लुम्बिनी प्रदेशः भावी मुख्यमन्त्रीको दौडमा को–को ?

मेचीकाली संवाददाता

२ कार्तिक २०७९, बुधबार
342 shares

बुटवल । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा/प्रदेशसभा चुनाव नजिकिएसँगै लुम्बिनी प्रदेशको भावी मुख्यमन्त्रीबारे चर्चा हुन थालेको छ । पहिलो ५ वर्षे कार्यकालमा प्रदेश सरकारको नेतृत्व लिएका शंकर पोखरेल र कुलप्रसाद केसी दोहोरिने दौडमा छैनन् । झण्डै साढे ३ वर्ष प्रदेश सरकारको नेतृत्व गरेका शंकर पोखरेल प्रदेशसभा छोडेर प्रतिनिधिसभामा लागेका छन् । एमाले महासचिव उनी दाङ क्षेत्र नम्बर २ बाट संघीय संसदका उम्मेदवार हुन् ।

वर्तमान मुख्यमन्त्री कुलप्रसाद केसीले संघ र प्रदेश कतैबाट टिकट पाएनन् । यसअघि चुनाव जितेको रोल्पा–१ मा नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका आफ्ना पूर्वस्वकीय सचिव जोखबहादुर महरालाई उम्मेदवार बनाएको छ ।
केसी सकभर प्रतिनिधिसभा नभए मुख्यमन्त्रीको दाबीसहित प्रदेशमा जान खोजे पनि खाली बस्नुपरेको छ । पाँच वर्षअघि पूर्वमुख्यमन्त्री पोखरेल प्रदेशसभा सदस्यको उम्मेदवार बन्दा एमाले स्थायी कमिटी सदस्य थिए । मुख्यमन्त्री बनाउने गरी पार्टीले उनलाई उम्मेदवार बनाएको थियो । यसपटक लुम्बिनी प्रदेशसभाका लागि टिकट पाउनेमध्ये कोही पनि एमालेको स्थायी कमिटी सदस्य छैनन् ।

तर दुईजना पोलिटब्युरो सदस्य उम्मेदवार भएका छन् । लीला गिरी रुपन्देही २ ‘क’ बाट र दधिराम न्यौपाने १ ‘ख’ बाट चुनाव लड्दै छन् । यसअघि त्यही क्षेत्रबाट चुनाव जितेका दुवैजना एमालेको लुम्बिनी प्रदेशका सहइन्चार्ज पनि हुन् । दुईमध्ये लीला वरिष्ठ हुन् । उनी पोखरेल नेतृत्वको सरकारमा साढे ३ वर्ष उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री भएका थिए । वरिष्ठ भएकाले गिरी प्रदेशमा एमाले संसदीय दलको नेता बन्न सक्ने अनुमान गरिएको छ ।

अर्का पोलिटब्युरो सदस्य दधीराम न्यौपाने प्रदेशसभामा संसदीय समितिको सभापति थिए । गत चुनावमा माओवादीबाट निर्वाचित उनी नेकपा विभाजनपछि एमालेमै रहँदा सांसद पद गएको थियो । प्रदेश सांसदको टिकट पाएका भूमिश्वर ढकाल, घनश्याम पाण्डे, हरिप्रसाद रिजाल, चेतनारायण आचार्य र दिनेश पन्थी एमालेका केन्द्रीय सदस्य हुन् ।

केन्द्रीय सदस्यले अवसर पाएमा भूमिश्वर बलियो दाबेदार मानिएका छन् । गत कार्यकालमा उनी प्रदेशसभामा एमालेको प्रमुख सचेतक थिए । आचार्य र रिजाल थोरै समय मन्त्री पनि भए । लुम्बिनी प्रदेशसभामा कांग्रसबाट टिकट पाएकामध्ये अब्दुल रज्जाक मात्रै पार्टीको केन्द्रीय सदस्य हुन् । रुपन्देही १ ‘ख’ का उम्मेदवार उनी २०७० को संविधान सभा सदस्य हुन् । त्यही कार्यकालमा उनी एकपटक राज्यमन्त्री पनि बने । २०७४ सालको चुनावमा प्रतिनिधिसभामा उम्मेदवार बनेर पाराजित रज्जाक योपटक प्रदेशमा झरेका हुन् । एक मात्रै केन्द्रीय सदस्य भएकाले उनलाई कांग्रेसबाट मुख्यमन्त्रीको मुख्य दाबेदार मानिएको छ ।

कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन पनि मुख्यमन्त्री बन्ने योजनासाथ रोल्पा ‘ख’ बाट चुनाव लड्दै छन् । उनी पनि दोस्रो संविधानसभाका सभासद र पूर्वराज्यमन्त्री हुन् । पार्टीको प्रदेश सभापति भएकाले पुनले संसदीय दलको पनि नेतृत्व लिने प्रयास गर्ने छन् । आफ्नो क्षेत्रमा माओवादी केन्द्रको बागी उम्मेदवार हुँदा भने चुनाव जित्न चुनौती थपिएको छ । लुम्बिनी सरकारका मन्त्री डिल्ली चौधरीलाई पनि मुख्यमन्त्रीको दाबेदारको मानिएको छ ।

उनी पनि पूर्वसभासद तथा राज्यमन्त्री हुन् । गत चुनावमा दाङ ३ ‘ख’ बाट विजयी भएका चौधरी अहिले पनि त्यही क्षेत्रबाट उम्मेदवार छन् । अघिल्लो कार्यकालमा प्रदेशसभामा सक्रिय भूमिका खेलेका चौधरीले पनि संसदीय दलको नेतृत्व दाबी गर्न सक्ने सम्भावना छ ।
माओवादीबाट पोलिटब्युरो सदस्य जोगबहादुर महरा र वामदेव क्षेत्री प्रदेशसभा सदस्यका उम्मेदवार छन् । प्रचण्डका स्वकीय सचिव महरा मुख्यमन्त्री केसीको क्षेत्र रोल्पा ‘क’ बाट चुनाव लड्दै छन् ।

प्रचण्डनिकट भएकाले उनै दलको नेता बन्ने सम्भावना छ । प्रदेश योजना आयोग उपाध्यक्ष भइसकेका वामदेव क्षेत्री रुपन्देही २ ‘क’ का उम्मेदवार हुन् । उनले पनि मुख्यमन्त्रीको दाबी गर्न गर्न सक्छन् । गत कार्यकालमा लामो समय प्रदेश मन्त्री भएको र माओवादी प्रदेश अध्यक्ष पनि बनेकाले संसदीय दलका लागि बरालले अन्तिमसम्म प्रयास गर्ने छन् ।