पुष्कर घिमिरे
संसारमा मानिसको जन्म, विवाह, मृत्यु निरन्तर चलिरहने परम्परा हुन् । मानिस शरीर मात्र लिएर जन्मन्छ, दिन रात गर्दै ऊ अलि ठुलो हुन्छ, हरेक पाइला दिन रात उसका आवश्यकता र चाहनाहरु बढ्दै जान्छन् । आवश्यकता र चाहना अनुसारनै उसको किशोरअवस्थामा एउटा हुर्की नामक केटी साथिसँग भेट हुन्छ । यो माया भन्ने चिज कस्तो कस्तो ? हरेक कुरामा साथ र सहयोग गर्ने, साथमा साथ दिने ती बाबुआमाको मायाबाट अलि कति खोसेर मायामा ध्यान मोडिन्छ ।
मायालाई फर्केर हेर्दा सँगै हुन नलेखिएका दुई पात्र भाग एकबाट निरन्तरता दिँदै समयको छाल कहाँ कसरी अगाडी बढ्छ थाहा नै नहुने मायाको भुमरीमा खोलाको बगरमा पछारीएको पानी बिनाको माछा जस्तै छट्पटाउँदै हरेक दिन फोन र म्यासेजको प्रतिक्षामा बस्ने हर्केले हुर्कीको मौनता र परिस्थिति बुझ्न सकेन, बोलिले मायाको आभास मात्र पाइरयो । फेसबुकमा पोस्टाउने हरेक फोटोमा देखिने र आउने लभ रियाक्ट हर्केको लागि सय भोल्टको झड्का जस्तै लाग्ने गथ्र्यो ।
हर्के र हुर्कीको सम्वादलाई समयको छालले अलि पातलो बनाउदै थियो । हर्केले सोध्यो के तिमीले माया गर्ने भएर नै खाली यो रियाक्ट पठाउँछौ ? तर हुर्की मौनता मै हराउँथी । सायद आज समयले छर्लङ्ग पार्दै छ । हर्केको जीवनमा आफ्नै नभएपनि आफ्नोपनको आभास दिने एक मात्र पात्र थिई । आज हुर्कीले दिएको उपहार समयसगैँ पानी बिनाको पोखरीको माछा जस्तै भएको छ । हरेक कुरा बाँडफाँड गर्ने हुर्की हर्केलाई मौनता खुलाएको भए हरेक रात भालाको छुरा रोप्दै छाती चिर्नु पर्दैन थियो ।
कतै हर्के हुर्कीको मन मुटुमा बस्न नसकी, हर्केको मनमा मात्र फुलेको फुल पो हो कि हुर्की । के हर्केले माया गर्नु, हुर्कीले पठाएको लभ रियाक्टलाई माया सम्झनु उसको भुल पो थियो कि, के हर्केको लागि माया गर्नु, मन पराउनु पाप पो थियो कि, सायद समयले पनि यस्तै भन्दै थियो । हुर्कीको नयाँ जीवन, नयाँ भविष्य र उसको मन भित्रको मौनता हर्केको लागी सधैँ जीवन भर अनौठो साबित भयो ।
उनीहरु करिब पाँच वर्ष सम्म आफ्नोपनको आभासमा बाँचिरहँदा भविष्यको धमिलो बादलले भने पुर्णिमाको जुनलाई औँसी पक्षको कालो अन्धकार तर्फ धकल्दै टाढा बनाएर छाड्यो । हर्केको जीवन भने त्यही सधैँ र अझै आउने लभ रियाक्ट नै उसको मायाको याद र आभास बन्दै थियो । सम्बन्धको अन्तिम अस्तु बगाउँदै यादमा जलिरहेको जीवनलाई नयाँ गोरेटोमा मोड्ने प्रयास गर्दै एक पात्र हर्के ।