चित्तवीथि: विचार प्रक्रियाको विश्लेषणात्मक अध्ययन

मेचीकाली संवाददाता

२२ श्रावण २०८३, शुक्रबार
2 shares

गंगा खनाल

मानिसको सम्पूर्ण जीवन उसको मनले निर्धारण गर्छ । हामी जे देख्छौँ, सुन्छौँ, सम्झन्छौँ, अनुभव गर्छौँ वा निर्णय गर्छौँ, ती सबै कार्यको केन्द्रमा मन अर्थात् चित्त हुन्छ । बाहिरी संसारका घटना सबै मानिसका लागि समान देखिन सक्छन्, तर तिनको अर्थ, मूल्याङ्कन र प्रतिक्रिया भने प्रत्येक व्यक्तिमा फरक–फरक हुन्छ । यही भिन्नताको मूल कारण चित्तको कार्यप्रणाली हो । बौद्ध अभिधम्मले यस कार्यप्रणालीलाई अत्यन्त सूक्ष्म रूपमा विश्लेषणगर्दै ‘चित्तवीथि’को अवधारणा प्रस्तुत गरेको छ । चित्तवीथि भन्नाले कुनै विषयसँग सम्पर्क भएपछि चित्तले गर्ने क्रमबद्ध मानसिक प्रक्रियालाई जनाइन्छ (Anuruddha) ।

मानव सभ्यताको विकाससँगै मानिसले बाहिरी संसारलाई बुझ्न विज्ञान, प्रविधि र अनुसन्धानको सहारा लियो । तर आफ्नै मनलाई बुझ्ने प्रयास भने धेरैपछि मात्र व्यवस्थित रूपमा विकसित भयो। आधुनिक मनोविज्ञानले अहिले ध्यान, अनुभूति, स्मृति र निर्णय जस्ता विषयमा गहन अनुसन्धान गरिरहेको छ । आश्चर्यको कुरा के हो भने यिनै विषयलाई बौद्ध अभिधम्मले दुई हजार वर्षभन्दा बढी अघि नै आफ्नै विशिष्ट पद्धतिबाट विश्लेषण गरिसकेको थियो । यही कारण धेरै विद्वानहरूले अभिधम्मलाई मानव चेतनाको प्रारम्भिक विश्लेषणात्मक मनोविज्ञानका रूपमा व्याख्या गरेका छन् (Bodhi) ।

पाली भाषामा ‘चित्त’ले क्षण–क्षणमा उत्पन्न हुने चेतनालाई जनाउँछ भने “वीथि” को अर्थ मार्ग, क्रम वा प्रवाह हो । यसरी चित्तवीथि भन्नाले मनले कुनै आलम्बनलाई ग्रहण गर्ने, त्यसको अर्थ निर्धारण गर्ने, प्रतिक्रिया जनाउने र अन्ततः त्यसलाई स्मृतिमा सुरक्षित गर्ने सम्पूर्ण मानसिक यात्रालाई बुझिन्छ । यो यात्रा अत्यन्त तीव्र गतिमा सम्पन्न हुन्छ । सामान्य मानिसले यसलाई छुट्टै अनुभव गर्न सक्दैन, तर ध्यान र विपश्यना अभ्यासद्वारा यसको सूक्ष्म अवलोकन सम्भव हुने बौद्ध परम्पराको मान्यता छ (Bodhi) ।

बुद्धले मानव जीवनका अधिकांश दुःखको मूल कारण बाहिरी परिस्थिति होइन, त्यसप्रति मनले गर्ने प्रतिक्रिया भएको बताउनुभएको छ । एउटै घटनाले कसैलाई खुसी बनाउँछ भने अर्कोलाई दुःखी । एउटै आलोचनाले कसैमा क्रोध उत्पन्न गर्छ भने कसैमा आत्मसुधारको प्रेरणा दिन्छ । यसले देखाउँछ कि घटनाभन्दा महत्त्वपूर्ण कुरा त्यसलाई ग्रहण गर्ने मानसिक प्रक्रिया हो । यही मानसिक प्रक्रियाको वैज्ञानिक व्याख्या चित्तवीथिले गर्छ (Rahula) ।

अभिधम्मका अनुसार चित्त कुनै स्थायी तत्व होइन। यो प्रत्येक क्षण उत्पन्न हुन्छ, आफ्नो कार्य सम्पन्न गर्छ र तत्काल समाप्त हुन्छ । त्यसपछि अर्को चित्त उत्पन्न हुन्छ। यसरी निरन्तर उत्पत्ति र निरोधको शृङ्खलाबाट नै सम्पूर्ण मानसिक जीवन निर्माण हुन्छ । यही कारण बौद्ध दर्शनले स्थायी आत्माको सट्टा परिवर्तनशील मानसिक प्रक्रियालाई महत्व दिएको छ । यस दृष्टिकोणले मानव व्यक्तित्वलाई गतिशील र परिवर्तनशील मान्छ, जसले आत्मविकासको सम्भावनालाई पनि खुला राख्छ Nārada ।

चित्तवीथिको विस्तृत व्याख्या विशेषगरी अभिधम्मपिटक, अभिधम्मत्थसंगह तथा विशुद्धिमग्ग जस्ता ग्रन्थहरूमा पाइन्छ । आचार्य अनुरुद्धले मानसिक प्रक्रियालाई अत्यन्त व्यवस्थित रूपमा वर्गीकरण गर्दै इन्द्रिय सम्पर्कदेखि स्मरणसम्मका प्रत्येक चरणको विश्लेषण गरेका छन् । यसले अभिधम्मलाई केवल धार्मिक ग्रन्थ मात्र नभई चेतना अध्ययन (Consciousness Studies) को महत्वपूर्ण स्रोतका रूपमा स्थापित गरेको छ (Anuruddha) ।

अभिधम्ममा चित्तवीथिको संरचनामा भवङ्गको विशेष स्थान छ । जब कुनै बाह्य वा आन्तरिक विषयले मनलाई प्रभावित गरेको हुँदैन, तब चित्त भवङ्ग अवस्थामा रहन्छ । तर कुनै दृश्य, ध्वनि, गन्ध, स्वाद, स्पर्श वा मानसिक विचार उत्पन्न हुने बित्तिकै भवङ्गको निरन्तरता विच्छेद हुन्छ र नयाँ चित्तवीथि आरम्भ हुन्छ । यस प्रक्रियामा चित्तले विषयलाई क्रमशः ग्रहण, परीक्षण, मूल्याङ्कन र प्रतिक्रिया गर्ने कार्य गर्छ (Bodhi) ।
बौद्ध अभिधम्ममा विशेषगरी पञ्चद्वारवीथि र मनोद्वारवीथिगरी दुई प्रमुख प्रकारका चित्तवीथि वर्णन गरिएका छन् । पञ्चद्वारवीथि आँखा, कान, नाक, जिब्रो र शरीरमार्फत प्राप्त हुने विषयसँग सम्बन्धित हुन्छ भने मनोद्वारवीथि स्मृति, कल्पना, चिन्तन, तर्क र मानसिक अनुभूतिसँग सम्बन्धित हुन्छ । कुनै वस्तु देख्ने प्रक्रियामा भवङ्ग कम्पित हुन्छ, त्यसपछि इन्द्रियद्वार सक्रिय हुन्छ, विषय ग्रहण गरिन्छ, त्यसको परीक्षण हुन्छ र अन्ततः जवन चरणमा नैतिक वा अनैतिक मानसिक प्रतिक्रिया उत्पन्न हुन्छ (Karunadasa) ।

जवन चित्तलाई अभिधम्ममा सबैभन्दा महत्वपूर्ण मानिएको छ, किनकि यही चरणमा कर्मको नैतिक गुण निर्माण हुन्छ । सडकमा लडेको वृद्धलाई देख्दा एउटाले सहयोग गर्छ भने अर्कोले बेवास्ता गर्छ । दुवैले एउटै दृश्य देखेका भए पनि उनीहरूको प्रतिक्रिया फरक हुन्छ । यो भिन्नताको कारण जवन चरणमा उत्पन्न हुने मानसिक गुणहरू हुन् । यदि चित्त करुणा, मैत्री र प्रज्ञाले निर्देशित छ भने सकारात्मक प्रतिक्रिया आउँछ; यदि लोभ, द्वेष वा मोहले निर्देशित छ भने नकारात्मक व्यवहार उत्पन्न हुन्छ (Rahula) ।

सबै विचार इन्द्रियबाट मात्र उत्पन्न हुँदैनन् । पुरानो घटना सम्झनु, भविष्यको योजना बनाउनु, कुनै समस्याको समाधान खोज्नु वा कल्पनामा हराउनु मनोद्वारवीथिका उदाहरण हुन् । यसले मानव जीवनमा स्मृति र चिन्तनको स्वतन्त्र भूमिकालाई स्पष्ट रूपमा देखाउँछ (Nārada)।
आजको समाजमा मानिसको मन निरन्तर सूचना, विज्ञापन, सामाजिक सञ्जाल र प्रविधिको प्रभावमा रहेको छ । औसत व्यक्तिले दिनभरि असंख्य दृश्य, ध्वनि र सूचनाको सामना गर्छ । यस्ता प्रत्येक अनुभवले चित्तलाई प्रभावित गर्छ । यदि मन सचेत छैन भने त्यही सूचना लोभ, द्वेष, ईष्र्या वा भयको कारण बन्न सक्छ । तर यदि मन प्रशिक्षित छ भने त्यही अनुभवबाट विवेक, धैर्य र करुणा पनि विकास हुन सक्छ । यसैले बौद्ध शिक्षाले बाह्य संसार परिवर्तन गर्नुभन्दा पहिले आफ्नै मनलाई बुझ्न र अनुशासित बनाउन जोड दिएको हो (Harvey) ।

आधुनिक अनुसन्धानहरूले पनि ध्यान (Mindfulness Meditation) ले तनाव नियन्त्रण, भावनात्मक सन्तुलन, स्मरणशक्ति र निर्णय क्षमतामा सकारात्मक प्रभाव पार्ने निष्कर्ष प्रस्तुत गरेका छन् । यद्यपि आधुनिक विज्ञानले मस्तिष्कको जैविक संरचनालाई अध्ययन गर्छ भने अभिधम्मले अनुभवात्मक चेतनालाई केन्द्रमा राख्छ । दुवैको अध्ययन क्षेत्र फरक भए पनि मानव अनुभवलाई चरणबद्ध प्रक्रियाका रूपमा हेर्ने दृष्टिकोणमा उल्लेखनीय समानता पाइन्छ (Kabat–Zinn) ।

बौद्ध अभिधम्ममा वर्णित चित्तवीथिको अवधारणा आजको समाजमा पनि उत्तिकै सान्दर्भिक देखिन्छ। यसले उठाएका प्रश्नहरू आज पनि मानव जीवनका मूल प्रश्नहरू हुन, कि मानिस किन रिसाउँछ ? किन लोभ उत्पन्न हुन्छ ? किन एउटै घटनाप्रति फरक–फरक व्यक्तिले फरक प्रतिक्रिया दिन्छन ? किन केही मानिस तनावमा पनि सन्तुलित रहन्छन् भने केही सामान्य परिस्थितिमा पनि विचलित हुन्छन ? यी सबै प्रश्नको उत्तर खोज्दा चित्तको कार्यप्रणाली बुझ्नु आवश्यक हुन्छ (Harvey) । बुद्धले मानिसको व्यवहार बाह्य घटनाले होइन, ती घटनाप्रति उत्पन्न हुने मानसिक प्रतिक्रियाले निर्धारण गर्छ भन्ने शिक्षा दिनुभएको छ । यही भाव धम्मपदको पहिलो गाथामा व्यक्त भएको छ— “मनोपुब्बङ्गमा धम्मा, मनोसेट्ठा मनोमया ।” यसको अर्थ, सबै कर्मको मूल मन हो; मनले नै तिनलाई निर्देशन गर्छ । यदि मन अशुद्ध छ भने दुःख उत्पन्न हुन्छ, र यदि मन शुद्ध छ भने सुख प्राप्त हुन्छ (Dhammapada) ।

आधुनिक समाजमा सूचना प्रविधिको तीव्र विकासले मानिसको ध्यानलाई निरन्तर विभाजित गरिरहेको छ । मोबाइल फोन, सामाजिक सञ्जाल, विज्ञापन र चौबीसै घण्टा उपलब्ध डिजिटल सामग्रीले मनलाई एकाग्र रहन कठिन बनाएको छ । यस्तो अवस्थामा चित्तवीथिको अध्ययनले ध्यान, आत्मनियन्त्रण र सजगताको महत्वलाई पुनः स्थापित गर्छ (Kabat–Zinn) ।
विशेषगरी युवापुस्तामा देखिने डिजिटल लत, आवेगपूर्ण निर्णय, सामाजिक तुलना, चिन्ता र आत्मविश्वासको कमी जस्ता समस्याहरू चित्तको अस्थिरतासँग सम्बन्धित छन् । कुनै सूचना वा टिप्पणीलाई तुरुन्त प्रतिक्रिया दिनुभन्दा पहिले त्यसलाई विवेकपूर्वक मूल्याङ्कन गर्ने क्षमता विकास गर्न सके धेरै सामाजिक र व्यक्तिगत समस्या कम गर्न सकिन्छ । बौद्ध शिक्षाले यही सजगताको अभ्यासलाई ‘सति’ अर्थात् Mindfulness को रूपमा विकास गरेको छ (Rahula) ।

शिक्षाको क्षेत्रमा पनि चित्तवीथिको अवधारणा अत्यन्त उपयोगी हुन सक्छ । सिकाइ केवल जानकारी सङ्कलन गर्ने प्रक्रिया होइन; त्यो ध्यान, स्मृति, विश्लेषण र पुनःस्मरणको संयुक्त परिणाम हो । यदि विद्यार्थीको चित्त अस्थिर छ भने ज्ञान दीर्घकालीन रूपमा सुरक्षित रहँदैन । त्यसैले आज विश्वका धेरै विद्यालय र विश्वविद्यालयहरूले Mindfulness आधारित शिक्षण पद्धतिलाई अपनाउन थालेका छन् (Kabat–Zinn) ।
पारिवारिक सम्बन्धमा पनि चित्तवीथिको भूमिका अत्यन्त महत्त्वपूर्ण हुन्छ । अधिकांश विवाद वास्तविक घटनाका कारणभन्दा त्यस घटनालाई गरिएको मानसिक व्याख्याका कारण उत्पन्न हुन्छन् । एउटा सामान्य शब्दलाई कसैले अपमानका रूपमा लिन्छ भने अर्कोले त्यसलाई सुझावका रूपमा स्वीकार गर्छ । यसको कारण बाह्य घटना होइन, चित्तको पूर्वसंस्कार, अनुभव र मानसिक अवस्था हो । यदि व्यक्तिले प्रतिक्रिया दिनुअघि आफ्नो मनलाई अवलोकन गर्ने बानी विकास ग¥यो भने पारिवारिक तनाव र गलतफहमी उल्लेखनीय रूपमा कम हुन सक्छ (Harvey) । मानसिक स्वास्थ्यका क्षेत्रमा पनि बौद्ध मनोविज्ञानप्रति रुचि बढ्दै गएको छ । तनाव, चिन्ता, अवसाद र भावनात्मक असन्तुलनको उपचारमा ःष्लमागलिभकक आधारित उपचार पद्धतिले राम्रो परिणाम दिएको धेरै अनुसन्धानहरूले देखाएका छन् । यसले चित्तको प्रशिक्षण मानसिक स्वास्थ्यका लागि पनि महत्त्वपूर्ण रहेको पुष्टि गर्छ (Kabat–Zinn) ।

आधुनिक Cognitive Psychology / Neuroscience ले पनि मानिसको निर्णय प्रक्रिया तत्काल सम्पन्न नहुने, बरु विभिन्न मानसिक चरणहरूबाट अघि बढ्ने कुरा स्वीकार गरेका छन् । सूचना ग्रहण गर्ने, त्यसको अर्थ निर्धारण गर्ने, अघिल्लो अनुभवसँग तुलना गर्ने र त्यसपछि निर्णय गर्ने प्रक्रिया आधुनिक मनोविज्ञानमा पनि अध्ययनको मुख्य विषय हो । यही कारण केही विद्वानहरूले अभिधम्ममा वर्णित चित्तवीथिलाई चेतना अध्ययनका लागि महत्वपूर्ण दार्शनिक ढाँचा मानेका छन् (GethinÙ Karunadasa) ।

नेपालजस्तो बौद्ध सांस्कृतिक परम्परा भएको मुलुकमा चित्तवीथिको अध्ययन धार्मिक अभ्यासमा मात्र सीमित हुनु हुँदैन । यसको उपयोग शिक्षा, मनोपरामर्श, मानसिक स्वास्थ्य, नैतिक नेतृत्व, पारिवारिक सम्बन्ध र सामाजिक सद्भावजस्ता क्षेत्रमा पनि गर्न सकिन्छ । विशेषतः युवापुस्तामा बढ्दो तनाव, डिजिटल लत, असहिष्णुता र भावनात्मक असन्तुलनका सन्दर्भमा चित्तको कार्यप्रणाली बुझ्नु अत्यन्त उपयोगी हुन सक्छ । यसले मानिसलाई आफ्ना विचार र प्रतिक्रियाप्रति सजग बनाउँदै जिम्मेवार, विवेकशील र सन्तुलित जीवनतर्फ प्रेरित गर्छ ।

अन्ततः चित्तवीथि बौद्ध दर्शनको एउटा प्राविधिक अवधारणा मात्र होइन, मानव मनको सूक्ष्म विज्ञान हो । यसले विचार कसरी जन्मिन्छ, भावना कसरी निर्माण हुन्छ र व्यवहार कसरी विकसित हुन्छ भन्ने प्रश्नको गहिरो उत्तर दिन्छ । जब मानिसले आफ्नै चित्तलाई बुझ्न थाल्छ, तब उसले आफ्नो व्यवहारलाई पनि परिवर्तन गर्न सक्छ । यही परिवर्तन नै बौद्ध शिक्षाले खोजेको नैतिक, शान्तिपूर्ण र प्रज्ञायुक्त जीवनको आधार हो । त्यसैले चित्तवीथिको अध्ययन आज पनि बौद्ध दर्शन, मनोविज्ञान, शिक्षा, मानसिक स्वास्थ्य र चेतना अनुसन्धानका क्षेत्रमा उत्तिकै सान्दर्भिक, अनुसन्धानयोग्य र उपयोगी विषयका रूपमा स्थापित छ ।

 Works Cited – MLA 9th Edition

Anuruddha= A Comprehensive Manual of Abhidhamma -Abhidhammattha Saṅgaha_= Edited and translated by Bhikkhu Bodhi, Buddhist Publication Society, 1993

Bodhi, Bhikkhu, editor and translator= A Comprehensive Manual of Abhidhamma= Buddhist Publication Society, 1993

Dhammapada= Translated by Acharya Buddharakkhita, Buddhist Publication Society,1985

Gethin, Rupert= The Foundations of Buddhism= Oxford University Press,1998

Harvey, Peter= An Introduction to Buddhist Ethics= Cambridge University Press, 2000 .

Kabat–Zinn, Jon= Full Catastrophe Living= Revised ed=, Bantam Books,2013.

Karunadasa, Y= The Theravāda AbhidhammaM Its Inquiry into the Nature of Conditioned Reality. Centre of Buddhist Studies, The University of Hong Kong,2010

Nārada Mahāthera= A Manual of Abhidhamma= Buddhist Missionary Society,1979

Rahula, Walpola= What the Buddha Taught= Revised and Expanded Edition, Grove Press,1974