नयाँ साल २०७९ शुभ होस्: व्यवस्था फेरियो, अब नागरिकको अवस्था फेरिनुपर्छ

मेचीकाली संवाददाता

१ बैशाख २०७९, बिहीबार
427 shares

बुटवल । विश्वव्यापी महाव्याधि र त्रासकै बीचमा दुई साल बितेर गएका छन् । महामारीसँग लड्दै–जित्दै र मनोबल बढाउँदै २०७८ साल गएको छ र आजदेखि नयाँ वर्ष २०७९ सुरु भएको छ ।

समृद्धिको आधार वर्षका रुपमा बितेको वर्षलाई लिइएता पनि जुन बेलामा कामले तीव्रता पाउनुपर्ने थियो, त्यो बेलामा महामारीले सताउने र राजनीतिक खिचातानीले अवरोध सिर्जना गर्ने काम भयो । महामारीले सताएका जनतामा निराशा छर्ने काम भयो । अस्थिरताका कुनै पनि प्रवृत्तिलाई अबका दिनमा फेरि भोग्न नपरोस् । तय भइसकेका समृद्धिका आधारहरुलाई साकार पार्दै नारालाई कामले व्यवहारिक बनाउनुपर्ने अबको कार्यभार हो ।

‘समृद्ध नेपाल ः सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा तय भएको आधा दशकभन्दा धेरै भइसक्यो । आकांक्षा र लक्ष्यलाई परिणाममुखी बनाउन आवश्यक पर्ने नीति, रणनीति तथा योजना र कार्यक्रम अहिले बन्ने क्रम जारी नै छ । एउटा क्षेत्रलाई पनि प्राथमिकतामा राखेर राष्ट्रिय लक्ष्य र आकांक्षा पूरा हुन सक्दैन । अब प्रथमिकीकरण गरेर दिगो विकासको योजना बनाउन अपरिहार्य छ र योजना कार्यान्वयनका चरणबद्ध कार्यक्रम पनि उपयुक्त नै बनाउनुपर्ने छ ।

नयाँ संविधानले राजनीतिक व्यवस्था फेरिएको हो । सात दशकदेखिको नागरिक तथा राजनीतिक अधिकार प्राप्तिको लडाइँ पूरा भएको हो । आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार स्थापित भइसकेको छैन र नागरिकको अवस्था फेरिएको पनि छैन । अबको कार्यभार भनेकै राज्यको पुनर्संरचनासँगै नागरिकको जीवनस्तर पनि बदल्नु हो, समृद्धिका लागि तय भएका आधारलाई साकार पार्नु हो । स्रोत र सामथ्र्यको संरक्षण, विस्तार र उपभोगको प्रभावकारी योजना बनाउनु हो ।

अहिले पनि वैदेशिक रोजगारी बाध्यकारी बनेको छ । बाध्यकारी अवस्थाको वैदेशिक रोजगारीलाई बदल्दै स्वेच्छिक बनाउने र स्वदेशमै उत्पादनका क्षेत्रमा जोड्नुपर्ने छ । सीपयुक्त श्रमशक्ति र प्रविधिको संयोजनबाट नै समृद्धि हासिल गर्न सकिन्छ । यो आजको युगीन अभिभारा हो । जल, जंगल, जडीबुटी, खनिज, पर्यटन र विशिष्ट जलवायुको अवस्था हाम्रो सामथ्र्यका बहुक्षेत्र हुन्  । यिनको संरक्षण, संवद्र्धन र सदुपयोगबाटै समृद्धिको यात्रा सहज हुन सक्छ । समृद्धि भनेको भौतिक विकास मात्रै होइन मानवीय विकास र चेतनाको विकास पनि हो भन्ने कुरालाई स्थापित गर्नुपर्ने छ । हामीकहाँ विद्यमान प्राकृतिक तथा मानवीय स्रोत, साधन र सामथ्र्यलाई सदुपयोग गर्दै जनताको अवस्था बदल्नुपर्ने छ ।

अहिले नयाँ सालको स्वागत गर्दैगर्दा मुलुकको अर्थतन्त्र एकदमै जोखिममा छ । अघिल्लो केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको बजेटलाई प्रतिस्थापन गर्दा अहिलेको अर्थतन्त्रमा संकट आइपरेको हो । राजनीतिक खिचातानी, पूर्वाग्रह र मनपरीका कारणले मुलुकको अर्थतन्त्र धरापमा परेको कुरामा दुईमत छैन ।

राज्यका संरचनामा आमजनताको सहज पहुँचबिना समृद्धिको परिकल्पना असम्भव छ । नेपालजस्तो आर्थिक, सामाजिक र भौगोलिक परिवेश भएको देशमा शिक्षामा समान पहुँच स्थापित गर्न शिक्षा, स्वास्थ्य र रोजगारीलाई राज्यले प्राथमिकताको पहिलो क्षेत्र तोक्नैपर्छ । सोहीअनुरुपका नीति निर्माण गर्ने र व्यवहारिक बनाउनुपर्ने छ । तबमात्रै सिटामोल पनि नपाउने र सिटामोल उपलब्ध गराऊ भनेर अदालतले आदेश गर्नुपर्ने विडम्बनाको अन्त्य हुनेछ ।

नयाँ वर्षले हामीलाई चुनौतीको सामना गर्न मात्रै होइन, त्यसलाई अवसरमा बदल्न सक्ने हिम्मत, आँट र हौसला प्रदान गर्न सकोस् । बाँझो रहेका खेतबारीमा फसल फलाउन सकियोस् । देशविदेशमा सिकेका सीपलाई यहीँ सदुपयोग गर्न सकियोस् र समृद्धि हासिल गर्न सकियोस् । कोरोना महामारी, राजनीतिक अस्थिरताविरुद्धको यो लडाइँलाई अब अवसरका रुपमा बदल्नुपर्ने छ । नयाँवर्ष २०७९ सालको हार्दिक मंगलमय शुभकामना !