गुल्मी–१ : चिरप्रतिद्वन्द्वी ज्ञवाली र भण्डारी कस्को पल्ला भारी ?

मेचीकाली संवाददाता

४ कार्तिक २०७९, शुक्रबार
305 shares

बुटवल । शालीन नेताको पहिचान बनाएका गुल्मीका दुई ‘हेभीवेट’ उम्मेदवार प्रदीप ज्ञवाली र चन्द्र भण्डारी फेरि एकपटक चुनावी मैदानमा आमनेसामने भएका छन् । २०५६ सालमा गुल्मीको तत्कालीन क्षेत्र नम्बर २ मा नेकपा एमालेका प्रदीप ज्ञवालीले प्रतिनिधिसभाको टिकट पहिलोपटक पाए । त्यो चुनावमा ज्ञवालीले नेपाली कांग्रेसका चन्द्र केसीलाई पराजित गरी प्रतिनिधिसभा सदस्य बने ।

२०६४ सालको संविधानसभाको चुनावमा ज्ञवालीले अर्का चन्द्रलाई प्रतिस्पर्धीको रुपमा पाए । १५ वर्षअघि भेट भएका कांग्रेसका चन्द्र भण्डारीलाई पनि उनले हराए । त्यसयता ज्ञवाली र भण्डारीको प्रतिस्पर्धा निरन्तर चलिरहेको छ । २०६४ सालको संविधानसभा चुनाव जितेका ज्ञवालीलाई भण्डारीले २०७० को चुनावमा पराजित गरे ।

२०७४ सालको चुनावमा भण्डारीलाई पराजित गरी ज्ञवालीले नतिजा आफ्नो पक्षमा पारेका थिए । आगामी मंसिर ४ गतेका लागि अहिलेको गुल्मी क्षेत्र नम्बर १ मा प्रदीप पाँचौँपटक उम्मेदवार बनेका छन् । चन्द्र भने चौथोपटक मैदानमा छन् । लामो समय एमालेको केन्द्रीय तहमा रहेका ज्ञवाली नवौँ महाधिवेशनबाट पार्टी सचिव भएका थिए । मंसिरमा भएको दशौँ महाधिवेशनयता उनी उपमहासचिवको भूमिकामा छन् । अर्कातिर नेपाल विद्यार्थी संघको महामन्त्री हुँदै कांग्रेसको मूलधारमा आएका भण्डारी यसअघि केन्द्रीय सदस्यसम्म भएका थिए ।

कांग्रेसको चौधौँ महाधिवेशनमा पार्टीको केन्द्रीय उपसभापतिमा भिडे पनि पराजित भए । अहिले भण्डारी केन्द्रीय समितिमा पनि छैनन् । ज्ञवालीले पटक–पटक मन्त्री बन्ने अवसर पाए तर भण्डारीले अहिलेसम्म उक्त उपलब्धि लिन पाएका छैनन् । ज्ञवाली र भण्डारी दुवै अध्ययन र लेखनमा रुचि राख्ने प्रखर वक्ता हुन् । दुवैजना तुलनात्मक रुपमा कम आलोचित र बढी रुचाइएका नेता हुन् । त्यसकारण पनि गुल्मी १ को चुनावी प्रतिस्पर्धाबारे धेरैको चासो छ ।

उम्मेदवारी मनोनयनसँगै गुल्मी १ मा चुनावी अभियानले तीव्रता पाएको छ । राजनीतिक दलहरु दैनिक घरदैलो अभियानमा लागिसकेका छन् । कांग्रेसले टोल समितिहरुलाई सक्रिय बनाएको छ । गठबन्धनसहितको टोल समितिलाई सक्रिय बनाउनुका साथै युवा र महिलाका संगठन पनि सक्रिय छन् ।

अहिले सबै भ्रातृसंगठनहरुलाई पनि परिचालन गरिएको कांग्रेस गुल्मीका सचिव जगदीश भट्टराईले बताए । त्यस्तै एमालेले क्षेत्रीय कमिटीअन्तर्गतका सबै पालिकामा पालिकास्तरीय विस्तारित बैठक राखिसकेको छ । अहिले निर्वाचन क्षेत्रदेखि पालिका र वडासम्म चुनावी प्रचार कार्यालय खोलिएको एमालेका केन्द्रीय सदस्य जंग नेपालीले जानकारी दिए । पाँच वर्षअघि ०७४ को चुनावमा एमालेका ज्ञवाली ३७ हजार ८१४ मत ल्याएर विजयी भएका थिए । कांग्रेसका भण्डारीले ३० हजार २५६ मत पाएका थिए । ज्ञवालीलाई त्यसबेला माओवादी केन्द्रको साथ थियो । अहिले माओवादी र कांग्रेस मिलेका छन् । गत स्थानीय चुनावको नतिजालाई हेर्दा गुल्मी १ मा एमाले अगाडि देखिन्छ ।

एमालेबाट वडाध्यक्षका उम्मेदवारले ३५ हजार ७०१ मत पाएका छन । कांग्रेसबाट वडाध्यक्षका उम्मेदारले ३१ हजार २९४ मत ल्याएका थिए । त्यसैगरी माओवादी केन्द्रले ४ हजार ९७०, राष्ट्रिय जनमोर्चाको १ हजार ६०० र एकीकृत समाजवादीको ४९७ मत थियो । स्थानीय चुनावका आधारमा एमाले अगाडि देखिए पनि गठबन्धनको मत हेर्दा भण्डारी अगाडि देखिन्छन् । यता भण्डारीलाई अंक गणितले सहज देखिए पनि गठबन्धन पूरै कार्यान्वन हुनेमा शंका छ । अर्कोतर्फ गुल्मी १ बाट पार्टीमा डा.शेखर कोइराला पक्षका भण्डारीसँगै शेरबहादुर देउवापक्षका केन्द्रीय सदस्य चन्द्र केसी पनि आकांक्षी थिए ।

टिकट वितरणको बेलाको असन्तुष्टि चुनावमा देखिएमा भण्डारीको मत केही घट्न पनि सक्छ । यसले ज्ञवालीलाई फाइदा हुने सम्भावना छ । कांग्रेस गुल्मीका सचिव जगदीश भट्टराईले मनोनयनसँगै पार्टीभित्र कुनै असन्तुष्टि नरहेको दाबी गरेका छन् । ‘स्वभाविक रुपमा आकांक्षी धेरै हुनुहुन्थ्यो । अहिले चाहिँ पार्टीले दिएको टिकट र गठबन्धनको उम्मेदरीमा असन्तुष्टि छैन,’ उनले भने, ‘गठबन्धनका उम्मेदवारले जित्ने रणनीति बनाएर मतदाताको रायअनुसार अघि बढेका छौँ । आममतदाताले गठबन्धनलाई मत दिन्छन् । अहिले हार्ने कल्पना गरेका छैनौँ ।’
एमाले केन्द्रीय सदस्य जंग नेपालीले सांसद हुँदा गरेको विकास र व्यक्तित्वका कारण ज्ञवालीले मत पाउने बताए । नेपालीले स्थानीय चुनावको मतमा पनि धेरै सुधार हुने दाबी गरे ।

‘उहाँको कार्यकालका विकास निर्माणप्रति जनताको गुनासो छैन । यसपटक पनि जनताले धेरै आशा गरेका छन्,’ उनले भने, ‘स्थानीय चुनावका आधारमा गठबन्धनको केही बढी मत देखिए पनि त्यो संसदीय निर्वाचनमा कायम रहँदैन । मतदातासँग ज्ञवालीको आफ्नै किसिमको सम्पर्क र सम्बन्ध छ ।’ गुल्मी १ मा गठबन्धनबाट प्रदेशसभा १ (क) मा माओवादीका सुदर्शन बराल र १ (ख) मा कांग्रेसका धनेन्द्र कार्की उम्मेदवार छन् ।
सत्ता गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाले १ (क) मा मनोनयन दर्ता गरे पनि अहिले उम्मेदवारी निष्क्रिय पारेको छ । एमालेको तर्फबाट १ (क) मा चिन्तामणि पाण्डे र १ (ख) मा फर्सराम पाण्डे मैदानमा छन् । प्रतिनिधिसभातर्फ गुल्मीमा ज्ञवाली र भण्डारीसहित दलका ६ र स्वतन्त्रबाट २ जना गरी ८ उम्मेदवार छन् । प्रदेशसभातर्फ १ (क) मा १० जना र १ (ख) मा ११ उम्मेदवार रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।