कृषिमा आधुनिकीकरण र व्यवसायिकताको खाँचो

मेचीकाली संवाददाता

२२ श्रावण २०७८, शुक्रबार
1014 shares

महामारीको बेलामा अहिले कृषि क्षेत्र धेरैले सम्झने पेशाका रुपमा विकास भएको छ । यद्यपि व्यवहारमा भने लागू भइरहेको छैन । कृषिलाई सम्मानित, आधुनिक र व्यवसायिक बनाउन सक्दा मात्रै समृद्धिको आधार बलियो हुने हो । यसतर्फ तीनै तहका सरकारले विशेष चासो दिनुपर्ने छ । केही वर्ष यता कृषिलाई प्राथिमकता दिँदै तीनै तहका सरकारले विशेष काम पनि गरेका छन् ।

अघिल्लो सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम नै घोषणा भएर कार्यान्वयनको चरणमा छ । यस्तै मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम पनि चलिरहेको छ भने पालिकाहरुले उत्पादकत्व वृद्धिका कार्यक्रमहरु अगाडि बढाइरहेका छन् । बुटवल उपमहानगरले सहरी कृषि प्रवद्र्धनमा मुलुकमै नमुना काम गर्दै आएको छ । यसलाई अझ विस्तार गरेर आधुनिकीकरण गर्ने र व्यवसायिक बनाउनेतर्फ ध्यान दिनुपर्ने छ ।

कृषिलाई सम्मानित पेशाका रुपमा विकास गर्न सक्दा नै विदेश पलायन हुने बाध्यतामा रहेका युवालाई आकर्षित गर्न सकिन्छ । पछिल्ला वर्षहरुमा बसाइसराइको तीव्र प्रभावले गाउँघरका खेतबारी बाँझो रहनु, उत्पादनशील जमिन प्लटिङ र खण्डीकरण हुनु, कृषि पेसाप्रति रुचि कम हुनु, न्यूनतम कृषि पूर्वाधारको व्यवस्था नहनु, कृषि क्षेत्रमा राज्यको लगानी न्यून रहनु आदि जस्ता कारणले कृषि उत्पादकत्वमा ह्रास आइरहेको छ । यो दुखको कुरा हो । यसलाई सच्याउन अब ढिलाई गर्नुहुन्न ।

कृषि पेसालाई प्रतिस्पर्धी, नाफामूलक, सम्मानजनक एवं व्यावसायिकरूपमा स्थापित गर्न सकियो भने मात्रै समृद्धिको आधार बलियो हुने हो । खेतीयोग्य जग्गालाई बाँझो राख्ने प्रवृत्ति निरुत्साहित गर्दै खाली रहेका कृषि भूमिको दिगो उपयोग गर्नेखालका कार्यक्रमहरु बनाउन जरुरी छ । कृषि क्षेत्रमा राज्यको लगानी वृद्धि गरी कृषि उपज उत्पादन, प्रशोधन, भण्डारण तथा वितरण प्रणालीमा पनि अब पुरानो पाराले चल्न सक्दैन । नयाँ प्रविधिको विकास र अनुसरण एवं आधुनिकीकरण गर्न सकियो भने युवा पुस्तालाई पनि आकर्षण गर्न सकिन्छ ।

यसका साथै कृषिमा आधारित उद्योगको स्थापना गर्ने खालका कार्यक्रमहरु बनाउन आवश्यक छ । उद्योगलाई आर्थिक विकासको इन्जिन मानिने भएकाले पनि कृषि उपजमा आधारित उद्योगको प्रवद्र्धनले ग्रामीण कृषि पर्यटनमा टेवा पु¥याउँछ । युवा तथा कृषक उद्यमीलाई आकर्षित गर्नका लागि पनि यस्तो कार्यक्रमको खाँचो छ । औद्योगिक विकासको आधार भनेकै कृषिक्षेत्र हो भन्ने नभुलौं ।