योगाभ्यासमा आकर्षण बढ्दै

मेचीकाली संवाददाता

७ असार २०८०, बिहीबार
155 shares

रामपुर । दैनिक योगाभ्यास गर्न थालेपछि शरीर स्वस्थ र फूर्तिलो हँुदै गएको पाल्पाको रामपुरकी विन्दु श्रेष्ठ बताउँछिन् । उनी नियमित बिहान दुई घण्टा योग कक्षमा बसेर योगाभ्यास गर्छिन् । यहाँस्थित पतञ्जली योग समितिले दैनिक योगाभ्यास गराउन थालेपछि हरेक दिन बिहान ५ बजेदेखि ७ बजेसम्म सहभागी भएर योग गरिरहेको श्रेष्ठ बताउँछिन् ।

‘योगाभ्यास गर्न थालेपछि शरीर स्वस्थ र तन्दुरुस्त बनेको छ, फूर्तिलो भइँदोरहेछ, मानव शरीरलाई योगाभ्यास अति आवश्यक रहेछ,’ उनी भन्छिन् । टाउको दुख्ने र शरीरका भाग दुख्नेजस्ता विभिन्न समस्या योगाभ्यास गर्न थालेपछि हट्दै गएको श्रेष्ठको अनुभव छ । खाना रुच्ने, शरीर फूर्तिलो हुने र निरोगी बनाउने हुँदा अरुलाई पनि योग गर्न उनी सुझाव दिन्छिन् ।

फुर्सदको समयमा हरेक दिन योग कक्षमा बसेर योगाभ्यास गर्दै आइरहेको बताउँछन्, लुम्बिनी प्रदेशसभा सदस्य राजुप्रसाद श्रेष्ठ पनि । दैनिक योग गर्न थालेपछि दिनभरको काम र हिँडाइको थकान नहुने उनको भनाइ छ । ‘घरमै बसेर पनि योगाभ्यास गर्न सकिन्छ, स्वास्थ्यलाई निरोगी बनाउन योग दैनिक जीवनमा अति महत्व रहेको बताउँदा पनि यसलाई कतिपयले महत्व दिँदैनन्,’सदस्य श्रेष्ठ भन्छन्,‘हरेक बिहान दुई घण्टा योग ग¥यौँ भने, दिनभरको थकान र कामको बोझ हटेर जानेछ ।’
पतञ्जली योग समितिले हरेक दिन बिहान पाँच बजेदेखि सात बजेसम्म योगाभ्यास कक्षा सञ्चालन गर्दै आइरहेको छ । रामपुर आयुर्वेद अस्पताल, किसानवारी योगकक्ष र रेशम सभाकक्षमा पनि सामूहिकरूपमा योग सिकाइन्छ । योगकक्षमा पुगेर योगाभ्यास गर्ने दैनिक करिब एकसय रहेका छन् । योगको सबैजसो विधि सिकाइने भएकाले नियमित कक्षा अगाडि बढिरहेको छ ।

रामपुरमा विसं. २०७० देखि नियमित योग कक्षा चलिरहेको छ । पतञ्जली योग समितिका जिल्ला अध्यक्ष सुदीप गैरे तथा सदस्यहरू सूर्यप्रसाद श्रेष्ठ र राजेन्द्र ढकालले योगभ्यासका विधि सिकाउँदै आएका छन् । पछिल्लो समय योगाभ्यासमा स्थानीयवासीको आकर्षण बढ्दै गएको रामपुर आयुर्वेद शाखा प्रमुख चेमनप्रकाश पोखरेल बताउँछन् ।
उनी भन्छन्,‘सुरुमा कक्षा चलाउँदा योग सिक्ने अति कम थिए, हिजोआज त योग सिक्न आउने बढ्दै गएका छन्, सिक्दै जाँदा शरीर फुर्तिलो र निरोगी हुन थालेपछि नियमित अभ्यास गर्ने बढ्दै गएको पाइएको छ ।’ नियमित अभ्यास गर्दै जाँदा टाउको दुख्ने, हाडजोर्नी दुख्ने, ग्याष्टिकजस्ता रोग निको हुँदै गएको सहभागीहरू बताउँछन् । नियमित अभ्यासले रोग कम हुँदै गएपछि भगवती गौतमले अस्पतालका औषधी प्रयोग गर्न छाडेकी छन् । योगाभ्यास गर्नुअघि उनले औषधोपचारमा धेरै धनराशि खर्च गर्दै आएकी थिइन् ।

उपचारका लागि भरतपुर, बुटवल, काठमाडौँलगायत धेरै अस्पतालमा धाउँदा पनि व्यथा भने ज्यूँका त्यूँनै रहेकामा अहिले योग गरेपछि रोग निको भएको भगवती बताउँछिन् । अभ्यास गर्ने स्थानको अभावमा वडा र टोल–टोलमा योग विस्तार गर्न कठिन भएको छ । योगाभ्यासमा नियमित आउने व्यक्तिमा मोटोपन, ढाड तथा कम्मर दुख्ने, पिनास, अत्यधिक टाउको दुख्ने र माइग्रेन समस्या हट्दै गएपछि अहिले धेरैको आकर्षण पनि बढ्दै गएको छ ।

योगाभ्यासले शरीरलाई स्वस्थ र फूर्तिलो मात्र नभई प्यारालाइसिसजस्ता रोग पनि निको बनाउँछ भन्ने कुरामा पहिले विश्वास नगर्ने व्यक्ति पनि अहिले सत्य सावित हँुदै गएपछि सहभागी हुन थालेका छन् । व्यवस्थित योगाभ्यास गर्ने ठाउँ भएमा योग गर्नेको जमात बढ्नेछ । रामपुर नगरपालिकाका दशवटै वडाका टोल र बस्तीमा योग कक्षा चलाउने योजना समितिले बनाएको छ । रासस