घनश्याम कोइराला
आयुर्वेदमा भनिएको छ, ‘यस्य देशस्य यो जन्तोः तस्य तद् औषधं हितम् अर्थात् जुन स्थानको प्राणी हो, त्यसलाई त्यहीँको वनस्पति हितकारी औषधी हुन्छ ।’ यो कुरा हाम्रो धर्म, संस्कृतिका सम्बन्धमा पनि लागु हुन्छ । हामी जुनसुकै जाति, धर्म, संस्कृतिका अनुयायी भए पनि यतिबेला नेपाल रहेको भूगोलका धर्म, जाति, संस्कृति नै हाम्रा साझा संस्कृति हुन् । यहाँका धर्म यहीँको प्रकृतिसापेक्ष छ । यहाँको संस्कृति यहाँको समाजसापेक्ष हुनुपर्छ । यहाँको सभ्यता यहीँको चेतनाको सापेक्ष हुन्छ । यी सबैले प्रकृतिको अनिवार्यता, मानवजीवनको सहजता, निरन्तर परिष्कारको अन्तर्वस्तु वहन गर्नु पर्दछ । सुरुमा हाम्रा पुर्खाले यसै गरेका हुन् ।
हिमालमा रहेको असहजताको समाधान अन्यत्र पाइँदैन । हिमालका विशेषता पनि अन्यत्र खोजेर पाइँदैन । मन्दिरमा रहेको समस्याको समाधान चर्चमा खोजेर पाइन्छ र ? पाइँदैन । नेपालमा रहेको सामाजिक समस्या समाधान गर्न अमेरिका, चीन, जापान, युरोपीय समाजको अध्ययन गरेर हुँदैन । अध्ययन गर्नु, जान्नु बुझ्नुको अर्थ होला, तर समाधान हुँदैन । जरामा समस्या छ भने टुप्पा काटछाँट गरेर हुँदैन । समस्या जहाँ छ, समाधान त्यहीँ खोजिनु पर्दछ । भनिन्छ नि— समस्या एक्लै आउँदैन, समाधान सहित आउँछ । नेपाली समाजमा जातीय विभेद छ । जातजाति धेरै हुनु राम्रो हो, जातीय विभेद हुनु राम्रो होइन । हाम्रो समाज जातिपातिमा आधारित समाज हो । हाम्रो संविधानमा नै हामीले यो कुरा स्वीकारेका छौँ र संविधानमा नै ‘बहुजातीय’ लेखिएको छ । तर के यसको तात्पर्य जातीय विभेद उचित भनिएको हो त ? होइन ।
हामी सबैले स्वीकार गरेको तथ्य हो— नेपाल बहुजातीय राज्य हो । ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो ।’ (नेपालको संविधान २०७२, भाग १÷३)
यसको अर्थ हो, यहाँ धेरै जातजातिका मानिसहरू छौँ । हाम्रो संविधानमा स्वीकार गरिएको तथ्य हो यो । यसो हुनुमा हामी गौरवान्वित छौँ । छातीमा हात राखेर गाउँछौँ, ‘…….बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल…….जय जय नेपाल !’ यस्तो गाइरहँदा यस देशका सबै जाति, धर्म, संस्कृति, भूगोलका मानिसहरूमा उच्च मनोविज्ञान प्रस्फुटित भइरहेको हुन्छ । यो गाइरहँदा हामी आफै जातीय, भाषिक, सांस्कृतिक, भौगोलिक आदि विशालतामा समेटिइरहेको पाउँदछौँ । तर, यही मनोविज्ञान हाम्रो व्यवहारमा पाइँदैन । यसरी विभक्त मनोविज्ञानले हामी समृद्धिको गन्तव्यमा पुग्न सकिन्न ।
तर, जब हामी राष्ट्रगान गाएर छुट्दछौँ, तब हामी आपूmलाई त्यो विशालताको एउटा अंश भएको विषय बिर्सन्छौँ र को ठूलो ? को सानो ? कुन संस्कृति ठूलो ? कुन धर्म ठूलो भन्नेतिर लाग्दछौँ, जब कि हामीलाई विशाल बनाएको कुनै एउटा धर्म, जाति, संस्कृति र भूगोलले त होइन ।
सामाजिक अवस्था जस्तोसुकै रहेको होस्, सबैले एकै प्रकारको काम गर्दा जनशक्तिको दुरुपयोग हुन्थ्यो । काम बाँडेर गर्दा काममा विविध आउँथ्यो, परिमाण र परिणाम दुबैमा वृद्धि हुनसक्थ्यो । त्यसैले कामका क्षेत्र बढाउँदै, कार्यविभाजन गर्दै धेरै क्षेत्रको विकासमा आपूmलाई विस्तार गरे । खोज—अनुसन्धान—ज्ञानको क्षेत्र, समूह÷समुदाय र उपलब्धिहरूको सुरक्षाको क्षेत्र, उत्पादन र वितरणको क्षेत्र, शिल्पकलाको क्षेत्र, सेवाको क्षेत्र गरी पाँच प्रकारका क्षेत्र विभाजन गरे । यी सबै विभाजनलाई सानो—ठूलो भनिएन । सबैलाई व्यवसायको दर्जा दिइयो ।
अहिले केही विरोधाभास सुनिन्छ, एकातिर वेदादि रचना वाहियात र काल्पनिक हुन् भन्ने र अर्कोतिर जातीय विभेदका लागि वेदादि रचनाहरूलाई नै दोषारोपण गर्ने । यदि वेदादि नै विभेदका जरा हुन् भने त्यही बुझेर छलफल गरौँ र विभेदमुक्त समाज बनाउन लागौँ । यसको लागि वेदलाई तिरष्कार गर्न भएन । यसलाई हामी सबैको साझा निधिको रूपमा स्वीकार गरौँ ।
वैदिक प्रवन्धहरूमा युद्धका विषय छन्, युद्ध भएपछि सत्रु र मित्रका विषय अवश्य छन्, अन्य अन्तर्विरोधहरू पनि छन्, सत्रुलाई खेद्ने, नजिक पर्नै नदिने विषयहरू पनि छन्, एउटै परिवार, समाज र समुदायभित्र जन्मका आधारमा उँचोनीचोका प्रवन्ध रहेको पाइँदैन । पहिले जात बनाएर कार्यविभाजन भएको होइन, आवश्यकताको आधारमा काम विभाजन गरिएको हो भन्ने यथेष्ट प्रमाण फेला पर्दछन् । केही उदाहरण यस प्रकार छन् —
यस्यामन्नं व्रीहियवौ यस्या इमाः पञ्चकृष्टयः ।
भूम्यै पर्जन्यपत्न्यै नमोऽस्तुवर्षमेदसे अर्थात्, जसमा धान, गहुँ, जौ आदि अन्न प्रशस्त हुन्छ, जहाँ पाँच किसिमका (विद्वान्, वीर, व्यापारी, शिल्पी र सेवक) मानिस आनन्दले रहन्छन्, जुन भूमिमा निश्चित समयमा झरी परेर अन्न फल्छ, जसलाई झरीले पोसेको छ, त्यस मातृभूमिलाई हाम्रो नमस्कार छ ।’ (अथर्ववेद)
‘आ ब्रह्मन् ब्राह्मणो ब्रह्मवर्चसी जायतामाराष्ट्रे राजन्यः शूरऽइषव्योतिव्याधी महारथो जायतां दोग्ध्री धेनुर्वोढानड्वानाशुः सप्तिः पुरन्ध्रिर्योषा जिष्णू रथेष्ठाः सभेयो युवास्य जायमानस्य वीरो जायतां निकामे निकामे नः पर्जन्यो वर्षतु फलवत्यो नऽओषधयः पच्यन्तां योगक्षेमो नः कल्पन्ताम् अर्थात्, हे ब्रह्मन् ! यस राष्ट्रभरि ब्रह्मतेजले सम्पन्न ब्राह्मण तथा पराक्रमी, तीर हान्न सिपालु, आँटिला, शत्रु मार्ने, महारथी क्षत्रिय होऊन् । दुहुने गाई, भारी बोक्ने गोरु, वेगवान् घोडा, ज्ञानीगुनी स्त्रीहरु असल स्वभावका होऊन् । रथीहरु विजयी, समाजका मानिस सज्जन र युवा वीर होऊन् । हामीलाई खाँचो परेका बेला पानी परोस् । हाम्रो राष्ट्रका बोटबिरुवा र बालीमा फल राम्ररी लागेको होस् र हामी सधैँ सकुशल सुरक्षित रहन पाऔँ ।’ (यजुर्वेद)
अर्को विरोधाभासको कारण हो, जाति र वर्ण बिचको भेद थाहा नहुनु । वेद—पुराणहरूमा ठाउँ ठाउँमा ब्रह्माको सृष्किा अपरिवर्तनीय चार जातको प्रसंग आउँछ । सामाजिक वर्णभेद कामका आधारमा गरिएको व्यवस्था हो । यसलाई कहीँ ब्राह्मण, क्षत्रि, वैश्य, शूद्र भनिएको छ भने माथि नै उल्लेख गरिसकिएको छ कि पेसा—व्यवसायका क्षेत्र पाँच थिए । यी चार या पाँच जति भए पनि सामाजिक वर्णभेद वा वर्णविभाजन हो । सृष्टिका अपरिवर्तनीय जात त चारवटा नै छन्— अण्डज (अण्डाबाट जन्मने), उद्भिज (उम्रने), स्वेदज (फोहर÷पसिना आदिबाट हुने) र जरायुज (सालनाल सहित जन्मने) । यही चार ‘जात’लाई टपक्क टिपेर ब्राह्मण, क्षेत्रि, वैश्य, शूद्रका रूपमा प्रचार गरियो । यति मात्र होइन, श्रेणी बनाएर सधैका लागि ‘जन्मजात’ तल्लो—माथिल्लो, उँचो—नीचो बनाइयो ।
यसरी हाम्रा पुर्खाले कामका काम बाँडेर उनीहरूलाई काम अनुसार पद—पहिचान दिए । तल्लो—माथिल्लो नभनीकन आफूहरूभित्रैबाट कार्यविभाजन भएको स्पष्ट छ । पछि पछि टाठा—बाठाहरूले कुन काम सानो, कुन काम ठूलो बनाएर यो वर्णविभाजनलाई स्थायी बनाए, यसको जिम्मा हाम्रा ऋषिपुर्खाहरूलाई दिनु उचित हुँदैन । जब जब धर्म—संस्कृतिमा राजनीति घुस्छ, मिसिन्छ, तब तब यसले शक्तिको सेवा गर्दछ । तर, कतिपय मानिसहरू यही धर्मनिरपेक्षतालाई आधार बनाएर सनातन धर्म—संस्कृतिका विरुद्ध खाइखेलो गर्न तम्सिइरहेका छन् ।
‘न शूद्रो न च वै म्लेच्छो भेदिता गुणकर्मभिः । ब्रह्मणास्तु समुत्पन्नाः सर्वे ते किं नु ब्राह्मणाः ? अर्थात्, जन्मका आधारमा कोही पनि ब्राह्मण, क्षत्री, वैश्य, शूद्र वा म्लेच्छ हुँदैन । मानिसका गुण र कर्मद्वारा जातिको भेद छुट्याउन सकिन्छ । सबै प्राणी ब्रह्माबाटै उत्पन्न भएका हुन् भन्दैमा सबैलाई ब्राह्मण भन्न सकिन्छ र ?’ (शुक्रनीति)
यसरी जन्मको आधारमा भेद गर्ने वा सानो—ठूलो बनाउने विषयलाई शास्त्रले पनि नकारेको छ । यस विषयमा श्रीमद्भगवद्गीताको यो प्रसङ्ग निकै चर्चित रहँदैआएको छ —
चातुर्वण्र्यं मया सृष्टं गुणकर्मविभागशः । मैले गुण र कर्मको विभाजनको आधारमा चारवर्ण बनाएको हुँ । वर्णविभाजनमा गुण र कर्मलाई आधार बनाइएको यो पनि गतिलो प्रमाण हो ।
यिनै अनकौँ अध्ययनका आधारमा हुनुपर्छ, नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाले लेख्नुभयो— ‘मानिस ठूलो दिलले हुन्छ, जातले हुँदैन ।’
वेद, पुराण, अन्य शास्त्रहरू महत्वपूर्ण हुन्, हाम्रा धर्म, संस्कृति, मूल्य—मान्यता, परम्परा, पुर्खाका खोजहरू झनै महत्वपूर्ण छन् । तथापि, अहिले हामीलाई शासन गर्ने, निर्देशित गर्ने, व्यवस्थापन गर्ने त मुलुकको संविधान र प्रचलित कानुनहरूको माध्यमबाट राज्यले नै हो । हामीले हाम्रा अधिकार उपभोग गर्न र दायित्व पूरा गर्ने अवसरहरूको खोजी यहीँ नै गर्नुपर्दछ ।
हाम्रो संविधानको प्रस्तावनामा छ—
सबै प्रकारका जातीय छुवाछूतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय स’निश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प गर्दै; …..(नेपालको संविधान २०७२को प्रस्तावना)
संविधानले ‘सबै नागरिक कानूनको दृष्टिमा समान हुनेछन् ।’ भनेर यस सम्बन्धी पूर्ववर्ती मान्यताहरूलाई पूर्णविराम लगाइसकेको छ ।
साहित्य, शास्त्र र संविधानमा लेखिएका सकारात्मक विषयको कार्यान्वयनका लागि पनि तत्परता र सकारात्मक सामाजिक मनोविज्ञान आवश्यक हुन्छ । अझ, सम्बन्धित समुदायमा थप आत्मोकर्षको चेतनाको विकास आवश्यक हुन्छ ।
जातीय विभेदको परम्पराले भ्रमलाई पनि सत्य जत्तिकै स्थापित गरेको छ । यहाँसम्म कि प्रकृतिका चराचर र जनजीवनको हित तथा कल्याणका लागि साधक ऋषि पुर्खाहरुद्वारा रचना एवं सञ्चय गरिएका वेदका कालजयी वचन तथा पुराणका प्रेरणादायी आख्यानहरूको समेत अनर्थ र दुरुपयोग गरिएको छ । अब बेला आइसकेको छ, हामीले मुलुकको संवैधानिक व्यवस्था, ऐन—कानुनका आधारमा आपूmलाई सच्चा नागरिकका रूपमा उभ्याउनुपर्दछ ।
समाजमा जातीय विभेद रहनु, आपसमा छुवाछुतको व्यवहार गर्नु मुलुकको कानुनसम्मत त छैन नै, यो समाज विकासको समेत बाधकको रूपमा रहेको छ । यहाँसम्म कि यस्तो प्रचलन धर्मसम्मत पनि छैन । यसको दीर्घकालीन समाधान अवसरहरूमा दिइने आरक्षण मात्र होइन । वास्तविकतामा आधारित आमसामाजिक मनोविज्ञान र आत्मोत्कर्षको चेतनाको विकासको माध्यमबाट मात्र यसको दीर्घकालीन समाधान सम्भव छ ।
अब विभेदको अवस्थाका चित्रावलीको प्रदर्शन गरेर होइन, आवश्यक ठाने वेद—शास्त्रका पाना पल्टाएर अघि बढ्न आवश्यक छ । यसका लागि सहभोज आदि सामाजिक सम्मिलनका भाषण तथा केही झिनो सहभागिताले होइन, व्यापक जनचेतना विस्तारको माध्यमबाट दीर्घकालीन समाधान खोज्न स्थानीय तहहरूमा ‘जाति उत्कर्ष’ कार्यक्रम सञ्चालन गर्नुपर्दछ । धर्मनिरपेक्षतालाई निहुँ बनाएर अनेकौँ प्रलोभनमा पारेर धर्म परिवर्तन गर्न—गराउनुका पछाडिको कुत्सित मर्म अर्कै रहेको अनुमान गरिँदैआएको छ ।
समाजका दलित अगुवाहरू, जनप्रतिनिधिहरू, शिक्षकहरू, धार्मिक पुरोहितहरू, विद्यालयका विद्यार्थीहरूका बिचमा ‘जाति उत्कर्ष’ कार्यक्रमहरू सञ्चालन गर्न आवश्यक छ । हामी काम र जिम्मेवारीका सन्दर्भमा विभाजित रहेर पनि सत्रुका विरुद्ध एकजुट हुन आवश्यक छ । धर्मान्तरण जातीय विभेद समाधानको उपाय हुनै सक्दैन भन्ने सन्दर्भका धेरै उदाहरण हामीमाझ छन् ।
अथर्ववेदको यो मन्त्र मनन् गरौँः
‘ये बाहवो या इषवो धन्वनां वीर्याणि च । असीन् परशूनायुधं चित्ताकूतं च यद्धृदि ।
सर्वं तदर्बुदे त्वममित्रेभ्यो दृशे कुरूदारांश्च प्र दर्शय ।।
अर्थात्, सत्रुले कमजोर देखेकै बेला आक्रमण गर्दछ । हामी शक्तिशाली हुँदा शत्रु मर्यादित रहन्छ । त्यसैले, सज्जनले सताइनु नपरोस् र कसैमाथि आक्रमण गर्नु पनि नपरोस् !’ तर परिआउँदा आइलाग्नेमाथि जाइलाग्ने विषय पनि वेद भेटिन्छ ।
युद्ध, सङ्घर्ष, जय, पराजयका आधारमा गरिँदैआएका विभेदको दोष वैदिक प्रवन्ध र सनातन संस्कृतिमाथि न थोपरौँ । वेद, पुराण, त्रिपीटक, मुन्धुम आदि सबै हाम्रा अमूल्य निधि हुन् । सनातन संस्कृतिका आधार यी सबै हुन् । यी हाम्रा आप्mनै भूमिका आधारलाई विकल्पका रूपमा रोज्न सकिन्छ भने इतिहास, प्रकृति, सामाजिक सङ्गति नमिल्ने धर्म—संस्कृति प्रतिको आसक्तिले कसैको हित गर्ने छैन । (लेखकः संस्कृति अध्येता तथा अभियन्ता हुनुहुन्छ ।)