ई.थानेश्वर पोखरेल
हाम्रो इतिहास हेर्दा छाती गर्वले चौडा हुन्छ । संकटको त्यो कालखण्डमा आफ्नो अस्तित्व रक्षाका लागि हाम्रा पुर्खाले देशका निम्ति गरेको योगदान कहिल्यै मेटिने छैन, इतिहासमा अमर रहनेछ तर यहीँनेर एउटा गम्भीर प्रश्न उठ्छ–त्यति गौरवशाली इतिहास बोकेर पनि हामी आज किन पछि परिरहेका छौं ? के हामी समयको चक्रसँगै हिँड्न सकेनौं ? के हामीले देशको रक्षाका लागि तरबार उठाउने वीर योद्धा मात्र जन्मायौं, कलम चलाउने र डिजिटल युगलाई नेतृत्व गर्न सक्ने सक्षम सन्तति जन्माउन सकेनौं ? नेपाल आमाले अब सोच्नुपर्ने बेला आएको छ । यो प्रश्नको जवाफ सायद हामी सबैले आ–आफ्नो ठाउँबाट खोज्नुपर्छ ।
धेरै टाढाको उदाहरण हेरिरहनु पर्दैन । आज मानव विकास सूचकांक (एचडीआई) मा विश्वकै उत्कृष्ट राष्ट्रहरूमा गनिने र हाम्रा हजारौं नेपाली दाजुभाइलाई आकर्षक रोजगारी र सेवा–सुविधा दिएर आफ्नो देशमा काम लगाउने त्यही दक्षिण कोरियालाई, हामीले १९५०–६० को दशकमा खाद्यान्न सहयोग गरेको इतिहास पनि छ । हिजो सहयोग गर्ने ठाउँमा रहेको नेपाल, आज रोजगारीका लागि सहयोग माग्ने ठाउँमा कसरी पुग्यो भन्ने नै हाम्रो विकासको सबैभन्दा ठुलो समीक्षा हो ।
त्यसैगरी नेपालका तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाको कूटनीतिक क्षमता पनि इतिहासको एक उज्यालो पाटो हो । सन् १८५० मा बेलायत भ्रमण गर्ने उनी एसियाकै पहिलो शासक थिए भनिन्छ, जतिबेला बेलायतले उनलाई प्रधानमन्त्रीसरह मात्र नभई एक सार्वभौम राष्ट्रका राजासरह नै उच्च सम्मान र प्राथमिकता दिएको थियो । त्यही सुमधुर सम्बन्धको जगमा टेकेर सन् १८५७ को सिपाही विद्रोहमा नेपालले बेलायती सरकारलाई पु¥याएको सहयोगको परिणामस्वरूप, १ नोभेम्बर १८६० मा भएको ऐतिहासिक सन्धिमार्फत नेपालले सुगौली सन्धिमा गुमाएको भूमिमध्येबाट बाँके, बर्दिया, कैलाली र कञ्चनपुर गरी करिब चार हजार वर्गमाइल क्षेत्र फिर्ता ग¥यो–यही भू–भागलाई आज हामी ‘नयाँ मुलुक’ को नामले चिन्छौं ।
त्यति गौरवशाली र गर्बिलो इतिहास बोकेको देशको वर्तमान अवस्था हेर्दा मन चसक्क हुन्छ–मानव विकास सूचकांकमा १९३ राष्ट्रमध्ये १४५ औं स्थानमा खुम्चिनु, राहदानीको शक्तिमा विश्वको ९७ औं स्थानमा सीमित हुनु र देशको भविष्य बोकेका युवाहरूमा झण्डै २०.५६ प्रतिशत बेरोजगारी हुनु (Source: theglobaleconomy.com)
यो कसरी सम्भव भयो ?
उत्तर एक वाक्यमा छैन, यसका चार मुख्य जरा छन्ः
१. कूटनीतिको निरन्तरता टुट्नु
सन् १८५० मा जंगबहादुर राणालाई बेलायतले राजासरह सम्मान दिनु र १८६० मा नयाँ मुलुक फिर्ता हुनु कूटनीतिको उच्चतम नमुना थियो तर त्यसपछि हामीले कूटनीतिलाई राष्ट्रिय स्वार्थभन्दा व्यक्तिगत सत्ता टिकाउने औजार बनायौं । १९६० मा हामीसँग बराबर भएको दक्षिण कोरिया एउटै ३० वर्षे औद्योगिक योजना लिएर अगाडि बढ्दा, हामी ३० वर्षमा ३० भन्दा बढी सरकार फेर्ने अस्थिरतामा अल्झियौँ ।
२. उत्पादन होइन, आयातमा आधारित अर्थतन्त्र
एक बेला धान निर्यात गर्ने देश आज वर्षको ३ खर्बभन्दा बढीको खाद्यान्न आयात गर्छ । हाम्रो उद्योग नीति कहिल्यै स्थीर भएन। लगानीकर्ताले एउटा सरकारले दिएको सुविधा अर्कोले खारेज गरिदिने डरले उद्योग खोल्न चाहेनन् । परिणाम–देशभित्र रोजगारी सिर्जना भएन ।
३. शिक्षा र बजारबिचको ठुलो खाडल
heglobaleconomy.com अनुसार युवामा २०.५६ प्रतिशत बेरोजगारी छ, जुन अनौपचारिक तथ्यांकमा ३० प्रतिशत नजिक छ । हाम्रो शिक्षाले श्रम बजारले मागेको सीप दिँदैन । हरेक वर्ष ५ लाख युवा श्रम बजारमा आउँदा जम्मा ५० हजारले मात्र औपचारिक रोजगारी पाउँछन् । बाँकीका लागि विकल्प भनेकै विदेश हो ।
४. जनशक्तिको पलायन र रेमिट्यान्सको चक्रव्यूह
३५ लाखभन्दा बढी युवा बाहिरिएपछि रेमिट्यान्सले जिडिपीको २५ प्रतिशत धानेको छ । यसले अर्थतन्त्र त बाँच्यो तर देशभित्रको सबैभन्दा उर्जाशील जनशक्ति रित्तियो । विदेशी कमाइले गाउँमा पक्की घर त बन्यो, तर उत्पादनशील पुँजी बनेन ।
गौरवशाली इतिहासले हामी गर्न सक्छौं भन्ने कुराको जीवन्त प्रमाण दिन्छ तर त्यही इतिहासलाई आजको समृद्धिमा बदल्न चाहिने नीतिगत निरन्तरता, हाम्रो माटो सुहाउँदो पर्यटन विकासमा जोड, औद्योगिक इमान्दारिता र युवालाई देशभित्रै भविष्य देखाउने राजनीतिक इच्छाशक्तिमा हामी गम्भीर रूपमा चुकेका छौं । मानव विकास सूचकांकमा १४५ औं र राहदानीको शक्तिमा ९७ औं स्थानमा खुम्चिनु त्यही चुकको मूल्य हो ।
हाम्रोजस्तै भौगोलिक अवस्था भएका, प्राकृतिक स्रोत भएका र नभएका देशहरूले आज विकासमा कसरी फड्को मारे त ? के विकास गर्न प्राकृतिक स्रोतले भरिपूर्ण भएर मात्र पुग्छ त ?
१.स्रोत नभएर पनि फड्को मारेका देशहरू
स्विट्जरल्याण्डः हामीजस्तै चारैतिर भू–परिवेष्टित, पहाडै–पहाडले घेरिएको मुलुक । उल्लेख्य खानी एउटा पनि छैन तर उसले पहाडलाई विश्वस्तरीय पर्यटनमा, ताल–नदीलाई ऊर्जामा र इमान्दारितालाई बैंकिङ प्रणालीमा रूपान्तरण ग¥यो । त्यहाँ नीतिगत स्थिरता र सीप नै सबैभन्दा ठूलो प्राकृतिक स्रोत बन्यो ।
सिङ्गापुर र रुवान्डाः सिंगापुरसँग पिउने पानीसम्म थिएन, रुवान्डा त हामीसँग लगभग सँगसँगै नरसंहारपूर्ण गृहयुद्धबाट उठेको देश हो । दुवैले एउटै सूत्र अपनाए–मानव पुँजीलाई नै मुख्य स्रोत बनाए, भ्रष्टाचारमा शून्य सहनशीलता राखे र एउटै विकास नीतिलाई २०–३० वर्षसम्म अविचलित रूपमा निरन्तरता दिए ।
जापानः जापानसँग के छैन भनेर सोध्नु सजिलो छ–फलाम छैन, तेल छैन, ग्यास छैन, खेतीयोग्य जमिन जम्मा १२ प्रतिशत मात्रै छ । ६ हजार ८०० टापु भएको देश, हरेक वर्ष भूकम्प, सुनामी। तैपनि आज विश्वको चौथो ठुलो अर्थतन्त्र कसरी बन्यो ? जापानले ३ वटा कुरामा लगानी लगायो, जुन हामीले लगाएनौंः
–स्रोतमा होइन, मान्छेमा लगानी
जापानले बुझ्यो– सबैभन्दा ठूलो खानी भनेको मान्छेको दिमाग हो । दोस्रो विश्वयुद्धमा सबै ध्वस्त हुँदा पनि उसले स्कूल र स्किलमा लगानी रोकेन । आज जापानमा साक्षरता ९९ प्रतिशत छ ।
–इमान्दारिता = प्रणाली
जापानमा रेल २० सेकेन्ड ढिला हुँदा कम्पनीले माफी माग्छ । हामीकहाँ २० महिना योजना ढिला हुँदा पनि कसैले जिम्मेवारी लिँदैन । उनीहरूले प्रविधि मात्र होइन, कामप्रतिको इमान्दारिता आयात गरे ।
–एउटै भिजन, ५० वर्षसम्म
सन् १९५० मा जापानले भन्यो– हामी इलेक्ट्रोनिक्स र अटोमोबाइलमा विश्वलाई जित्छौं । सरकार फेरियो, प्रधानमन्त्री फेरिए तर त्यो योजना फेरिएन । एमआइटिटी नामको एउटा संस्थाले ५० वर्ष एउटै योजना टिकायो । हामीकहाँ सरकार फेरिएपछि अघिल्लो सरकारको राम्रो योजना पनि खारेज हुन्छ । जापानले प्रमाणित गरिदियो– देश स्रोतले होइन, सोचले बन्छ ।
२. स्रोत भएर सदुपयोग गर्ने देशहरू
बोट्सवाना र दुबईः बोट्सवानासँग हिरा थियो, दुबईसँग तेल । तर उनीहरूले स्रोत बेचेर पैसा बाँडेनन् । बोट्सवानाले हिराको पैसाले शिक्षा र स्वास्थ्यमा लगानी ग¥यो, दुबईले तेलको पैसाले पर्यटन र व्यापारको सहर बनायो । स्रोतलाई उनीहरूले ‘इन्जिन’ बनाए, ’सुत्ने तकिया’ बनाएनन् ।
३. स्रोत भएर पनि अलमलिएका देशः
भेनेजुएला, नाइजेरियाः संसारकै धेरै तेल छ तर नीतिगत अस्थिरता र भ्रष्टाचारले आज जनताले खान पाएका छैनन् । यसलाई ‘Resource Curse’ भनिन्छ ।
त्यसैले, स्रोतले गाडीलाई धकेल्न त सक्छ, तर स्टेयरिङ समात्ने काम नीति, इमान्दारिता र मानव पुँजीले नै गर्छ । प्राकृतिक स्रोत आफैँमा विकास होइन, विकासको एउटा औजार मात्र हो । औजार भएर मात्र पुग्दैन, त्यसलाई चलाउने कुशल हात र स्पष्ट दृष्टि चाहिन्छ । स्विट्जरल्याण्डसँग नभएको अथाह पानी, जीवन दिने बहुमुल्य जडीबुटी, संसारलाई लोभ्याउने हिमाल र हजारौं वर्ष पुरानो संस्कृति हामीसँग छ ।
हाम्रो दुर्भाग्य स्रोतको अभाव होइन, दृष्टिकोणको अभाव हो । हामीसँग आज के छैन भने एउटा योजना निर्वाध पाँच÷दश वर्ष टिक्ने राजनीतिक प्रणाली, एउटा सचिव सरुवा नहुने प्रशासनिक निरन्तरता र एउटा कामको मूल्यांकन नियतले होइन, नतिजाले गर्ने संस्कार । जबसम्म हामी हरेक पाँच वर्षमा बाटो नै बदल्छौं, तबसम्म गाडीमा जति नै इन्धन भए पनि गन्तव्यमा पुगिँदैन। जबसम्म हामी सचेत युवा र स्पष्ट भिजनसहितको, कम्तीमा पाँच वर्ष टिक्ने सरकार बनाउन सक्दैनौं, तबसम्म गाडीमा जति नै इन्धन भए पनि गन्तव्यमा पुग्न सक्दैनौं ।
नेपाल धनी कसरी बन्न सक्छ त ? अबको बाटो के देखिन्छ ?
यो एकदमै गम्भीर र समयसान्दर्भिक प्रश्न हो । वर्तमान अर्थमन्त्री स्वर्णिम वाग्लेले भन्नुभए जस्तै, ५ वर्षभित्र नेपालको वार्षिक बजेट ५ गुणाले वृद्धि गरी १०० खर्ब पुर्याउन सकिएला त ? के यो व्यवहारिक रूपमा सम्भव छ ? यो केवल राजनीतिक नारा मात्र हो कि आर्थिक धरातलमा टेकेको यथार्थपरक योजना हो, यसको गहिरो समीक्षा आवश्यक छ ।
नेपालसँग केही त्यस्ता प्रमुख स्रोतहरू छन्, जुन हिजोआज मात्र होइन, पहिलेदेखि नै हामीसँग उपलब्ध छन् र सानो स्तरमा भए पनि त्यसको उत्पादन तथा कार्यान्वयन सुरु भइसकेको छ । यदि हामीले ती सम्भावनाहरूलाई व्यवस्थित योजना, इमानदार कार्यान्वयन र दीर्घकालीन सोचका साथ अगाडि बढाउन सक्यौं भने, नेपालको अर्थतन्त्रले वार्षिक दोहोरो अंकको वृद्धि हासिल गर्छ भन्ने कुरा केवल सपना मात्र होइन, स्पष्ट र यथार्थ सम्भावना हो ।
त्यस्ता केही प्रमुख क्षेत्रहरू हेर्दा यस प्रकार देखिन्छन्
१. कनेक्टिभिटीः
कनेक्टिभिटी नै समृद्धि हो, विकासको पहिलो सर्त नै जोडिनु हो ।
–भौतिक कनेक्टिभिटीः काठमाडौं–तराई फास्ट ट्र्याक, हुलाकी राजमार्ग र उत्तर–दक्षिण कोरिडोर (चीन र भारतलाई जोड्ने) निर्माण सम्पन्न हुने बित्तिकै नेपालको ढुवानी खर्च कम्तीमा ५० प्रतिशतले घट्नेछ । जब एउटा किसानको बारीको तरकारी २ घण्टामै बजारमा पुग्छ, बिचौलिया होइन किसान धनी हुन्छ, उसको आम्दानी आफैं दोब्बर हुन्छ । यही नै अर्थतन्त्रको असली जग हो । त्यसैगरी, केही समयअघि हाम्रा प्रधानमन्त्री बालेन्द्र शाहले चुनावी प्रचारका क्रममा भन्नुभए जस्तै, विकास भनेको काठमाडौं र पोखरा मात्र होइन । रामारोशन, बडिमालिका, रारा ताल, खप्तड जस्ता लुकेका स्वर्गहरूमा सहज पहुँच पुग्यो भने आन्तरिक र बाह्य पर्यटकको ध्यान आफैं तानिन्छ । एउटा राम्रो सडकले एउटा जिल्लाको भाग्य बदल्न सक्छ । सडक पुग्यो भने होटल खुल्छ, होटल खुल्यो भने रोजगारी खुल्छ, र रोजगारी खुल्यो भने गाउँको पलायन रोकिन्छ ।
–डिजिटल कनेक्टिभिटीः आज जुम्लाको ओखर अमेरिकामा बस्ने मान्छेले इन्टरनेटबाट किन्न सक्नुपर्छ । गाउँ–गाउँमा तिब्र इन्टरनेट पुग्यो भने आइटी, फ्रिलन्चिङ र डिजिटल मार्केटिङबाटै अर्बौं रुपैयाँ भित्रिन्छ । बाटो भन्दा छिटो इन्टरनेटले गाउँ जोड्छ ।
–हवाई कनेक्टिभिटीः पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई केवल विमानस्थल होइन, ट्रान्जिट हबको रूपमा विकास गरेर दैनिक २० वटा अन्तर्राष्ट्रिय उडान भित्र्याउन सकियो भने नेपालको पर्यटन आफैं ३ गुणाले बढ्छ । एक पटक पर्यटक आकाशबाट सिधै पोखरा र लुम्बिनी ओर्लन थाले भने, उनीहरूलाई मुस्ताङ, रारा र बडिमालिकासम्म पुर्याउन गाह्रो छैन। यसका लागि गर्नुपर्ने प्रमुख कामहरू धेरै छन्, जुन काम वर्तमान एकल बहुमतको बलेन सरकारबाट हामीले ठूलो अपेक्षा गर्न सक्छौं ।
‘रेल र पानीजहाजको कनेक्टिभिटीः हामी रेल र पानीजहाजबाट भारत र चीनसँग जोडिन सक्यौं भने नेपाल एउटा Landlocked देशबाट Land–linked देश बन्छ । कोलकाताबाट सामान रेलमा सिधै काठमाडौं ल्याउन सकियो भने नेपाल व्यापारको केन्द्र बन्छ । यसका लागि पहिला नेपाललाई आर्थिक रुपमा समृद्ध बनाएर, चीन र भारतको समन्वयमा काम गर्यौं भने नेपालले विश्वकै ठूला अर्थतन्त्र भएका देशहरूलाई समेत व्यापारमा जोड्न सक्छ र त्यसबाट ठूलो लाभ उठाउन सकिन्छ ।
कनेक्टिभिटी भनेको बाटो मात्र होइन, अवसरसँग जोडिनु हो । नेपाल जोडियो भने, नेपालको अर्थतन्त्र दौडिन्छ ।
२. हाइड्रो पावरः
सेतो सुनबाट हरियो डलर, नेपालसँग ४२ हजार मेगावाट जलविद्युत उत्पादन गर्ने क्षमता छ, तर हामीले अहिलेसम्म ४ हजार मेगावाट मात्र निकालेका छौं । यो भनेको बैंकमा अर्बौं रुपैयाँ छ, तर चेक काट्न नजानेको जस्तै हो । आजको यथार्थ के हो भने, हिउँदमा हामी आफैं भारतसँग बिजुली किनेर उज्यालो बाल्छौं, अनि वर्षामा हाम्रो आफ्नै बिजुली खेर जान्छ । यो विरोधाभासको एक मात्र कारण हो– हामीसँग पानी भण्डारण गर्ने ठूला जलाशययुक्त आयोजनाको अभाव ।
बूढीगण्डकी जस्ता ठूला जलाशययुक्त आयोजना बनाउन सकियो भने यो खेल सधैंका लागि उल्टिन्छ । हामी वर्षैभरि बिजुली उत्पादन गर्न सक्छौं र त्यो बिजुली भारत र बंगलादेश जस्ता ऊर्जा–भोका देशहरूलाई बेचेर वार्षिक ३ देखि ४ खर्ब रुपैयाँ सिधै देशको ढुकुटीमा भित्र्याउन सक्छौं । यो केवल बिजुली बेच्नु मात्र होइन, नेपालको पानीलाई हरेक दिन डलरमा परिणत गर्नु हो ।
३. ग्रीन हाइड्रोजनः पानीबाट पेट्रोल भन्दा महँगो इन्धन
संसार अहिले विस्तारै पेट्रोलियम युगबाट हाइड्रोजन युगमा प्रवेश गर्दैछ । ग्रीन हाइड्रोजन भनेको अरू केही होइन, हाम्रै नदीको पानीलाई हाम्रै जलविद्युतको प्रयोग गरेर फुटाएर निकालिने भविष्यको सबैभन्दा स्वच्छ र शक्तिशाली इन्धन हो । विज्ञहरूको अनुमान अनुसार, आउँदा दिनमा यसको मूल्य पेट्रोलको तुलनामा ४ गुणासम्म बढी हुनेछ । अर्थात्, जुन पानी हामीले आज खेर फालिरहेका छौं, भोलि त्यही पानी विश्वको सबैभन्दा महँगो इन्धन बन्नेछ ।
नेपालसँग हाइड्रोजन बनाउन चाहिने दुई मुख्य कुरा प्रशस्त छ– पानी र बिजुली । हामीले हाम्रो खेर जाने वर्षायामको बिजुली प्रयोग गरेर Green Hydrogen र Green Ammonia बनायौं भनेः
–विश्वलाई बेच्न सक्छौंः जापान, कोरिया र युरोपले सन् २०३० पछि खर्बौं डलरको ग्रीन हाइड्रोजन किन्ने योजना बनाएका छन् । हामी भारतको बाटो हुँदै त्यो बजारमा पुग्न सक्छौं ।
–मल र इन्धन आफैं बनाउन सक्छौंः हामीले हरेक वर्ष ३० अर्बको रासायनिक मल भारतबाट किन्छौं । त्यो मलको मुख्य कच्चा पदार्थ नै Ammonia हो, जुन Green Hydrogen बाट बन्छ । हामीले आफ्नै मल कारखाना चलाउन सक्छौं, जसले अर्बौंको आयात रोक्छ र किसानले समयमै मल पाउँछन् ।
–भविष्यको इन्धनः भोलि हाम्रा बस, ट्रक र हवाइजहाज नै हाइड्रोजनबाट चल्नेछन् । सिधा भाषामा भन्दा, जलविद्युतले हामीलाई बिजुली बेच्ने बनायो भने, न्चभभल ज्थमचयनभल ले हामीलाई विश्वकै इन्धन बेच्ने धनी देश बनाउँछ ।
४.माटो सुहाउँदो आधुनिक कृषिः बाँझो खेतमा सुन फलाउने क्रान्ति
नेपालको सबैभन्दा ठूलो विडम्बना के हो भने, कृषि प्रधान देश भनिए पनि हामी दैनिक १ अर्बको तरकारी र फलफूल भारतबाट किन्छौं । यसको कारण हाम्रो माटो खराब भएर होइन, हाम्रो सोच पुरानो भएर हो । हामीले अब निर्वाहमुखी होइन, माटो सुहाउँदो आधुनिक कृषि गर्नुपर्छ ।
–एक गाउँ, एक उत्पादनः इलाममा चिया र अलैंची, जुम्लामा स्याउ र ओखर, तराईमा केरा र माछा। जुन माटोमा जे सुहाउँछ, त्यसको पकेट क्षेत्र बनाएर ठूलो परिमाणमा उत्पादन गर्ने ।
–प्रविधिसँग जोड्नेः युवा विदेश होइन, गाउँमै बसेर ड्रोनबाट विषादी छर्ने, थोपा सिँचाइ गर्ने र मोबाइलमै माटोको परीक्षण गर्ने वातावरण बनाउने । कृषि भनेको हिलो खेल्ने पेशा होइन, टेक्नोलोजीको पेशा हो भन्ने देखाउने ।
–बजारीकरणः किसानले उत्पादन गर्न जानेका छन्, बेच्न जानेका छैनन् । प्रत्येक पालिकामा कोल्ड स्टोर र कृषि एम्बुलेन्सको व्यवस्था गरियो भने बारीमै तरकारी कुहिनु पर्दैन ।
माटो सुहाउँदो कृषिले दुई काम एकैसाथ गर्छ– युवालाई विदेश जानबाट रोक्छ र देशलाई आत्मनिर्भर बनाउँछ ।
५. आइटी र नलेज इकोनोमी
केही समयअघि गगन थापाले भन्नुभए जस्तै, अब नेपाली युवाले रोजगारीका लागि खाडी जानु पर्दैन। एउटा नेपाली युवाले काठमाडौंको कीर्तिपुर डाँडामा बसेरै, ल्यापटपबाट अमेरिका र युरोपको काम गरेर डलर कमाउन सक्छ । यही नै २१औं शताब्दीको नयाँ वैदेशिक रोजगारी हो । आज भारतले केवल आइटी बेचेर वार्षिक २५० अर्ब डलर भन्दा बढी कमाउँछ । हामीले त्यो बजारको जम्मा १ प्रतिशत मात्र हिस्सा लिन सक्यौं भने पनि हाम्रो देशमा वार्षिक ३ खर्ब रुपैयाँभन्दा बढी भित्रिन्छ, त्यो पनि बिना कुनै प्रदूषण र बिना धुवाँको कारखाना । यसका लागि ठूलो लगानी केही चाहिँदैन, केवल दुई कुरा चाहिन्छ– गाउँ–गाउँमा पुग्ने हाइ स्पीड इन्टरनेट र हरेक प्रदेशमा व्यवस्थित आइटी पार्क ।
६. मेडिकल टुरीजम र वेलनेस
संसारले हिमालयलाई शान्ति र उपचारको केन्द्र मान्छ । पोखरा, धुलिखेल र लुम्बिनीमा अन्तर्राष्ट्रिय स्तरको आयुर्वेद र प्राकृतिक उपचार केन्द्र खोलियो भने, एउटा अमेरिकनले घुँडाको अप्रेसन अमेरिकामा ५० हजार डलर तिर्नु भन्दा नेपालमा ५ हजार डलरमा गरेर १ महिना हिमालय हेरेर बस्न रुचाउँछ ।
७. पानी बेच्ने
हाम्रो हिमालको पानी विश्वकै शुद्ध पानी हो । हामीले आजसम्म पानीलाई निःशुल्क बगाइरहेका छौं । यदि ‘हिमालयन वाटर’लाई ब्रान्डिङ गरेर दुबई, कतार र युरोपमा बेच्न सकियो भने, त्यो पेट्रोल भन्दा महँगोमा बिक्छ । यो अर्को अरबौंको उद्योग हो ।
८. फिल्म सिटी र इन्टरटेन्मेन्ट हब
नेपालको लोकेशन स्विट्जरल्यान्ड भन्दा सुन्दर छ । मुस्ताङमा हलिउड र बलिउडका लागि स्थायी सुटिङ स्टुडियो (फिल्म सिटी) बनाइयो भने, एउटा फिल्मले मात्रै करोडौंको विदेशी मुद्रा, होटल व्यवसाय र रोजगारी ल्याउँछ । सारमा भन्दा, नेपालले बेच्नुपर्ने कुरा भनेको बिजुली, पानी, ज्ञान र सुन्दरता हो । यी चार कुरा बेच्न सकियो भने हामीले कसैसँग ऋण माग्नु पर्दैन ।
