विकासको बुटवल मोडल अर्थात् ‘विष्णु पौडेल मोडेल’

मेचीकाली संवाददाता

३० कार्तिक २०७९, बुधबार
340 shares

डा.ऋषिराम शर्मा
राम शाहको पालाको उहिलेको एउटा उखान छ, ‘न्याय नपाए गोर्खा जानू ।’ तर लुम्बिनीतिर भने अहिले एउटा दुईओटा आहान प्रचलित छन् । १ ‘विकास हेर्नु परे बुटवल जानुू र २ ‘विष्णु पौडेल अर्थात् विकास पौडेल ।’ सिङ्गो रुपन्देहीको रूप फेर्ने र रुपन्देहीको रूपमा नवकान्ति थप्ने काम विष्णु पौडेलले गरेका हुन् भनेर स्वयम् रुपन्देही र बुटवलको उज्यालो अनुहारले भनिरहेको छ ।

भैरहवा र बुटवलको राजमार्गको अन्तर्राष्ट्रिय गुणस्तरले बताइरहेको छ । लुम्बिनीमा निर्मित विशाल अन्तर्राष्ट्रिय सभाहल तथा ध्यान केन्द्र, बुटवलमा बनेको अन्तर्राष्ट्रिय सभाहल, प्रदर्शनी केन्द्र, सैनामैना संग्रहालयले सङ्केत गरेको छ । भैरहवामा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले त हर्षका आँसु बहाउँदै विष्णु पौडेलको याद गरिरहेछ । बुटवल र यसको सेरोफेरोलाई अन्तर्राष्ट्रियस्तरको सहर बनाउने रहर बुटवललाई जागेको छ र यसका लागि त्यो रहर पूरा गर्न सक्ने विष्णु पौडेल जिताउन बुटवल आतुर छ ।

२०१६ मंसिर १६, तदनुसार १९५९ डिसेम्बर १ का दिन विष्णुप्रसाद पौडेलको जन्म पुतलीबजार नगरपालिका वडा नं. १०, स्याङ्जामा भएको हो । हाल ललितपुर महानगरपालिका वडा नं. २५, सैवु आवासमा निवास गर्ने उनले पार्टीको सामान्य होलटाइमर कार्यकर्तादेखि शक्तिशाली नेकपाको महासचिव र सरकारको उपप्रधानमन्त्री र अर्थमन्त्रीसमेत भएर आफ्नो कार्यकुशलता प्रदर्शन गरेका पौडेल २०७२ कार्तिक १९ देखि २०७३ श्रावण १९ सम्म ः अर्थ मन्त्री, २०६७ चैत्र ३ देखि २०६८ भदौ ११सम्म ः रक्षा मन्त्री, २०६५ भदौ ६ देखि २०६६ जेठ ७ सम्म ः जलस्रोत मन्त्री, २०५३ चैत्र १२ देखि २०५४ असौज १० सम्म ः युवा, खेलकूद तथा संस्कृति मन्त्री बने । उनले जुनजुन मन्त्रालय सम्हालेका हुन् र हरेकपटक उनले निर्विवाद रूपमा आफ्नो कार्यकुशलता प्रदर्शन गरेका हुन् ।

विष्णु पौडेल जमिनबाट उठेका नेता हुन् । लुम्बिनीको जमिन उनको पाठशाला र विश्वविद्यालय हो । उनले त्यही भूमिमा आफ्नो कल्कलाउँदो र भर्भराउँदो उमेर खर्च गरे । बुर्जुवा शिक्षा बहिस्कार गरेर राजनीतिमा आउनुपर्छ भनिएपछि उनै १७ वर्षे पौडेल पढाइ छोडेर कम्युनिष्ट आन्दोलनमा हेलिए । उनले लामो समय लुम्बिनी अञ्चलका विभिन्न जिल्लामा भूमिगत भएर काम गरे । २०३७ सालमा मोदनाथ प्रश्रितहरुसँगै भैरहवा जेलब्रेक गरेका पौडेलले २०३५ देखि २०४६ सम्मको कडा भूमिगत राजनीतिक जीवन बिताए । कैलाश, पवन, जयन्त, कपिल, उमेश, दिव्य, ध्रुव आदि थुप्रै छद्म नामको प्रयोग गरेर रुपन्देही नवलपरासी पाल्पा अर्घाखाँची र गुल्मीमा पार्टीको काममा सक्रिय रहे । उनले त्यहाँ जनताको दुख, कष्ट र पीडा पढे र त्यसबाट जनतालाई मुक्त गर्ने माक्र्सवादी विचारले सुसज्जित भएर जनतालाई सचेत पार्दै हिँडे । निरंकुश पञ्चायती व्यवस्थाका विरुद्ध उनले भूमिगत रूपमा आफ्नो अभियान चलाए ।

विष्णु पौडेल जनताका लागि लोकप्रिय कार्यक्रम ल्याउने चर्चित व्यक्ति हुन् । उनले अर्थ मन्त्रालय सम्हाल्दा आम जनताले निकै आशा गरेका हुन्छन्, उनी अर्थमन्त्री हुँदा मनमोहनका पाला सुरू भएको वृद्धभत्ता वृद्धहरूको आँसु पुछ्ने गरी वृद्धि भयो । यता निरन्तर ओरालो लागेको सेयर बजार पनि विष्णु पौडेल कहिले आउलान् र सर्लक्क उकालो चढुँला भनेर कुरिरहेको हुन्छ ।

सेयर बजारमा खरबौँ खन्याएका लगानीकर्ता मात्र होइन, सास बेचेर थोरै थोरै लगानीमार्फत आफ्नो पूँजी वृद्धि होस् भनेर आश गरेका मान्छेहरूको लगानी डुबेर अहिले कति निसास्सिएका छन् यदि विष्णु पौडेल भएको भए लागानीकर्ताले यस्तो पीडा भोग्नु पर्ने थिएन होला । उनका पाला मुलुकको अर्थतन्त्रसमेत बलियो थियो । अहिले कम्फर्टेबल सरकारका पालामा डाँवाडोल भएको अर्थतन्त्र र आर्थिक तरलताको यो जटिल परिस्थिति छ । उनका पालामा यस्तो कहिल्यै भोग्नुपरेन । यी र यस्तै कारणले गर्दा अहिले विष्णु पौडेललाई नेपाली राजनितिक इतिहासमा सबैभन्दा सफल र लोकप्रिय अर्थमन्त्रीको रुपमा चिनिने गरिन्छ ।

विष्णु पौडेलमाथि विपक्षीहरूले लगाउने एउटा मात्र आरोप छ । विष्णु पौडेलले राजधानी सारे वा सार्न अनुमति दिए । स्मरणीय कुरो के छ भने राजधानी सर्दा बुटवल र बुटवलबासी जति दुखी छन्, त्यसभन्दा सयौँ गुना दुखी विष्णु पौडेल छन् । लोकतन्त्रमा बहुमतले गर्ने निर्णयमाथि विद्रोह गर्ने एक्लो व्यक्ति एक्लो बृहस्पति हुन्छ भन्ने सबैलाई थाहा छ, त्यो निर्णय सच्याउन अर्को त्यस्तै अवसर कुर्नुपर्ने हुन्छ । बहुमतीय यस निर्णयलाई उनले कहिल्यै पनि औपचारिक सकारेका छैनन् । उनले जनताका बिचमा जाँदा बेलबेला इमान्दारीपूर्वक भन्ने गरेका छन्; संविधान त परिवर्तन हुन्छ भने यस्ता निर्णयहरू अपरिवर्तनीय हुँदैनन् । त्यसैले विष्णु पौडेलका लागि इमान्दारिता र बुटवलको समृद्धि र बुटवलबासीको सुख नै सर्वोपरि हो, भन्ने बुटवलबासीले नसम्झी धरै छैन ।

आज तराईका कुनै पनि सहरले बुटवललाई उछिन्न सकेका छैनन् । बुटवल तराईको सबैभन्दा समृद्ध र विकसित सहर बन्नुका पछाडि विष्णु पौडेलको हेवीवेट व्यक्तित्व नै प्रमुख कारक हो । बुटवलको थप समृद्धि र बुटवलबासीलाई नेपालकै गौरवशाली सहरका बासिन्दा बनाउने पौडेलको सपना सम्पूर्ण मतदाताकै सपना हो । यो सपना पूरा गर्न र गराउन विष्णु पौडेलले विजय प्राप्त गर्नु उरुरी छ । विष्णु पौडेलको संघीयसभाको उमेदवारी परेका ठाउँमा प्रदेशसभामा एमालेका सालिन र इमानदार नेता लिला गिरी र अर्कोमा एमालेका नेता भोजप्रसाद श्रेष्ठको उम्मेदवारी छ । विष्णुप्रसाद पौडेलको नेतृत्वमा सिंगो रुपन्देही जुरुक्क उठ्ने छ ।

रुपन्देहीमा क्षेत्र नं. १ मा एमालेका नेता तथा दलित अगुवा छविलाल विश्वकर्मा, सोही क्षेत्रको प्रदेशसभामा दधिराम न्यौपाने, क्षेत्र नं. ३ मा राप्रपा र जसपाको सहकार्य, क्षेत्र नं. ४ मा पनि जसपासँगको सहकार्य र क्षेत्र नं. ५ मा युवा नेता बासुदेव घिमिरे र सोही क्षेत्रको प्रदेशसभामा भूमिश्वर ढकालको उम्मेदवारी छ । बर्दघाटदेखि शिवराजसम्मको क्षेत्रलाई लुम्बिनी शान्ति सहर बनाउने अवधारणाका साथ एमालेका उम्मेदवारहरु अहिले जनताको घरदैलोमा छन् । यसको सबै नेतृत्व विष्णु पौडेलले गरेका छन् । बुटवलबासीले विष्णु पौडेलको सिङ्गो टीमलाई विजयी गराउने छन् र यस कुरामा यहाँका जनता कदापि चुक्ने छैनन् । विष्णु पौडेल नेतृत्वको टीमलाई विजयको वरमाला पहिर्याउन व्यग्रतासाथ प्रतीक्षारत छन् । विकासका पर्याय विष्णु पौडेललाई विजयको अग्रिम शुभकामना ।