाजिक सुरक्षा तथा सुरक्षित कार्य वातावरणको अधिकार प्रदान गरेको छ। यी व्यवस्थाहरूले सम्मानजनक रोजगारी र मानव मर्यादाको संरक्षणलाई प्रोत्साहन गर्दछन्। त्यस्तै, मुलुकी अपराध संहिता, २०७४ ले भ्रष्टाचार, ठगी, मानव बेचबिखन, जबर्जस्ती श्रम, घुसखोरी तथा आर्थिक लाभका लागि गरिने अन्य गैरकानुनी कार्यलाई दण्डनीय अपराधका रूपमा व्यवस्था गरेको छ। यसले कानुनसम्मत र जिम्मेवार आर्थिक गतिविधिलाई प्रोत्साहन गर्दै सम्यक आजीविकाको भावनालाई सुदृढ बनाउँछ।
निष्कर्ष: समग्रमा, आर्य अष्टाङ्गिक मार्गका सम्यक वाणी, सम्यक कर्म र सम्यक आजीविका बौद्ध कानुनी नैतिकताका आधारभूत सिद्धान्तहरू हुन्। सम्यक वाणीले सत्य, जिम्मेवार र नैतिक संवादलाई प्रवद्र्धन गर्दछ; सम्यक कर्मले अहिंसा, उत्तरदायित्व र कानुनसम्मत आचरणमार्फत न्यायलाई सुदृढ बनाउँछ; तथा सम्यक आजीविकाले इमानदार र वैधानिक माध्यमबाट जीविका आर्जन गर्न प्रेरित गर्दै व्यावसायिक नैतिकता र मानव मर्यादाको संरक्षणमा जोड दिन्छ।
कानुनी दृष्टिकोणबाट यी सिद्धान्तहरूले न्यायाधीश, वकिल, प्रहरी अधिकारी, सार्वजनिक पदाधिकारी तथा नागरिकहरूलाई इमानदारी, निष्पक्षता र उत्तरदायित्वका साथ आफ्नो कर्तव्य निर्वाह गर्न मार्गदर्शन गर्छन्। साथै, कानुनको शासन सुदृढ गर्ने, भ्रष्टाचार न्यूनीकरण गर्ने, मानव अधिकारको संरक्षण गर्ने तथा न्याय प्रणालीप्रति जनविश्वास अभिवृद्धि गर्ने कार्यमा महत्त्वपूर्ण योगदान पुर्या्उँछन्। त्यसैले बौद्ध न्यायशास्त्रको दृष्टिकोणबाट सम्यक वाणी, सम्यक कर्म र सम्यक आजीविका न्यायपूर्ण, नैतिक र उत्तरदायी समाज निर्माणका आधारशिला मानिन्छन्।
(लेखक लुम्बिनी बौद्ध विश्वविद्यालय स्कुल अफ ल बि.ए.एलएल.बि. दोस्रो सेमेष्टरमा अध्ययनरत छात्रा हुन् ।)
