यी हुन् लुम्बिनीमा माओवादी, कांग्रेस र जसपाबाट नयाँ मन्त्रीका दाबेदार

मेचीकाली संवाददाता

२८ श्रावण २०७८, बिहीबार
355 shares

बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीका लागि नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीले दाबी पेश गरेका छन् । कांग्रेस, माओवादी, जसपा र जनमोर्चा गरी​ चारदलीय गठबन्धनका तर्फबाट बहुमतसहित दाबी पेश गरेपछि केसी मुख्यमन्त्री बन्ने निश्चित जस्तै बनेको छ ।

प्रदेश प्रमुख अमिक शेरचनले संविधानको १६८ ९२० अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा दिउँसो ३ बजेसम्म बहुमत पुर्‍याउने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने गरी नयाँ सरकार गठनको आह्वान गरेका थिए ।

निवर्तमान मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारका प्रवक्ता वैजनाथ चौधरीले नयाँ सरकार गठनका लागि एमालेले दाबी नगर्ने बताएका छन् । केसी मुख्यमन्त्री नियुक्त भएसँगै बिहीबार नै ३ सदस्यीय मन्त्रिमण्डल बनाउने गठबन्धनका नेताहरूले बताएका छन् । चार दलीय गठबन्धनको सरकार बने पनि राष्ट्रिय जनमोर्चा सरकारमा नजाने भएको छ ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक फकरुद्धिन खाँनले केसी मुख्यमन्त्रीमा नियुक्त भएपछि तीन सदस्यीय मन्त्रीमण्डल बिहीबार नै गठन गर्ने बताए ।
‘माओवादीबाट मुख्यमन्त्री भइहाल्नुहुन्छ, कांग्रेसबाट एकजना र जनता समाजवादी पार्टीबाट एकजना गरी ३ सदस्यीय मन्त्रीमण्डल पहिलो दिन नै बन्छ,’ खाँनले भने ।

प्रदेश सभा १० सदस्यीय मन्त्रिमण्डल बनाउने गठबन्धनबीच साझेदारी भएको छ । निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलले शुरूमा ७ सदस्यीय मन्त्रीमण्डल बनाए पनि दोस्रोपटक पुनः मुख्यमन्त्री नियुक्त भएपछि मन्त्रालय फुटाएर दश सदस्यीय बनाएका थिए ।

नयाँ सरकारमा माओवादीले मुख्यमन्त्रीसहित ३ मन्त्रालय र कांग्रेसले आन्तरिक मामिला तथा कानूनसहित ४ मन्त्रालय लिने सहमति दुई दलबीच भएको छ । त्यस्तै जनमोर्चा सरकारमा आए जसपालाई २ मन्त्रालय र जनमोर्चा नआए जसपाले पनि ३ वटै मन्त्रालय पाउने साझेदारी गठबन्धनमा भएको छ ।

प्रदेश सभाको बाँकी कार्यकालमा माओवादी र कांग्रेसले आलोपालो सरकारको नेतृत्व गर्ने समझदारी गरेका छन् । १६ महिना प्रदेश सभाको बाँकी कार्यकाल ८ महिना केसी र ८ महिना कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले नेतृत्व गर्ने सहमति भएको छ । नयाँ सरकार बन्ने भएपछि अहिले कांग्रेस र माओवादी केन्द्रमा मन्त्री बन्न नेताहरूको दौडधुप तीव्र छ । कांग्रेस र माओवादीमा मन्त्रीका आंकाक्षी धेरै हुँदा दुई दललाई मन्त्री छान्नै हम्मेहम्मे परेको हो ।

यी हुन् माओवादीबाट मन्त्रीका दाबेदार

प्रदेश सभामा माओवादी केन्द्रका १८ सांसद छन् । जसमध्ये मन्त्रीको प्रमुख दाबेदार हुन्, सुदर्शन बराल । उनी फेरि पनि मन्त्री बन्ने निश्चित जस्तै छ । उनी यस अगाडि पोखरेल नेतृत्वको सरकारमा सामाजिक विकास मन्त्री थिए । गठबन्धनको सरकार बनाउन उनले प्रमुख भूमिका खेलेको माओवादी नेताहरू बताउँछन् । गुल्मीबाट प्रत्यक्ष निर्वाचित बराल माओवादीका राजनीतिक खेलाडी नै हुन् । उनले यस अगाडि मन्त्रालय चलाएर राम्रो पर्फमेन्स देखाएको भन्दै नयाँ सरकारलाई गति दिन पनि उनलाई फेरि अगाडि सार्ने योजनामा माओवादी केन्द्र छ ।

त्यस्तै दाङका इन्द्रजित थारु पनि अहिले माओवादीबाट मन्त्री बन्ने रेसमा छन् । उनी दाङ क्षेत्र नम्बर १ ९१०बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । शंकर पोखरेलको गृह जिल्लाका एमाले सांसद अमरबहादुर डाँगीलाई राजीनामा गराउन उनले भूमिका खेलको बताइएको छ । त्यस्तै बाँकेका इन्द्रप्रसाद खरेल –आईपी० पनि मन्त्रीको दाबेदार हुन् । उनी मुख्यमन्त्री बन्न लागेका केसीका निकट नेता पनि हुन् । केसीले नै उनलाई मन्त्री बनाउने चाहना राखेको नेताहरू बताउँछन् ।

त्यस्तै नेकपाबाट निर्वाचित सांसद बिमला वली पनि नयाँ सरकारको मन्त्री बन्ने नेताहरू बताउँछन् । उनलाई गठबन्धनले मन्त्री दिने बताएपछि एमाले छाडेर माओवादी रोजेको बताइएको छ । माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्ती पनि मन्त्रीको आंकाक्षी छ । उनी पाल्पाबाट निर्वाचित सांसद हुन । त्यस्तै दाङकी दामा कुमारी शर्मा पनि मन्त्रीको आकांक्षी छिन् । विमला वलीलाई माओवादीमा ल्याउन उनको प्रमुख भूमिका छ ।

आकांक्षी धेरै र मन्त्रालय थोरै हुँदा माओवादीलाई मन्त्री छान्न हम्मेहम्मे छ ।

कांग्रेसमा पनि मन्त्रीका आंकाक्षी धेरै

कांग्रेसमा पनि मन्त्रीका आकांक्षी धेरै छन् । प्रदेश सभामा कांग्रेसका १९ सांसद छन । कांग्रेसमा प्रमुख सचेतक फकरुद्धिन खाँन मन्त्रीको दाबेदार हुन् । उनी रुपन्देहीबाट निर्वाचित सांसद हुन ।

त्यस्तै दाङका डिल्लीबहादुर चौधरी पनि मन्त्री बन्ने निश्चित जस्तै छ । कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वास पात्र हुन चौधरी । उनी आन्तरिक मामिला तथा कानून मन्त्री बन्ने बताइएको छ ।

उनी प्रदेशसभाको सार्वजनिक लेखा समितिको सभापति समेत हुन् । त्यस्तै पाल्पाका वीरबहादुर राना, रुपन्देहीबाट रमा अर्याल,सचेतक निर्मला क्षेत्री पनि मन्त्रीका आकांक्षी हुन् । अर्याल र क्षेत्री रुपन्देही र अर्घाखाँचीका समानुपातिक सांसद हुन् । त्यस्तै रुपन्देहीमा अष्टभुजा पाठक, बसी उद्धिन खाँ पनि मन्त्री बन्ने नेताहरूसँग लबिङ गरिरहेका छन् ।

जसपाका सबै सांसदलाई मन्त्री

जसपाका सबै सांसद मन्त्री बन्ने निश्चित जस्तै छ । जसपामा अहिले ३ जना सांसद छन् । पार्टीको निर्णयविपरीत पोखरेल नेतृत्वको सरकारमा सहभागी ३ मन्त्रीलाई पार्टीले पदमुक्त गरेको छ ।

अहिले जसपा संसदीय दलका नेता सहस्रराम यादव, प्रमुख सचेतक पुर्मती ढेंगा र सांसद सुमन शर्मा रायमाझी मन्त्री बन्नेछन् । पहिलो चरणमा जसपाबाट यादव मन्त्री बन्ने बताइएको छ ।

शर्मा पोखरेल नेतृत्वको सरकारमा भौतिक पूर्वाधार राज्यमन्त्री बनेकी थिइन् । तर उनले डेढ महिनामै राजीनामा दिएर पार्टीको संस्थापन पक्षमा लागेपछि सांसद पद जोगिएको थियो ।

पोखरेलपछि अब प्रदेशमा केसीको परीक्षण

निवर्तमान मुख्यमन्त्री पोखरेल प्रदेशमा आएपछि धेरैले खारिएको नेता भएको हुँदा प्रदेशमा राम्रो गर्छन् भन्ने आशा राखेका थिए । तर, उनले आफ्नो इच्छा अनुकूल नेकपामा विवाद नभएको मौका छोपेर गृहजिल्ला दाङमा राजधानी सारेर आफ्नो राजनीतिलाई केही सुरक्षित बनाएजस्तो देखिए पनि उनले अन्य महत्त्वपूर्ण काम गर्न सकेको देखिएन ।

सातै प्रदेशका मुख्यमन्त्रीमध्ये सिनियर र बौद्धिक मानिने पोखरेलले आफ्नो पार्टीका सांसदको समेत मन जित्न सकेनन् । तर, ३ वर्षसम्म सत्ताको बागडोर सम्हाल्दैगर्दा राष्ट्रिय राजनीतिमा प्रभाव राख्ने पोखरेलको अनियमितता, अनेक नियुक्ति विवाद, क्षेत्रीयता, भेगीय दृष्टि, पक्षधरता र अहमताले उनलाई विवादित मात्रै बनाएन उनीबाट आशा मार्ने अवस्थामा पुर्‍यायो ।

५ वर्षे कार्यकाल नसकिँदै अनेकन विवाद, नैतिकताका प्रश्न र दागैदाग लिएर पोखरेल बाध्यकारी अवस्थामा सत्ताबाट बाहिरिए ।

अब तीनै पोखरेलको तीन वर्ष सत्ता सारथि बनेका केसीले प्रदेशको नेतृत्व सम्हाल्दै छन् । माओवादी जनयुद्धबाट खारिएर आएका केसीले गठबन्धन सरकारलाई कसरी अगाडि बढाउँछन्, त्यो हेर्न भने केही समय कुनुपर्नेछ ।